यस वर्ष जुम्लाबाट सत्र करोडको स्याउ निर्यात

यस वर्ष जुम्लाबाट सत्र करोडको स्याउ निर्यात


जुम्लाबाट यस वर्ष १७ करोड रुपैयाँको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५–०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड रुपैयाँभन्दा बढीको स्याउ निर्यात गरेका हुन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लामा झन्डै तीन हजार चार सय टन स्याउ उत्पादन भएकामा दुई हजार तीन सय टन स्याउ निर्यात भइसकेको छ । आठवटा स्थानीय तहबाट स्याउ निर्यातका लागि करिब तीन सय व्यापारीले अनुमति लिएका थिए । स्थानीय तहले प्रतिकिलो स्याउ निर्यातको ५० पैसाका दरले कर लिएको छ ।

व्यापारीले सरदरमा प्रतिकिलो रु. ५० का दरले कृषकबाट स्याउ खरिद गरेका हुन् । यहाँ उत्पादन भएका स्याउ काठमाडौं, सुर्खेत, विराटनगर, पोखरालगायत देशका प्रमुख शहरमा निर्यात गरिन्छ ।

यस वर्ष प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन सोचेअनुसार नभएको स्याउ सुपरजोनका वरिष्ठ कृषि अधिकृत टीकाराम शर्माले बताए । कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार जिल्लाको तीन हजार चार सय ५० हेक्टर जमिनमा स्याउ खेती गरिन्छ ।

गत वर्ष तीन हजार सात सय टन स्याउ निर्यात भएको थियो । जुम्लाका कुल १८ हजार घरधुरीमध्ये करिब १४ हजार घरमा स्याउका बगैँचा छन् ।