जब धर्तीमा सत्जन व्यक्तित्वको जन्म हुन्छ तब पृथ्वी नै धन्य हुन पुग्दछिन् । धर्तीमाताको काखमा जन्म लिनेहरू सबैले अपूर्व जससहितको योगदान दिन पाउने अवसर मनुष्य जन्ममा कमै मात्र भाग्यमानी कर्मवीरहरूले प्राप्त गर्दछन् । त्यस्ता व्यक्तित्वहरूमध्ये औँलामा गन्न सकिने अवस्था आजसम्म नै कायम छ । राम, कृष्ण, पर्शुराम, बुद्ध यी त भगवान् नै सावित भइहाले, त्यसपछि यसै पृथ्वीतलमा जन्म लिएर कुनै पनि कार्यसहितको मानव सेवाको मार्ग अपनाउने सामाजिक व्यक्तित्वहरूमा भारतीय सम्माननीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदी पनि उदाउँदा नक्षत्र हुन् । योगी, सन्न्यासी जो–कोही बन्न सक्दैन । किनकि यसको चरित्र भनेको दिने मात्र हो । तर, गलत ढङ्गबाट प्रयोग गरियो भने फरक परिणाम पनि आउन सक्ला, तर वास्तविकतालाई मध्यनजर गर्दा तात्विक भिन्नता पाइँदैन । जसले त्यो लेबलको योगदान गर्नसमेत पछि पर्दैन उसैले नै यस संसारमा महराजको भन्दा माथिल्लो पदवी प्राप्त गर्ने हो । जसले संसार बाँड्न सक्छ उसैले मात्र संसार आर्जनसमेत गर्न सक्दछ यो नै आध्यात्मकको चरम उत्कर्षको बिन्दु हो । नेपालकै सन्दर्भमा भन्ने हो भने पनि बीपी कोइराला, गणेशमानजस्ता व्यक्तित्वहरूले गरेको योगदानलाई हेर्ने हो भने केही हदसम्म त्यस्तो किसिमको छनक पाइन्थ्यो । भारतमा त्यस्ता धेरै व्यक्तित्वले निर्विकल्प योगदान गरे । आज महान् भारत विश्व मानचित्रमा देखिनुमा महात्मा गान्धी, नेताजी सुवासचन्द्र बोस, बल्लभभाइ पटेल, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, राजेन्द्र प्रसाद, प्रणव मुखर्जी आदिलाई लिन सकिन्छ । यसैगरी एक्काइसौँ शताब्दीको भारतलाई नेतृत्व प्रदान गर्दै सम्पूर्ण भारतवर्षलगायत दक्षिण एसियालाई चम्किलो नक्षत्र सावित तुल्याउन नरेन्द्र मोदीको योगदान र योजना सक्षम हुनेछ भन्नेमा समग्र दक्षिण एसियावासी राष्ट्र र जनताको आसाको मूल स्रोत हो भन्नेमा धेरैको मतैक्यता पाइन्छ ।
‘एकता नै बल हो’ यस भनाइलाई चरितार्थ गर्ने युरोपियन युनियनको बढ्दो महŒव र त्यससँग आबद्ध राष्ट्रहरूको सामूहिक विकासलाई मध्यनजर गर्ने हो भने आज समग्र दक्षिण एसियन राष्ट्रहरूको एउटै युनियनसहितको सामूहिक मुद्रासमेत प्रचलनमा ल्याउने र सम्पूर्ण आठै देशको कलेक्टिभ डेभलपमेन्टको ढाँचामा जान सकेको खण्डमा केही दशकमा नै दक्षिण एसियाको स्वरूप युरोपियन युनियनका देशहरूको भन्दा कम हुने छैन । धर्तीको अपार जलसम्पदा, सांस्कृतिक विविधता, खनिजको भण्डार, उत्पादक भूमि, भौगोलिक विविधता, जन, जल, जङ्गल, जमिन, जडीबुटी आदि सम्पूर्णताले भरिएको भूमि मात्रै योजना र एकताको अभावमा पश्चिमाहरूको दोहन गर्ने थलो बन्दै छ । आहार, निद्रा, भय र मैथुन यी चार गुण सबै प्राणीलाई ईश्वरले प्रदान गरेका छन् । त्यतिमध्ये एक थप उत्कृष्ट गुण विवेकचाहिँ मानवलाई मात्र प्राप्त छ । जब मानवबाट विवेक भन्ने गुण विमुख हुन पुग्दछ तब मानव पशुसमान बन्न थाल्दछ । त्यसैले विवेकद्वारा नै मानवले विश्व आर्जन गर्न सफल भएको छ । हरेक क्षेत्रमा अग्रपङ्क्तिमा विवेकशील ज्ञानको महŒव सबैभन्दा बढी छ त्यसैले नै मानवसहित विश्वका सम्पूर्ण चराचर जगत्को रक्षा र उन्नति गराउन सकिन्छ । माथि उल्लिखित लामो पृष्ठभूमि अरू केहीका लागि बाँधिएको होइन आगामी मङ्सिर १० र ११ गते हुन गइरहेको सार्क राष्ट्रहरूको १८औँ शिखर सम्मेलनको अवसरमा दक्षिण एसियाका सबै राष्ट्रहरूको राष्ट्रप्रमुख र सरकारप्रमुखहरूलगायत भारतीय राजनेता प्रधानमन्त्री नरेन्द्र मोदीको आकर्षण अझ विशेष रहेको विषयलाई नकार्न सकिन्न ।
