किन यस्तो भयो एयरपोर्ट ?

किन यस्तो भयो एयरपोर्ट ?


nisedhनेपालको अन्तर्राष्ट्रिय एयरपोर्ट अहिले विश्वमै चर्चाको विषय बनेको छ । अव्यवस्थित एयरपोर्टका रूपमा चर्चा सुन्नु या गर्नु जति सहज लाग्छ प्रत्यक्ष रूपमा उक्त दुरावस्था देख्दा र भोग्दा त्यति नै अप्ठ्यारो र उकुसमुकुस महसुस हुन्छ । बाहिरैदेखि मान्छेको ताँती भित्रसम्म पुग्दा जहाज नै छुट्ने हो कि झैं हुनु स्वाभाविक भइसक्यो । जहाज र ती जहाज पुग्ने गन्तव्य स्थानहरू बढेका बढ्यै छन्, तर व्यवस्थापन उही छ । विदेश जानुपर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिरबाटै सुरु भएको सङ्घर्षको कथा इमिग्रेसन हुँदै प्लेन चढ्नका लागि सम्बद्ध गेटसम्म पुग्दासम्म धेरै नै नरमाइलो, असहज र सुधार कहाँबाट सुरु गर्ने होला या हाम्रो एयरपोर्ट कहिले एउटा निश्चित मापदण्डको होला भन्ने सोच्ने तर आफूले केही गर्न नसक्ने अवस्थामा पुगेर टुङ्गिन्छ । मुलुकको नागरिक हुनुको अर्थमा आफ्नो देशको इज्जतसँग जोडिएको अन्तर्राष्ट्रिय एयरपोर्टबारे सोच्नु, मुलुकलाई अरूले हेर्ने दृष्टिकोणसँग जोडिएको कुरालाई लिएर दुःखी या खुसी हुनु स्वाभाविक हो । हाम्रो एयरपोर्टको भौतिक अवस्थाबारे बढी चर्चा हुने गरेको भए पनि भौतिक र कर्मचारीको व्यवहार दुवै कुरा उत्तिकै गम्भीर छन् । अन्तर्राष्ट्रिय एयरपोर्टमा बस्ने ठाउँ नभएर पर्यटक यात्रुहरू चिसो सिमेन्टमा भुइँमा बसिरहेका हुन्छन्, भित्र बस्ने ठाउँ नपाएर बाटाकै पेटीमा बसिरहेका हुन्छन् । कतिपय पर्यटकहरू कतै बस्ने ठाउँ पाइन्छ कि भनेर ओर्तिर–पर्तिर हेरिरहेका हुन्छन् । कतैबाट कुर्सी ल्याएर दिन पाए पनि हुन्थ्यो जस्तो लाग्छ । यिनीहरूले नेपालबारे के सन्देश लिएर जान्छन् होला भनेर अप्ठ्यारो लाग्छ । एयरपोर्ट र त्यहाँ गरिने व्यवहारले मानिसलाई सम्बन्धित मुलुकबारे धारणा बनाउन मद्दत गर्छ । बस्ने कुर्सीदेखि ट्वाइलेट हुँदै ट्याक्सी र अध्यागमनमा गरिने व्यवहारसम्ममा हामीकहाँ सुधार आवश्यक छ ।
एयरपोर्टको इमिग्रेसनमा नेपालीलाई गरिने व्यवहार निकै ‘ह्युमिलिएसन’ महसुस गराउने प्रकारको हुने गर्छ । विशेषगरी वैदेशिक रोजगारमा जाने युवाहरूलाई प्रयोग गरिने भाषा करिबकरिब दुव्र्यवहार नै भन्न मिल्ने प्रकारको देखिन्छ । घरमा बाबुआमा, परिवार छोडेर बाहिर जान लाग्दा त्यसै पनि उनीहरू दुःखी भइरहेका हुन्छन् । एयरपोर्टका कर्मचारीको व्यवहारले उनीहरूलाई थप दुःखी बनाउँछ । तीन हप्ताअघि न्युयोर्कमा जेनी थापाले यस पङ्क्तिकारसँग भनेकी थिइन्, ‘यसपटक एयरपोर्टमा कर्मचारीहरूले जुन व्यवहार गरे त्यसबाट त मलाई आफ्नो मुलुक फर्किएर जानै नपरे पनि हुन्थ्यो जस्तो लाग्यो । घर छ, बुबाआमा, परिवार, आफू जन्मिएर हुर्किएको ठाउँ, साथीहरू, हावापानी जे सम्झिए पनि कति बेला घर जाऊँ जस्तो हुन्छ, तर जब एयरपोर्टमा कर्मचारीले गरेको व्यवहार सम्झिन्छु, एकदमै नरमाइलो लाग्छ ।’ जेनी बैंक अफ अमेरिकामा काम गर्छिन्, सानै उमेरमा उनले गरेको प्रगति देख्दा गर्वले मनै ढक्क फुल्छ । काम गर्ने भएपछि उनको पासपोर्टमा लेबर स्टिकर लागेको रहेछ । त्यो देखेर उनलाई वैदेशिक रोजगारमा खाडी र अन्य मुलुक जान लागेका युवाहरूको लाइनमा बस्न भनिएछ । उनले आफू अमेरिका जान लागेको र पहिल्यै ढिलो भइसकेकाले प्लेन छुट्ने हो कि भनिछन् । तर, त्यहाँका कर्मचारीले प्लेनले कसलाई छोड्छ, कसलाई लान्छ हामीलाई सिकाउने ? भन्दै लाइन बस्न भनेछन् करिब एक घन्टा लाइन बसेर डेस्कमा पुगेपछि उनलाई भनिएछ, ‘तपार्इं अमेरिका जाने मान्छे किन यो लाइनबाट आएको, उता अर्को लाइनमा बस्नुसु ।’ त्यति मात्र होइन त्यहाँ सोधिएका प्रश्नहरूले पनि उनलाई दिक्क बनाएछ । भनिन्, ‘पढाइ र कामको सिलसिलामा म धेरै मुलुक गएँ, तर त्यस्तो व्यवहार त अरू कुनै देशमा पनि गरिँदैन । आफ्नै देशमा जब कर्मचारीहरूबाट ह्युमिलिएट हुनुपर्छ साह्रै पीडादायी हुँदो रहेछ । लौन, ती कर्मचारीको एटिच्युट कसरी सुधार्ने होला ?’ अमेरिकाको आभिलिगभित्रको उच्चस्तरीय कलेज बढेर अमेरिकामै उत्तरदायी अधिकारी बनिसकेकी उनी एउटा प्रतिनिधि पात्र मात्रै हुन् । प्रत्येक दिन एयरपोर्टका कर्र्मचारीको दुव्र्यवहारको सिकार बन्ने यात्रुको सङ्ख्या ठूलो छ ।
अक्टुबरको तेस्रो हप्ता न्युयोर्कतर्फ जाँदै गर्दा इमिग्रेसनमा ड्युटीमा रहेका कर्मचारीले पासपोर्ट पल्टाउँदै यस पङ्क्तिकारलाई सोधे, ‘पहिलोपल्ट अमेरिका जान लाग्नुभएको हो ?’ ‘होइन’ को जवाफपछि उनले गरेको ‘गफ दिने ?’ भन्ने प्रश्नले अचम्म मात्र होइन खसक्कै बनायो । जवाफमा ‘हजुर ?’ भनेर पछि उनले भने, ‘भिसा त भर्खर लागेको छ ।’ पासपोर्ट पनि नयाँ–नयाँ नै हो भनेर इमिग्रेसन पार गरिरहँदा मात्र नभएर धेरैपछिसम्म उक्त प्रश्नले घोचिरह्यो । यस्तै गत हप्ता बैंकक जाँदै गर्दा पत्रकार सिर्जना श्रेष्ठलाई सोधियो, ‘तपाईं के गर्नुहुन्छ ?’ पत्रकार भनेपछि त्यहाँका कर्मचारीले कार्ड देखाउन भनेका थिए । ता कि सम्बन्धित मुलुकको भीसा लागेपछि त्यो सब गरिरहनु आवश्यक नै छैन । एयरपोर्टका अनेक बेथितिबारे कुरा गर्दै गर्दा सिर्जनाले प्रश्न गरिन्, ‘यदि मैले केही पनि गर्दिनँ भनेको भए या साँच्चिकै म केही नगर्ने भएको भए के मैले यात्रा नै गर्न नपाउने त ? कार्ड किन मागेको होला ?’ यसपटकको मेरो अनुभव भने केही फरक रह्यो । इमिग्रेसन डेस्कका कर्मचारीले पासपोर्ट हेर्दै भने, ‘कोसँग जाँदै हुनुहुन्छ ?’ जवाफमा ‘हजुर ?’ भन्ने प्रश्न गरेपछि उनले भने, ‘एक्लै जान लाग्नुभा’को ?’ खास हो या होइन जे भने पनि हुन्थ्यो । तर अलिअलि हाँस्दै भने, ‘एक्लै हो, म ठूलो भइसकें, एक्लै यात्रा गर्न सक्छु, हुर्किसकेँ नि ।’ जवाफमा उनले नहाँसी हातमा पासपोर्ट थमाइदिए । हामी बेलाबेलामा यात्रा गरिरहनेलाई त केही छैन, तर लामो समयलाई घरपरिवार छोडेर मन खिन्न गर्दै विदेश जान लागेकाहरूलाई भने इमिग्रेसनमा गरिने अनावश्यक अनेक प्रश्नले थप पीडा पु¥याउने गरेको छ । वैदेशिक रोजगारीमा जानेहरू मुलुकका ‘इकोनोमिक एक्टर’ हुन्, उनीहरूलाई गर्ने व्यवहार त झनै राम्रो हुनुपर्ने हो । तर, त्यस्तो हुन सकिरहेको छैन । जहाज कुरिरहेका एक युवा आफ्ना साथीसँग भनिरहेका थिए, ‘आँखाभरि आमा र उहाँले झारेको आँसु मात्रै आइरहेको थियो, आमालाई एक्लै छोडेर हिँड्नुपर्दा मन दिक्क भएको थियो, त्यो कर्मचारीको व्यवहारले सबै बिर्सिएँ, कस्तो रिसउठ्दो हगी ?’ उनको कुराले औंसीको रातमा पनि चाँदको घेरा हुन्छ भनेको शायद यही होला जस्तो लाग्यो । सरकारी कर्मचारीको व्यवहार जहाँ पनि किन यस्तो हुन्छ ? हाम्रै ट्याक्सबाट उनीहरू चलिरहेका हुन्छन्, तर हामीलाई नै किन यस्तो व्यवहार गर्छन् ? यस्तो प्रश्न धेरैपटक सुनिएको छ । यी सबै कुरा सुन्दा र भोग्दा एयरपोर्टको भौतिक संरचनाको विकाससँगै त्यहाँ काम गर्ने कर्मचारीको प्रवृत्तिको पनि पुनर्संरचना गर्नुपर्ने देखिन्छ । जुन कुरा त्यति सहज नभए पनि असम्भवचाहिँ छैन ।