– छविलाल बगाले
लमजुङ/ छङ्गाछुर भीरहरूमा डोरीको सहायतामा झुन्डिएर मह सिकार गरेको देख्दैमा यो जति डरलाग्दो छ, काम पनि उत्तिकै गाह्रोे । तै पनि निडर महसिकारीहरू ज्यानको बाजी लगाएरै भए पनि भीरपहरामा महसिकार गर्ने गर्दछन् । लमजुङका जङ्गल आसपासमा बस्दै आएका स्थानीय गुरुङ समुदायको मह काढ्नु परम्परागत पेसा नै हो । उनीहरूको यही पेसा अहिले परम्परामा मात्र सीमित छैन, यसले अब एउटा महोत्सवको रूपसमेत लिइसकेको छ ।
पछिल्लो समयमा डरलाग्दा भीर–पहरामा मह काढेको हेर्न आउने पर्यटकहरूको सङ्ख्यामा उत्साहजनक वृद्धि भएसँगै महसिकार स्थानीयका लागि आम्दानीको गतिलो स्रोत बन्ने गरेको छ । पछिल्ला वर्र्षहरूमा पर्यटकलाई आकर्षित गर्न ‘हनी हन्टिङ फेस्टिभल’का रूपमा महसिकार गर्न थालिएको छ ।
जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखा लमजुङको आयोजनामा पूर्वीलमजुङको ढोडेनीमा भीरमौरीको महसिकार महोत्सवको आयोजना गरी एकै दिन एक सय लिटर मह सङ्कलन गरिएको छ । ढोडेनी गाविसको वडा नं. २ र ४ को सिमानामा रहेको आँयु भीरमा महसिकार गरिएको थियो । कहालीलाग्दा भीर–पहरामा हुने महसिकार अर्थात् ‘हनी हन्टिङ’ विश्वमै विरलै हुने गर्दछ । अत्यन्तै महसुर महसिकारीले गर्ने महसिकार पर्यटकका लागि नौलो र आकर्षणको विषय पनि बन्ने गरेको छ । आङै सिरिङ्ग हुने अग्ला भीर–पहरामा निडरका साथ महसिकारीहरूले मह काढेको रमणीय दृश्य विदेशी पर्यटकका साथै भीरमाहुरीको सिकार गरेको कहिल्यै नदेखेकाका लागि पनि साँच्चै अविष्मरणीय र रोचकको विषय हुन सक्छ ।
भीरपहरामा पाइने भीरमौरीको सिकार गर्न विगतमा गाउँलेको हानाथाप चल्ने गर्दथ्यो । तर, अहिले महसुर सिकारी पाउन नै मुस्किल हुने गरेको मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्ष हरिकृष्ण तिवारी बताउँछन् । जिल्लाका धेरै भीरमा पाइने यो मौरीको मह समय मिलाएर काढ्न सके लमजुङमा मात्रै वार्षिक पाँच मेट्रिक टन मह उत्पादन हुने जिल्ला कृषि विकास कार्यालय लमजुङले जनाएको छ । भीरमौरीको मह औषधिका रूपमा पनि प्रयोग गरिन्छ । यो अत्यन्तै दुर्लभ भएकाले यसको मूल्य पनि महँगो रहेको छ । मह काढेको स्थलमा यसको मूल्य प्रतिकिलो एक हजारसम्म पर्ने स्थानीय गजबहादुर घले बताउँछन् ।
परापूर्वकालदेखि जङ्गलको आसपासमा बस्दै आएका गुरुङ समुदायका मानिसको आम्दानीको स्रोत बन्ने गरेको महसिकार आजभोलि पर्यटक लोभ्याउने आकर्षण बन्ने गरेको छ । ढोडेनीको आँयु भीरमा लमजुङका ख्यातिप्राप्त ६० वर्षीय महसिकारी टट्टु गुरुङ, २५ वर्षीय गोरे गुरुङ, ५२ वर्षीय कर्णसिंह घले र ४५ वर्षीय मेगराशि घलेले सिकार गरेका थिए ।
लमजुङको ढोडेनीसहित खुदी, ताघ्रिङ, भुलभुले, भुजुङ, दूधपोखरी, घनपोखरालगायतका दर्जनौँ भीरपहराहरूमा भीरमाहुरी प्रसस्तै पाइने गर्छ । महसिकार गर्ने प्रचलन धेरै पुरानो रहे पनि पर्यटक आकर्षकका लागि आजकाल ‘हनिहन्टिङ फेस्टिभल’का रूपमा महसिकार गरिँदै आएको छ । यसअघि पनि लमजुङको ताघ्रिङ, बाहुनडाँडको नाइचे, खुदीको सिउरुङ, घनपोखरा, भुजुङलगायतका स्थानमा हनिहन्टिङ फेस्टिभल भइसकेको छ । महसिकारीलाई तालिम र आधुनिक सामग्री वितरण गर्नसके भीरपहरामा रहने मौरीको संरक्षण हुनुको साथै महसिकारबाट पर्यटकीय आकर्षण बटुल्न सकिने मौरीपालक महासङ्घका केन्द्रीय उपाध्यक्ष हरिकृष्ण तिवारीले बताए । उनले भने, ‘भीरपहरामा पाइने मौरीको संरक्षणका साथै उचित तरिकाबाट महसिकार गरिए स्थानीय गाउँलेको आम्दानीको साथै महसिकारले स्वदेशी तथा विदेशी पर्यटकको मन पनि लोभ्याउनेछ ।’
प्रतिक्रिया