प्रधानमन्त्री, राष्ट्रपति आदि पद संयोगले निश्चित समयभित्र धेरैले नै प्राप्त गर्न सक्लान्, तर राजनेता भन्ने शब्दले अझ त्योभन्दा माथिल्लो उपलब्धि हासिल गर्न सक्ने उपल्लो सोच र दर्जाको राजनीतिज्ञले मात्र प्राप्त गर्ने उपाधि हो । संसारको राजनीतिक इतिहासलाई हेर्ने हो भने राजनेताहरूको कागजी राष्ट्रियता आ–आफ्नै किसिमको होला, तर राष्ट्रियतारूपी सानो घेराभित्र राजनेता अटाउन सक्लाजस्तो पङ्क्तिकारलाई लाग्दैन । किनकि यो एउटा महान् र होनहार विचार हो जसको मार्गनिर्देशले मानव समाजलगायत सम्पूर्ण आवाद भूमि धन्य हुन सक्दछ । यसरी नै महान् विचार लिएर उत्पत्ति भएको राजनेताले मानवबस्तीलाई नै गाइड गर्न सक्दछ । सभ्यता, विकास र मानवीय उपलब्धिहरूलाई समानुपातिक वितरण गर्ने सङ्कल्पसहित आज नरेन्द्र मोदी दक्षिण एसियामा उदाएका छन् । उनका विचार उदार भावनालाई सम्पूर्ण सार्क क्षेत्रको आठै देशहरू मिलेर समानुपातिक उपयोग गर्न सक्दा त्यसको फल सबै सार्क क्षेत्रीय जनताले प्राप्त गर्न सक्ने थिए भन्नेमा सायदै दुईमत होला ।
सम्पूर्ण सार्क राष्ट्रको विकास र त्यसका उपलब्धिहरूलाई जनतासमक्ष बाँडफाँड गर्न सक्नु आजको आवश्यकता हो । विश्वको आधा भूमि र जनसङ्ख्या रहेको देशहरूमा चरम गरिबी छ । बिहान बेलुकाको छाक टार्नका लागि जीवनभर श्रम बिक्री गर्दा पनि सहज प्राप्त गर्न नसकिने अवस्था कति लाजमर्दो छ । जसको भूमि उत्पादनशील छ उसले अन्न खान पाउँदैन । जसको भूमिमा जडीबुटी छ उसले उपचार पाउँदैन । जसको जन छ उसको धन छैन । जसको जल भण्डार छ उसलाई पिउने पानीसमेत छैन । जसको जङ्गल छ उसको झुपडीसमेत छैन । यो कस्तो विडम्बना हो । के सधैँ अर्काको देशमा श्रम बिक्री गरेर मात्रै गुजारा चल्दछ ? के वाद–प्रतिवादसहितको व्यवस्था परिवर्तनले मात्र जनता सुखी र सम्पन्न हुन्छन् ? के सरकार परिवर्तन मात्रै आजको उपलब्धि हो ? यी सबै प्रश्नैप्रश्नको खात लागेको छ ।
सम्पूर्ण दक्षिण एसियाली राष्ट्रहरूलाई एकै सूत्रमा बाँध्ने अगुवाई भूमिका यस काठमाडौं सार्क सम्मेलनले नरेन्द्र मोदीलाई नै प्रदान गर्नेछ । उनको दूरगामी उदार विचार र सद्भावले मात्रै सार्क देशहरूलाई सार्क युनियनमा परिणत गर्नेछ भन्ने विश्वास आज सम्पूर्ण सार्क क्षेत्रीय प्रबुद्ध वर्गहरूले कल्पना गरिसकेका विषय हो । अझ अर्को धार्मिक, सांस्कृतिक क्षेत्रको भ्रमण र भौतिक उपस्थितिलाई मूल्याङ्कन गर्ने हो भने उदार भावना र धार्मिक सहिष्णुताले भरिएको भ्रमण आफैँमा धार्मिक र सांस्कृतिक पर्यटनको कोसेढुङ्गा सावित बन्न सक्दछ । उनको आस्थाको उपस्थिति आफैँमा गरिमामय उपलब्धि बन्न सकोस् । सम्पूर्ण दक्षिण एसियाली राष्ट्र र जनताबाट उदारभाव र धार्मिक सहिष्णुताको हवाला दिन सक्नुपर्छ । जुनसुकै भए तापनि धर्म आफैँमा सभ्य समाजको प्रतिबिम्ब हो । धर्मले मात्रै मानवताको वकालत गर्दछ । अझ ओमकार परिवारमा त सम्पूर्ण जीवात्माको रक्षार्थ भगवान् छन् भनिन्छ । राजा जनक र सीता माताको जन्मभूमि, भगवान् सिद्धार्थ गौतमको जन्मभूमि आराध्य देव पशुपतिनाथ, बौद्धनाथ र सगरमाथाको देश राजनेताको पदार्पणले धन्य बन्दै छ । विश्वले यो नियालिरहेको हुनेछ ।
(लेखक अधिवक्ता हुन् ।)
प्रतिक्रिया