एनेकपा माओवादीका अध्यक्ष प्रचण्ड नेपाली राजनीतिको यतिबेलाका सर्वाधिक रहस्यमयी चरित्र हुन् । उत्तेजनामा आइहाल्ने, कटुबोल्ने, बोलीको ठेगान नहुने र अत्यधिक माफी माग्ने प्रचण्डशैली आलोचनाको शिखरमा छ । प्रचण्ड बोलीमा जति अस्थिर छन् व्यवहारमा त्योभन्दा बढी अपारदर्शी छन् । दशवर्षे जनयुद्धलाई हठात स्थगन गरेर संसदीय राजनीतिको भासमा हामफालेका प्रचण्डलाई क्रान्तिकारी पनि देखिनुपर्ने र संसद्वादी काङ्ग्रेस–एमालेलाई धम्क्याएरै भए पनि सत्तामा साझेदारी पाउनुपर्ने दोहोरो मापदण्डको रणनीतिले अकर्मण्य स्थितिमा पु-याएको छ । तर, हिजो जनयुद्धको नेता भएको धङधङीले होला प्रचण्डमा क्रान्तिकारी रोमान्स बाँकी नै भएजस्तो देखिन्छ । त्यसैले उनी बेलाबेलामा बहकिरहन्छन र क्रान्तिकारी लफ्फाजी हाँकिरहन्छन् ।
संसदीय परिपाटीलाई कायमै राखेर बुर्जुवा प्रजातन्त्रमा आधारित यथास्थितिवादको हिमायती शोषक, दलाल र कमिशनखोरको हितैषी अर्थात् अहिलेको लोकतन्त्र मान्ने सहमतिमा ल्याप्चे लगाइसकेका प्रचण्ड आपूmले स्वीकार गरेको राजनीतिक प्रक्रिया सफल बनाउनुको साटो त्यसैलाई असफल बनाउने षड्यन्त्रमा लागेको त्यतिबेला प्रमाणित भयो जब उनी राजधानीमा चलेको सहमतीय राजनीतिको अन्त्यहीन दौडाहाबाट सुटुक्क रोल्पा हानिए । त्यति मात्र होइन, एउटा कार्यक्रममा उनले ‘आफूलाई अझै बङ्करमा सुत्न मन रहेको’ विचार व्यक्त गरे ।
पिकनिके शैलीको उनको यसपटकको रोल्पा भ्रमणले नेपाली वामपन्थी खासगरी राष्ट्रवादी क्रान्तिकारी वर्गमा फेरि एउटा नयाँ बहस सुरु भएको छ । आजको परिप्रेक्ष्यमा बङ्कर शयनको प्रचण्ड अभिलाषाको अभीष्ट के हो ? के उनी फोहोर संसदीय अभ्यासबाट थाकेकै हुन् ? अथवा त्याग, बलिदान र सङ्घर्ष केही गर्र्दैनगरी अझ भनौँ शक्तिको एक थोपा प्रयोग नगरी सहजै पुग्न सकिने एक्काइसौँ शताब्दीको जनवाद नामको बकम्फुसे कार्यनीतिबाट उनको मोहभङ्ग भएको हो ? अथवा अहिलेको संविधानसभा काङ्ग्रेस–एमालेजस्ता यथास्थितिवादीहरूको पकडमा गएकोले, यसको अस्तित्वलाई अस्वीकार गरी नयाँ संविधानसभाको स्थापनाका लागि सङ्घर्षको आवश्यकता बोध हो ? अथवा जसरी संसद्बाट क्रान्ति हुन सक्दैन त्यसैगरी संसदीय चरित्रको संविधानसभाबाट जनताका आधारभूत समस्या समाधान गर्न सक्ने संविधान बन्न नसक्ने भएकाले आधा अधुरो क्रान्तिलाई सफल बनाउन शक्ति सञ्चयको आवश्यकता छ र त्यसका लागि फेरि जनतामा गएर सङ्घर्षलाई नयाँ शिराबाट उठान गर्नुपर्छ भन्ने उनको निष्कर्ष हो ? वा क्रान्तिप्रति अगाध आस्था राख्ने, क्रान्तिका लागि हिजो पनि अपूरणीय क्षति भोगेका तर नथाकेका, नझुकेका, हाँसी–हाँसी मर्न तयार रहेका तर आत्मसमर्पण नगरेका मानिसलाई अझै पनि भ्रम छर्न सकिन्छ भनेर पो हो कि उनले बङ्करमा शयन गर्ने मनसाय व्यक्त गरेको ?
