दोषी हामी जनता कि कोही अरू ?

दोषी हामी जनता कि कोही अरू ?


special-articleपश्चिमाहरूलाई मानिसले झुट बोल्नसक्छ, जालसाजी गर्न र धोखाधडी दिनसक्छ भन्ने जानकारी छ, तथापि उनीहरू आफ्नो अघिल्तिर उभिएर बोल्ने मान्छेका कुरामा विश्वास गर्छन् । वास्तवमा कुनै व्यक्ति अविश्वासी, झुट र धोखेवाज भएको तथ्य पुष्टि हुन पनि सबभन्दा पहिले त्यस्ता व्यक्तिलाई विश्वास गर्नु उचित हुन्छ । सामान्यतया पश्चिमी सभ्यताका मानिसहरू मानिसलाई विश्वास गर्छन्, एकपटक कसैको झुटो व्यवहार पुष्टि भएमा उनीहरू त्यस्ता व्यक्तिलाई त्यसपछि कहिल्यै विश्वास गर्दैनन् । तर, हामी एसियनहरू त्यसमा पनि दक्षिण एसियालीहरूको सोच पश्चिमाहरूको भन्दा ठीक विपरीत छ । हामी मान्छेले झुटो बोल्न र धोखाधडी गर्न सक्छ भन्ने ठान्दछौँ र, कसैले आफ्नाअगाडि उभिएर सत्य नै बोलिरहेको छ भने पनि उसका कुरालाई शङ्का गर्ने, घटाएर या बढाएर बुझ्ने हाम्रो प्रवृत्ति छ । हामी अपरिचित हरेक व्यक्तिलाई असलभन्दा बढी खराब देख्छौँ र सचेत हुन्छौँ, जब परिचय, सम्पर्क र सम्बन्धको जरा गहिरिँदै जान्छ त्यसपछि अर्को असल भए उसबाट लाभान्वित हुने र अर्को खराब भए आफैँ ऊबाट लुटिएर टुङ्गिने अवस्था बन्छ, प्रायः दक्षिण एसियाली नागरिकहरूले जीवनमा बारम्बार भोगिरहनुपर्ने समस्या हो यो ।
दक्षिण एसिया धार्मिक एवम् आध्यात्मिक दृष्टिले विश्वकै केन्द्रभूमि मानिन्छ । सनातनी हिन्दू, बौद्धमार्गी र इस्लाम धर्मावलम्बीहरूको बाहुल्य रहेको यस भूमिमा नास्तिकभन्दा आस्तिकहरूको सङ्ख्या अतुलनीय रूपमा अधिक छ । धर्म र अध्यात्मभावमा अग्रता भएर पनि यस भूमिका मानिसको सोच–व्यवहार शुद्ध मानिँदैन, हामीहरूको आमछवि भनेको सङ्कीर्ण, सभ्य हुन बाँकी, अविश्वासी र द्रव्यमोही हो । छैटौँ शताब्दीका चर्चित चिनियाँ विश्वयात्री ह्वेन साङको विचारमा हाम्रा सोच–व्यवहार धेरै अघिदेखि नै शुद्ध छैनन् । छैटौँ शताब्दीमा उनले आफ्नो यात्रा वर्णनमा लेखेका छन्, ‘हिमालदेखि दक्षिणपट्टिको भूभागमा विश्वासघाती, धोखेवाज, स्वार्थी र लुच्चा मानिस बस्दारहेछन् ।’ ह्वेन साङको कुरालाई फ्रान्सेली लेखक सिल्भाँ लेवीले पनि नेपालसम्बन्धी आफ्नो पुस्तकमा उद्वरण गरेका छन् । करिब पन्ध्र सय वर्षअघि हिमाल दक्षिणका हामी बासिन्दा जस्ता थियौँ, अहिले पनि त्यस्तै छौँ भने बेइमानी, धोखाधडी र नकारात्मकता हाम्रो वंशानुगत गुण हो, यो मेटिन मुस्किल हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । यसको वास्तविकता अनुसन्धानले मात्र पुष्टि गर्न सक्ने भए पनि अर्को सत्य यो पनि हो कि यही भूमिमा महामानव, ऋषिमुनि, तपस्वी र देवताहरूको पनि जन्म भएको छ, यहाँ असल मानिसहरूको कमी नरहेको तथ्य इतिहासले प्रमाणित गरिसकेको छ । तथापि नेपालको सन्दर्भमा एउटा रोचक संयोग के छ भने यहाँ जन्मेका प्रायः सबैजसो महामानवले नेपालका मानिस (जनता) प्रति कुनै न कुनै