– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
नेपालमा प्रजातन्त्रको आगमन सँगसँगै सङ्घ/संस्थाहरू पनि स्थापना भएका हुन् । अहिले यस्ता संस्थाहरू नेपालमा गणना गर्न नसकिने सङ्ख्यामा छन् । साहित्यिक तथा सांस्कृतिक संस्थाहरूकै सङ्ख्या पनि उल्लेख्य रहेका छन् । कतिपय अस्तित्वमा छन् भने कतिपय त्यति चर्चामा छैनन् । यसै क्रममा २००७ सालकोे माघ २७ गते स्थापित काठमाडौंस्थित डिल्लीबजारबाट कालिकास्थान जाने मोडैनिरको नेपाल सांस्कृतिक सङ्घ पनि पुरानो र नाम चलेको संस्था हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा पनि डिल्लीबजारकै भएका र उसबखतमा डिल्लीबजार शिक्षित मानिसहरूको बाहुल्य भएको ठाउँ भएकाले त्यहाँका केही शिक्षित समुदाय मिलेर यो संस्था खडा गरेका हुन् । यस भेगमा भीमनिधि तिवारी, महाकवि देवकोटा, मदनमणि दीक्षित, श्यामदास वैष्णव, अरबिन्द रिमाल, डिल्लीराज उप्रेती, आनन्ददेव भट्ट, नृपेन्द्रनाथ रिमाल, गोविन्ददेव पन्त, गोविन्दप्रसाद लोहनी, पुष्कर लोहनीजस्ता अनगिन्ती विद्वान् साहित्यकार भएकाले यहाँ पनि जागरणका लागि संस्थाको आवश्यकता महसुस गरी नेपाल सांस्कृतिक सङ्घको स्थापना भएको देखिन्छ । यो संस्था खडा गर्न नरसिंहबहादुर श्रेष्ठको ठूलो योगदान रहेको बिर्सन मिल्दैन । यो संस्थाले स्थापनाकालदेखि संस्कृतिका विषयमा खोज, अनुसन्धान र त्यस विषयमा परिचर्चा गर्दै आएको छ । पहिले त यसमा महाकवि देवकोटाको सक्रिय योगदान रहेको कुरा नित्यराज पाण्डेको महाकवि देवकोटा नामक ग्रन्थमा उल्लेख गरिएको पनि छ । साथै २०१६ भदौ २९ गते महाकवि देवकोटाको निधन भएपछि सांस्कृतिक सङ्घले शोकसभाको आयोजना गर्नुका साथै प्राङ्गणमा अर्धकदको सालिकसमेत निर्माण गरेर महाकवि देवकोटाप्रतिको भक्तिभाव प्रदर्शन गरेको छ । सङ्घले आजतक निरन्तर लक्ष्मीपूजाको बिहान महाकवि देवकोटाजयन्ती मनाएर सराहनीय काम गर्दै आएको छ । यसले केही वर्षअघि आफ्नै खर्चमा महाकवि देवकोटा फिल्म पनि निर्माण गरेको थियो, जसका निर्देशक यादव खरेल थिए । साथै सङ्घले महाकवि देवकाटाका अप्रकाशित कृतिहरू म्याबेथ, द ब्यालेड अफ लुनी, मनोरञ्जन, चिल्ला पातहरू, रावण जटायु युद्ध, कृषिबाला, तुषार वर्णन, तिप्लिङ्गी, अङ्ग्रेजी शाकुन्तललगायत झन्डै दर्जन कति प्रकाशित गरेर नेपाली साहित्यलाई हुनसम्मको गुन लगाएको छ । अहिले पनि महिनाको अन्तिम शुक्रबार हाम्रो संस्कृति विषयमा बहस चलाउने गरेको छ । यसर्थ नेपाल सांस्कृतिक सङ्घको योगदान अन्य सङ्घ/संस्थाको तुलनामा माथि रहँदै आएको छ ।
