नेविसङ्घ बन्यो कसको हतियार ?– ई. महेन्द्र पराजुली

नेविसङ्घ बन्यो कसको हतियार ?– ई. महेन्द्र पराजुली


bicharमहाधिवेशनको दैलैमा आइपुग्दा नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन स्थगित गरिनुलाई कसैले पनि सुखद मानेका छैनन् । पटक–पटक महाधिवेशनको मिति तोक्दै सातौँपल्ट पनि स्थगित गर्नुलाई पार्टी तथा नेपाल विद्यार्थी सङ्घको नेतृत्वको असक्षमता होइन भनेर कसरी नभन्ने ? यो नाटक कहिलेसम्म मञ्चन गर्ने । महाधिवेशनको विषयमा चारैतिरबाट आलोचना भइरहेको छ । दोषजति एक–अर्कालाई थोपरेर माउ पार्टी तथा नेपाल विद्यार्थी सङ्घले उन्मुक्ति पाउँदैनन् । भ्रातृ संस्थाहरूलाई कहिलेसम्म तदर्थवादमा चलाउने ? तदर्थवादमा चलाउनु भनेको संस्थाहरूलाई अरू कमजोर बनाउनु हो । भ्रातृ संस्थाहरूले पार्टीको लाचार छाया मात्र नबनी बिनाबहानाबाजी रोडम्यापसहित यथाशीघ्र महाधिवेशन सम्पन्न गर्न नसकेमा त्यो अभिसाप हुनेछ ।
विधानतः तीन–तीन वर्षमा हुनुपर्ने नेपाल विद्यार्थी सङ्घको महाधिवेशन ६ महिनामा सम्पन्न गर्ने म्यान्डेट पाएको ११औँ महाधिवेशन आयोजक समितिले तीन वर्षसम्म पनि महाधिवेशन सम्पन्न गर्न नसक्नु पार्टीको लाचार छाया मात्र बन्नु हो । नेविसङ्घको महाधिवेशन स्थगित हुने शृङ्खला भने यो पहिलो होइन, २०४० र २०५२ मा टिकेप्र्रथाबाट नेतृत्व चयन भएको थियो । सार्क सम्मेलन त बहानाबाजी मात्र हो, भित्री गुह्य कुरो भनेको भागबन्डा नमिल्नु नै हो । नेविसङ्घको ११औँ महाधिवेशन स्थगित गराउन क–कसको हात छ, को–को कम्मर कसेर लागेका थिए, नाफा र घाटाको जोडघटाउ गरी अधिवेशन रोक्न पार्टी केन्द्रीय तहका नेता तथा नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीलगायत पदाधिकारी क–कसले भूमिका खेली पार्र्टीलाई दबाब दिए भन्ने खुलासा भइसकेको छ र ती कुराहरू छापामा समेत आइसकेको छ । संस्थापन पक्ष र देउवा पक्षका गुट–उपगुटका नेताले आ–आफ्नै उम्मेदवार खडा गरी कसले कसलाई काँध थापेर हिँडेका छन्् भन्ने कुरा अर्थपूर्ण छ । संस्थापन पक्ष र देउवा दुवै पक्षका नेपाल विद्यार्थी सङ्घका नेताले काठमाडौंमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एक–अर्काप्रति आरोप–प्रत्यारोपमा उत्रिएर आ–आफ्नै पक्षको बचाउ गरी नेता भनाउँदाको मोहरा तथा गोटी बनिरहेका छन् । नेविसङ्घका लागि यो दुर्भाग्य हो । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन सम्पन्न गर्न तगारो बनी नेविसङ्घलाई ध्वस्त बनाउन कोही जिम्मेवार छ भने पार्टीभित्रै प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका शेरबहादुर देउवा नै हुन् ।
