जोशी हाइड्रोपावर कम्पनीले १४ करोड ४८ लाख ४६ हजार रुपैयाँबराबरको साधारण सेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले यही मंसिर १६ गतेदेखि साधारण सेयर बिक्रीको तयारी गरेको हो । कम्पनीको सेयर छिटोमा मंसिर १९ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म रहेको छ । नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई गत कात्तिक १८ गते साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
आयोजना प्रभावित क्षेत्रका लागि कम्पनीले तीन लाख ७१ हजार चार सय कित्ता अर्थात् रु. तीन करोड ७१ लाख ४० हजारबराबरको सेयर छुट्याएको थियो । त्यसमा प्रतिशेयर रु. एक सय अंकित दरको एक लाख २९ हजार ३९० कित्ता मात्रै आवेदन परेको थियो ।
स्थानीयबासीले आवेदन नगरेको सेयरसमेत आमसर्वसाधारणलाई बिक्री गरिनेछ । कम्पनीले इलाममा तीन मेगावाट क्षमताको माथिल्लो पिलुवा एक जलविद्युत् आयोजना सञ्चालनमा ल्याएको छ ।
आयोजनाको कुल लागत रु. ५५ करोड ३५ लाख रहेको छ । यस आधारमा प्रतिमेगावाट लागत रु. १८ करोड ४५ लाख रहेको छ ।
आयोजनाले विद्युत् विकास विभागबाट २०७० साल जेठ १२ गते विद्युत् उत्पादन अनुमति प्राप्त गरेको थियो । त्यस आधारमा सो आयोजनाको स्वामित्व ३१ वर्ष कम्पनीको नाममा रहनेछ ।
आयोजनाको सर्वसाधारणमा लगानी फिर्ता हुने अवधि ११ वर्ष रहेको छ । आर्थिक अवस्थाको विश्लेषण गर्ने इक्रा नेपालका अनुसार कम्पनीको अवस्था कमजोर रहेको छ ।
प्रतिक्रिया