के दिए मोदीले ?

के दिए मोदीले ?


sampadakeeyaदुई दिनका लागि नेपाल आउनुअघि नै छिमेकी मित्रदेश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्चा नेपालका सहरबजारदेखि गाउँठाउँसम्म चुलिएको थियो । कुनै भारतीय प्रधानमन्त्रीको १७ वर्षपछि हुन लागेको भ्रमण हुनुको नाताले मोदीको नेपाल भ्रमणबारे विशेष चर्चा चल्नु अस्वाभाविक पनि थिएन । यसबाहेक ओजश्वी व्यक्तित्वका धनी, सबैलाई सम्मोहित गर्न सक्ने कुशल वक्ता र एकल प्रयासबाटै विशाल भारत तथा अर्बौं भारतीयको मन जितेर आफ्नो पार्टीलाई मुलुकको सर्वोच्च स्थान दिलाउने खुवीका कारण दुनियाँभर छाउन पुगेका नरेन्द्र मोदीको नेपाल आगमनले कस्तो प्रभाव छोड्ला भन्ने चासो पैदा हुनु र यसले मोदीमाथिको चर्चालाई चुल्याउनु अत्यन्त स्वाभाविक र सान्दर्भिक नै थियो । तर, भारतीय प्रधानमन्त्री मोदीको नेपाल यात्राको चर्चा यत्तिमै मात्र सीमित रहेन । मोदीको नेपाल आवागमनले सुरुका चासो र चर्चालाई कैयौँ गुणा उचाइमा पु-याइदिएको छ । निर्धारित नेपाल यात्रा पूरा गरी मोदी स्वदेश फर्किसकेका छन्, तर नेपाल र नेपाली जनमनमा उनी गहिरोसँग छाउन पुगेका छन् । मोदीको आगमनअघि नेपाल र नेपालीमा उनप्रति जुन चासो र चर्चा थियो, उनको उपस्थितिपछिका बोली–व्यवहारले त्यसलाई कैयौँ गुणा उचाइमा पु-याइदिएको छ । सिङ्गै नेपाल तरङ्गित तुल्याएर फर्कन सफल भएका छन् उनी । आखिर यस्तो भयो कसरी ?
आफ्नो भाषणका दुई–चार वाक्य नेपाली भाषामा बोलिदिएकैले मात्र मोदीप्रति नेपालीजनमा मोह या आकर्षण बढेको होइन । भाषालाई आफ्नो पहिचान तथा राष्ट्रियताको विषय बनाउनु आवश्यक छैन भन्ने त मोदीको सोच–व्यवहारले झल्काउँदै आएको थियो नै । भगवान् बुद्धको जन्म नेपालीभूमिमै भएको तथ्य देश–दुनियाँसामु प्रस्ट्याइदिएर मात्र पनि मोदीले नेपालीको मन जितेका होइनन् । सय अर्बको सहुलियत ऋण उपलब्ध गराउनेलगायतका विविध क्षेत्रमा भारतीय सहयोग रहने कुरा पनि नियमित प्रकृतिका नै हुन् भन्दा फरक पर्दैन । तर, मोदीले नेपाल–भारत सम्बन्धलाई नै नयाँ आयाम दिएर ऐतिहासिक र चिरस्मरणीय जो काम गरे, यो स्तुत्य छ भन्नु अतिरञ्जना पक्कै ठहरिँदैन । आधा–पौने घन्टाको एउटै भाषणले छिमेकी भारत र भारतीयप्रति नेपालीले राख्दै आएको ‘सोच’ नै एकाएक बदलिन सक्ने कसैले ठानेका थिएनन् । कल्पना नगरिएको यो महान् काम नरेन्द्र मोदीको केही क्षणको बोलीले सम्भव तुल्याएको यतिबेला महसुस गरिँदै छ । छिमेकी भारत कुनै पराया होइन, बरु ऊ सबभन्दा नजिकको हाम्रो मित्र हो, जोसँग जुनसकै अवस्थामा पनि सुख–दु:ख साट्न सकिन्छ, त्यो हक हिमाल, पहाड र तराईका प्रत्येक नेपाली नागरिकलाई छ भन्ने सन्देश अत्यन्तै सरल भाषामा सहजताका साथ मोदीले नेपाली जनमानसलाई सम्झाइदिएका छन् । एकप्रकारले भारत र भारतीयलाई हेर्ने दृष्टिकोणमै एक सय असी डिग्रीको परिवर्तन ल्याइदिएका छन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले । यति मात्र होइन, व्यक्तिगत, दलगत, क्षेत्रगत र यस्तै–यस्तै स्वार्थपूर्ण सोच–व्यवहारबाट माथि उठ्न नसकेका हाम्रा नेताहरूलाई राजनीति के र कसका लागि, नेता कस्तो र कसका लागि हुनुपर्छ भन्ने तत्वबोध गराइदिएका छन् नरेन्द्र मोदीले । फोस्रो राजनीतिका कारण निराश बनेका या नेताहरूबाट आश मारिसकेका आमनेपालीमा राजनीतिको सदुपयोग हुन सके मुलुक बन्न सक्छ भन्ने आशा र विश्वाससमेत जागृत गराइदिएका छन् मोदीले । यो हाम्रा लागि कुनै बरदानभन्दा कम होइन भन्दा हुन्छ । नरेन्द्र मोदीको नेपाल भ्रमणको सार–उपलब्धि यही हो, र यो उपलब्धि कुनै भौतिक लेनदेनभन्दा धेरै विशिष्ट उपहार हो ।
हो, नेपालको संविधानसभा तथा व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने क्रममा भारतका प्रधानमन्त्री मोदीले कूटनीतिक भाषाको प्रयोग पनि त्यत्तिकै नगरेका होइनन् । हिन्दुस्तानका हरेक कालखण्डका विजयमा वीर नेपालीको योगदान रहेकाजस्ता उपमाहरू कूटनीतिक लवज नै हुन् । तर, मोदीले प्रयोग गरेका कूटनीतिक शब्द–वाक्यांश पनि कूटनीतिभन्दा यथार्थपरक नै अनुभूत हुन पुगे । देश–दुनियाँका तमाम नेता र विशेषगरी भारतकै अन्य नेताका तुलनामा मोदीका अभिव्यक्तिमा कता हो कता फरकपन र आत्मियताको सुगन्ध मग्मगाएको नेपालीजनले अनुभूति गरे । उनका हरेक वचन वा प्रतिबद्धतामा प्रचुर निष्कपटताको अनुभूति गरिएबाट नेपाल र नेपालीप्रति मित्रराष्ट्र भारतको तर्फबाट प्रधानमन्त्री मोदीद्वारा जनाइएका प्रतिबद्धताले मूर्तरूप पाउने अपेक्षा र विश्वास त्यत्तिकै बढाएको छ । १७ वर्षको रिक्तता मात्र नतोडी प्रधानमन्त्री मोदीको नेपाल भ्रमण दुई छिमेकी देशबीच विश्वासको वातावरण तथा मित्रताको गहिराइ अभिवृद्धि गर्ने सवालमा चिरस्मणीय तथा ऐतिहासिक कोसेढुङ्गा सावित भएको छ ।