यी प्रश्नहरूले प्रचण्डलाई निरन्तर खेदिरहेका छन् । उनले अब त आँ गर्दा स्वाभिमानी नेपाली जनताको मनमा आशङ्काको पहाड खडा हुन थालेको छ भने यहाँ त प्रचण्डले मुखै फोरेर बङ्कर शयनको चाहना व्यक्त गरेका छन् । त्यसको केही न केही आशय त पक्कै छ । त्यतिबेला जनयुद्ध उत्कर्षमा थियो । संसदीय र गैरसंसदीय पार्टीहरूका बीचमा भीषण टकराव चलिरहेको थियो । जनयुद्धविरोधी शक्ति फासीवादमा पतन भइसकेको थियो भने जनयुद्ध स्थानीय जनसत्ताको अभ्याससम्म विकास भइसकेको थियो । त्यस्तो के प्रतिकूल स्थिति आइपरेको थियो र प्रचण्डले हठात जनयुद्ध स्थगनको दुस्साहस गरे ? यो प्रश्नको वस्तुगत जवाफ आज आमनेपाली श्रमजीवी जनताले खोजिरहेछन् । प्रचण्डले संसद्वादी दलको उक्साहटमा जनताका जनसेनालाई शाहीसेनाको घेराभित्र आत्मसमर्पण गर्न बाध्य बनाए । यी सब उनका आवेगात्मक भूल मात्र थिएनन्, सैद्धान्तिक विचलन र क्रान्तिप्रतिको धोकाधडी थिए । उनले विदेशी प्रभुलाई खुसी पार्न विदेशी प्रभुको आशीर्वाद प्राप्त गर्न जनताको महान् मुक्तियुद्धलाई धोका दिँदै १२बुँदे सम्झौता गरेको पनि प्रमाणित भइसकेको छ । दिल्ली सम्झौताजस्तै धोकापूर्ण तरिकाले उही शैलीमा पुनरावृत्त १२बुँदे सम्झौता अनि त्यसले सिर्जेको वर्णशङ्कर राजनीतिक परिस्थितिका प्रवर्तक हुन् प्रचण्ड । राजनीतिक कार्यदिशाले सबै कुराको निर्धारण गर्छ भन्ने मूलमन्त्र घोकेका प्रचण्डले गोलमटोल कार्यदिशालाई कायमै राखेर केवल कोरा भावुकतामा व्यक्त गरेको बङ्कर शयनको चाहनाले के क्रान्ति पूरा हुन्छ त ?
विश्वका धेरै कम्युनिस्ट पार्टीहरू संसदीय चुनावी राजनीतिमा विश्वास गर्दैनन् त्यसैले उनीहरू चुनावमा सहभागी हुँदैनन् । तर, केही कम्युनिस्ट नामधारी अवसरवादी गुट हँसिया–हथौडाअङ्कित झन्डाको दुरुपयोग गरी चुनावी राजनीतिमा रमाइरहेका छन् । विश्वका बुर्जुवा बुद्धिजीवीले आमजनताको आँखामा छारो हाल्न विकास गरेको सबैभन्दा प्रभावकारी राजनीतिक प्रणाली हो यो आवधिक चुनाव । तर, यो विधिले जनताको वास्तविक चाहनाको प्रतिनिधित्व गर्न सक्दैन भन्ने कुरा त प्रजातन्त्रका मसिहा भनिएका देशहरूमा हालैका दिनमा भएका समानताका आन्दोलनले अभिव्यक्त गरेका छन् । तर, प्रचण्डको छटपटी जनताका वास्तविक अधिकार स्थापित गराउने आन्दोलनको असफलताले सिर्जित गरेको होइन । यो त संविधानसभाको दोस्रो निर्वाचनपछि प्राप्त हैसियतले सिर्जना गरेको मात्र हो । आज उनीसँग सत्ता छैन, शान र शौकत छैन त्यसैले उनी तिल्मिलाएका छन् अनि आवेगमा बङ्कर शयनको दृष्टता दिवालीयापनको रूपमा व्यक्त भएको छ । काङ्ग्रेस र एमालेसँगको रुष्टताकै कारणले बङ्कर शयनको सपना देख्नु गैरजिम्मेवार राजनीतिको पराकाष्ठा हो । यस्ता बकम्फुसे हावादारी गफले प्रचण्डको गिरेको साखलाई उकास्न सक्तैन, बरु उनलाई थप अविश्वसनीय बनाउँछ ।
प्रचण्डले त्यसो त नेपाली जनतासामु पटकपटक माफी मागेका छन्, रोएको अभिनय पनि गरेका छन् अनि फरेबी वक्तव्यबाजी पनि जारी राखेका छन् । तर, यी सबैले नेपाली क्रान्तिकारी आन्दोलनलाई फाइदाभन्दा बढी बेफाइदा नै गरेको छ । कम्युनिस्ट आन्दोलन प्राधिकारपूर्ण आन्दोलन हो । प्रतिबद्ध मूल नेतृत्वबिना कम्युनिस्ट आन्दोलन सफल हुँदैन, हुनै सक्दैन । त्यसैले नेतृत्वको दक्षिणपन्थमा पतन विश्व कम्युनिस्ट आन्दोलनकै सबैभन्दा ठूलो चुनौती हो भने नेतृत्व मारिने वा दुश्मनको कब्जामा पर्ने कारणले पनि कम्युनिस्ट आन्दोलनमा धक्का पुग्न गएको छ । तर, नेपालको परिस्थिति यी सबको ठीकविपरीत छ । मूल नेतृत्वले क्रान्तिविरोधी सम्झौता गरेको र मूल नेतृत्व बिकेकै कारण नेपाली कम्युनिस्ट आन्दोलनले क्षति भोगेको छ । प्रचण्डमाथि आज दुवै कोणबाट आक्रमण भइरहेको छ र उनले यस परिस्थितिलाई चिर्न सकिरहेका छैनन् ।
