पहिलो कुरो त यो देशका मान्छेलाई भ्रष्टाचार भन्नेबित्तिकै नगद दाम भ्रष्टाचार हो भन्ने किसिमले बुझाउने प्रयास गरियो जुन गलत थियो । यथार्थमा भ्रष्टाचार के हो यसलाई अलि फराकिलो पाराले बुझ्दा कल्याण हुने देखियो ।
भ्रष्ट आचार अर्थात् गर्न नहुने काम– भ्रष्टाचार । शिष्ट आचार अर्थात् गर्नुपर्ने सकारात्मक काम– शिष्टाचार । भ्रष्टाचार भन्ने शब्दले नकारात्मक फल दिने अर्थ अर्थात् मानवीय मूल्य र मान्यताविपरीतको कामलाई जनाउँछ । एकजना शिक्षक विद्यालयमा ९ः५५ बजेसम्ममा पुगिसक्नुपर्छ वा ढिलोमा १०ः०० बजेसम्म कुनै पनि हालतमा पुग्नुपर्छ । तर, कुनै शिक्षक दश बजेभन्दा ढिलो विद्यालय पुग्छ भने उसको त्यो कामलाई भ्रष्टाचार भन्नुपर्छ किनकि त्यो शिष्टाचार होइन । अभिभावकले आफ्ना सन्तान विद्यालयमा गएका छन्–छैनन्, पढाइको अवस्था कस्तो छ, खाजा, खानाको अवस्था ठीक छ–छैन, सरसफाइमा ध्यान दिएका छन्–छैनन् हेरविचार गर्छन् भने ठीक भयो । तर, विद्यालयमा शुल्क तिरिदिएकै छु भन्ने नाममा बालबालिकाको पढाइ, खाजा, स्वास्थ्यलगायतका विषयमा बेवास्ता गर्छन् भने ती अभिभावकले भ्रष्टाचार गरेको ठहर्छ, उनीहरू भ्रष्टाचारी हुन् । सडकको बीचमा कुनै विवेकहीन मान्छेले बोतल फुटाएर छाडेको छ र छरिएका सिसाका टुक्राहरू देखेर तर्किएर हिँड्ने तैपनि टिपेर बाटो सफा नगर्ने मान्छे वा मान्छेको समूहलाई भ्रष्टाचारी भनिन्छ, किनकि सिसा उठाएको भए सदाचार वा शिष्टाचार हुन्थ्यो, मानव धर्म हुन्थ्यो, तर नउठाउँदा मानव धर्मविपरीतको काम हुन जान्छ यसलाई पनि भ्रष्ट आचरण अर्थात् भ्रष्टाचार भनिन्छ । भ्रष्टाचारको उदाहरण अरू पनि उपलब्ध छन् । गाडीचालकले सकेसम्म हर्न बजाउन हुँदैन । त्यसमाथि विद्यालय र अस्पतालनजिक कुनै पनि हालतमा बजाउन हुँदैन । हर्न बजाउँदा चर्को आवाजका कारण बालबालिका र बिरामीको मस्तिष्कमा नकारात्मक असर पर्छ । तर, यो नियमको पालना नगरेर जथाभावी विद्यालय र अस्पतालनजिक गाडीचालकले हर्न बजाएका छन् । ती हर्न बजाउने चालक भ्रष्टाचारी हुन् । चालकले हर्न बजाएको यो अवस्थालाई भ्रष्टआचार अर्थात् भ्रष्टाचार भन्नुपर्छ ।
आफ्ना लालाबालाको पेट भर्ने, लालनपालन गर्ने र सके गतिलो शिक्षा दिने उद्देश्यले, सरकारी अदूरदर्शी नीतिका कारण लाखौँ नेपाली युवा रोजगारीका लागि बिदेसिएका छन् । सानासाना नानीबाबुहरूलाई श्रीमतीको जिम्मा लाएर विदेशमा पसिना बगाएका छन् । तर, तिनका कोही–कोही श्रीमतीहरू श्रीमान्को विश्वासलाई तिलाञ्जली दिएर नानीबाबुको पढाइ र घरलाई बेवास्ता गर्दै अन्यत्रै बरालिएको भेटिन्छ । महिलाको यो खालको गतिविधि भ्रष्टाचार हो । त्यस्ताखाले महिला भ्रष्टाचारी