रूपले असन्तुष्टि जाहेर गर्दै देहत्याग गरेका छन् । काजी भीम मल्लकी पत्नी महान् नहुन सक्छिन्, तर भीम मल्ल महान् थिए र सतीका रूपमा उनकी पत्नीलाई पनि महानतम् मान सकिन्छ । सतीले ‘यो मुलुकमा राम्रो गर्नेको भलो कहिल्यै नहोस्’ भनी श्राप दिएकै कारण नेपालमा राम्रा मानिसहरू निरुत्साहित र, निकम्मा तथा दुष्टहरू प्रोत्साहित हुने गरेको स्वीकार गर्न विज्ञानले दिइरहेको छैन, तर हामीले भोगिरहेको यथार्थचाहिँ यही नै हो । हामी सकारात्मक र उदार सोच राख्दैनौँ, बरु सङ्कीर्ण र नकारात्मक सोच हाम्रो मूल पुँजी बनेको छ । त्यसैले कुनै पात्रको नाम लिएर उसले चोरी, डकैती, धोखाधडी, जालसाजी, हत्या, बलात्कार या भ्रष्टाचार गरेको बताइयो भने हामी तुरुन्त विश्वास गर्छौं र निःशुल्क प्रचारमा जुटिहाल्छौँ । तर, कुनै व्यक्तिले राम्रो काम गरेको तथ्य प्रस्तुत भयो भने हाम्रो नेपाली मन त्यसलाई पत्याउन मान्दै मान्दैन । कसैका बारेमा नराम्रो सुनियो भने त्यसको वास्तविकता बुझ्नेतर्फ हामी लाग्दैनौँ, बरु सुनिएकै कुरामा केही थपथाप गरेर प्रचार गरिदिन्छौँ । यसका अनेक दृष्टान्त छन्, पञ्चायतकालमा संयुक्त राज्य अमेरिकामा राजदूत रहेका एक व्यक्ति (विश्व) माथि किताबपसलमा एउटा पुस्तक चोरेको आरोप लाग्यो र एक भारतीय पत्रिकाले समाचार प्रकाशित ग-यो । हामी वीर नेपालीले त्यसबारे सत्यतथ्य बुझ्ने सामान्य प्रयाससमेत गरेनौँ, बरु थप्यौँ, ‘ती व्यक्ति त मर्निङवाक गर्दा बाटोमा कसैले इँटा थुपारेको देखे भने हरेक दिन एक–एकवटा इँटा चोरी गरेर घरमा जम्मा गर्थे ।’ यसरी उनको बद्ख्याइँ गरिरहँदा तत्कालिक समाजका बासिन्दाहरूले निकै आनन्दानुभूति गरेका थिए । तर, तिनै राजदूतलाई कुनै विदेशी गुप्तचर संस्थाले गुप्त सूचना प्राप्त गर्नका लागि दुई करोड डलर अफर गरेको तर तिनले अस्वीकार गरेको भन्ने समाचार सार्वजनिक भएको भए त्यसलाई पत्याउने मान्छेहरू यदाकदा मात्र भेटिने थिए ।
नकारात्मक कुरामा विश्वास गर्ने, नकारात्मक टिप्पणीमा रुचि लिने र नकारात्मकतामा मनोरञ्जन गर्ने हामी नेपालीको संस्कार बनिसकेको छ । नकारात्मक सोचको प्राधान्य रहेको समाजमा शान्ति, सुरक्षा, सभ्य व्यवहार र समृद्धिको अभाव सदैव कायम रहन्छ । जहाँ शान्ति, सुरक्षा, सभ्य व्यवहार र समृद्धिको अभाव हुन्छ त्यस्तो मुलुकमा प्रजातन्त्र चल्न सक्दैन, चल्दै चल्दैन । यस्तो मुलुकमा सक्षम, सभ्य, सुसंस्कारित र मुलुक तथा प्रजातन्त्रप्रति निस्वार्थ ढङ्गले समर्पित कोही मानिस छन् भने तिनले निरुत्साहित हुनुपर्छ, बारम्बार अपमानित बन्नुपर्छ ।
