– प्रकाशचन्द्र लोहनी
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा दिनुभएको भाषण निकै प्रभावशाली र सकारात्मक छ । उहाँका अभिव्यक्तिमा खचाखच जिम्मेवारीपन भरिएको मैले अनुभूति गरेँ । उहाँका अभिव्यक्तिमा लेस मात्र पनि कृत्रिमताको गन्ध भेटिँदैन । ‘वाह्..वाह्..’ बटुल्नका लागि औपचारिकतावश नभई दिलैदेखि बोलेको आभास हुन्छ । कसैलाई चित्त बुझाउनका लागि मात्र नभई व्यवहारत: सिद्ध गर्ने अभिप्रायबाट प्रेरित भई मनबाटै ती अभिव्यक्ति आएका हुन् भन्ने महसुस गर्न सकिन्छ । छोटोमा भन्नुपर्दा इमानदार र जिम्मेवार अभिव्यक्ति प्रधानमन्त्री मोदीबाट आएका छन् ।
उहाँले गरेका दुई–तीनवटा कुराले मलाई विशेष छोएको छ । सडक, सूचना र विद्युत् विकासमा भारत सहयोग गर्न इच्छुक रहेको कुरालाई मोदीले जसरी प्रस्तुत गर्नुभयो, यो निकै रोचक र तारिफयोग्य छ । वास्तवमा नेपालले आफ्नो विकासका लागि फोकस गर्नुपर्ने विषय पनि मूलत: तिनै हुन्, जसका लागि भारत सहयोगको हात बढाउन तत्पर रहेछ । यहाँनेर नेपाल सरकारलाई म एउटा सल्लाह या सुझाव दिन चाहन्छु कि भारतीय प्रधानमन्त्री मोदीले यसबारे जुन चाहना र प्रतिबद्धता दर्शाउनुभएको छ, भारतले दिने भनेको एक अर्ब डलरको ‘सफ्ट लोन’ (एक खर्ब रुपैयाँ सहुलियत ऋण सहायता)को रकमलाई यिनै कुरामा प्राथमिकताका साथ सावधानीपूर्वक खर्च गर्नुपर्छ । काठमाडौंदेखि निजगढ जाने फास्टट्रयाक निर्माण गर्नेजस्ता काममा उक्त सहयोग रकम लगाइनुपर्छ । यति समयमा यसरी काम सम्पन्न गर्छौं भन्ने प्रतिबद्धताका साथ इमानदारीपूर्वक लागिपरेमा देशको ठूलो हित हुन्छ, त्यसो भएमा मोदीजीको भावनाको पनि कदर हुन्छ भने मेरो बुझाइ छ । यी तीन शीर्षकमै उक्त रकम लगानी गरिनुपर्छ र नेपाल सरकारसँग यसबारेका योजनाहरू पनि छन् यतिबेला । सडक, सञ्चार र विद्युत् देशको आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि अत्यावश्यक विषयहरू हुन्, यसमा सरकार लागिहाल्नुपर्छ ।
नेपालको राजनीतिक व्यवस्था कसरी अघि बढ्छ भन्ने कुरा नेपाल र नेपालीकै चाहनामा भरपर्ने विषय हो भन्दै मोदीजीले यसबारे नेपाली जनताको निर्णयको भारतले सम्मान गर्ने प्रस्ट कुरा राख्नुभयो । यो अत्यन्त सारगर्भित कुरा हो । सो क्रममा उहाँले १९५० को सन्धि सन्दर्भमा पनि प्रस्ट धारणा ल्याइदिनुभयो । यस विषयलाई राजनीतीकरण नगरी प्रस्ट चाहना के हो त्यो प्रस्तुत गरिदिनुहोस् भनी मोदीले नेपाली नेताहरूसँग आग्रह गर्नुभयो । राजनीतिक हिसाबले पनि यो अत्यन्त महत्वपूर्ण कुरा हो । उक्त सन्धिलाई कसरी परिवर्तन गर्न चाहेको हो नेपालले, त्यो प्रस्ताव लिएर आउनुस्, यसबारे छलफल गरी निचोडमा पुग्न भारतको र व्यक्तिगत रूपमा आफ्नो ढोका खुल्ला छ भनी प्रधानमन्त्री मोदीले भन्नुभएको छ । एउटा सही मित्रले यसमा भन्नसक्ने कुरा यत्ति नै हो । मित्रहरूबीच समस्या हुन सक्छन्, मित्रहरूका बीचमा चित्त बुझेका या नबुझेका कुराहरू हुन सक्छन्, मित्रताको विशेषता भनेकै आफूभित्र गुम्सिएर बसेका कुरा, समस्या र पीर–वेदनाहरूलाई खुलस्तसँग प्रस्तुत गर्न सक्नु हो । हो, यस्तै मित्रताको इमानदार अभिव्यक्ति भारतीय प्रधानमन्त्री मोदीबाट निष्कपट ढङ्गमा आएको छ । वास्तवमै अब हामीहरूले १९५० को सन्धिलाई हतियार बनाएर राजनीति गर्ने दिन सकियो । अब त नेपालका राजनीतिज्ञले उक्त सन्धिको चित्त नबुझेको कुरा के–के हुन्, कुन रूपमा हामी त्यसलाई परिभाषित र परिमार्जित गर्न चाहन्छौँ, त्यसका आधारमा छिमेकी भारतसँग सम्बन्धको कस्तो आयाम रचना गर्न चाहन्छौँ भन्नेमा सहमतिमा पुग्ने गृहकार्यको जिम्मा एकप्रकारले मोदीजीले हाम्रै पोल्टामा हालिदिनुभएको छ । वास्तवमा अब यसको टुङ्गो लगाएर प्रस्तावमा लैजाने जिम्मेवारी हाम्रै हो । यो कुरा अत्यन्तै सकारात्मक पनि छ । कुन रूपले परिभाषित गर्ने, कुन दफा परिवर्तन गर्ने भन्ने सवालमा यहाँका राजनीतिक दलहरूबीच तत्काल छलफल र सहमति हुनु आवश्यक छ ।
भारतीय प्रधानमन्त्रीले पञ्चेश्वर निर्माणमा दर्शाउनुभएको रुचि र प्रतिबद्धता अर्को अहम् महत्वको पाटो हो । उक्त परियोजनामा पहिले हस्ताक्षर गर्ने व्यक्ति म पनि हुँ । बारम्बार त्यो सुरु गर्नका लागि आग्रह गर्दै आएको व्यक्ति हुँ म । मोदीको व्यक्तित्वको ‘नेचर’ हेर्दा लाग्छ– उहाँ जे बोल्नुहुन्छ त्यो पूरा गनुहुन्छ । उहाँजस्तो व्यक्तिबाट पञ्चेश्वर निर्माणको प्रतिबद्धता आएबाट म अत्यन्तै खुसी भएको छु । त्यसमा पनि केही कुरा नमिलेका छन् भने तत्काल मिलाएर पञ्चेश्वर विद्युत् परियोजनालाई अगाडि लगिहाल्नुपर्छ । यी र यस्तै सन्दर्भहरूका आधारमा समग्रमा भन्नुपर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणले नेपाल र भारतबीचको आपसी सम्बन्धमा प्रगाढता बढाएको मात्र नभई नेपालको विकासका लागि पनि यो भ्रमण युगीन महत्वको सावित हुन सक्छ ।
प्रतिक्रिया