विलयको पथमा महाजाति – इन्द्रबहादुर बराल

विलयको पथमा महाजाति – इन्द्रबहादुर बराल


bicharनेपाली समाजमा विशेष गरेर ब्राह्मणवादको प्रभुत्व चरम उत्कर्ष पुग्दा महान् खस जातिलाई अत्यन्तै अपमानित र घृणाको रूपमा लिने गरेको पाइन्छ । त्यस सन्दर्भलाई जोडेर हेर्दा खस जातिलाई महाजाति भनेर सम्बोधन वा सम्मानजनक शब्द व्यक्त गर्दा कतिलाई आश्चर्य लाग्न सक्छ । तर, नचिनिँदा श्रीखण्ड पनि काठ नै हुन्छ, जब कि पहिचान गर्न सके श्रीखण्ड नै ज्यादा मूल्यवान वस्तु हो । त्यसैले खस जातिबारे अध्ययन–अनुसन्धानपश्चात् मात्र यस जातिको उद्भव वा उत्पत्तिको जानकारी हुन थाल्यो, अनि मात्र ‘देवादि देव महादेव’ अर्थात् महादेवलाई देवताहरूको पनि देवता भनेजस्तै खस जाति पनि जातिहरूको पनि महाजाति हो भन्नेमा अब सम्भवतः विवाद नहोला । खस जाति महाजातिको रूपमा रहेको विषयमा धेरै विद्वान्ले कलम चलाउन थालेका छन् । विशेष गरेर प्रा.डा. गोपाल सिवाकोटी, प्रा.डा. सुरेन्द्र केसी, डा. जगमान गुरुङ, डा. केशवमान शाक्यहरूका लेखहरूमा खस जातिलाई महान् र सम्मानित जातिको रूपमा व्याख्या गरेका छन् । मानवशास्त्रको दृष्टिमा पनि खस जाति थुपै्र जाति समूहको पनि नेतृत्वदायी जाति हो । सामान्यतया अहिलेको चलनचल्तीको भाषा वा परिभाषा गरिँदा पनि धेरै जाति समूहहरू यस खस जातिभित्र पर्दछन् । उदाहरणको निम्ति क्षत्री, ब्राह्मण, ठकुरी, दशनामी, नाथयोगी, कथित पहाडे दलितहरूको प्रतिनिधित्व खस जातिले गरेको छ । त्यसैले खस जातिलाई महाजाति भनिनु न्यायपूर्ण हुन्छ ।
तर, दुर्भाग्य नै हो कि त्यस्तो महाजातिको अधिकार र अस्तित्व यतिबेला सङ्कटमा परेको छ । तथापि, आफ्नै जाति समूहमाथि भीषण आक्रमण हुँदा पनि तमाम खस समुदायका प्रबुद्ध वर्गहरू बेखबरजस्तै देखिएका छन् । यस्तो स्थिति रहिरहनु अत्यन्तै दर्दनाक कुरा हो । जनआन्दोलन ०४६ को सफलता र त्यसले प्राप्त गरेको राजनीतिक परिवर्तनबाट र अझै भन्ने हो भने ०६२/६३ को परिवर्तनपश्चात् त यस मुलुकका खस जातिहरू झनै प्रताडित भएका छन् । कसैले शासकको संज्ञा दिएका छन् त कतै शोषक, त्यसैगरी कतै सामन्त त कतै उत्पीडकको कपोलकल्पित आरोप लगाउँदै होच्याउने काम आजपर्यन्त भइरहेको छ ।
अर्को विडम्बना के हो भने खस जातिको अस्तित्व समाप्त गर्ने कार्यमा स्वयम् आफ्नै जाति समूहका आफूलाई महाक्रान्तकारी भन्नेहरू नै लागिपरेका छन् । जहाँसम्म लाग्दछ त्यसको पहिचान भइसकेको छ र तिनीहरूलाई बडो बुद्धिमत्तापूर्ण तरिकाले संविधानसभाको दोस्रो चुनावमा शान्तिपूर्ण गोप्य मतदानमार्फत खबरदारी गरिसकेका छन् भद्र नेपालीले । तथापि, त्यति भनेर चुप लागेर बस्ने बेला भने पक्कै पनि भएको छैन । मौका मिल्नासाथ खस महाजातिका विरुद्ध कुनै पनि समय भयानक आक्रमण हुन सक्छ भन्ने तथ्यलाई बिर्सन हुँदैन । यसर्थ आफ्नो जाति समूहको अधिकार र अस्तित्वको सवालमा कहीँ–कतै कसैसँग सम्झौता हुन सक्दैन भन्ने दृढ विश्वासका साथ सम्पूर्ण खस जाति समूहका मानिस एउटै मोर्चामा आबद्ध हुन जरुरी भइसकेको छ ।