आशुकविका रूपमा ख्यातिप्राप्त महाकवि रमेश खकुरेलको ससुराली यसै क्षेत्रमा परेकाले उहाँले पनि यो संस्थामा आबद्ध भई महत्र्वपूर्ण योगदान दिँदै आउनुभएको छ । सांस्कृतिक सङ्घले गर्ने साहित्यिक कार्यक्रममा रमेश खकुरेल र प्रशासनिक क्षेत्रमा कार्यरत कार्यालय सचिव रवि ओझाको सक्रियता अझ प्रशंसायोग्य तथा स्तुत्य बनिआएको छ । सङ्घले बेलाबेला महाकविको सम्झनामा प्रतियोगितात्मक कवि गोष्ठीको आयोजना गर्ने गरे पनि ०७१ देखि रमेश खकुरेलले रु. १५ हजारको महाकवि देवकोटा काव्यिक पुरस्कारका लागि आर्थिक सहयोग गर्नुभएको छ । यो पुरस्कार सांस्कृतिक सङ्घले नै प्रदान गर्नेछ । यो काव्यिक पुरस्कार साहित्यका ३ विधाः छन्द, गद्य र गीत गजलमा प्रदान गरिनेछ । यसको सुरुवात ०७१ को लक्ष्मीजयन्तीबाट गरियो र पहिलो वर्ष छन्द विधामा विशेष योगदान दिएबापत कवि रत्ननिधि रेग्मी शुक्राचार्य, गद्यतर्पm सन्ध्या पहाडी र गीत गजलमा योगदान दिएबापत रवि प्राञ्जललाई रु. पाँच हजार नगदसहित प्रमाणपत्र प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेबाट प्रदान गरियो । यस वर्ष कात्तिक ६ गते लक्ष्मीपूजा परेकाले यसै बिहान कविगोष्ठीको पनि आयोजना गरियो । महाकवि भुवनहरि सिग्देल, दीर्घराज प्रसाईं, प्रभा भट्टराई, रत्ननिधि रेग्मी, सन्ध्या पहाडी, रवि प्राञ्जल, बलदेव अधिकारी गाउँले, धर्तीचन्द्र यात्री, प्रभा भट्टराई, डा. मोहन लोहनी, अच्युतरमण अधिकारी, अच्युतप्रसाद पौडेल, अनुराधा थापा, कृष्ण बस्नेत, जीवन अधिकारी, उर्मिला पन्त, उषा सिवाकोटी र वैरागी जेठाले कविता वाचन गरे । स्वागत मन्तव्य व्यक्त गर्दै सङ्घका महासचिव नृपेन्द्रनाथ रिमालले सङ्घका विभिन्न गतिविधिबारे प्रकाश पार्नुभयो भने मन्तव्य क्रममा रमेश खकुरेलले विश्वमा नेपालले देखाउन सक्ने तीन चिज सगरमाथा, छन्दमै कुरा गर्नसक्ने महाकवि देवकोटा र पिंगलले बनाएको छन्दशास्त्रअनुसार लेखन सकिने समृद्ध भाषा नेपाली मात्र रहेको उदाहरण दिनुभयो । अतिथिको आसनबाट बोल्दै लेखनाथ साहित्य सदनकी सदस्यसचिव एवम् साहित्यकार रमा शर्माले नेपाली शिक्षा परिषद् स्थापनामा महाकवि देवकोटाको महत्र्वपूर्ण योगदान रहेको उल्लेख गर्दै देवकोटाले वनारसमा रहँदा लेखेको नागरिकशास्त्र कृतिको दुई खण्ड छापिएको र एक खण्ड प्रज्ञाप्रतिष्ठानमा रहेको सुन्नमा आएकाले त्यसलाई प्रकाशनमा ल्याउन उपकुलपतिलाई आग्रह गर्नुभयो । साथै उहाँले त्यसबेला देवकोटा र प्रजातन्त्र ल्याउन ठूलो योगदान दिने युगवाणीको चर्चा गर्दै पत्रिकामा छापिएको सूचनाका आधारमा राजनीतिक कथा र राजनीतिक