बजेट खर्च नभएपछि कड्किए केपी

बजेट खर्च नभएपछि कड्किए केपी


चालु आर्थिक बर्षमा अपेक्षाअनुरुपको बजेट खर्च गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरुसँग असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिहंदरबारमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट कार्यान्वयनको पहिलो चौमासिकको समीक्षामा प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई बजेट खर्च हुन नसक्नुको कारण समेत माग गरेका छन् ।

समीक्षा बैठकमा मन्त्रीहरुले सन्तोषजनक काम गर्न नसकेको र बजेट खर्च गर्न नसकेको भन्दै हप्काएका थिए । बैठकमा पेस गरिएको बजेट खर्चको तथ्यांक अनुसार १८–१९ प्रतिशत मात्रै बजेट मात्र खर्च भएको तथ्यांक सार्बजनिक गरिएको थियो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिब सञ्जय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय सचिब युवकध्वज जिसी र प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव यमकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिब रमेशकुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिव अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए । उनिहरुले पेश गरेको कार्य प्रगति हेर्दा निकै कमजोर भएको बुझिएको छ । प्रधानमन्त्री ओलीले सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुपर्नेमा जोड दिए ।

बैठकमा मन्त्रीहरुले बजेट खर्च हुन नसक्नुको विभिन्न कारणहरु पनि पेस गरेका थिए । ‘एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यलयबाट अर्को कार्यालयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ प्रधानमन्त्री ओलीले बैठकमा भने, मन्त्रिपरिषद, मन्त्री, सचिव र ऐन कानुनले ढिलासुस्ती भएको छ भने भन्नुहोस् । म त्यसलाई समाधान गर्नेछु । तर ढिलासुस्ती स्वीकार्य छैन् ।’

यता, बैठकपछि बजेट खर्चबारेको सञ्चारकर्मीहरुको जिज्ञासामा अर्थमन्त्री डा.युवराज खतिवडाले लक्ष्य अनुसारको प्रगति पहिलो चौमासिकमा नभएको स्वीकार गरे । सबैको नजरमा परेका अर्थमन्त्री खतिवडाकै कारणले बजेट खर्च हुन नसकेको आरोप समेत उनिमाथि छ ।

त्यसो त ओली नेतृत्वको सरकारलाई निकै बलियो सरकारका रुपमा लिने गरिन्छ । कतैबाट बिरोध नभएपनि सरकार आफ्नै कारणले ढिलासुस्तीमा परेको छ । प्रमुख प्रतिपक्षी दलका साँसदहरुले समेत सरकारले सामान्य काम समेत गर्न नसकेको आरोप लगाउँदै इतिहासकै असफल सरकार भएको बताएका छन् ।