प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको नयाँ वाइड बडी जहाज खरीद प्रक्रियामा त्रुटि औंल्याएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकमा निगमले केही महीनाअघि भित्र्याएको एयरबस ए ३३०–२०० जहाज खरीद प्रक्रियामा सार्वजनिक खरीद ऐन र संस्थाको खरीदविनियमावली विपरित काम भएको जनाएको हो ।
निगमको जहाज खरीद सन्दर्भमा सर्वत्र विरोध र प्रचारबाजी भए पनि समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीलाई बोलाएर स्पष्टिकरण लिएको छ ।
समितिका सभापति भरत शाहले निगमको जहाज खरीद प्रक्रियामा महालेखापरीक्षकको ५५ प्रतिवेदनले त्रुटि औंल्याएको र पछिल्लो समय सार्वजनिक रुपमा अनियमितताको कुरा उठेपछि बैठकमा विषय प्रवेश गराइएको बताए । पुरानो जहाज किन्न टेन्डर निकालेर नयाँ किन्नु कानूनविपरित रहेको भन्दै उनले भार क्षमता कमजोर हुनु र एयरबससँग नकिनी अर्कै पार्टीसँग खरीद गरिनुले अनियमितताको प्रशस्त आशङ्का जन्माएकोले यो विषयको गहन अध्ययन र छलफल गरी टुङ्गोमा पुगिने धारणा अघिसारेका राससले जनाएको छ ।
समितिले जहाज खरीद प्रक्रियामा अनियमितता भएको प्रश्न उठाइरहँदा निगमका पदाधिकारीले भने आफ्नो बचाउ गर्दै जहाज खरीद कानूनबमोजिम भएकाले कुनै अनियमितता नभएको जवाफ दिएका छन् ।
निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंसाकारले निगमको विनियमावली, सार्वजनिक खरीद प्रक्रिया अनुरुप जहाज खरीद गरिएको र यसमा कुनै अनियमितता नभएको दाबी गरे । निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका पर्यटन सचिव कृष्णप्रसाद देवकोटाले जहाज खरीद सम्बन्धमा सत्य, तथ्य छानबिन गर्न आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।
समितिका अधिकांश सदस्यले जहाज खरीदमा कमिसनको खेल र मोटो रकम हिनामिना भएको भनी उठाएको प्रश्नको जवाफ दिँदै महाप्रबन्धक कंसाकारले जहाज खरीदमा १०० प्रतिशत भ्रष्टाचार छैन भन्दै खरीदको टेण्डर गर्दा बोइङभन्दा एयरबस सस्तो परेकाले जहाज ल्याइएको तर्क गरे ।
कंसाकारको जवाफमा चित्त नबुझेपछि समितिका सदस्य डा. मीनेन्द्र रिजाल र हृदेश त्रिपाठीले वाइड बडी खरीद प्रक्रियामा संलग्न पदाधिकारीको अनियमितता रहेको भन्दै उपसमिति गठन गरेर छानबिन अघि बढाउनुपर्ने माग गरे । व्यवसायिक कार्ययोजना बिनै जहाज खरीद गरिनु र खरीद प्रक्रियामा महालेखापरीक्षकले नै त्रुटि औंल्याएकाले छानबिन गरी कारवाही प्रक्रिया अघि बढाइनुपर्नेमा उनीहरुले जोड दिए ।
सदस्यहरु विरोध खतिवडा, प्रेम आले, धर्मशिला चापागाईं, सूर्य पाठक, अमनलाल मोदी, राजेन्द्र केसी, प्रदीप यादवलगायतले जहाज खरीद गर्दा एयरबस कम्पनीबाट नलिई बिचौलीयाबाट किनेको, व्यावसायिक योजना नबनाएको भन्दै छानबिन गरी संलग्न दोषीलाई कानुनी कारवाहीका लागि सिफारिस गर्न माग गरे ।
समितिका सदस्य प्रेम आले र अमनलाल मोदीले आजकै बैठकले कारवाहीको सिफारिस गर्नुपर्छ भनेपछि सभापति शाहले कानून बमोजिम सबै काम अघि बढ्ने भन्दै पन्छाए ।
यसअघि बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि वाइड बडी जहाज खरीद प्रक्रियाबारे छानबिन गर्न उपसमिति गठन गरेको थियो । निगमको पहिलो वाइड बडी जहाज असार १४ गते र दोस्रो जहाज साउन १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
तस्बिर रासस
प्रतिक्रिया