काठमाडांैपछि मुलुककै दोस्रो शैक्षिक हबको रूपमा रहेको रूपन्देहीमा निजी स्कुल मात्र होइन सामुदायिक विद्यालय पनि नमुना बन्दै गएका छन् । रूपन्देहीको बुटवल पश्चिमनेपालको औद्योगिक एवम् व्यापारिक केन्द्र हो । यहाँ थुप्रै उद्योग, कलकारखाना, विद्यालय, आधुनिक भवन, सडक, पुलपुलेसालगायतका आधुनिक सुविधा थपिएकाले पहिलेको तुलनामा निकै परिवर्तन आएको छ । पछिल्लो समय यो क्षेत्र शैक्षिक हबको रूपमा पनि परिचित हुँदै गएको छ ।
यस क्षेत्रका केही राम्रा शैक्षिक संस्थामध्ये एक हो बुटवल देवीनगरमा रहेको नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालय । सामुदायिक विद्यालय भएर पनि यस विद्यालयले शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु-याएर यस क्षेत्रकै नमुना विद्यालय बन्न पुगेको छ । ०३३ मा स्थापना भएर भौतिक साधन र स्रोतको अभावमा अत्यन्तै दयनीय अवस्थामा गुज्रिएको यो विद्यालयले अहिले भने निकै फड्को मारेको छ । हाल यो विद्यालय राष्ट्रकै उत्कृष्ट नमुना विद्यालयको रूपमा परिचित हुन पुगेको छ ।
रुग्ण अवस्था पार गरी विद्यालय यो अवस्थामा आइपुग्नुमा व्यवस्थापन समितिका अध्यक्ष कदरबहादुर रायमाझीको अथक प्रयास, मिहिनेत, आर्थिक सहयोग र प्राचार्य प्रेमबहादुर बस्नेतको कुशल शैक्षिक व्यवस्थापन प्रमुख रहेको देखिन्छ । नेपाली समाजमा काम गर्नभन्दा बढी कुरा गर्ने मानिस भेटिन्छन्, तर अध्यक्ष भने कामको माध्यमबाट काम गरेर उदाहरणीय बनेका छन् । आत्मविश्वास, काम गर्ने रुचि भएपछि केही कुराले रोक्न सक्दैन भन्ने बुटबलको नवीन औद्योगिक कदरबहादुर रीता उमाविका अध्यक्ष कदरबहादुर रायमाझीले पुष्टि गरेका छन् । आफ्ना लागि भन्दा अरूका लागि केही गरेर देखाउनुपर्छ भन्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा आफू लागिपरेको रायमाझीको कथन छ ।
०३३ मा स्थानीय जनताको पहलमा नवीन औद्योगिक प्राथमिक विद्यालय स्थापना भएकोमा हाल उमाविसम्म आइपुग्दा समयको मागअनुसार विद्यालयको स्तरमा निकै वृद्धि भएको छ । आफ्नो सक्रिय सहभागिता स्थानीयवासी र परिवारको समेत सहयोगले विद्यालय यहाँसम्म आइपुगेको रायमाझी बताउँछन् । ०५६ मा जिल्ला शिक्षा कार्यालय रूपन्देहीले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कदरबहादुर रायमाझीलाई मनोनयन गरेपछि उनको सक्रियता, शिक्षकहरूको एकता र अभिभावक, स्थानीयवासीको सहयोगले गर्दा नै विद्यालय यहाँसम्म आइपुगेको हो भन्छन् प्राचार्य प्रेमबहादुर बस्नेत ।