हुन् । राजनीतिकर्मीको काम जनताका अगाडि केही अतिसंवेदनशीलबाहेक सबैखाले परिस्थितिलाई जस्ताको तस्तै बताउनुपर्छ । झुटो बोल्न पाइँदैन । चुनाव जितेमा यो वा त्यो काम गरिदिनेछु वा छौँ भन्ने राज्यको क्षमताभन्दा बढी आश्वासन बाँड्ने काम भ्रष्टाचार हो । सडकमा वा सार्वजनिक स्थलमा थुक्न हँुदैन । जहाँ पायो त्यहीँ थुक्नु भ्रष्टाचार हो । खकार फ्याँक्नु र सिँगान फ्याक्नु पनि भ्रष्टाचार हो । भ्रष्ट आचरण हो । सडकमा गाई–भैंसीलगायतका चौपाया छाडा छाड्दा एकातर्फ सडक फोहोर हुन्छ भने यिनकै कारण सवारी दुर्घटना निम्तिन सक्छ । यो खालको काम कतै गरिएको छ भने यो कामलाई भ्रष्टाचार भनिन्छ र जसले गरेको छ उसलाई भ्रष्टाचारी भनिन्छ । मान्छेमा मात्रै लागू हुने एउटा चरित्र छ ‘सहयोगी चरित्र’ । यो जातिमा विशेष अर्थ पनि राख्ने सहयोग सक्नेले नसक्नेलाई गर्ने हो । हुनेले नहुनेलाई दिने हो । आफू बाँच्न अरूलाई पनि बचाउनुपर्छ भन्ने नियमको पालना गर्ने हो । अरू बाँचेकैले म बाँचेको छु भन्ने मन्त्रलाई आत्मसात् गर्ने हो । तर, बैंकमा टनाटन रकम राख्ने, गोजीमा हजारौँ रुपैयाँ हुने व्यक्तिले छिमेकमा कुनै व्यक्ति बिरामी वा दुर्घटना पर्दा वा अन्नपात खरिद गर्न सापटी सहयोग माग्दा ‘हिजोसम्म थियो, आज त कत्ति पनि छैन’ भनी सहयोग गर्नबाट तर्किने मान्छे भ्रष्टाचारी हो । उसको त्यसप्रकारको काम भ्रष्टाचार हो । भ्रष्टाचार त्यही हो जुन काम सामाजिक मर्यादाविपरीत, मानवीय मूल्य र मान्यताविपरीत हुन्छ । यस्ताखाले भ्रष्टाचारका अनगिन्ती उदाहरण प्रस्तुत गर्न सकिन्छ जब कि धेरै उदाहरण प्रस्तुत गर्न जरुरी छैन ।
अब चर्चा आर्थिक भ्रष्टाचारको । हिजोआज मान्छेले भ्रष्टाचार भन्नेबित्तिकै आर्थिक भ्रष्टाचारलाई बुझ्ने गरे र गल्ती गरे । भ्रष्टाचार र आर्थिक भ्रष्टाचारमा आकाश र धर्तीबराबरकै फरक छ । आर्थिक भ्रष्टाचार पनि भ्रष्टाचार हो, तर सोलोडोलोमा भ्रष्टाचार भनेको आर्थिक भ्रष्टाचार मात्रैलाई बुझ्न हुँदैन । आर्थिक भ्रष्टाचार अलग हो, छुट्टै शीर्षकको भ्रष्टाचार हो । नेपाली नागरिक समाजमा आर्थिक भ्रष्टाचारभन्दा पहिले माथि उदाहरणस्वरूप प्रस्तुत गरिएका सामाजिक खालका भ्रष्टाचारहरू भए, गरिए । विस्तार–विस्तार भौतिक सुविधाका लागि मानवले आफ्नो समुदायका लागि सुखमय हुने कल्पनाका साथ उत्पादन गरेको धनमा भ्रष्टाचार हुन थाल्यो । तलको जग सामाजिक भ्रष्टाचार थियो । पछि महालोभी जात मान्छेले आर्थिक भ्रष्टाचार गर्न थाल्यो । आर्थिक भ्रष्टाचारका केही नमुनाहरू यस्ता छन् ।
