सत्तामा शासकका आसेपासेहरूद्वारा हुँदै आएका मनपरी नेपालमा यस्तो स्थायी रोगको रूपमा जमेको छ, जसले हरेक राजनीतिक परिवर्तनलाई जरैदेखि मक्काएर कामै नलाग्ने बनाउँदै आएको छ । व्यवस्था परिवर्तन होस् वा नहोस्, यस्तो रोग शताब्दीअघिदेखि नै हमेसा कायम रहेको छ । ०४६ को आन्दोलन होस् वा ०३६ को विद्यार्थी आन्दोलनको बेला, राजाले ‘बाहिरको अवस्था के छ ?’ भनेर सोध्दा उहाँका आसेपासेले ‘केही भएको छैन सरकार, केही उशृङ्खल समूहले हल्ला गरेका मात्र हुन्’ भन्थे रे । तर, त्यसलाई पत्याइबसेका राजालाई बीबीसीलगायतका समाचारले ‘गलत’ भन्न थालेपछि आफैँ बाहिर नियाल्न जाँदा त देशै अनियन्त्रित अवस्थामा गइसकेको थियो र राजाले कहिले शाही सम्बोधन त कहिले घँुडा टेकेर मूल्य चुकाउन बाध्य हुनुपरेको थियो । आसेपासेको कुरा विश्वास गरी बस्दा राजा ज्ञानेन्द्रले त राजतन्त्र नै गुमाउनुप-यो । त्यसबखत आसेपासे मात्र होइन, हुँदाहुँदा त्यसबेलाका सरकारका प्रधानमन्त्री, मन्त्री र उच्च कर्मचारीहरू र दरबारमा राजाका खास मान्छेसमेत राजालाई गुमराहमा राखी देश भाडमा गए पनि आफैँ चलखेल गर्न चाहेकाले गलत सूचना दिन्थे । यसबाट राजा, जनता र देशलाई कुनै पनि हालतमा फाइदा पुगेको थिएन, केवल शासनको ती आसेपासेहरूलाई व्यापक फाइदा हुन्थ्यो होला । पञ्चायतकालभरि वास्तविक अतिवादी क्रूर व्यवहार यिनैले गर्ने त्यसको नतिजा राजा, जनता र देशले भोग्नुपरेकाले पञ्चायत ढलेको हो ।
त्यस्तै राणाशासनमा पनि जंगबहादुर र चन्द्रशमशेरबाहेक हरेक शासकको हविगत त्यही भएकाले उनीहरूको शासन राम्रो थिएन । र, हरेकपटक समाजमा गलत सन्देश जान्थ्यो । तीमध्ये कतिपय त यही आसेपासेका विश्वास गरेरै बसी वास्तविकताको जानाकारी नपाएकै कारण लखेटिए, मारिए । कसैको त सन्तानै सखाप भए ।
राजा महेन्द्र चतुर थिए, अर्काको कुरामा स्वार्थ मिसिएको हुन्छ भन्ने मान्यता राख्थे र अरूको कुरामा विश्वास र भरोसा गर्दैन थिए । त्यसमाथि उनी राजाभन्दा पनि चतुर राजनीतिज्ञ थिए र उनको पालामा उनले देशमा त्यस्तो उथलपुथल कहिल्यै हुन दिएनन् ।
बीपी कोइराला पनि सत्तामा हुँदा यस्तै अरू अवाञ्छित फाइदा लिने प्यारासाइटिकहरूमा आश्रित हुनुपरेकाले सत्ता गुमाउन बाध्य भएका हुन् भन्दा फरक नपर्ला । किनकि उनलाई उनकै अनुयायी तुलसी गिरीले कुरामा अल्मलाएकै भरमा पछारिदिए । त्यही तुलसी गिरीका खास मान्छे, स्वकीय सचिव थिए अहिलेका प्रधानमन्त्री सुशील कोइराला ।
राजनीति सत्ताका लागि गरिन्छ, तर सत्तामा पुगेपछि जस्तोसुकै मै हुँ भन्ने शासक पनि आफ्नो इगो, निहित स्वार्थ र षड्यन्त्र गर्ने आसेपासे वा अर्को शब्दमा भन्ने हो भने उनकै प्यारासाइटिकहरूबाट पीडित, असफल र समाप्त भएका हुन्छन् । किनकि शासकले समग्र देश र जनताका लागि फाइदा हुने काम गर्नुपर्छ भने त्यो शासनको फाइदा आफू मात्र लिन खोज्ने गिरोह यस्तै सहयोगी बनेर शासककै वरिपरि घुम्नेहरू मात्र हुन