कृति–चर्चा
राष्ट्र–अन्तर्राष्ट्रमा छाएका व्यक्तिविशेषले लेखेको वा त्यस्तो व्यक्तित्वका बारेमा लेखिएको कृति मात्र पठनीय–मननीय हुन्छ र सर्वसाधारण नागरिकसँग चाहिँ अनुभव, ज्ञान र सिक्न–बुझ्न सकिने कुरा केही पनि हुँदैन भन्ने आमबुझाईलाई चिर्दै एक पाको उमेरका सर्वसाधारण नेपालीका अनुभव तथा जीवनवृत्तिको सङ्गालो पुस्तक–कृतिको रूपमा प्रकाशनमा आएको छ । ‘मैले देखे–सम्झेका कुरा’ नामको उक्त छरितो पुस्तकका पात्र हुन्– नब्बेको उमेर काटेका होमबहादुर जीसी । लामो समय सरकारी सेवामा गुजारेर नवलपरासीको त्रिवेणीस्थित बनकट्टीमा अवकाशको जीवन गुजारिरहेका वरिष्ठ नागरिक जीसीले जीवनमा आफूले देखे–भोगेका कुराको सम्झना गर्दै पुस्तकको रूप दिएका हुन् ।
अवकाशको जीवन धर्मकर्म र समाजसेवामा लगाएर समय व्यतीत गर्दै आएका वृद्ध होमबहादुर जीसीको अनुभवलाई पुस्तकको रूप दिई सार्वजनिक गर्ने सोचचाहिँ उनकै सुपुत्री श्रीमती गोमा सेनमा पैदा भएको रहेछ । उनकै आग्रहमा वयोवृद्ध जीसी पनि आफ्ना अनुभवलाई पुस्तकाकार प्रदान गर्न हौसिएका रहेछन् । यसरी गोमा सेन नै प्रकाशक रही पत्रकार महेन्द्र पाण्डेयको सम्पादनमा होमबहादुर जीसीको ऊर्जाशील जीवनका केही महत्वपूर्ण पाटा समावेश गरिएको पुस्तक प्रकाशनमा आएको छ, जसलाई पढेर समाजका जो–कसैले पनि विविध जानकारी र ज्ञान हासिल गर्न सक्छन् ।
राणाकालीन समाजमा घरैमा साधारण शिक्षा पाएका र पन्ध्रै वर्षको उमेरदेखि सरकारी कार्यालयमा लेखापढीको कामबाट जागिरे जीवन सुरु गरेका होमबहादुर जीसीबाट सिक्नुपर्ने अनेक कुरा छन् । धर्मकर्म, निष्ठामा आधारित अनुशासित जीवन, समाजसेवा, दीन–दुःखीप्रतिको सहयोगी भावनाजस्ता दैनन्दिनीका कुरा, जसले व्यक्तिलाई तनावमुक्त बनाई सन्तुष्ट र स्वस्थ राख्न मद्दत पु-याउँछ– वरिष्ठ नागरिक जीसीको जीवनको मूल सार देखिन्छ । कर्मचारीतन्त्र र भ्रष्टाचार भन्ने कुरा एक–अर्काको पर्यायजस्तै बन्न पुगेको आजको अवस्था लुकाएर लुक्न सक्दैन । सर्वसाधारण जनताको स–साना काम गर्न पनि घुस माग्ने प्रवृत्ति व्यापक छ । ठाउँ प-यो कि पदअनुसारको अवैध लाभ उठाएर व्यक्तिगत ढुकुटी भर्न रत्तिभर नहिच्किचाउने भ्रष्ट संस्कृति यसरी मौलाएको छ कि परिवारका सदस्यहरूले समेत जसरी हुन्छ पैसा कमाउन उक्साएर कर्मचारीलाई झन्–झन् भ्रष्ट बन्न प्रेरित गरिरहेको देखिन्छ । होमबहादुर जीसी आफ्नो कर्तव्यप्रतिको निष्ठा, इमानदारिता र सेवाभावका कारण जनतामा निकै लोकप्रिय थिए, घुस लिएर काम गर्ने कुरा सपनामा पनि सोच्न सक्दैनथे । कर्तव्यप्रति इमानदारी र दिइएको जिम्मेवारी कुशलताका साथ पूरा गरिछाड्ने स्वभावकै कारण नायव सुब्बाको तह भए पनि गाह्रो–साँघुरो पर्दा तत्कालीन अञ्चलाधीशकै कामु चलाउने अवसरसमेत उनी पाउँदथे । उच्च तहका प्रशासकको वशमा नभएको काम पनि उनैबाट निप्टिन्थ्यो । त्यसैले अप्ठ्यारो प-यो कि उनको खोजी हुन्थ्यो ।
