न्यादीको मुख्य सुरुङ निर्माण सकियो

न्यादीको मुख्य सुरुङ निर्माण सकियो


–छविलाल बगाले
लमजुङको मस्र्याङ्दी गाउँपालिकामा निर्माणधीन ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माणको कार्य पूरा भएको छ । निर्माण थालेको १६ महिनामा आयोजनाको ४ किलोमिटर लामो सुरुङ पूरा भएको हो । न्यादी हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित यो आयोजना चिनियाँ कम्पनीले निर्माण गरिरहेको छ । २०१७ को जुलाई ६ बाट सुरुङ निर्माणको काम आरम्भ भएको थियो ।

आयोजनाका प्रमुख उत्तम अमात्यले सुरुङ निर्माणसँगै अन्य काम पनि तिव्र गतिमा भएको बताए । आयोजनामा सुरुङसहित ७ सय ७६ मिटर लामो पेनस्टक पाइप राखिनेछ । ‘भौगोलिक विकटता भएपनि आयोजना निर्माणले तिब्रता पाएको छ ।’ उनले भने, ‘आयोजना निर्माणका लागि नेपाली र चिनियाँ कामदार गरी एकसय बढी कामदार कार्यरत छन् ।’

यस्तै, आयोजनाको बाँध क्षेत्रको सिभिल संरचना अन्तर्गतका काम २० प्रतिशत सकिएको छ भने आयोजनाको प्रगति ४५ प्रतिशत छ । आगामी वर्षा सुरु हुनुअघि बाँध क्षेत्रको संरचना निर्माणको काम सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना प्रमुख अमात्यको भनाई छ । ‘आयोजनामा विद्युतगृहको जग खन्ने काम पनि शुरु गरिएको छ ।’ उनले भने, ‘विद्युतगृह पनि आउने वर्षायाम अघि सम्पन्न गर्ने योजनामा छौं ।’

२०७३ चैतबाट निर्माण सुरु भएको यो आयोजना आगामी १७ महिनाभित्रै सम्पन्न गरी विद्युत उत्पादन गर्ने तालिका प्रवद्र्धक कम्पनीसँग छ । कुल ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा ५ बैंकले ऋण लगानी गरेका छन् । आयोजना पूरा भएपछि उत्पादित विद्युत २२० केभी मस्र्याङ्दी कोरिडोर प्रसारण लाईनको खुदी सबस्टेसनमा लगेर जोड्ने योजना प्रवद्र्धक कम्पनीसँग छ । तर आयोजना सकिने बेलासम्म प्रसारण लाइन निर्माण हुनेमा भने आयोजना विश्वस्त छैन् ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी गेजाङले गरेको छ । नदीको वहावमा आधारित यो आयोजनाबाट वार्षिक १६८ गिगावाट आवर विद्युत उत्पादन गरी नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरिनेछ ।

आयोजनाले नेपाल विद्युत प्राधिकरणसँग प्रचलित ‘पोष्टेड’ दर अनुसार वर्षायाममा ४ रुपैयाँ ८० पैसा र सुक्खायामका लागि ८ रुपैयाँ ४० पैसामा विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ । उक्त दर वार्षिक ३ प्रतिशतका दरले सामान्य वृद्धि भइ आठ वर्षसम्म र सम्झौताको अवधि ३० वर्षसम्म कायम रहने बताइएको छ ।

साना जलविद्युत गुरुयोजनाअन्तर्गत सन् १९९३ मा पहिचान भएको ङादीको सुरुको क्षमता २ दशालव ८ मेगावाट थियो । तरपछि यसलाई २० मेगावाट पु¥याइएको थियो । यसको पूर्वसम्भाव्यता अध्ययन लमजुङ विद्युत विकास कम्पनी (लेड्को) ले गरेको थियो । सन् २००० मै यसको वातावरणिय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको हो । बीपीसीले लेड्कोबाट यो आयोजना सन् २००६ मा खरिद गरेको थियो ।