हुन त विघटित संविधानसभाको अन्त्यतिर खस, आर्यहरूको खबरदारी सभा र -याली तथा बन्द–हड्तालमार्फत आफ्नो उपस्थिति देखाएकै हुन् । त्यसो भन्दैमा आफ्नो जाति समुदायप्रतिको जिम्मेवारी पूरा भएको ठान्नु भ्रम मात्र हुनेछ । त्यसैले अबका दिन अझै सतर्कतापूर्वक जातीय सद्भावमा खलल नपुग्ने गरी आफ्नो अधिकार सुनिश्चित गराउन क्रियाशील हुन अत्यावश्यक छ । नेपालको राजनीतिक ख्यालैख्यालमा धेरै त्यस्ता परिवर्तनकारी घटना भएका छन् । त्यस्ता घटनामध्ये ०६२/६३ को आन्दोलनको प्रमुख उपलब्धिको रूपमा लिइएका धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्र हुन् । यस्ता विषयमा कुनै जनमत लिने वा बुझ्ने काम भएको थिएन । उक्त जनआन्दोलन त तत्कालीन राजा ज्ञानेन्द्र शासनको सर्वसत्तावादविरुद्धको थियो । तथापि, मुलुकले एउटा फड्को मारिसक्यो, अब पछि फर्कनेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने क्रममा आफ्नो जाति समूहको अधिकार कुण्ठित नहोस् र महान् खस जातिलाई निषेध गरेर अघि बढ्ने दृष्टता पनि नहोस् भन्नेतर्फ सचेत रहनैपर्छ । केटाकेटीलाई ललिपप देखाएर फकाएजस्तै अहिले एमाओवादीले खस महाजातिलाई भुलभुलैयामा पार्न खसान प्रदेशको पनि एउटा कुनामा प्रस्ताव गरेको छ । त्यो भनेको बच्चालाई ललिपप देखाएजस्तै हो ।
यदि एमाओवादी इमानदार हो र ऐतिहासिक प्रणालीको आधारमा पहिचानसहितको सङ्घीयतामा देश जाने हो भने बृहत् खसान प्रदेशको प्रस्ताव किन गर्दैन ? खस साम्राज्यको आफ्नो भूगोललाई आधार मान्दा आधाभन्दा बढी भूगोल बृहत् खसान प्रदेश किन भनिँदैन ? त्यसकारण राजनीतिक दलहरूको चक्रब्युहबाट खस महाजाति उम्कनैपर्छ । सत्ता राजनीतिको हारालुछीमा जस्ता पनि राजनीतिक हत्कण्डा अपनाउन पछि पर्दैनन् यहाँका दल र तिनका नेताहरू । अहिलेसम्मका यावत् गतिविधिको समीक्षा गर्दा खस महाजातिलाई इतिहासको पानामा सीमित गर्ने षड्यन्त्र भइरहेको तथ्य जगजाहेर नै छ । तसर्थ जबसम्म यस मुलुकका धर्तीपुत्र खस जातिलाई आदिवासी/जनजाति ऐन २०५८ मा सूचीकरण गरिँदैन तबसम्म अधिकार सुनिश्चित भएको ठहरिँदैन । तसर्थ, खस जातिको बटमलाइन भनेकै आदिवासी जातिमा सूचीकरण हुनु हो । खस महाजातिभित्रै पनि यसबारे केही मतभेदजस्तो देखापरेको छ । एकातर्फ आदिवासी पनि हौँ र