जान्छन् । तिनले विभिन्न तगारो लगाएर, षड्यन्त्र, जालजेल गरेर, कुरालाई तोडमोड गरेर होस् वा हुनै पर्ने कामलाई नहुने बनाएर होस् शासकलाई फनफनी घुमाउँछन् । शासक साँच्चै नै राम्रो शासक बन्न चाहन्छ वा देश र अवस्थालाई सही दिशा दिन चाहन्छ भने शासक त्यस्ता प्यारासाइटिकहरूबाट बच्न आवश्यक हुन्छ । यस्ता प्यारासाइटिकमा भर नपरी काम गर्ने हो भने शासकले थोरै समयमा पनि चमत्कार गर्न सक्छ । झन् त्यसमाथी परिवारका सदस्य नै प्यारासाइटिक बनाइन्छ वा अर्को शब्दमा भन्ने हो भने विशेष सहयोगीको टिम बनाइन्छ त्यो नै शासकको पतनको कारण बन्न जान्छ ।
प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कसैबाट बढी पीडित थिए भने सुशील कोइरालाको अनाधिकृत चलखेलबाटै बढी पीडित थिए । उनी प्रधानमन्त्री हुँदा सुशील कोइराला अघोषित अदृश्य हर्ताकर्ता (किचेन क्याबिनेट मिनिस्टर) भई हरेक आगन्तुकलाई प्रधानमन्त्री भेट्न बन्चित गरी आवश्यक नै नपरेको अवस्थामा पनि नकारात्मक जवाफ दिई पठाउँथे, आफूले के–के न बुझेको छु भनेर जनाउन अभिनय गरी हरेक आगन्तुकलाई ह्युमिलिएट गर्थे, जो आए पनि प्रजातन्त्र र विकास उनको बाबुकै सम्पत्ति भएझै कुरा गरी आफू के–के न बुझेको बुझक्की सिनियर भएको अभिनय गरी अपमानजनक दुव्र्यवहार गरी नकारात्मक जवाफ दिई फिर्ता पठाउँथे । उनको ती व्यवहारले मात्र करिब २० लाख नेपालीको बन्नैपर्ने काम नबनी जीवन नै बिग्रिएको छ ।
भारतमा पनि आज गान्धी परिवारको पतन हुँदै जानुमा यस पक्षको पनि ठूलो हात छ । बंगलादेशका राष्ट्रपिता शेख मुजिबर रहमानको समस्त परिवारको हत्या यही कारणले भएको हो । राजा ज्ञानेन्द्र राजागद्दीबाट निकालिनुको कारण जनता होइनन्, पारस र उनका परम् मित्र पशुपतिभक्त महर्जन, सत्चितशमशेर, टीका धमलालगायत ‘टिम ज्ञानेन्द्र’का प्यारासाइटिकहरू वा ज्ञानेन्द्र नामक डुङ्गाका मुसाहरू डुङ्गा प्वाल पारेर डुब्न लागेपछि गायव भए । त्यसैले शासकले सिस्टममा चल्न उचित हुन्छ तर आसेपासेमा कहिल्यै विश्वास र भरोसा गर्नुहुन्न ।
यहाँ ती प्यारासाइटिकका हरामी र घटियापनको हरदिनको क्रियाकलापको बेलिविस्तार गर्न सम्भव छैन, तर मैले बुझेअनुसार केही प्रतिनिधि क्रियाकलाप बताउँदै छु । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालासमेतको टिम प्रम भेट्न जाँदा अमिता कपालीको जिद्धीले गिरिजाको टिम फिर्ता आउनुपरेको थियो भने उनको कारण अरू तल्लो तहका पदाधिकारी, कार्यकर्ता र सेवाग्राही जनताको हालत त्यसबखत कस्तो थियो होला ? गिरिजा प्रधानमन्त्री हुँदा ‘टिम गिरिजा’का अन्य सदस्य आफ्नै शासक सम्झी गिरिजासम्म आगन्तुकलार्ई पुग्नै नदिई फिर्ता पठाउँथे । उनीहरूले जति अवस्थाको विवेचना गरी फिर्ता पठाए पनि ती पनि पैसा पाउने भएपछि मात्र प्रधानमन्त्री गिरिजाकहाँ मान्छे पु-याउँथे र जायजै काम गराइदिएबापत पनि कमिसन खान्थे, हुँदाहुँदा नाजायज काम पनि पैसाका लागि गर्थे । गिरिजाका ती आसेपासे आज अर्बपति बनेका छन् । मेरो अनुभवमा प्रधानमन्त्रीका आसेपासेमा अलिकति जायज काम गर्ने शेरबहादुर देउवाका सहयोगीहरू थिए, त्यो पनि भानु देउवा शेरबहादुरको टिममा सामेल हुनु अगाडि ।