कवितासङ्ग्रहबारे पनि खोजी गर्न सांस्कृतिक सङ्घलाई आग्रह गर्नुभयो । तर, धेरैलाई यो कुरा थाहा छैन कि महाकवि देवकोटाका रचना छाप्न तथा खोज्न सांस्कृतिक सङ्घलाई देवकोटा परिवारले अनुमति दिएको छैन । परिवारले नै पटकपटक मुद्दा हालेकाले सङ्घले यो काममा हात हाल्छजस्तो मलाई लाग्दैन । विडम्बना नै मान्नुपर्छ महाकविप्रतिको सङ्घको सेवाभावलाई कतिपयले नकारात्मक र स्वार्थजन्य कुरा पनि ठाने । जुन बेला महाकवि देवकोटाबारे जनमानसमा खडेरी परेको थियो, त्यसबेला यसले देवकोटाका कृति छापेर, प्रचार गरेर, जन्मजयन्ती मनाएर, सालिक बनाएर र महाकविकै फिल्म पनि बनाएर चर्चामा ल्यायो, त्यही संस्थाले परिवारबाट स्यावासी होइन पीडा पायो । तर, जसले सङ्घमाथि आक्षेप लगाए र पाण्डुलिपि नै उठाएर लगे, तिनले यो १० वर्षको अवधिमा ती पाण्डुलिपि प्रकाशन गरेनन् र देवकोटाका विषयमा पनि कसैलाई प्रेरितसम्म गरेनन् । तैपनि सङ्घको यस महान् कार्यलाई जनसाधारणले सराहना गरेका छन् । आज नरसिंहबहादुर श्रेष्ठ यस धर्तीमा नरहे पनि उहाँले आफ्नै खर्च र सांस्कृतिक सङ्घको पहलमा महाकविका झन्डै दर्जन कृति छपाएर प्रचारप्रसार गर्ने अमूल्य काम गर्नुभएकोमा उहाँलाई हामीले कदापि बिर्सनुहुँदैन ।
अलिकति पुरस्कारबारे चर्चा गर्नु यतिबेला मनासिव होला जस्तो मलाई लाग्छ । म हम्मेसी पुरस्कार नलिने मान्छे हुँ । यही थाहा पाएर रमेश खकुरेल, कमलमणि दीक्षित, वासुदेव शर्मा लुइँटेल र डा. अरुणा उप्रेती मिलेर देवकोटा विद्वत्वृत्ति स्थापना गरी पहिलोपल्ट मलाई प्रदान गरियो । तर, पछि सुनकोसी साहित्य प्रतिष्ठानभित्रका राजनीतिक व्यक्तिहरूको कारण त्यो विद्वत्वृत्ति मबाट टाढा भई भरतराज पन्त, लीलासिंह कर्मा र प्रेमप्रकाश मल्लसम्म पुगेर टुङ्गियो । ०५६ मा मलाई भूपालमानसिंह युवा साहित्य पुरस्कार दिने निर्णय सार्वजनिक भएपछि म द्विविधामा परेँ । अगाडिको नामले मलाई अलिक अप्ठ्यारो परेकाले सबै पक्षका साथीहरूसित सल्लाह हुँदा सबैको अनुरोधले स्वीकार गरेँ । धेरै पछि मात्र खगेन्द्र सङ्ग्रौलाले मलाई पैसामा बिकेको आक्षेप लगाए । तर, त्यो पुरस्कार मैले न निवेदन दिएर प्राप्त गरेको हुँ न त चाकडी गरेरै । त्यसो गरेको भए खगेन्द्रजीले लाएको आरोप ठीक ठहथ्र्यो । यसपल्ट पनि मैले यो पुरस्कार अप्रत्यासित नै पाएँ । मलाई रवि ओझाले मैले तपाईंलाई कतै सिफारिस गरेको छु, समय आएपछि थाहा भइहाल्छ, अहिले म केही भन्दिनँ भन्नुभयो । एकैचोटि लक्ष्मीपूजाको ४/५ दिनअघि रमेश खकुरेलको फोन आउँदा मात्र रविजीको योजना थाहा पाएँ । रमेश खकुरेलजस्तो आशुकविले महाकविका देवकोटाका नाममा राखेको पुरस्कार पाउनु मेरा लागि ठूलो भाग्य थियो । यसर्थ, मैले केही नभनी स्वीकार गरेँ ।
