सात महिना बित्दा पनि पीडित परिवारले पाएनन् राहत

सात महिना बित्दा पनि पीडित परिवारले पाएनन् राहत


muktiदुर्घटनाको जिम्मा लिने कोही भएन
– मुक्तिनाथ भुसाल
अर्घाखाँची/ गत वैशाख १७ गते जिल्लाको जगत भन्ने स्थानमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेहरूको परिवारले हालसम्म किरियाखर्च नपाएको सन्दर्भ यतिबेला चासो र चर्चाको विषय बन्न पुगेको छ । सदरमुकाम सन्धिखर्कबाट बुटवल जाँदै गरेको लु.१ख ६२३१ नम्बरको बस र सन्धिखर्क आउँदै गरेको लु.१ख ७८२५ नम्बरको मिनीट्रक दुर्घटना हुँदा बसमा सवार १८ जनाले ज्यान गुमाएका थिए । सोही दिन सन्धिखर्कबाट घटनास्थलतर्फ आउने क्रममा लु.१ज १३२९ नम्बरको जिप अस्पतालनजिकै दुर्घटना हुँदा टानबहादुर कुमाल नामक अर्का एक व्यक्तिको ज्यान गएको थियो । एकै दिन जिप, मिनी ट्रक र बस दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका भए पनि हालसम्म नियमअनुसार पाउनुपर्ने राहत पीडित परिवारले पाएका छैनन् ।
भारतीय नागरिक अब्दुल्ला डीआर, नूर आलम र यमु जुर्दीजस्ता निर्दोष यात्रुले परदेशमा ज्यान गुमाउनुपरेको सो दुर्घटनाले रूपन्देहीका कृष्ण श्रेष्ठलाई आफ्नो जातीय पर्व मनाउन घरसम्म पुग्न पनि दिएको थिएन । यस्तै, अर्घाखाँचीका डा. विष्णु आचार्य, जनार्दन आचार्य, मीनादेवी आचार्य र शान्ता आचार्य बराह क्षेत्रमा चलिरहेको कुम्भमेलाका लागि हिँडेका थिए । एकै परिवारका ती चारको प्राणपखेरू त्यही दुर्घटनाका क्रममा उड्यो भने ज्योति उमावि ठाडाका पूर्वप्रिन्सिपल गणेश बेल्वासे र उनकी श्रीमती अनिताको अमेरिकातर्फको यात्रा पनि सोही त्रासदीपूर्ण दुर्घटनाले पूर्णविराम लगाइदियो । यसैगरी, बुटवलमा नयाँ मोटरसाइकल सवार हुने नवीन बन्जाडेको सपना र बुटवल अस्पतालमा थलिएका आफन्तलाई सहयोग गर्ने वसन्ती खनालको चाहना पनि अधुरै रह्यो । बैंकबाट ऋण लिएर परिवारको गर्जो टार्न मालपोतको काम सकेर फर्किएका चन्द्र श्रेष्ठदेखि धनचौरी बगाले, शुभबहादुर विक, तिलकला बेल्वासे र रूपन्देहीका थमी सिरिस तथा प्युठानका जनक खनालको जिन्दगीको यात्रा सदाका लागि टुङ्गिएको थियो । दुर्घटना भएकै दिन बसमा सवार २३ जनालाई हेलिकोप्टरद्वारा काठमाडौं र १३ जना घाइतेलाई बुटवल उपचारका लागि पठाइएको थियो ।
