डडेल्धुरा बस दुर्घटना अपडेट : १८ को मृत्यु, १६ को सनाखत

डडेल्धुरा बस दुर्घटना अपडेट : १८ को मृत्यु, १६ को सनाखत


बिहीबार बेलुकी डा.केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा पर्दा १८ जनाको मृत्यु भयो । डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जनाको घटनास्थलमै र अन्य ८ जानको अस्तपलामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा पाँच महिला र १३ पुरुष छन् । मृतकमध्ये ७ जनाको सनाखत भइसकेको छ भने अन्य ११ जनाको पहिचान हुन नसकेको बुझिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका इन्चार्ज गणेशसिंह नागरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुमा डडेल्धुराको नवदुर्गा गाँउपालिका–३ का २२ वर्षीय चक्र धामी, दिपायल सिलगढी नगरपालिका–ं ४ बस्ने ३५ वर्षीया सशी विक, सोही नगरपालिका वडा नं ११ बस्ने २५ वर्षीया गोपा भाट, सोही नगरपालिका ८ बस्ने ४० वर्षीय कैलाश रावल, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, डोटी शिखर नगरपालिका–१० बस्ने १६ वर्षीय प्रेम बलायरका छोरा रोहित बलायर र डडेल्धुरा गन्यापधुरा–३ की माया रावल रहेका छन् । यस्तै, कैलाली गोदावरी नगरपालिका–१० का २३ बर्षिय पुरन कठायत, डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ चौपाल बस्ने २० बर्षिय तिलक खाती, सोही स्थान बस्ने १७ बर्षिय टेक धामी, कैलाली गोदावरी नगरपालिका–२ बस्दै आएका २१ बर्षिय केशव कठायत, सोही नगरपालिका वडा नं १० की २० बर्षिया शारदा कठायत, डोटीस्थित शिखर नगरपालिकाका–६ बस्ने २२ बर्षिय योगेन्द्र बोहरा, सोही स्थान बस्दै आएका २४ बर्षिय शंकर जोरा, वडा नं ८ की २२ बर्षिया शारदा रावत र धनगढी उपमहानगरपालिका बस्दै आएका २८ बर्षिय नारायण चौधरी लगायतको सनाखत भएको छ ।

इन्चार्ज नागरीका अनुसार दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ भने ८ जनाको धनगढी अस्पताल र ३ जनालाई कोहलपुर पठाइएको छ ।

घाइते हुनेहरुमा डोटीको तल्लोसालका १६ वर्षीय विनोद किमाडी, डोटी गोपघाटका–२३ वर्षीय श्याम ओझा, शिखर–६ डोटीका ३८ वर्षीय भीम बलायर, डोटी शिखर–१० का २९ वर्षीय सरिता बलायर, डोटी तिलताडिका–१५ वर्षीय सोनीया रावल, बन्डोरसैन डोटीका १५ वर्षीय सन्तोष रावल, बन्डोरसैन डोटीका २० वर्षीय भरत बलायर, तल्लीसाल डोटीका २१ वर्षीय हरिना बोहरा, वनलेक डोटीका ३८ वर्षीय सावित्री धामी, शिखर डोटीका–१७ वर्षीय रमेश धामी घाइते भएका छन् । यस्तै, डडेल्धुरा सकायलका १७ वर्षीय इन्द्र भुल, कोरालखोलाका माया खड्का, २० वर्षीय सुनिता रावल, सकायलका १९ वर्षीय रमेश भुल, २० वर्षीय पुरन भुल, डडेल्धुरा सेल्तडाका १६ वर्षीय नारद बलायर, गन्यापधुरा गाउँपालिकाका–१ का ३० वर्षीय ईश्वरी दमाई, गन्यापधुरा–३ का २४ वर्षीय चक्रबहादुर बोहरा, नवदुर्गा गाउँपालिकाका–२४ वर्षीय थानेश्वर अवस्थी रहेका छन् ।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रिसइनस्थित पीसजोन एकेडेमीको पहेँलो रंगको स्कुल बस बिहीबार बेलुकी दुर्घटनामा परेको हो । बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको बुझिएको छ । बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको हो । बसमा ४३ जना यात्रु सवार थिए । रहेको बुझिएको छ ।