हो, निश्चय नै अहिले पुरस्कार पाउँदा पनि मुख लुकाएर थाप्न जानुपर्ने अवस्था छ । अर्कोचाहिँ कति रकमको हो, त्यो हेरेर मात्र मूल्याङ्कन गरिन्छ । थोरै राशिका पुरस्कार शुद्ध हुन्छन् भन्ने पनि आमधारणा छ । रविन्द्र मिश्रजस्तो प्रख्यात पत्रकारले समेत मलाई पुरस्कारको रकम सोध्दा सो कुराको अनुभव गरेको हुँ । यसपल्ट देशभन्दा विदेशबाट धेरै बधाई आए । भारतदेखि अमेरिकासम्मको बधाईबाट के थाहा भयो भने नेपाली जनमानस मात्र पैसालाई बढी महत्र्व दिँदोरहेछ । पुरस्कारको रकमभन्दा कसको नाममा कसले राखेको हो त्यसमा भर पर्दछ । अर्को कुरा महाकवि देवकोटाजस्तो अन्तर्राष्ट्रिय कविको नाममा ठूला पुरस्कार नहुनु तर पैसावालका नाममा ठूलठूला पुरस्कार हुनु र आफ्ना भजनगायकलाई मात्र दिने परम्पराले नेपाली भाषा अधोगतितर जाँदै गरेको सङ्केत मिल्छ । फेरि साहित्यमा भर्खरै लागेको मानिस पनि पुरस्कारमा पर्नाले पुरस्कारको गरिमा होचिएको आभास हुन्छ । मलाई नै फोनमा धेरैले आपूmभन्दा साना व्यक्तित्वसाथ दिइएको पुरस्कार तपाईंले किन लिएको भन्ने प्रश्न आयो । मैले लामो समय पत्रकारिता, शिक्षण सेवा, मानवअधिकार, ज्योतिष तथा साहित्यका विधामा सेवा गरेको धेरैलाई थाहा छ । त्यसो भएर उनीहरूले मलाई माथिल्लो ठाने पनि म आपूmलाई उनीहरूले सोचेजस्तो ठान्दिनँ । त्यसमा पनि पाँच–सात वर्षयतादेखि मेरो नाम महाकवि देवकोटाका अध्येतामध्येमै पर्ने गरेकाले ममाथि यस्तो प्रश्न गरिएको हुन सक्छ । तर, मचाहिँ दुवै मित्रहरूको योगदान आपैँmबराबर रहेको ठान्छु । मेरो शब्दकोशमा कोही न ठूलो छ, न त सानो नै । यसर्थ कोहीसित कोही बस्दैमा वा सँगै हुँदैमा गरिमा घट्ने वा बढ्ने होइन भन्ने ठान्छु म । मूल कुरा पुरस्कृत हुनु नै महत्र्वपूर्ण हो, त्यसमा पनि देवकोटाको नाममा । यसैलाई अहोभाग्य ठान्नुपर्दछ ।
अन्त्यमा हामीलाई नेपाल सांस्कृतिक सङ्घले पुरस्कार दिएर उचित मूल्याङ्कन गरेकोमा अध्यक्ष गोविन्ददेव पन्त, रवि ओझालगायत कार्यकारिणी समितिलाई धन्यवाद नदिई रहन सक्दिनँ । साथै, आपूmले खाइनखाई महाकवि देवकोटाउपर भक्तिभाव राखी पुरस्कारको व्यवस्था गरिदिनुभएकोमा आशुकवि रमेश खकुरेल तथा विगत केही वर्षयता मलाई सञ्चारमाध्यममा बढी चर्चा ल्याइदिने कवि मित्र श्याम रिमाललाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । एवमस्तु । इत्यलं ।
– महाकवि देवकोटा आश्रम, काठमाडौं
प्रतिक्रिया