सूचीकृत हुनुपर्दछ पनि भन्ने अर्कोतर्फ मौजुदा आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ मा सूचीकरणमा उदासीन देखिनुले कतै खस, आर्यको नाममा गठन गरिएको संयुक्त सङ्घर्ष समिति नै खस जातिविरोधी शक्तिको मोहोरी बन्दै त छैन भन्ने प्रश्न उठ्नु स्वाभाविकजस्तो देखिन्छ । त्यसकारण सूचीकरण देखाउनका लागि कि अधिकार प्राप्तिका लागि भन्ने कुरामा प्रस्ट हुनैपर्छ ।
यसै पनि खस जाति आफ्नै कारणले विलयको पथमा लागेको अनुभव गरिँदै छ । आफ्नो भाषा, संस्कृति, धर्म आदिमा आएको विचलनले महान् खस जातिको पहिचान खस्कँदै गएको छ । मष्टपुजन गर्ने अर्थात् प्रकृतिपूजक खस जाति आजभोलि आफ्नो धर्म पालनाको विधि र प्रक्रिया बिर्सेर वैदिक आर्यहरूसँगको बसउठ र संस्कृतिकरणको भासमा परेर आफैँलाई बिर्सन थालेकोले विलयको पथमा लागेको हो कि भन्ने देखिन्छ । प्राचीन खसहरू प्रकृतिपूजक हुन्, उनीहरूले कहिल्यै बाहुन पुजेनन् आफ्नै जाति समूहका धामी–झाँक्रीमार्फत आफ्ना धार्मिक कार्यहरू सम्पन्न गर्दथे भन्ने कुरामा खस जातिका अध्येताहरूले कमल चलाएका छन् । विशेष गरेर प्रा.डा. सूर्यमणि अधिकारीले त खस जातिकै बारे अनुसन्धान गरेर र खस साम्राज्यको इतिहास नै लेखे । भर्खरै मात्र प्रा.डा. गोपाल सिवाकोटीले नढाँटीकन प्रस्ट रूपमा खस जातिको बारे ‘खस जाति’ नामक पुस्तक प्रकाशमा ल्याएका छन्, जसमा ‘खस जाति स्वत्वको लडाइँ’मा अस्तित्वको लागि अन्तरसङ्घर्ष गर्दै छ भनेका छन् । खस जातिको आफ्नै भाषा खस भाषा थियो, तर सभ्य, सुसंस्कृति र कुलीन बन्ने चाहनाले एवम् भाषालाई विकृत गरेर नेपाली भाषामा रूपान्तरण गर्नु विलयतर्फको पहिलो कदम थियो । क्रमशः खस महाजातिका आफ्नै धेरै पहिचानजन्य चलन थिए जसलाई उचो बन्ने चाहना र दक्षिणतिरबाट आएका आर्यहरूको बहकाउमा लागेर परम्परागत धर्म, संस्कृति रीतिरिवाजलाई बिर्संदा आज विलयपथको कष्टकर यात्रामा जान बाध्य पारिएको छ । तसर्थ खस महाजातिका सम्बन्धमा सिर्जना गरिएका भ्रामक प्रचारको पछि नलागी वास्तविकताको खोजीमा लाग्यौँ भने अवश्य पनि आफ्नो उद्भव र उत्पत्तिबारे द्विविधा रहने छैन । अन्यथा हिजोका दिनमा सभ्य, कुलीन र सुसंस्कृति जातिको पछि लागेर आफ्नै जातिको पहिचान मेटाउँदै जाँदा अहिलेको भन्दा थप सङ्कटको जालोमा परिने सुनिश्चित छ । जसरी राजनीतिमा बढी आशक्ति हुँदा ८१ प्रतिशत हिन्दू भएको देशमा धर्मनिरपेक्ष घोषणा गराएर हिन्दूराष्ट्रको पहिचान गुमाउन पुगियो त्यसरी नै आफ्नो जाति समूहको इतिहासको हेक्का नगर्दा विलयको यात्रामा पूर्णविराम लाग्लाजस्तो देखिँदैन । अतः महान् खस जातिले एकपटक पछि फर्केर हेर्ने बेला आएको हो कि ?