पहिला जीर्ण टिनका टहरामा आठजना शिक्षकले करिब एक सयदेखि एक सय ५० जना विद्यार्थी अध्यापन गराइन्थ्योे । जहाँ हाल ५२ जना शिक्षक–शिक्षिका कार्यरत छन् भने विद्यार्थीको चाप पनि निकै छ । शैक्षिक पूर्वाधारसँगै आवश्यक विभिन्न सुविधा पनि थपिएका छन् । ३९औँ वार्षिकोत्सव मनाउने क्रममा प्रमुख अतिथिका रूपमा उपस्थित उपप्रधानमन्त्री प्रकाशमान सिंहले पनि विद्यालयले गरेको प्रगतिको खुलेर प्रशंसा गर्दै ‘नेतृत्व राम्रो भए सामुदायिक विद्यालयले पनि प्रगति गर्न सक्छ भन्ने उदाहरण हो यो विद्यालय’ भएको भन्ने अभिव्यक्ति दिए । सभासद् एवम् पूर्वशिक्षाराज्यमन्त्री बालकृष्ण खाँण पनि सामुदायिक विद्यालय भएर पनि नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालयले राम्रो शिक्षा दिन सकेको बताउँछन् । देशका सबै विद्यालयमा यस्तै व्यवस्थापन हुन सके शिक्षामा फड्को मार्ने उनको भनाइ छ ।
विद्यालयको स्तरवृद्धिसँगै प्राविबाट निमावि, निमाविबाट माविको स्वीकृति लिई कक्षा १० सम्म सञ्चालन भयो । यही क्रममा कक्षा ६ देखि कक्षा १० सम्म मासिक शुल्क लिने चलनले शुल्क तिर्न नसक्दा धेरै विद्यार्थीले विद्यालय छोडेको तीतो अनुभव महसुस गरी ०६३ भदौ २५ गते शिक्षा दिवसका अवसरमा शुल्क नलिने घोषणा गरेको अध्यक्ष रायमाझी स्मरण गर्छन् । त्यसपछि यस विद्यालयमा भर्नाप्रतिको आकर्षण बढ्दै गयो । पहिलो एसएलसी ०६४ मा सहभागी भएकामध्ये विशिष्ट श्रेणीमा उत्तीर्ण हुनेलाई १० हजार, प्रथम श्रेणीमा उत्तीर्ण हुनेलाई प्रोत्साहनस्वरूप क्रमशः दुई हजारदेखि साढे सात हजारसम्म पुरस्कारको व्यवस्था गरियो, जसले गर्दा विद्यार्थीलाई निकै हौसला बढायो । विद्यार्थी तथा अभिभावक पनि विद्यालयको पठनपाठनबाट निकै प्रभावित छन् । सामुदायिक भएर पनि उच्चस्तरको निजी विद्यालयमा जस्तो गुणस्तरीय सुविधा र पठनपाठन भएको कारण आफ्ना छोराछोरी भर्ना गराएको अभिव्यक्ति दिने अभिभावकहरू प्रशस्तै छन् ।
विद्यालयको स्तरोन्नति गर्नुपर्छ भन्ने अभिप्रायले ०६८ बाट उमाविमा सम्बन्धन प्राप्त गरी वाणिज्य सङ्कायमा पठनपाठन हुँदै आएको छ । विद्यार्थीलाई समयसापेक्ष ज्ञान दिन रुम टु रिडको सहयोगमा प्रशस्तै पुस्तक र २४ थान कम्प्युटर प्राप्त भई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको यस विद्यालयमा नेपाल सरकारको लगानीमा ०७० देखि प्राविधिक तथा व्यावसायिक शिक्षाका रूपमा कक्षा नौदेखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालित छ । साथै इन्जिनियरिङ वर्कसप, व्यवस्थित इन्जिनियरिङ स्टोरसमेतको व्यवस्था गरिएको छ भने विद्यालयलाई हरियाली र स्वच्छ बनाउन वृक्षारोपण गरी बगैँचाको निर्माण पनि गरिएको छ । डिपबोरिङ गरी स्वच्छ खानेपानीको व्यवस्था गरिएको छ भने व्यावसायिक बहादुर भवन निर्माण गरी भाडामा लगाउँदा विद्यालयलाई ठूलो आर्थिक सहयोग पुगेको छ । छात्रछात्रा र शिक्षक–शिक्षिकाका लागि प्याड इन्सिनेटरको अलग–अलग शौचालयको व्यवस्था गरिनु यस विद्यालयको विशेषता बनेको छ ।
