सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्ने उर्जामन्त्रीको दाबी

सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्ने उर्जामन्त्रीको दाबी


उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण भ्रमण गरेका छन् । डिजाइन फेज सम्पन्न हुने चरणमा रहेको उक्त आयोजनाको सोमबार सिन्धुलीको खुर्कोट पुगेर उर्जामन्त्री पुनले निरीक्षण गरेका हुन् ।

सिन्धुलीका प्रतिनिधिसभा सदस्य रहेका पुर्व कृषिमन्त्री हरिवोल गजुरेल र गणेश पहाडीसंगै खुर्कोट पुगेका मन्त्री पुनले आयोजनाको डिटेल सर्वे चार महिना भित्र सम्पन्न हुने जानकारी दिए ।

उर्जामन्त्री पुनले आयोजनाको ड्यामस्थलको भ्रमण गर्नुका साथै परियोजनाका प्रमुख शुसिल आचार्यसहित स्थानिय जनप्रतिनिधीसंग समेत छलफल गरेका थिए । उनले आयोजनाको लागि स्रोत जुटाउने काम जारी रहेको भन्दै यसै आर्थीक वर्षभित्र परियोजना अघि बढाउने बताए । मन्त्री पुनले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना रुपमा अघि बढाउंने घोषणा समेत गरे ।

निर्माण अवधि ५ बर्ष लाग्ने अनुमान गरिएको उक्त आयोजनाको विद्युत गृह बनाउन ५२ अर्ब ८८ करोड र सिंचाईतर्फ ३२ अर्ब लागत अनुमान गरिएको छ । उनले उक्त परियोजनालाई अघि बढाउन स्थानिय जनता र जनप्रतिनीधीहरुलाई समेत सहयोग गर्न आग्रह गरे । मन्त्री पुनले विकास र पुर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाईभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्ने माध्यमको रुपमा समेत उपयोगि हुने धारणा राखे ।

‘सुनकोशी मरिन डाईभर्सन परियोजना तरँई मधेषको कोर दुई नम्बर प्रदेश र पहाडको १ लाख २२ हजार हेक्टरमा सिंचाई सुविधा पुग्दा तरक्की नै हुन्छ, यसले हिमाल,पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता समेत निर्माण गर्छ ।’ मन्त्री पुनले कार्यक्रममा भने ।

मन्त्री पुनले उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधीको प्रयोग गर्ने बताए । ४ महिनाभित्र डिटेल रिपोर्ट आइसकेपछि यहि आर्थीक वर्षभित्र काम अघि बढाउने जानकारी समेत मन्त्री पुनले दिए । सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाबाट दुई नम्बर प्रदेशको १ लाख २२ हजार हेक्टर जमिनमा सिंचाई हुनुका साथै मरिन भ्यालीमा पनि सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । त्यसका साथै उक्त आयोजनाबाट ४२.५ मेगावाट विजुली उत्पादन गर्ने सरकारको लक्ष्य रहेको छ ।