मालपोतका कर्मचारी हुनुको नाताले भूमिकर उठाउने, जग्गाजमिनका मामला सल्ट्याउनेदेखि सुकुम्बासीलाई जग्गा बाँड्ने कामसमेतको दायित्व उनले पाए । आजका कर्मचारी भए त्यसरी हजारौँ बिघा जमिन वितरण गर्दा आफू या आफ्ना नातागोता, आसोपासे, चम्चे–धुपौरेका नाममा कति प्लट छुट्याउँथे होलान् । होमबहादुर जीसीले चाहेका भए सन्तान–दरसन्तानलाई पुग्ने गरी मुलुकका महत्वपूर्ण ठाउँहरूमा बिघाका बिघा जमिन जोडेर आज ठूलो जमिनदार कहलिँदै रोवरवाफको जिन्दगी गुजार्न सक्ने थिए । तर, यसरी सम्पत्ति आर्जन गर्नुलाई महापाप सम्झने जीसीले अवैध आर्जन गर्ने कुरा सपनामा पनि चिताएनन् । त्यसैले त उनी स्थानीयजनको प्यारो, आशा–भरोसाको केन्द्र र गरिबगुरुवाका वैशाखी, नैतिकता र मानवीय गुणका धनी राष्ट्रसेवक कहलिए । सरुवा हुँदा पनि जनताले उच्चतहमा बिन्तीपत्र हाली–हाली आफ्ना प्रिय कर्मचारीलाई ६–६ महिनासम्म आफ्नै स्थानमा रोकेर राख्दथे । यसर्थ, आजका राष्ट्रसेवक कर्मचारीले जीसीजस्ता पूर्वराष्ट्रसेवकको जीवनीबाट धेरै कुरा सिक्न र प्रेरणा लिन सक्छन् ।
‘मैले पैसा कमाइनँ, तर जनताले दिएको प्रेम र आशीर्वादले अहिलेसम्म सन्तुष्टि कमाइरहेको छु, जसले मलाई हाँसीखुसी जीवन बाँच्न मद्दत पु-याएको छ’ भन्छन् होमबहादुर । जागिरे दौरानमा फललाई भन्दा कर्मलाई नै आत्मसात् गरेकैले उनलाई आज यति सुख–सन्तुष्टि मिलेको कुरामा सन्देह राख्नैपर्दैन । उमेरले नब्बे काट्दा पनि आफू बूढो भएजस्तो महसुस नगर्ने जीसी अझै पनि देश र जनताका लागि केही गरिरहन पाए हुन्थ्यो भन्ने भावना मनभरि पालेर बसेका छन् । यस्तै गुणका कारण मोफसलमा साधारण जिन्दगी बाँचिरहेका एक सर्वसाधारण नेपाली होमबहादुर जीसी सबैका लागि प्रेरणाका स्रोत बन्न लायक छन् ।
राणाकालदेखि सुरु गरेर पञ्चायतको लगभग पूरै अवधिभर राष्ट्रसेवकका रूपमा काम गरेका जीसी जनताको काम भनेपछि हुरुक्कै हुने स्वभावका भएकैले हुनुपर्छ, उनको हृदयमा प्रजातान्त्रिक भावना कुट–कुट भरिएको थियो । पञ्चायत व्यवस्थाअन्तर्गतको कर्मचारी भएर पनि उनी प्रजातान्त्रिक आन्दोलनप्रति अपनत्व राख्थे । बीपी कोइरालाको व्यक्तित्व तथा आचरणबाट अत्यन्त प्रभावित जीसीले जनमतसङ्ग्रहमा भित्रभित्रै बहुदलको पक्षमा काम गरे । जननायक बीपी कोइरालाले भनेझैँ ठूलो होइन असल मानिस बन्नुपर्छ भन्ने कुरालाई आत्मसात् गरेका, अरूका राम्रा गुण लिने अनि आफ्ना अवगुणलाई जरैदेखि उखेलेर फ्याँक्ने स्वभाव बोकेका, कसैसँग तीतो–पिरो व्यवहार नगर्ने, स्वस्थ रहनका लागि आयुर्वेदिक पद्धतिलाई अँगालेका र नब्बे वर्षको उमेरमा पनि अर्थपूर्ण र रमाइलो जिन्दगी बाँचिरहेका, राणा, पञ्चायत, लोकतन्त्र र गणतन्त्रसम्मको शासन भोगी अनुभवका धनी बनेका होमबहादुर जीसीजस्ता व्यक्तित्वको जीवन–सारका रूपमा आएको ‘मैले देखे–भोगेका कुरा’बाट समाजका सबै तह र तप्काका नागरिकले केही न केही कुरा सिक्न, बुझ्न पाउँछन् भन्ने अपेक्षा गर्न सकिन्छ ।
जीसीको जीवनका कालखण्डहरूसँग जोडिएका कतिपय तस्बिरसमेत संलग्न भएबाट पुस्तकको शान–सौन्दर्यमा चारचाँद लागेको छ । कतिपय तस्बिर उनका समाजसेवाका साक्षी बनेर टल्किएका छन् । समग्रमा भन्नुपर्दा होमबहादुर जीसीले विभिन्न कालखण्डमा टिपोट गरेका र उनीसँग वार्तालाप गरेर तयार पारिएका सामग्रीको सम्मिलनबाट तयार भएको यो पुस्तक नेपालको राणाकालीन एवम् पञ्चायतकालीन समाजको चरित्र बुझ्ने सवालमा समेत महत्वको प्रतीत हुन्छ । यस कृतिसँग जोडिएका सबै पात्रहरू साधुवादका हकदार छन् भन्दा अत्योक्ति नठहरिएला ।
प्रतिक्रिया