लेखाशाखामा एकाउन्ट सफ्टवेयरबाट हिसाबकिताब राख्ने परिपाटी छ । विद्यालयमा आधुनिक लाइब्रेरी, फोटोकपी सुविधा, इन्टरनेट, फ्याक्स, २४ घन्टे वाइफाई सेवा, पार्किङको सुविधा छ । आधुनिक साइन्स ल्याव हाइस्कुल लेभलको छ भने इन्जिनियरिङ विद्यार्थीलाई ड्रइङबोर्डसहित कक्षाकोठाको व्यवस्था छ । यसैगरी २४ सै घन्टा सुरक्षागार्डको व्यवस्था पनि छ । सामुदायिक विद्यालय भए पनि मेसिनबाट हाजिर गर्ने व्यवस्था मिलाइनु सुन्दर पक्ष हो । विद्यालयमा राम्रो आधुनिक चमेनागृहको व्यवस्था छ जसमा विद्यार्थी र शिक्षकका लागि छुट्टाछुट्टै खाने–बस्ने व्यवस्था रहेको छ । लोडसेडिङको समयमा पठनपाठनमा अवरोध नहोस् भनेर १५ केभीएको जेनेरेटरको पनि व्यवस्था गरिएको छ । साना शिशु कक्षाका बालबच्चाहरूलाई निःशुल्क खाजाको व्यवस्था, हरेक दिन साँझ ४ बजेपछि कक्षा ६ देखि कक्षा १० सम्म निःशुल्क अतिरिक्त कक्षा पढाउने व्यवस्था छ । यसैगरी एसएलसीमा ०६४ सालदेखि निरन्तर शतप्रतिशत रिजल्ट आएको छ । त्यस्तै विद्यार्थी भाइबहिनीहरूको मनोबल बढोस् भनेर खेलकुदका सामान भलिबल, फुटबल अति आधुनिक अस्ट्रेलियन डिजाइनमा करिब सय वर्षसम्म टिक्ने पिङ छ भने त्यसका साथसाथै चिप्लेटीको पनि व्यवस्था छ ।
वर्षात्को समयमा नहरपुर, बुद्धनगर, मोतीपुरलगायतका स्थानबाट यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई समस्या भएकाले विभिन्न समस्या झेल्दै तिनाउ नहर हेड झोलुङ्गे पुल पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रायमाझीकै सक्रियतामा निर्माण सम्पन्न भयो । जसबाट विद्यार्थी १२ गाविस र बुटवल नगरपालिकाका जनतालाई प्रत्यक्ष लाभ पुगेको छ । विद्यालय र विद्यार्थीको माग कहिल्यै पूरा हुँदो रहेनछ । यस विद्यालयलाई अझै जरुरी भएको भौतिक पूर्वाधारमा कक्षा कोठाहरू, उमावि विज्ञान सङ्कायको पठनपाठन र अति आवश्यक विद्यार्थीका लागि छात्रावास भएमा विद्यालयको शैक्षिक गुणस्तर अझ सुधार गर्न सकिन्छ भन्ने मान्यता राख्छन् अध्यक्ष रायमाझी । पठनपाठनमा राम्रो गरेकाले विभिन्न क्षेत्रबाट यो विद्यालय पटक–पटक पुरस्कृतसमेत भएको छ ।
कुशल नेतृत्व र व्यवस्थापनका कारण नै आज यो सामुदायिक विद्यालय साँच्चै पश्चिमनेपालकै एउटा नमुना र अनुकरणीय विद्यालय बन्न पुगेको छ । कर्म गरे फल मिल्छ भन्ने उक्तिको सार्थक उदाहरण भएको छ यो विद्यालय । सामुदायिक विद्यालयमा सरकारले जति लगानी गरे पनि युनियनको राजनीति तथा दलीय प्रभाव र दबाबले विद्यालयको शैक्षिक गुणस्तर खस्कँदो छ । यस्तो परिवेशमा सरकारले नवीन औद्योगिक कदरबहादुर रीता उच्च माध्यमिक विद्यालयले गरेको उन्नति–प्रगतिका बारेमा अन्य क्षेत्रका विद्यालयलाई पनि अनुकरण गर्न लगाउने हो भने शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीले आशातीत सफलता पाउने आशा गर्न सकिन्छ ।
प्रतिक्रिया