बस र ग्यासका सिलिन्डर बोकेकोे मिनीट्रक एक–आपसमा ठोक्किँदा सुरुमा बस सडकबाट खसेको र मिनीट्रकमा रहेका सबैजना जमिनमा ओर्लिएपश्चात् मिनीट्रक पनि सोही स्थानबाट सुइँकेको कारण दर्जनौँ ग्यासका सिलिन्डरले थिचिएर थप मानवीय क्षति हुन पुगेकोे घटनाकी प्रत्यक्षदर्शी अपेक्षा बेल्वासेको भनाइ छ । दुई गाडी एकैपटक दुर्घटना हुँदा स्थानीय बाबुराम विकको बाख्रासहितको गोठ ध्वस्त भएको थियो । दुर्घटनाका कारण सख्त अवस्थामा रहेका भैंसी कौडीको मूल्यमा पन्छाउन विक विवश बनेका थिए । यस्तोमा क्षतिपूर्तिको टुङ्गो नलाग्दा अनन्त यात्रामा निस्किसकेका परिजनसँग हाँसखेल गरेको क्षण सम्झेर भावशून्य बनेका परिवारजनको पीडा बल्झिन पुगेको छ । वास्तवमा मृतक परिवारले पाउनुपर्ने राहत कसबाट भराइने भन्ने विषयमा यो समचार तयार पारुन्जेल प्रशासन पनि स्पष्ट हुन सकेको छैन । दुर्घटनामा बस, मिनीट्रक या सुरक्षाकर्मीहरूमध्ये गल्ती कसको थियो भन्ने विवाद चलिरहेको अवस्था सोचनीय बन्न पुगेको छ ।
बस समितिले ट्रकको गल्ती देखाउने र ट्रक समितिले बसको गल्ती देखाउँदै आरोप–प्रत्यारोपमा उत्रिएका र प्रशासनसमेत घटना घटेको सात महिना हुँदा पनि किरियाखर्च उपलब्ध गराउन असफल बन्नु कम विडम्बनाको विषय छैन । श्रीमान्को निधनपश्चात् एक छोरा र चार छोरीको जिम्मेवारी धानेकी ठाडाकी तिलकुमारी श्रेष्ठले किरियाखर्चबारेमा आफूलाई केही जानकारी नभएको बताइन् । जवान छोरीको सम्झनामा बलिन्द्र आसु बगाउँदै चुत्राबेसी बजारमा सामान्य चियापसल चलाइरहेका ढाकावाङका रुद्र र सुन्तला दम्पतीले पनि कतैबाट सहयोग पाएका छैनन् । चुत्राबेसी बजारमा स्टेसनरीको पसल राखेका धारापानीका दामोदर बन्जाडेले आफ्नो भाइको निधन भएदेखि धेरैपटक सम्बन्धित निकायमा धाएकोे र प्रशासनले राजनीतिक दलसँग छलफल गरी खबर गर्ने जवाफ दिएको बताए । यसै विषयमा केन्द्रित भई प्रजिअ ज्ञानप्रसाद ढकालसँग टेलिफोन सम्पर्क गर्दा मृतक परिवारले राहत नपाएको स्वीकार गर्दै क्षतिपूर्तिका लागि प्रहरीले आफूसमक्ष मुद्दा जायर गरिनसकेकोे जानकारी गराए ।
घटनाक्रमको अध्ययन गर्दा क्षमताभन्दा बढी सवारी चढाउनु बसवालाको गल्ती, अनुमतिपत्रसहितको चालक चिनाउन नसक्नु मिनीट्रकवालाको गल्ती र यी सबै कार्यलाई समयमा नियन्त्रण गर्न नसक्नु तत्कालीन ड्युटीमा रहेका सुरक्षाप्रमुखहरूको गल्ती भन्नुमा अन्यथा देखिँदैन । सदरमुकामबाट हिँडेको ३२ सिटसङ्ख्याको बसमा करिब ५५ जना सवार र फरार चालक भनी प्रचारमा ल्याइएको व्यक्तिसँग अनुमतिपत्र नहुनु लज्जास्पदका रूपमा लिन सकिन्छ । चालक अनुमतिपत्र नभएको व्यक्तिले त्यत्तिका सामान राखेर लाखौँको गाडी चलाउने अवसर कसरी पायो ? अनि ग्यास लोड गरेर महेन्द्र राजमार्ग हुँदै सिमानाको पत्थरकोट चौकी, जिल्लाको ठाडा र नरपानी चौकी साथै तमाम ट्राफिक चेकजाँच कसरी पार भएर उक्त दुर्घटना हुन पुग्यो ? चेक नै नगरिएको थियो भने सम्बन्धित सुरक्षाकर्मीले यो किन स्वीकार गर्दैनन् ? होइन