विद्यालयमा शिक्षक पुग्दा गाउँले दङ्ग !

विद्यालयमा शिक्षक पुग्दा गाउँले दङ्ग !


mukti– मुक्तिनाथ भुसाल
अर्घाखाँचीको विकट बस्तीका विद्यालयलाई वर्षौंदेखि शिक्षकविहीन तुल्याइएको भए पनि यसपालि जिल्ला शिक्षा कार्यालयले जिल्लामा रहेका दुई सय ७४ प्राविमा एक सय ७३ जना थप शिक्षक–शिक्षिकालाई नियुक्ति दिएको छ । विगतमा सुगम विद्यालयमा आवश्यकताभन्दा बढी र दुर्गम विद्यालयमा शून्य स्थितिमा आफ्नो सफलताको नारा दिन सङ्कोच नमान्ने शिक्षा कार्यालयको रवैयाप्रति विरोधका आवाज उठ्न सकेनन् । यसरी विकट बस्तीका विद्यालयलाई लामो समयदेखि शिक्षकविहीन तुल्याउँदा कति बालबच्चाको भविष्य अन्धकारमा प-यो होला र उक्त गाउँमा आफ्नै बालबालिका भएका भए कस्तो महसुस गरिन्थ्यो भन्नेजस्ता सवालबारे हेक्का राख्न नसकेका जनप्रतिनिधि र सरोकारवालाहरूको व्यवहारले अर्घाखाँचीको शिक्षालाई ठगीखाने भाँडोका रूपमा प्रयोग गरिएकै रहेछ भन्ने प्रस्ट हुन्छ ।
कागजी पन्ना, सेमिनार तथा अन्तरक्रिया र कतिपय ‘सञ्चारकर्मी’हरूको प्रशंसावाणीमार्फत अर्घाखाँचीमा शिक्षा क्षेत्रले धेरै नै फड्को मारेको भ्रम सिर्जित गर्दै आएको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीको वास्तविक अन्तरकथा केही समयअगाडि घटना र विचारले पहिलोपटक सार्वजनिक गरेको थियो । विकट बस्तीमा बसोबास गर्ने गरिब जनताको अधिकारप्रति संवेदनशील बन्दै सम्प्रेषण गरिएको उक्त समाचारमा गरिमामय अख्तियारको निगरानी र जिल्ला प्रवेश गरिसकेका जिशिअ हरिप्रसाद अर्यालको सक्रियतामा एक सय ७३ जना थप प्रावि शिक्षक–शिक्षिका यतिबेला रिक्त स्थानमा पुगिसकेका छन् । गरिमामय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दृष्टि तत्कालै पुगेको कारण गरिब बस्तीका जनतालाई लामो समयदेखि उपेक्षा गर्ने तत्कालीन शिक्षाका जिम्मेवार कर्मचारीको रवैया दीर्घकालसम्म टिकाइराख्ने वातावरण अन्ततोगत्वा तल उल्लेख गरिएजस्तै भताभुङ्ग हुन पुग्यो ।
जिल्लाको डिही प्रावि सिद्धारामा कक्षा पाँचसम्मको स्वीकृत दरबन्दी र पर्याप्त विद्यार्थी भए पनि वर्षौंदेखि बाल विकास केन्द्रकी सहयोगी रूपा विकले मात्र विद्यालय धानेकी थिइन् । उक्त विद्यालयमा लक्ष्मणबहादुर नेपाली, रनजित बम र लक्ष्मण ओलीले नियुक्ति लिएका छन् । शान्ति प्रावि छहरे सिद्धारामा बाल विकास केन्द्रकी सहयोगी शिवा अधिकारी र निजी स्रोतकी एक महिलासहित दुईजना मात्र रहेकामा गजेन्द्र यादव र हरेन्द्र कुशवाहले नियुक्ति लिएका छन् । उक्त विद्यालयको भवन दयनीय अवस्थामा रहनुको अलवा आवश्यक फर्निचरको पनि दूरावस्था छ । यस्तै, सगरमाथा प्रावि सिद्धारामा अध्ययन गर्ने करिब सय विद्यार्थीलाई व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काले वर्षौंदेखि विद्यालय खोलेर विद्यार्थीलाई भुलाउने गरेका भए पनि जिल्ला शिक्षा कार्यालयबाट खटाइएका एक मात्र शिक्षक बुद्धिबहादुर विकको विद्यालय आगमनले खड्कालाई थोरै मात्रामा भए पनि राहत हुने बुझिएको छ । करिब सवासय विद्यार्थी रहेको सामकोट प्रावि सिद्धाराको तालाचाबी बाल विकास केन्द्रकी सहयोगी जमुना पोख्रेलको हातमा भए पनि उक्त तालाचाबीमा हातेमालो गर्नका लागि नसिर अख्तर र रवीन्द्रकुमार यादवले नियुक्तिपत्र बुझिसकेका छन् । स्मरण रहोस्, उक्त विद्यालयको तीनवटा दरबन्दीमध्ये एकजनालाई दरबन्दीसहितको सरुवामा तत्कालीन जिशिअको पारिवारिक सदस्यलाई पायक पर्ने स्थानमा कामकाजी गराइएको रहस्योद्घाटन शिक्षा कार्यालयभित्रकै कर्मचारीबाट नाम जानकारी भएको छ ।