‘नेविसङ्घको महाधिवेशनलाई पार्टीका बोसहरूले निल्ने हिम्मत नभएपछि यसलाई निल्न सार्क नै बोलाएर ल्याएछन् वाह ! कस्तो बहाना’ नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आफ्नो धारणा यसरी ट्विट गरे । ०७१ कात्तिक २९ गते राजधानीमा भएको एक पुस्तक विमोचन कार्यक्रममा नेविसङ्घका पूर्वमहामन्त्रीसमेत रहिसकेका थापाले पार्टीलाई प्राइभेट कम्पनी बनाएको, जसले महाधिवेशन स्थगितको निर्णय लियो उसैले जिम्मा लिनुपर्ने, रञ्जित कर्णले नेतृत्व गरेको केन्द्रीय समितिलाई मान्नु नपर्ने, जसले बनायो उसैले मान्नुपर्ने भन्नेजस्ता अराजक र उछृङ्खल भनाइ राख्दै नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्तालाई भड्काउँदै उत्तेजित बनाई धमिलो पानीमा माछा मार्न खोज्दै छन्, आफैँ धामी र आफैँ बोक्सी बनेर । विषवमन गर्दै गम्भीर र सङ्गीन आरोप लगाई पार्टी नेतृत्वलाई ठाडो चुनौती दिँदै नेतृत्वको मानमर्दन गर्दै नेतृत्वप्रति वितृष्णा र अनास्था पैदा गराएका छन् गगनले । गैरजिम्मेवार अभिव्यक्ति दिएर गगनले पार्टी अनुशासन भङ्ग गरेका छन् । नेविसङ्घको भ-याङ चढेर छिट्टै नेताको पङ्क्तिमा उभिन सफल भएका गगनले विवाद मिलाउन सार्थक पहल गर्नुको सट्टा नेविसङ्घ तथा पार्टीमा भ्रम उत्पन्न गराई कोसँग प्रतिशोध साध्न कोसिस गर्दै छन्, उनको संदिग्ध चरित्र र भूमिका रहस्यपूर्ण छ । गगनले ढुङ्गा छुँदा देउता बन्छ भन्ने उनको नेविसङ्घको तीर चलाई नेपाली काङ्ग्रेस पार्टीलाई सिकार गर्ने घृष्टता एउटा दिवास्वप्न मात्र हो । गगनले दागेको गोली ब्याक फाएर भएर आफैँतिर नलागोस् ।
पार्टीको जग भनेका भ्रातृ संस्थाहरू हुन् । पार्टी भनेको त साध्य मात्रै हो, साधन भनेका त भ्रातृ संस्थाहरू नै हुन् । पार्टीको बल भनेका पनि भ्रातृ संस्था नै हुन् । भ्रातृ संस्था निष्क्रिय भएमा पार्टीले नयाँ सोचका साथ छलाङ मार्न सक्दैन । धेरै उकाली–ओराली, आरोह–अवरोह पार गर्दै नेपाल विद्यार्थी सङ्घले आफ्नो पहिचान बनाउन सफल भएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनको क्रममा, गौरवशाली इतिहास लेख्न सफल भएको नेपाल विद्यार्थी सङ्घले खेलेको भूमिका प्रशंसनीय छ । परिवर्तनको संवाहक नेविसङ्घको भूमिका अहम् छ । सानातिनादेखि ठूला–ठूला हरेक प्रजातान्त्रिक आन्दोलनहरूमा आँधीबेहरी ल्याएर नेपाल विद्यार्थी सङ्घले अग्रीम मोर्चामा रही आफ्नो क्षमताको प्रदर्शन गर्दै इतिहास रची युवा विद्यार्थीको माझ ढुकढुकी बनेको छ । चाहे त्यो ०३६ को विद्यार्थी आन्दोलन होस् वा ०४६ र ०६२/०६३ को जनआन्दोलनहरूमा नेविसङ्घको भूमिका निर्णायक रहेको छ ।