एउटा सरकारी खरिदार तहको कर्मचारीको मासिक तलब १५,००० रुपैयाँ छ । जागिर प्रवेश गरेको अवधि जम्मा १० वर्ष भएको छ, तर उससँग करोडौँ–करोडको सम्पत्ति छर्लङ्गै देखिन्छ भने आम्दानीको स्रोत देखाउन नसक्ने अवस्थाको ज्यादा सम्पत्ति आर्थिक भ्रष्टाचार गरेर कमाएको हो । एउटा सेवाग्राहीसँग पासपोर्ट चाँडै बनाइदिने आश्वासन दिएर कुनै सरकारी कर्मचारीले राजस्व र करबाहेक अरिरिक्त रकम लिन्छ भने लिने कर्मचारी र दिने सेवाग्राही दुवै भ्रष्टाचारी हुन् भने तिनको काम परिभाषाका दृष्टिकोणले आर्थिक भ्रष्टाचार हो । नेपालमा यतिबेला ठूलै समस्याको रूपमा व्याख्या गर्ने गरिएको आर्थिक भ्रष्टाचारका अनगिन्ती उदाहरण छन् । केही मात्रै उदाहरण प्रस्तुत गर्दासमेत पर्याप्त हुने ठानिएको छ ।
जनचेतना जगाउने उद्देश्यले सरकारले कर्मचारीलाई विभिन्न कार्यक्रम आयोजना गर्नका लागि आर्थिक रकम छुट्याएको हुन्छ, तर कर्मचारीले कार्यक्रम नै नगरी कार्यक्रम आयोजना गरेको र अनेक शीर्षकमा खर्चको बिल प्रस्तुत गरेर रकम लिने गरेका छन्, यसलाई आर्थिक भ्रष्टाचारको एउटा नमुना मान्न सकिन्छ । निर्माण प्रक्रियाका लागि सरकारले टेन्डर आह्वान गर्ने गर्छ । टेन्डर लिने–दिने प्रक्रियामा सरकारी कर्मचारी र निर्माण व्यवसायीबीच मिलेमतोमा ठेक्का स्वीकृत गर्ने र त्यसबापत कर्मचारीले निर्माण व्यवसायीसँग आर्थिक रकम लिने र व्यवसायीले दिने, इन्जिनियरले कमसल कामलाई अब्बल ठहर गरिदिने र रकम लिने प्रक्रियालाई आर्थिक भ्रष्टाचार भनिन्छ । पूर्वाधार निर्माण नभएको अवस्थामा अस्पताल सञ्चालन गर्न दिएर सरकारी कर्मचारीले जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै अस्पताल सञ्चालकहरूबाट मोटो रकम लिएको बताइन्छ । यो प्रक्रिया आर्थिक भ्रष्टाचार हो । यहाँनेर अस्पताल सञ्चालकले सरकारी कर्मचारीलाई घुस दिएर स्वीकृति लिएको स्थितिले सरकारी कर्मचारी र अस्पताल सञ्चालकलाई आर्थिक भ्रष्टाचारीको परिचय दिन्छ । एक लिटर पेट्रोल भरिदिने नाममा पेट्रोलपम्प सञ्चालकले ९०० मिलिलिटर मात्रै झुक्याएर भरिदिने प्रक्रिया कालोबजारी नामको आर्थिक भ्रष्टाचार हो । एक किलो स्याउ जोखिएको बताएर ७५० ग्राम दिने प्रक्रिया पनि कालोबजारी नामको आर्थिक भ्रष्टाचार हो । कसैलाई जागिर लगाइदिएबापत वा सुगम र सजिलो ठाउँमा सरुवा गराइदिएबापत आर्थिक रकम लिनु आर्थिक भ्रष्टाचार हो । यहाँनेर रकम दिने र लिने दुवै यतिबेलाको परिभाषाअनुसार आर्थिक भ्रष्टाचारी हुन् भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बुझाइमा राष्ट्रका दुश्मन हुन्, अपराधी हुन् । यसरी मुलुकमा मौजुदा कानुनको विपरीत आर्थिक चलखेल गरी धन जोरजम्मा गर्ने प्रक्रियालाई आर्थिक भ्रष्टाचार भनिन्छ । यही आर्थिक भ्रष्टाचार नहोस् र भएको खण्डमा समेत अपराधीलाई