प्रजातन्त्रका निम्ति जीवन समर्पित गरेका र प्रधानमन्त्री बन्ने अवसर त्यागेका गणेशमान सिंहजस्ता महानतम् व्यक्तिलाई तड्पाउने समाज हो हाम्रो । जनता र प्रजातन्त्रका लागि जीवन समर्पण गर्दै पन्ध्र वर्ष कारागारमै बिताएका कृष्णप्रसाद भट्टराईजस्ता निस्वार्थ नेतालाई राजावादी ठान्ने र सूर्यबहादुर थापाजीहरूलाई पूराका पूरा गणतन्त्रवादी मँन्ने पनि हामी नेपाली नै हौँ । जीवनभरि जनता जगाउन सक्रिय नेपाली दार्शनिक रूपचन्द्र विष्टजस्ता महामानवमाथि मण्डले बनेको आरोप कुनै राजनीतिक समूहले लगाइदिँदा त्यसलाई पनि पत्याइदिने समाज हो यो । आजित भएपछि जीवनको उत्तराद्र्धमा विष्टले जनताप्रति नै असन्तुष्टि प्रकट गर्न थालेका थिए । उनी भन्ने गर्थे, ‘भाले खोज्ने, पोथी खोज्ने, बाँच्न खोज्ने, ब्याउन खोज्ने, बच्चा हुर्काएर मर्न खोज्ने, साक्षात मान्छेको जुनीमा मान्छेको आकारका तर पशुका प्रकारले बाँचिरहेका मान्छेभित्रको मान्छे जगाउन प्रयास गरियो । या त मान्छे जाग्दै जागेनन्, जे–जति जागे लुच्चा फटाहालाई नै काम लागे । झुटै बढी मन पराउने नेपाली समाजको स्वभाव–मनोविज्ञान छ । सत्य जतिपटक भने पनि असरै नपर्ने झुट छिसिक्क भनिदिएपछि धुमधाम फैलिएर जाने हुँदोरहेछ,’ (घटना र विचार २०५२ असार ७) विष्टले भनेका थिए, ‘यहाँका प्रभावशाली मान्छे र जनसाधारणलाई चाहिएको कुनै न कुनै प्रकारको जोगे नै जोगे (जोगमेहर श्रेष्ठ) मात्र रहेछ ।’
गणेशमानजीले झर्रो नेपाली शब्द प्रयोग गर्दै जनतालाई ‘भेडाबाख्रा’ नै भनेका हुन् । किसुनजीले सीधा शब्दमा हामीलाई गाली दिनुभएन, तर उहाँको चरम असन्तुष्टि र घृणाभाव गिरिजाप्रसाद कोइरालाभन्दा कैयन गुणा बढी हामी जनताप्रति थियो भन्न सकिन्छ । गणेशमानजीझैं किसुनजी र रूपचन्द्र विष्टले पनि यहाँका मानिसप्रति तीव्र असन्तुष्टि प्रकट गर्दै देहत्याग गरेका हुन् ।
आधुनिक नेपाल स्थापना गरेकोले पृथ्वीनाराण शाह, देशको लागि रगत बगाउन तयार भएकोले भीमसेन थापा, राष्ट्रिय सबलीकरणका निम्ति विशेष योगदान पु-याएका कारण राजा महेन्द्र र प्रजातान्त्रिक आन्दोलनको अगुवाइ गरेकोले जननायक बीपी कोइरालालाई अविष्मरणीय मानिएको छ । तर, दुई थोपा पसिना नगुमाई गुमेको भूभाग (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर) फिर्ता ल्याउने, नेपालको साँध–किला ठोक्ने, राजनीतिक स्थायित्व दिने, देशको पहिचान र अस्तित्वको अन्तर्राष्ट्रीयकरण गर्ने, नेपालमा पश्चिमा शैलीका आधुनिक महल निर्माणको कला भिœयाउने, देशमा पहिलो छापाखाना स्थापना गर्ने, नेपालको कूटनीतिक सम्बन्ध युरोपसम्म विस्तार गर्ने र पहिलोपल्ट मुलुकी ऐन जारी गर्ने जंगबहादुर राणाप्रति हामी नकारात्मक छौँ, उनको सुकर्मको उच्च मूल्याङ्कन गर्न तयार छँदै छैनौँ, तर अनेक आकार–प्रकारका पाखण्डीहरूको प्रशस्ती गाउन हामी लज्जाबोध गर्दैनौँ । अगुवा नेता र कर्मचारीलाई गाली गर्दै हामीले कम्तीमा साढे ६ दशक बितायौँ, वास्तवमा त्रुटि हामीमा बढी छ, ब्वाँसोले सिकार ग-यो, स्यालले कुखुरा चो-यो, सर्पले डस्यो, कर्मचारीले चुसे, नेताले घुमाए–बर्बाद गरे भनेर उफ्रिपाफ्री गर्नुभन्दा हामी जनता आफैँले चाहिँ के ग-यौँ र के गर्दै छौँ भनी आत्मसमीक्षा गर्न ढिला भइसकेको छ ।