यसैगरी, करिब दुई सय विद्यार्थी रहेको शङ्करज्योति निमावि लोहरी सिद्धारामा कुनै समय चारवटा प्रावि दरबन्दीलाई एकैचोटि सरुवा गरिएको र तीनजना निमावितर्फ एकजनाको दरबन्दी काट्नुको साथै एकजनालाई सरुवा गरिएको थियो । मनोमानीपूर्वक गरिएको सरुवाका कारण निमावितर्फ एकजना र प्रावितर्फ राहत अनि बाल विकास केन्द्रकी सहयोगीद्वारा पठनपाठन गराइएको शङ्करज्योतिमा प्राविका लागिपरेका बहादुर पठायक, हरिप्रसाद पौडेल, नागेन्द्र बरई र सरोजकुमार महतोले नियुक्ति लिइसकेका छन् । सोही विद्यालयको निमावितर्फ खिमबहादुर नेपालीलाई नियुक्ति दिइसकिएको जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीका विद्यालय प्रशासन शाखा अधिकृत मणिराम पराजुलीले जानकारी गराए । पराजुलीका अनुसार जिल्लाभर रहेका दुई सय ७४ प्राविमा एक सय ७३ जना शिक्षक–शिक्षिकाको अलावा निमावि र मावितर्फ पनि रिक्त रहेका विद्यालयमा ८२ जना थप शिक्षक–शिक्षिका खटाइसकिएको कारण यतिबेला कुनै पनि विद्यालयमा समस्या छैन ।
यस्तै, कपिलवस्तुको इमेलिया चोकदेखि पैदल एक घन्टामा पुग्न सकिने शम्भु प्रावि सिद्धारा अर्घाखाँचीमा एक सय चालीस विद्यार्थी अध्ययनरत रहेका छन् । जनता प्राविका प्रअ पदमबहादुर थामी, भृकुटी प्राविका प्रअ चक्रपाणि बेल्वासे, चन्द्रज्योति प्राविका प्रअ लालमोहर चौधरी, कालिका प्राविका प्रअ गंगा पाण्डेलाई विगतमा सरुवा गरी उक्त विद्यालयमा ल्याइएको कारण सोही विद्यालयका प्रअ टेकलाल शर्मासहित पाँचजना प्रअको अनुभव बटुलेका शिक्षकहरू यो समाचार तयार पारुन्जेलसम्म कार्यरत छन् । कन्या प्रावि ठाडामा पुल दरबन्दीमा रहेकी विमला राउत आफ्नो घरपायकका कारण कागजी सरुवामा शम्भु प्राविमा कार्यरत रहेको बताएकी छन् ।
दुर्गम बस्तीका सबै विद्यालयहरूको जानकारी एकैसाथ प्रस्तुत गर्ने असम्भव भए पनि एक–डेढ वर्षसम्म शिक्षकविहीन तुल्याइएका विद्यालयमा ढिलै भए पनि सुधार गर्ने प्रयास गरिरहेका जिशिअ हरिप्रसाद अर्याल सरुवा भएका छन् । सदरमुकाम तथा नगरपालिकावरपरका विद्यालयभित्र आवश्यकभन्दा बढी मात्रामा कार्यरत शिक्षक भेटिएमा जिल्लाको कुनै पनि विद्यालयमा जान तत्परता देखाउनुपर्छ भन्ने सद्भाव व्यक्त गरेलगत्तै जिशिअ अर्याल जिल्लामा आएको करिब दुई महिनाभित्रै सरुवा भएका हुन् । धेरैजसो जिशिअ कागजमा विभिन्न जिल्लामा गएका र सोही जिल्लामा पदस्थापन भएको सन्दर्भमा जिशिअ अर्याल स्वेच्छाले सरुवा भएका हुन् वा गराइएको हो, यकिन जानकारी हुन सकेन । जिशिअ अर्यालको पदमा धनसिंह धामी जिशिअका रूपमा जिल्लामा भित्रिसकेका छन् । जिशिअ धामीको कार्यशैली विकट बस्तीमा बस्ने सर्वसाधारणको हितमा हुने हो वा केही पात्रहरूको प्रिय बन्दै पुरानै शैलीमा राजनीतिक सेवा हुने हो ? प्रतीक्षाको विषय बनेको छ ।