सार्कको तयारीका क्रममा भएभरका सबै काम भएको देखिए पनि एउटा काम भएको देखिएन । त्यो हो– प्रवेश निषेधको बोर्ड लगाउने । ‘सार्कमा पाल्नुभएका पाहुनाहरूलाई प्रवेश निषेध !’
आजका दिनमा बेहुलीझैँ सिंगारिएको राजधानीका कतिपय यस्ता स्थानहरू पनि छन् जुन उपेक्षित छन् । त्यसतर्फ कसैले ध्यान दिएका छैनन् । किनभने त्यहाँबाट कसैलाई केही फाइदा हुनेवाला छैन । तर, आश्चर्य के छ भने कुस्त फाइदा हुने तिनकुनेलाई भने सिंगार गर्न सकेनन् । मूलबाटोमा पर्ने तिनकुनेको अस्तव्यस्त अवस्थाबाट विदेशी पाहुनाले देशको अवस्था बुझ्छन् भनेर होला सायद, दुईतिरबाट नीलो जस्तापाताले घेर्ने काम गरिदिएका छन्, जिम्मेवारी पाएका महाशयहरूले । पूर्वतर्फ त केही दिन अगाडिसम्म जस्ता पनि हालिएको थिएन । तिनकुनेको फोहोर–मैला र धुलोको राज पूर्वतर्फबाट स्पष्ट देखिन्छ । सायद पूर्वतर्फ पाहुनाहरूको यात्रा मार्ग पर्दैन, उनीहरू त्यो बाटो हिँडदैनन् भनेर होला– जस्तापाता नलागेको । त्यसैले पनि त्यो बाटो पाहुनाहरू नहिँडुन् भनेर ठूलो प्रवेश निषेधको बोर्ड तिनकुनेको उत्तरी कुनामा लगाउनु आवश्यक थियो ।
तिनकुने मात्रै होइन, यस्ता धेरै ठाउँ छन् जहाँ त्यस्ता निषेधबोर्ड लाग्नुपर्ने हुन्छ । जस्तो भोटाहिटीको मुखमा, मंगलबजारबाट सुन्धारा जाने बाटोमा, पुरानो बानेश्वर जाने बाटोमा, यस्ता धेरै बाटाघाटा छन् जहाँ त्यस किसिमको निषेध बोर्ड लाग्नुपर्ने हो । यदि त्यस्ता बोर्डहरू ठाउँठाउँमा लागेको भए सार्कको तयारी पूरा भएको ठहर्ने थियो । तर, त्यो भएको देखिएन । अब त समय पनि छैन । पाहुनाले झुक्किएर दायाँ बायाँ हेरे भने कन्तविजोग हुन्छ ।
काम नभएको होइन । काम भएको छ । लगनशील भएर काम ग-यो भने र आवश्यकताअनुरूपको खर्च ग-यो भने पनि कामले पूर्णता पाउन सक्छ । त्यसले परिणाम पनि दिन्छ । गएको तीन–चार महिना अगाडिदेखि नेपालमा हुने अठारौँ सार्क शिखर सम्मेलनको तयारीका नाममा सडकहरू मिलाउने, सजाउने, चिरिच्याँट्ट पार्ने काम भइरहेको थियो । केही महिनादेखि भौतिक तथा आवास मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, सडक विभाग, महानगरपालिकालगायतका निकायले फुर्सद पाएका थिएनन् । भ्याई–नभ्याई थियो तिनलाई । अझै कतिपय ठाउँमा त हिजोका दिनसम्म पनि काम भइरहेको देखिएको थियो । जब कि आजका दिनदेखि सार्क सम्मेलन सुरु भएको छ ।
एउटा हिन्दी गीत छ, ‘पैसा फेंको तमासा देखो’ । राज्यले पैसा फ्याँकेको छ सार्कको नाममा र हामी सडकमा तमासे भएर तमासा हेरिरहेका छौँ । सार्क सम्मेलन सकिएर विदेशी पाहुनाहरू फर्किएपछि थप धेरै तमासा हेर्न हामीले तयार भएर रहनुपर्छ ।