मुलुकको सङ्क्रमणकाल राजनीतिक पार्टीमा पनि व्याप्त छ । पार्टीहरू साङ्गठनिक हिसाबले अति नै अस्तव्यस्त छन् । स्वयम् प्रचण्डकै पार्टी पनि विषम परिस्थितिमा छ । राजनीति कमाउ धन्दा बनेको छ । हिजो ठेक्कापट्टाजस्ता कमाउ खेलमा अनियमित कमाइ गर्न अपारदर्र्शी तरिकाले काङ्ग्रेस–एमालेका कार्यकर्ता मुछिएका घटना सार्वजनिक हुन्थे, पछि एमाओवादी कार्यकर्ता पनि त्यस्ता धन्दामा मुछिएको खबर आउन थाल्यो । राजनीतिक पहुँच भएकै भरमा मनोमानी हिसाबले राज्य संयन्त्रमा मनोनयन गरेर राज्य स्रोतको व्यापक दुरुपयोग गर्ने काममा कुनचाहिँ पार्टी पछाडि परेका छन् र अनि आमजनताले किन र कुन हिसाबले काङ्ग्रेस–एमाले र प्रचण्डलाई फरक देख्ने । कम्युनिस्ट पार्टीको नेता हुनुको प्राधिकार गुमाइसकेका प्रचण्डले बङ्कर शयनको सपना देख्नु केवल पर्यटकीय आत्मरति नभए के हो ?
समाजमा वर्गीय संरचना हुन्छ र नेपाली समाजको वर्गीय संरचनामा कुनै अन्तर आएको छैन । प्राप्त राजनीतिक उपलब्धि केवल कोरा नारामा सीमित भएको छ । त्यो नारालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउन कुनै पार्टीले सकेका छैनन्, न काङ्ग्रेस, न एमाले, न एमाओवादी । बालुवाटारमा आएको लोकतन्त्र गाउँसम्म पुग्न सकेको छैन । गणतन्त्र राष्ट्रपति भवनमा सीमित भएको छ । अवसरवादी विचलन नातावाद–कृपावादबाट सबै पार्टी ग्रस्त छन् भने त्यसबाट प्रचण्ड पनि अछुतो रहन सकेका छैनन् । क्रान्ति सम्पन्न गर्न केवल प्रचण्ड मात्र बङ्करमा सुतेर सम्भव छैन । त्यसका लागि उनको एक आह्वानमा लाखौँलाख श्रमजीवी जनता सङ्घर्षको मैदानमा उत्रन र बङ्करमा सुत्न तयार हुनुपर्छ । आजको परिस्थितिमा के यो सम्भव छ त ? छैन, पटक्कै छैन । उनको बङ्कर शयनको प्रस्तावलाई उनकै पत्नी सीता र ऐयासी छोरा प्रकाशले नै स्वीकार गर्लान् भन्नेमा शङ्का छ ।
आज मुलुकको राजनीति जातीय मुद्दाले बढी नै जटिल बनाएको छ । नेपाली समाजमा व्याप्त जातीय अन्तर्विरोध वर्गीय अन्तर्विरोधकै एउटा प्रकार हो, तर यो प्रधान होइन, सहायक हो । प्रधान अन्तर्विरोध त वर्गीय नै हो । जातीय अन्तर्विरोधलाई वर्गीय आधारमा समाधान गर्न जातीय राज्य, जातीय पहिचान आदि नारा दिएको माओवादीको जातीय नारा एनजीओवादीले माओवादीबाट खोसेर त्यसलाई कमाइको नयाँ धन्दा बनाएका छन् । स्वयम् प्रचण्डले वर्गीय अडान छाडेको पनि वर्षौं भइसक्यो । तमाम शोषित, पीडित र श्रमजीवी जनतालाई न्याय दिने शासन व्यवस्था आजको आवश्यकता हो । तर, मुलुकको परिस्थिति क्रान्तिकारीहरूका लागि हिजोभन्दा आज थप प्रतिकूल बन्दै गएको छ । जातीय मुद्दालाई एनजीओहरूले नश्ल राजनीतिमा परिणत गरिदिकै कारण क्रान्तिकारीहरू थप अलोकप्रिय बन्दै गएका छन् । यतिबेला नेपाली क्रान्तिका लागि एउटा मजबुत विचारको आवश्यकता छ, तर प्रचण्ड परिस्थितिको विश्लेषण नै नगरी बङ्कर शयनको सपना देख्दै छन् । आज प्रचण्ड आफ्नै कमजोरीका कारण यस्तो स्थानमा आइपुगेका छन् जहाँबाट एकातिर भीर र अर्कोतिर पहरो छ । प्रचण्डलाई बङ्करसम्म पुग्न त्यति सजिलो भने अवश्य छैन । किनकि, रहरले क्रान्ति हुँदैन ।
प्रतिक्रिया