सापकोटा र उप्रेतीले शुरु गरे झापामा मेवाको व्यावसायिक खेती

सापकोटा र उप्रेतीले शुरु गरे झापामा मेवाको व्यावसायिक खेती


गुलियो र पोषिलो मानिने मेवालाई फलफूलको ‘राजा’ मानिन्छ । लटरम्म पहेँलपुर भएर फलेका मेवाका बोट गाउँघरमा जहाँ पनि देख्न पाइन्छ । तर, यसको व्यावसायिक खेती भने हुन सकेको छैन ।

स्वास्थ्यका लागि अति गुनिलो फल मेवाको माग पोराख, नेपालगञ्ज, काठमाडौंलगायत प्रमुख शहर र बजारमा राम्रै छ । बजारमा बढ्दो माग र उत्पादन कम भएको अवस्थामा झापाका दुई किसानले मेवाको व्यावसायिक खेती शुरु गरेका छन् । परीक्षणका लागि गरिएको यो खेती सफल भएमा आगामी वर्षदेखि मेवाखेती विस्तार हुने किसान बताउँछन् ।

मेचीनगर नगरपालिका–९ का डिल्ली उप्रेती र अर्जुनधारा नगरपालिका–१० का प्रेमसागर सापकोटाले मेवाको व्यावसायिक खेती शुरु गरेका हुन् । सापकोटाले वार्षिक रु. ४० हजार प्रतिबिघाका दरले तीन बिघा जमिन लिजमा लिएर मेवाको सात हजार बिरुवा हुर्काएका छन् ।

सापकोटाले रोपेको ६ महिनामा मेवाको बोट तीन फिट अग्लो भएको छ भने लटरम्म फल लाग्न थालिसकेको छ ।

भारतको कोलकाताबाट प्रतिकेजी रु. एक लाखमा उनले मेवाको विनायक जातको बिउ किनेर ल्याई आफैँ बेर्ना तयार गरेको बताए । ‘बिरुवा रोपेको ६ महिनामै फल्न थाल्यो,’ सापकोटाले भने, ‘१० महिनाको भएपछि पाक्छ र बजारमा निकाल्छौँ ।’ उनले फल्न शुरु गरेसँगै बगानमै मोलतोल गर्दै व्यापारीहरू आउन थालेको बताए । एउटै फल तीन केजीसम्मको हुने, एउटा बोटबाट वर्षेनी १७५ केजीसम्म फल उत्पादन हुने र तीन वर्षसम्म बाह्रैमास फल लागिरहने भएकाले मेवाखेतीबाट मनग्य फाइदा हुने सापकोटाले आशा गरेका छन् ।

उनी अर्जुनधारा नगरपालिकाको नेकपाका अध्यक्ष पनि हुन् । राजनीति गर्नेले उत्पादन र उद्यमशीलतामा लाग्नुपर्छ भन्ने सन्देश दिनसमेत आफू मेवाखेतीमा होमिएको उनी बताउँछन् । मेचीनगर–९ का डिल्लीराम उप्र्रेतीले लिजमै लिएको १० कट्ठा जमिनमा एक हजार विनायक जातको बिरुवा हुर्काएका छन् । उनले डी एन्ड डी बायोप्लानटेक नामक संस्थामार्फत मेवाखेती गरेका हुन् । उनको खेतीमा पनि मेवा लटरम्म फल्न थालिसकेको छ ।

विगत आधा दशकदेखि नर्सरी र कृषि क्षेत्रमा सक्रिय उप्रेतीले पहिलोपल्ट परीक्षणका लागि मेवाखेती गरेको बताए । ‘मेवाखेती फाइदाजनक छ भन्ने हाम्रो अनुमान हो,’ उनी भन्छन्, ‘जण्डिस र आँखा कमजोर भएका बिरामीले नियमित सेवन गर्ने औषधीय गुणसमेत भएको कारण बजारमा यसको बिक्रीको कुनै समस्या नै हुँदैन ।’

मेवाखेतीमा कम लगानीमै धेरै उत्पादन गर्न सकिने हुँदा आफूले सोचविचार गरेरै मेवाको व्यावसायिक खेती शुरु गरेको उप्रेतीले बताए । उनले भने, ‘यो वर्ष १० कट्ठामा लगाएको छु, राम्रो भयो भने अर्को साल दुई बिघामा थप्ने तयारी गर्दै छु ।’ झापामा पहिलोपटक मेवाको व्यावसायिक खेती गरिएको हुँदा उप्रेती र सापकोटा दुवैले प्राविधिक समस्या भने झेल्दै आएका छन् ।

अर्जुनधारा नगरपालिकाका कृषि अधिकृत शालिकराम भट्टराई झापाको माटो मेवाखेतीका लागि उर्वर रहेको बताउँछन् । उनले दोमट र चिम्ट्याइलो कालो माटोमा फस्टाउने भएकाले झापाको अधिकांश ठाउँमा मेवाखेती हुने बताए । उनले सरकारले मुलुकलाई समृद्ध बनाउने उद्देश्यअनुरूप कृषिमा करोडौँको बजेट लगानी गरिरहेको हुँदा व्यावसायिक रूपमा मेवाखेती गर्ने किसानलाई प्रोत्साहनस्वरूप कृषि औजारमा अनुदानसमेत प्रदान गर्ने सरकारी नीति रहेको जानकारी दिए ।