नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण तीव्र

नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन निर्माण तीव्र


नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले तिब्रता पाएको छ । हालसम्म भारत मोतिहारीदेखि नेपालको अमलेखगञ्ज डिपोसम्म आइपुग्ने परियोजनाको २१ किलोमिटर पाइप बिछ्याउने काम सकिएको हो ।

इन्धन आपूर्तिको दृष्टिले महत्वपूर्ण मानिएको पेट्रोलियम पाईपलाइन योजना सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगञ्जसम्म निर्माण कार्यले तीब्रता पाएको छ । भारतीय शहर रक्सौलदेखि बाराको अमलेखगञ्जसम्मको ३६ दशमलव २÷६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन बिच्छ्याउने कार्य जारी रहेकोछ । भारतीय पक्षले कार्यन्यवनमा तत्परता देखाएकाले पनि निर्माण कार्य छिट्टै सम्पन्न हुने देखिन्छ । वीरगञ्जको शंकराचार्य गेटबाट वीरगञ्जकै गण्डक नहरसम्म वाईपास सडकको दायाँ भागबाट र त्यसपश्चात त्रिभूवन राजपथको गण्डक अमलेखगञ्ज खण्डमा सडकको वायाँ भागबाट पाईप लाईन निर्माण थालिएको छ ।

नेपाल र भारतको लगानी
भारतः२ सय करोड भारु
नेपालः ७५ करोड भारु
कुल लागतः साढे तीन करोड भारु

अहिलेकै गतिमा काम भए आगामी पाँच महिनामा पाइपलाइन तयार हुने दावी छ । सिमराको तौल मेसिनदेखि अमलेखगन्जसम्म र पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तत्काल पाइप विछ्याउन सुरु गरिने आयोजनाले जनाएको छ । भारतको लिखित इन्फ्रास्ट्रक्चरले फागुन २५ गतेदेखि पाइप बिच्छ्याउन थालेको थियो । आयोजना पूरा भएपछि मोतिहारीबाट प्रतिघण्टा ३ लाख लिटर पेट्रोलियम पदार्थ निगमको अमलेखगन्ज डिपोमा आइपुग्ने छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ आयात हुन थालेपछि वार्षिक ७० करोड रुपैयाँ ढुवानी खर्च जोगिने छ ।

भारत विहार राज्यको बरौनी रिफाइनरीबाट पटना–मुगलसराय हुँदै कानपुरसम्म पेट्रोलियम पदार्थ ढुवानी हुने पाईपलाईन पहिले देखिनै सञ्चालित छ । पटना–मुगलसराय सेक्टर बीचमा पर्ने विहारकै सिवान भन्ने ठाउँमा ‘ट्याप अफ पोईन्ट’ निर्माण गरी त्यहाँबाट एउटा लाईन भारत उत्तर प्रदेशको बैतालपुरसम्म र अर्को लाईन सिवानबाट मोतिहारी हुँदै अमलेखगञ्जसम्म जोड्ने योजना भारतीय आयल निगमको छ ।

मोतिहारीदेखि रक्सौल बोर्डर सम्म ३३ दशमलव ७ किलोमिटर र रक्सौल बोर्डरदेखि अमलेखगञ्जसम्म ३६ दशमलव २-६ किलो मिटर दुरी रहने छ । अहिले नेपाललाई चाहिने इन्धनको ७० प्रतिशत रक्सोल नाकाबाट वीरगन्ज हुँदै ट्यांकरमा भित्र्याइन्छ । यसमा ढुवानी लागत बढी पर्ने र चुहावटले गर्दा नोक्सानी हुने गरेको छ ।