नबिलले गरिदियो ग्राहकलाई तीन लाखसम्मको स्वास्थ्य बिमा

नबिलले गरिदियो ग्राहकलाई तीन लाखसम्मको स्वास्थ्य बिमा


नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा तीन लाख रुपैयाँबराबरको बिमा सुविधा उपलब्ध गराउने भएको छ ।

सो सुविधा आजैदेखि लागू भएको आज (आइतबार) राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । सो अवसरमा बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।

बैंकले रु. २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्बुद, हृदयाघात, मिर्गाैला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनिमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अंग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ तीन लाख रुपैयाँबराबरको बिमा गरेको हो ।

ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेको निवेदनउपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बिमा रकम तुरुन्त भुक्तानी हुनेछ । बचतकर्ता अन्य कारणले निधन भएमा रु. ७५ हजारको बिमांक रकमसमेत सो योजनाले सुरक्षित गरेको छ । घातक रोग लागेर निधन भएमा रु. तीन लाख ७५ हजारबराबरको सुरक्षण हुनेछ । बैंकले सो आयोजनाअन्तर्गत शनिबारसम्म रु. २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आबद्ध भएकाको बिमा गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।

व्यक्तिगत बचत खातावालाले आफ्नो खातामा नेपाली क्यालेन्डरबमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सो महिनाको मसान्तसम्म तोकिएको मौज्दात कायम राखी योजनामा सामेल हुन सकिनेछ । ती ग्राहकको हकमा घातक रोग बिमा र मृत्यु बिमा योजनामा सामेल भएको मितिबाट लागू हुने शाहको भनाइ छ ।

उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नागरिक सहभागी हुन सक्छन् । प्रमुख कार्यकारी अधिकृत शाहले पछिल्लो दिनमा अर्बुद्ध, कलेजो, हृदयाघातजस्ता घातक रोग दिनप्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महँगो रहेका कारण केही सहजताका लागि यस्तो योजना ल्याइएको बताए ।

बैंकका हाल पाँच लाख खातावाला छन् । तीमध्ये १६ देखि ६४ वर्षको उमेर समूहका ग्राहकको संख्या तीन लाख बढी छ । ती सबै खातावाला स्वास्थ्य बिमाको उक्त कार्यक्रममा समेटिएका छन् । बिमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ ।

बैंकको ७४ शाखा सञ्जाल, ११८ वटा एटीएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टका साथ देशव्यापी रूपमा सञ्जाल छ । यस्तै मेटलाइफका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले स्वास्थ्य बिमालाई थप सहज बनाउने लक्ष्यका साथ उक्त योजना अगाडि सारिएको बताए । बिमा व्यवसायमा १५० वर्षको इतिहास रहेको मेटलाइफले नेपालमा कारोबार शुरु गरेको १७ वर्ष भएको जानकारी दिँदै उनले दक्षिण एसियाभर नै स्वास्थ्य बिमालाई केन्द्रमा राखेर कार्यक्रम लागू गरिएको उल्लेख गरे ।