– दामोदर पौडेल
रमेश खरेल नेपाल प्रहरीका एसएसपी हुन्, तर उनलाई मानिस ‘एस्पी खरेल’ भन्न रुचाउँदछन् । उनी एसपी ओहदामा मधेसमा काम गर्दा ‘हिरो’ नै कहलिएका थिए । उनको इमानदारी, काममा तत्परता र पीडितप्रतिको भावनात्मक तादम्यताले गर्दा अरू प्रहरीका हाकिमसँग जस्तो फाइदा लिन नसकेर उनीसँग निरास भएकाहरू पनि उनको वीरोध गर्न सक्दैनथे । खरेल जनताको आँखामा प्रहरी, सिडिओ, न्यायाधीश, शिक्षाअधिकारी सबै थिए । वीरगञ्जमा उनको अफिसमा सर्वोच्चको फैसलामा हार भएका मानिसहरू पनि न्यायको लागि जान्थे । सिडिओले गरेको ज्यादति सुनाउँथे । विधवा र छोरी मात्र भएकी आमाले छोरीको विश्वासमा परेर सबै जग्गा हालैको बकसपत्र गरेर दिइछन् । करिव दश वर्षपछि छोरी–ज्वार्इंले उनलाई घरबाट निकालिदिएछन् । उनी अदालत पनि गएकी रहिछन् । त्यसमा अदालतले चाहेर पनि सामान्यत: न्याय दिन गाह्रो थियो, उनले हारिन् । किनभने, पहिले आफुखुसीले सम्पत्ति दिने र त्यसको दश वर्षपछि आएर पीडा भयो भन्दैमा अदालतलाई उनको पक्षमा पैmसला गर्न सजिलो हुँदैन ।
बरु जनतालाई कानुनको बारेमा सचेत बनाउने र कानुनमा पनि ६० बर्ष कटेका ब्यक्तिले सबै सम्पत्ति बेच्न नपाउने आदि ब्यवस्था गर्न सकिएला । त्यस्तोमा पनि खरेल सदासयताका साथ अर्को पक्षलाई सम्पर्क गरी प्रहरीकै भाषामा सम्झाएर न्याय दिने प्रयास गर्दथे । सायद यसै कारणले होला उनको नाम र प्रशंसामा ‘एस्पी खरेल’ भन्ने भोजपुरी फिल्म नै बन्यो । दिनहुँ हुने बेइमानी र अपराधका घटनाले उनी वाक्कै भएका थिए होलान् । प्रहरीमा पनि भ्रष्टाचार मौलाएको सबैले थाहा पाएका छन् । उचितभन्दा बढी भार बोकेको गाडीलाई घुस खाएर छोड्नेदेखि लिएर ज्यान मार्नेहरूलाई पैसाको भरमा प्रमाण सङ्कलनमा ध्यान नदिने आदि गरेर छुटाएकालगायत धेरै घटना जनता विरुद्धका प्रहरी ज्यादति हुन् । घुस खाएर चोरलाई छुटाउने सरकारी वकिलका बारेमा त भर्खरै एउटा कास्टिङ भएको छ ।
एस्पी खरेल हनुमान ढोकाको हाकिम हुँदा गृहमन्त्री बामदेव गौतमको हनुमान हुन सकेनन् । उनलाई बामदेवले आफुलाई नभेटेकोमा आरोपित गरे । बामदेवले कुन पदको प्रहरीले कुन क्रममा उनलाई भेट्ने हो भन्नेबारे रुटिन बनाएको भए खरेल पनि जाने थिए होलान् । पहिला रातो पदार्थमा बढी लोभिनेमा नाम चलेका गौतमलाई काठमाडौंमा डन, तस्करको लाइन आदि बुझ्न र सम्झाउन पर्ने थियो होला । त्यो सम्झाउने विषय कता जाने थियो भन्ने त सबैले अनुमान गरेकै विषय हो । एक फोन गरेर बोलाए हुने खरेललाई गौतमले किन त्यति महत्व दिएर भेट्न आएनन् भनेर दु:ख माने होलान् ? सायद उनले पनि खरेललाई ठुलो मानिस सोचेका होलान् र आफूलाई भेटेमा आफ्नो इज्जत बढ्ने ठाने होलान् ।
त्यसपछि उनलाई घमण्डी, सेलिब्रेटी बन्न खोजेको आदि आरोप लाग्दै गरे । उनी ‘घमण्डी’चाहिँ हुन् नै । हिन्दु धर्मको एउटा समुदायको प्रवचनमा राम्रो काम गरेका छौ भने त्यसमा गर्व गर भन्ने गरेको पाइन्छ । उनले राम्रो कार्य गर्छन् भने त्यसमा उनले घमण्ड वा गर्व गर्ने कि नगर्ने ? वा, उनले पनि घुस नखाएर अकुत सम्पत्ति नकमाएकोले दु:खी बन्ने ? यसको जवाफ जनताले त बुझेको छ । राम्रो काम गरेर कोही सेलिब्रेटी बन्न पुग्छ भने त्यो नराम्रो होइन ।
गिरिजाप्रसादको समयमा कर्मचारीको तलब धेरै बढेको थियो । एकजना पियन धेरै खुसी भएर सुब्बालाई सुनाउँदै भने– ‘तलब बढ्यो, अब सजिलो हुने भयो ।’ सुब्बाले फाएर भएर भनेछन्, ‘गिरिजाले त्यो सबै गरेको भोट बढाउनको लागि हो, हाम्रो हितको लागि होइन ।’ कस्ता ब्रेनवास भएका सुब्बा रहेछन् त ती !? बिचरो पियनले ‘त्यस्तो कुरा त मैले बुझिनँ, तलब बढेको मात्र बुझेको छु’ भन्यो । कम्युनिष्ट रोग लागेकाहरूले अरूले जे गरे पनि विरोध गर्ने उपदेश लिएका हुन्छन् । त्यसैले माओवादीले हजारौँ मानिस मार्दा पनि अग्रगमन देख्छन् । लाखौँ पिडित बन्दा पनि सिद्धान्त सफल भएको महसुस गर्दछन् । जातीय द्वन्द्व बढाउँदा पनि मानव कल्याण गरेको भन्छन् । विरोधिले राम्रो गरेमा वा सडक बनाएमा, विद्यालय खोल्ने आदि गरेमा त्यो भोटको लागि जनतालाई मुर्ख बनाएको देख्दछन् । कम्युनिष्टले विकास नगर्ने अरूले विकास गर्न खोज्दा जनतालाई मुर्ख बनाएको भन्ने ! के जनताले सधैं कम्युनिष्टका मिठा भाषण सुनेर नै चित्त बुझाउनु पर्ने हो ? राम्रो गर्दा पनि अन्य प्रजातान्त्रिक सिद्धान्त बोकेका दलले चाहिँ गर्व गर्न नपाउने ?