हिजो सुशीलका व्यवहार देखेका आजका ‘टिम सुशील’का सहयोगीहरू (पुरुषोत्तम बस्नेतजस्ता सिनियरहरू सुशीलसँग रुष्ट रहेकाले शासन भनेकै नबुझेका अनुभवहीन ठेट्नाहरू नै अहिले टिम सुशीलमा सामिल छन्) प्रधानमन्त्रीलाई भेट्न आएका कार्यकर्ता र जनतालाई गेटबाट भित्रै पस्न दिँदैनन् । उनीहरूले चाहेका मान्छे मात्र प्रधानमन्त्रीले भेट्न पाउँछन् । प्रधानमन्त्रीका एकजना पुराना मित्र छन्, जोसँग उनी १५ वर्ष सँगै एउटै कोठामा बसेका थिए, बुद्धनगरमा । तिनलाई भेट्न खुद प्रधानमन्त्री आतुर छन् । मैले ती मित्रलाई शासकीय सुधारमा कोसेढुङ्गा सावित हुने र लागू भएको खण्डमा सुशील कोइराला केही समयपश्चात् बीपी कोइरालासँग दाँजिने र छोटो समयमा सुशील कोइराला पनि नेपालको राजनीतिमा अजर–अमर सावित हुने एक योजना दिएर प्रमलाई अवगत गराउन भनेको थिएँ, त्यहीअनुसार उनी पनि नेपाली काङ्ग्रेसका पुराना कार्यकर्ता भएकाले उनले कुनै सरकारी निकायमा कुनै पद दाबी गरेका र प्रधानमन्त्रीलगायत समस्त पार्टी नेताले सो पदका लागि उनलाई स्वीकारीसकेका भएकाले प्रधानमन्त्री भेट्न जति प्रयास गर्दा पनि सुशीलका निवासका टिमले उनलाई ‘अब यसले प्रम भेटे के–के न लान्छ र यो उच्च पदाधिकारी बन्छ’ भनेर नानाभाँती बहाना गरी भेट्न बन्चित गर्दै आएको नौ महिना भयो । यी सहयोगीले पैसा कमाउने मौका यही हो भनेर आर्थिक लाभ लिएर केही धनाढ्य मारवाडी र धनीमानीहरूलाई बरु प्रम भेट्टाउलान्, जो उनीहरूलाई फाइदा दिन सक्दैनन् त्यस्ता जनताले प्रम भेट्ने सपना मात्र पाल्न सक्लान्, तर काङ्ग्रेसका पार्टी कार्यकर्तालाई प्रम भेट्न कुनै पनि हालतमा सम्भव छैन ।
एकले अर्काको खुट्टा तान्ने प्रवृत्तिले काङ्ग्रेसका आफ्नै कार्यकर्ता ‘टिम सुशील’बाट पीडित छन् भने उनीहरूको मनोमानी क्रियाकलापबाट देश र जनता कति पीडित होलान् ? माघ ८ मा संविधान बनाइछोड्ने रट लगाएका प्रधानमन्त्री केही धनाढ्य मारवाडी र आगन्तुक, केही आपराधिक पृष्ठभूमिका र केही विवादास्पद व्यक्तिका लागि मात्र मसिहा सावित भई इतिहासमै बद्नाम हुन बेर छैन । त्यसैले, अहिले समय छँदै प्रधानमन्त्रीले ‘टिम सुशील’का स्वार्थी सहयोगीहरूमा भरोसा नगरी सिस्टममा भरोसा गर्नु अपरिहार्य छ । कोइरालाको शासनमा संविधान त जारी होला–नहोला, तर यो खतर्नाक टिमलाई पन्छाएर स्वविवेक प्रयोग गरेमा उनको शासन इतिहासमै कोसेढुङ्गा सावित हुन्थ्यो कि ? तिनको क्रियाकलाप डरलाग्दो भइसकेको छ । त्यसैले प्रमनिवासका ‘टिम सुशील’सँग प्रधानमन्त्रीलगायत सम्पूर्ण चेतनशील जनता होसियार हुनु सामयिक ठहरिन्छ । अब सुशील अरूबाट होइन तिनैका कारण असफल हुने पक्कापक्की देखिँदै छ ।
प्रतिक्रिया