तर, चुरो कुरो के भने सार्क तयारीले, अर्बौं खर्च गरेपछि जे पनि बन्दो रहेछ भन्ने हामीलगायत धेरैलाई ज्ञान भएको छ । भौतिक संरचना निर्माणका लागि आवश्यक खर्च गर्ने हो भने समयमा निर्माण पूरा गर्न सकिन्छ भन्ने सन्देश त दिएको छ सरोकारवालाहरूलाई । तर पनि तिनको घैँटोमा घाम लाग्ला भन्ने सोच्न पर्दैन । अहिले त सार्कको काम थियो, ‘सौ खुन माफ’सहित ।
भन्नलाई त सकारात्मक सोच्नुपर्छ भनिन्छ । तर, जहिले पनि नकारात्मक सोचतर्फ दिमाग बरालिन्छ । त्यसो त मानिसलाई शिक्षादीक्षाका क्रममा सकारात्मक सोच्नका लागि प्रेरित गरिन्छ । सकारात्मक सोच्न सिकाइन्छ । तर, हाम्रो पनि त मनै हो । कहाँ सधैँ सकारात्मक सोच्न सक्छ र ? राज्य सञ्चालन गर्ने राजनीतिक दल, त्यही दलहरूले बनाएको सरकार, सरकार सञ्चालनमा आफ्नो हालीमुहालीका लागि गठन गरिएको उच्चस्तरीय समिति, सरकारसँग प्रत्यक्ष–परोक्ष सम्बन्ध राख्ने नेता र कार्यकर्ता, सरकारसम्बद्ध अधिकारी अनि तिनीहरूबाटै दलित र दमित ठूला–साना पदका कर्मचारी सबैमा सकारात्मक सोच भइदिएको भए हामीजस्ता आममानिसको सोच पनि सायद सकारात्मक नै हुन्थ्यो होला । तर, ती सबै नकारात्मक सोच्छन्, ‘मै खाऊँ मै लाऊँ सुख सयल वा मोज म गरूँ’ भन्दै । यो अवस्थामा आमजनतामा सकारात्मक सोचको अपेक्षा गर्न सकिन्छ ? किमार्थ सकिन्न ।
सार्क सम्मेलनका लागि करोडौँ खर्चेर माइतीघर मण्डला सजाउन सक्नेले तिनकुनेलाई सफा पार्न पनि सकेनन् । सकेको भए दश प्रतिशत कमिसन त तिनकै भागमा नै पथ्र्यो होला । तर, यहाँ अलिकति सकारात्मक सोच्दै छु, हुन सक्छ, तिनकुनेलाई सजाउनुभन्दा जस्तापाता ठोक्दामा कमिसन बढी झ-यो कि ? जे गरे पनि पाहुनालाई दुई–चार दिन झुुक्याउने त हो ।
सार्क सकिएपछि कतिका घर सिँगारिने हुन्, फूलैफूलका गमलाले । सडकमा रातारात गरेर उमारिएका रूख–बिरुवा र फूलपातका बोटहरूले कतिका घर सजिने हुन् । त्यसो त सडकको उज्यालोका लागि राखिएको सोलारबत्ती चोरी होला भन्ने त लाग्दैन । तर, तिनको संरक्षण पनि हुन्छ भन्न सकिन्न । यदि ती सौर्य ऊर्जा सडकबत्तीका सेटहरू कसैको घरमा शोभायमान भइरहेको पाए कुनै आश्चर्य नमाने हुन्छ ।
राज्यले निर्माण गरिसकेपछि त्यसको संरक्षणका लागि पनि लाग्नुपर्ने हो । अर्बाैंको खर्च भएको कारण संरक्षणका लागि ध्यान दिनु राज्यको काम नै हो । तर, सतीले सराप दिएको देश भनिन्छ । फूलका गमला, विभिन्न प्रजातिका बोट, बिरुवा र सोलारबत्तीले सार्कपछि कसैको घर सजिए वा तिनकुनेमा ठड्याइएको नीलो जस्तापाताले कसैको घरको भ-याङको छानो वा शौचालयको छानोका रूपमा शोभायमान भएको पाए, सकारात्मक सोच्न कसले सक्छ र ? आखिर सतीले सरापेको देश न हो भन्नुबाहेक ।
प्रतिक्रिया