बीपीले विश्वबन्धु थापालाई सुनाएछन् कि कम्युनिष्टसँग मिल्यो भने प्रजातन्त्र हुँदैन, विकास पनि हुँदैन, झगडा मात्रै हुन्छ । आफु मात्र ठिक भन्नु उनीहरूको जन्मजात रोग नै हो । अहिले एमाले यो देशको सच्चा कम्युनिष्ट आफु मात्र भएको दाबी गर्दछ भन्ने झलनाथको प्रतिवेदनमा देखियो । माओवादीहरू एमालेलाई कम्युनिष्ट नै मान्दैनन् । यसको लागि उनीहरू माओले फलानो खोला तर्दा भनेको, लेनिनले घोडा चढ्दा भनेको आदि समेत कुरालाई आफ्नो पक्षमा उदाहरण दिन थाल्दछन् । अरूको विरोध र आफ्नो प्रशंसा गर्ने शब्दावली दुनियाँमा कम्युनिष्टहरूसँग भन्दा बढी अरू कसैसँग छँदै छैनन् । सायद यही रनभुल्लमा रमाउनेहरू नबुझेर कम्युनिष्टका मतदाता बनेकोले उनीहरू मोटा देखिएका हुन् । कम्युनिष्ट बनेपछि भ्रष्टाचार नै गरे पनि त्यो ‘जनतालाई दिनको लागि’ गरिएको मानिन्छ होला । एमालेमा प्रवेश गरेका पश्चिमतिरका एक ‘पञ्च’ले सुन तस्करी गरेको अभियोग पुष्टि भएर जेलको हावा खानुपरेको थियो । पछि छुटेर चुनाव लड्दा त उनै ‘सुनबहादुर’ भारी मतले विजयी भए । यसको अर्थ के रहेछ त भन्दा चुनाव प्रचारका क्रममा उनले ‘मैले चुनाव जितेँ भने यसपटकदेखि तस्करी गरेको सुन गाउँका मतदाताहरूलाई नै बाँडिदिन्छु’ भनेर भाषण गरेछन् र सोझा जनताले त्यो पत्याएछन् । भनेजति घुस नदिएकोले आफूलाई पक्रिएर प्रशासनले दु:ख दिएको भन्दै उनले जनताको सहानुभूति लिन खोजे । जनताले त्यो पनि पत्याए र मत दिएर जिताए । बिचरा गरिब दाजुभाइ–दिदीबहिनीले आफ्नो मसिहा नै सम्झेर उनलाई मत दिएछन् । यस्ता तिगडमवाज ब्यक्तिले चुनाव जित्न अर्कोपटक अर्कै नाटक रचे होलान् ।
खरेलले आफ्नो एक भाषणमा प्रहरीमा प्रमोसनको लागि ‘ब्रिफकेस’ लेनदेन हुने गरेको सङ्केत गरेका भन्ने सुनियो । यही कारणले उनी कारवाहीमा परेको सोझै देखियो । प्रहरी भएपछि र ठुलो प्रहरी बनेपछि भ्रष्टाचार नै नगर्ने रहेछन् भनी मान्नुपर्ने अवस्था खरेललाई अनुशासन उल्लङ्घन गरेको आरोप लागेपछि प्रमाणित भयो । प्रहरीहरू भनेका असल प्राणी हुन्, केवल खरेल झुठा हुन् भन्ने अवस्था पो देखियो । भ्रष्टाचारको नाङ्गो नाच भएपछि इमान्दार प्रहरीले एक असल नागरिकको हैसियतले पनि अन्यायको प्रतिकार गर्न नपाउने अवस्था आयो । जनताले क्रमश: खरेल प्रहरीको डिआइजी भएको हेर्न र जनता उनी गएको जिल्लामा जस्तै देशभर नै शान्ति भएको देख्न चाहन्थे । तर, यो सपना त अब सायद कहिल्यै पुरा हुँदैन । ‘लोकतन्त्र’मा भ्रष्टहरूको बोलावाला हुँदा इमानदारको पक्षमा बोलिदिने कोही हुँदैन रहेछ, बोले पनि सुनिदिने निकाय हुँदोरहेनछ ।
प्रतिक्रिया