कानुनी कारबाही होस् भन्ने हेतुले नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरिएको छ । पहिले नाम मात्रैको कारबाही हुँदै आएकोमा यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखको रूपमा लोकमानसिंह कार्की नामका नागरिक आएका छन् । यिनले सरकारी आर्थिक भ्रष्टाचारीलाई देखे, सुने र भ्याएसम्म पक्राउ गर्दै कानुनी डण्डा चलाएका छन् । देशभरिबाट स्यावासी बटुलेका छन् । यिनीमाथि तल्लो तहका साना भारेभुरे कर्मचारीलाई मात्रै कानुनको डण्डा चलाएर आतङ्कित तुल्याएको र माथिल्ला कर्मचारी र राष्ट्रमाराहरूलाई उन्मुक्ति दिएको वा कारबाही गर्न आँट नगरेको आरोपसमेत लागेको छ । विगतका दिनहरूमा कुनै पनि खाले आर्थिक भ्रष्टाचारीलाई कानुनी कारबाही नभएको अवस्थामा लोकमानले यो तरिकाले कारबाही प्रक्रिया अगाडि बढाउनु आफैँमा स्वागतयोग्य विषय हो, तर माथिल्ला आर्थिक भ्रष्टाचारीहरूलाई पनि कानुनको डण्डा चलाउनुपर्छ भन्ने आवाज आउनु सकारात्मक विषय हो । तर, अन्य मुलुकमा के हुन्छ थाहा छैन । यो मुलुकमा चाहिँ सिर्फ सरकारी कर्मचारी मात्रै आर्थिक भ्रष्टाचारी हुन् भन्ने तरिकाले लोकमानलाई लगाएर कारबाही गरिँदै छ । बाँकी देशभरिका सबैखाले आर्थिक भ्रष्टाचारीहरू नाचेर र गाएर बसिरहेका छन् ।
कुनाकाप्चाबाट प्रश्न उठाएको छ– के यो मुलुकमा सरकारी कर्मचारीलाई कानुनी कारबाही गर्दा मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्छ ? एउटा लोकमान वा अख्तियार मात्रै यो देशबाट आर्थिक भ्रष्टाचार हटाउन पर्याप्त छ ? त्यो त सम्भव छैन । बिनापेसा–व्यवसाय कुनै एक राजनीतिक कार्यकर्ताको करोडौँको सम्पत्ति कहाँबाट आयो ? २० रुपैयाँको औषधिलाई दुई सय रुपैयाँमा किन बेचिन्छ ? मूल प्रश्न यहाँनेर छ– आर्थिक भ्रष्टाचारको एक मात्र ओखती लोकमानसिंह कार्की मात्रै हुन् कि अरू पनि छ ? सही जवाफको खोजी यदि गर्ने हो भने पहिले सामाजिक भ्रष्टाचार नियन्त्रण गर्न विद्यालय तहदेखि नैतिक शिक्षा पढाउन सुरु गर्नुपर्छ । यसको प्रभाव विस्तार हुँदै गएपछि बाँकीलाई तह लगाउन एक–दुईवटा लोकमान होइन, नेपालका प्रत्येक सहर र गाउँमा एक–एक लोकमान ठड्याउनुपर्छ । यो तरिका अपनाउने हो भने नेपालबाट भ्रष्टाचार, आर्थिक भ्रष्टाचार समाप्त हुनेछ, होइन भने यही गोलचक्करमा मुलुक फसिरहनेछ । जाबो एउटा लोकमानले केही त गर्लान्, तर जति गर्नुपर्ने हो त्यति गर्न सक्ने छैनन् । एउटा लोकमान त पाँच सय लिटरको पानीको ट्यांकीमा एक चम्चा चिनी घोलेजस्तै हो । चिनीको अस्तित्व मेटिने पानीचाहिँ गुलियो नहुने । पुराना नेताहरूले होइन, युवा र अब जन्मिने नेताहरूले के गर्छन्, हेर्दै जाऊँ ।
प्रतिक्रिया