छिमेकी भारतसँग नेपालमा हरदम अविश्वासको वातावरण रहेको ठान्नेहरूका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले सञ्जिवनीकै काम गरेको ठान्न सकिन्छ । नेपाल भ्रमणका क्रममा नरेन्द्र मोदीले दिनुभएका अभिव्यक्तिले के दर्शाउँछ भने अब विश्व बदलिइसकेको छ । सबै मिलेर अघि बढ्नुको विकल्प छैन भन्ने मोदी–अभिव्यक्तिले प्रस्ट्याएको छ ।
१९५० को सन्धिबारे पनि अब कुनै भ्रम पालिराख्नु आवश्यक रहेन । मोदीले प्रस्टसँग भनिदिनुभएको छ कि तपाईंहरू मस्यौदा प्रस्ताव ल्याउनुस्, मेरो ढोका खुला छ । यस्तो सुन्दर अवसरलाई हामी नेपालीले कसरी आफ्नो पक्षमा ‘क्यास’ गर्न सक्छौँ भन्ने सवालको जवाफ सावधानी र विवेकका साथ अब हामीले नै खोज्नुपर्छ ।
१९५० को सन्धिको मामला यहाँ फगत एउटा राजनीतिक स्टन्ट बनाइने गरेको छर्लङ्गै छ । सुरुमा यो मुद्दा एमालेले उठायो । अहिले यसबारे चर्को कुरा गर्न छोडेको छ एमालेले । माओवादी मित्रहरूको मुद्दा बनेर रहेको छ अहिले यो । माओवादीमा पनि एउटा पक्ष त यसलाई समझदारीका साथ छलफल गरी समाधान गर्न तत्पर बन्न थालेको मेरो बुझाइ छ । विस्तारै नबुझ्ने पक्षले पनि बुझ्लान् भन्ने अपेक्षा गरौँ । किनकि, भारतका प्रधानमन्त्रीले नेपालमै आएर यसको निकासका लागि मार्ग पहिल्याइदिनुभएको छ, मोदीको निष्कपट अभिव्यक्तिले यस्तो वातावरण सिर्जना गराउने प्रशस्तै सम्भावना बढाएको छ । उक्त सन्धिलाई यत्तिकै राख्ने हो कि, परिमार्जन गर्ने हो कि, या के गर्नुपर्ने हो गर्नका लागि बल हाम्रै कोर्टमा आएको छ अब । यसलाई मुद्दा बनाएर भारतका विरुद्ध जुन अनापसनाप कुरा गर्दै अविश्वासको वातावरण सिर्जना गर्ने गथ्र्यौं हामी, यसलाई चिर्ने कोसिस मोदीजीको अभिव्यक्तिले गरिदिएको छ । जस्तो कि, बुद्ध नेपालमै जन्मनुभएको कुरा उहाँले स्पष्ट राखिदिनुभएको छ ।
विश्व कसरी अगाडि जान्छ या जाँदै छ, सार्क क्षेत्रमा गरिबीको अवस्था के छ र हामी अगाडि जानका लागि यो गरिबीबाट उन्मुक्ति कति जरुरी छ भन्नेजस्ता इस्युमा उहाँका प्रस्ट धारणा आए । ‘भारत विग ब्रदर’ हो भन्ने खालको भावना मोदीजीको अभिव्यक्तिले कतै प्रकट हुन दिएन बरु हातेमालो गरेर मित्रवत् रूपमा अघि बढ्ने कुरा उहाँले गर्नुभयो । उहाँले जे बोल्नुभएको छ त्यो भित्रैबाट आएको अन्तस्करणको आवाज हो जस्तो लाग्छ ।
त्यसैले अब भारतप्रति हामीले हरदम शङ्का गरेर मात्रै हुँदैन, यो व्यर्थको शङ्काले हामीलाई नै पछि पारिरहेको छ । अहिले नै हुने पीटीए र पीडीए हामीले गुमायौँ, यो फोस्रो शङ्का र अविश्वासकै परिणति त हो । ओलीजी चाहिँ पीटीए र पीडीए गर्नुपर्छ भन्ने कुरा संसद्मै बोल्ने अनि उहाँका मन्त्रीहरूले त्यसलाई छल्ने, यो कस्तो प्रवृत्ति हो ? हो, यस्तै दोधारे कुरा गर्न छोड्नुपर्छ अब हामीले ।
ज्लस्रोतको मुद्दा बडो महत्वपूर्ण र ज्वलन्त छ । प्रधानमन्त्री मोदीले त हाम्रो संसद्मा भनिदिनुभयो, नेपालको बिजुलीले भारतको अँध्यारो हटाउने छ भनेर । वास्तवमा यो अभिव्यक्तिको मर्म बुझेर हामी सहमतिका साथ अघि बढ्न सक्छौँ भने पक्कै पनि आफ्नो अँध्यारोलाई उज्यालोमा परिणत गरीकन भारतका लागि पनि थोरै नै सही, हामी पनि सहयोगी बन्न सक्नेछौँ, बिजुली बेचेर सहयोग गर्ने मामलामा । बिजुली किनिदिने कुरा उहाँले गर्नुभएकै छ, पानीको बारेमा पनि बसेर खुला हृदयले छलफल गरौँ भन्नुभएको छ । हामी होमवर्क नै नगरी कराएर हिँड्छौँ भने कसरी काम चल्छ ? अरूले गरिदिएर मात्रै कहिलेसम्म काम चल्छ ? ताली त दुई हातले बज्छ, एक हातले सम्भव छैन । हाम्रो मति र व्यवहारमा परिवर्तन नआउने हो भने मोदीजीले जतिसुकै सहृदयी बनेर प्रस्ताव गरे पनि के हुन्छ र ? त्यसैले अब बल हाम्रै कोर्टमा छ । अहिले सम्भव नभए पनि सार्क समिटको बेला प्रधानमन्त्री मोदी पुन: नेपाल आउनुहुनेछ । त्यसबेला पनि सहमति गर्न सकिन्छ । पहिले हाम्रो होमवर्क पूरा हुनुपर्छ । राजनीतिक दलहरूबीच सहमति बन्नुपर्छ । मोदीजीको निष्कपट प्रस्तावलाई एक प्रकारले बरदान नै माने पनि हुन्छ । मुलुकलाई विकासको गति दिएर अघि बढाउनका लागि झिना–मसिना कुरालाई मुद्दा बनाउन छोडौँ । उदारताका साथ मिलेर अघि बढौँ ।
प्रतिक्रिया