भने अनुमतिपत्र नभएको व्यक्ति नियमसङ्गत चालक नहुने प्रस्ट हुँदाहुँदै गरिबीको फाइदा उठाउँदै पीडित घरपरिवारलाई अनावश्यक डर–धम्की र त्रास देखाउनु जायज कसरी हुन सक्छ ? हो, प्रहरी प्रशासनले दोषी सम्झिएको व्यक्ति आफ्नो कामविशेषले उक्त गाडीमा घुम्न गएको र आफू पनि सिकारु चालक भएको कारण अत्तालिएर भागेको पनि हुन सक्छ, यस कोणबाट पनि सोच्न नसकिने होइन । सिट क्षमताभन्दा बढी यात्रु बोक्नेलाई बढीमा एक हजार रुपैयाँ सरकारी जरिवाना र व्यक्तिगत तवरले दिइएको थोरबहुत नजराना गोजीमा हुल्न पाएपछि कर्तव्य बिर्सने सुरक्षाकर्मीले अनुमतिपत्र नभएका चालकलाई सय–दुई सयको जरिवाना रसिद काटेपछि २४ घन्टा ढुक्कसँग स्टेयरिङ समाउन दिने गरेको तथ्यसँग जोकोही जानिफकार छन् । यति ठूलोे दशा निम्तिसक्दा पनि दसैँ–तिहारसम्म खचाखच मानिस र सामान बोकेका गाडीलाई करिब दुई सातायतादेखि यातायातको नियम सिकाउन सुरक्षाकर्मीलाई भ्याइनभ्याई परेको छ । नियममा चल्न बाध्य बनेका गाडीहरूले सडकमा देखिने सुरक्षाकर्मीलाई फर्केर मुखमा नहेर्ने कारण जनहितका लागि चालिएको कदम दीर्घकालसम्म टिक्ने हो वा होइन, निश्चित छैन । दुर्घटना निम्तिएपछि सबै कुरा बिमा कम्पनीले बहन गर्दछ भन्ने सर्वसाधारणको सोच पनि गलत हो । पङ्क्तिकारलाई जानकारी भएसम्म दुर्घटित सवारी साधनले यातायातको नियम पालना गरेको प्रमाणित भएमा मात्रै सम्झौता कार्यान्वयन गर्न बिमा कम्पनी बाध्य हुन्छ ।
दुर्घटनापश्चात् अनुमतिपत्र भएको कुनै चालकले सम्पूर्ण जिम्मा लिन मञ्जुर भएमा मागेबमोजिम रकम दिन तयार रहेका केही पात्रहरूले फरार सहचालकलाई फेला पारेमा वा उनको नागरिकता र फोटो हात लागेमा एकदेखि ढेड लाख खर्च गरेर भए पनि चालक अनुमतिपत्र बनाई नियमसङ्गत चालक घोषणा गर्ने योजना हालसम्म पनि अधुरो रहेको जानकारी मिलेको छ । अनुमतिपत्र नभएको व्यक्ति गाडीचालक हुन कदापि नसक्ने कारण उसलाई र उसको परिवारलाई डर, त्रास तथा धम्कीपूर्ण भाषा प्रयोग गर्दैगर्दा कुनै अर्को थप अप्रिय घटना घटेमा जिम्मा लिने कसले हो ? तसर्थ, केसको गहिराइमा नपुगेसम्म तत्कालीन सुरक्षाकर्मी तथा प्रमुखको रासनभत्ता वा सेवासुविधा कटाएर भए पनि पीडित परिवारलाई नियमअनुसार दिनुपर्ने रकम समयभित्रै उपलब्ध गराउनेतर्फ सम्बन्धित डीएसपी दीपेन्द्र जीसीको ध्यान जानु आवश्यक देखिन्छ । यहाँनेर ख्याल राख्नुपर्ने कुरा के पनि छ भने डीएसपी जीसी आफ्नो काममा अत्यन्त मिहिनेती, कर्तव्यपरायण, अनुशासन र कानुनको पालन गर्ने र मातहतका कर्मचारीको विश्वास जितेका इमानदार प्रहरी अधिकृतका रूपमा जिल्लामा परिचित छन् ।