नेपाल विद्यार्थी सङ्घका जुझारू युवा तथा तरुणहरूलाई एमाओवादीको वाईसीएल र एमालेको युथफोर्सजस्तै विभिन्न अवान्छित गतिविधिमा मुछिएका समाचार सुनिनु दुःखद हो । पृथक पहिचान बोकेको नेपाल विद्यार्थी सङ्घका युवा विद्यार्थी तरुणहरूलाई यो शोभनीय होइन । आफ्नो पहिचान र शाखलाई गिर्न दिनुहुँदैन । भविष्य बोकेका युवाले राजनीतिलाई धन कमाउने भाँडो र ओहोदा प्राप्तिको सिँढी मात्र बनाउनु हुँदैन । उच्च मनोआकाङ्क्षा नराखी आफ्नो पेसाप्रति प्रतिबद्ध भएर निष्ठा तथा इमानदारिताका साथ बिनाआग्रह–पूर्वाग्रह कार्य गर्न सक्नुपर्छ । सामूहिक भावनाबाट कार्य गर्ने संस्कृतिको विकास गर्न सक्नुपर्छ । नेतृत्वले बाइसाइक्लिङ पर्सनालिटी देखाउनुहुँदैन । प्रतिकूल परिस्थितिलाई पनि अनुकूल परिस्थितिमा परिवर्तन गर्ने क्षमता राख्न सक्नुपर्छ ।
नेपाल विद्यार्थी सङ्घ आफ्ना क्षेत्रगत मुद्दामा भन्दा पनि राजनीतिक मुद्दाहरूमा अग्रसर हँुदै गइरहेको देखिन्छ । शैक्षिक जागरणका विषयमा भन्दा, राजनीतिक जागरणलाई चासोको विषयवस्तु बनाई धेरै समय त्यतातिर खर्चिरहेको छ । विद्यार्थीका हकहितका मुद्दा ओझेलमा पर्दै गइरहेका छन् । कुल राष्ट्रिय बजेटको ठूलो हिस्सा शिक्षामा लगानी भए तापनि लगानीको अनुपातमा प्रतिफल न्यून छ, यसतर्फ सङ्घको ध्यान आकर्षित भएको देखिँदैन । आजका बालबालिका भोलिको सुन्दर संरचनाका निर्माताको गुणस्तरीय शिक्षा, स्वास्थ्य, अतिरिक्त क्रियाकलाप र अभिभावकहरूले भोग्नुपरेका पीडाहरूका सम्बन्धमा नेविसङ्घले किन बुझ पचाएको ? नेविसङ्घ पनि आमविद्यार्थीमाझ साझा थलो बन्न सकेन । विद्यार्थीका साझा मुद्दामा हातेमालो गर्दै एक–अर्कामा हार्दिकता देखाउन सकेन नेविसङ्घले ।
भ्रातृ संस्थाहरूमा नेतृत्व भागबन्डाको आधार र टिकेप्रथाबाट आउनुहुँदैन । कार्यकर्ताको कसीमा खरो उत्रिएर, गुट–उपगुटहरूलाई चिर्दै, सम्पूर्ण विद्यार्थीको साझा उम्मेदवार बनी सक्षम नेतृत्वको प्रदर्शन गर्दै, व्यक्तिगत तथा समूहगत स्वार्थ, आग्रह–पूर्वाग्रहदेखि माथि उठेर प्रजातन्त्रिक विधि र पद्धतिबाट अनुमोदित भएर आउन सक्नुपर्छ । भविष्य युवाहरूकै हो । भ्रातृ संस्थाहरूले अब पुरानो ढाँचा र ढर्राबाट होइन नयाँ सोच र दृष्टिकोणका साथ छलाङ अगाडि मार्न सक्नुपर्छ । सङ्घलाई नयाँ उचाइमा पु-याउन इमानदार भएर निष्ठाको राजनीति गर्दै आफ्नो औचित्यको पुष्टि गर्नु नै विद्यार्थी सङ्घको अग्रगमनको बाटो हो ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीका सुपुत्र हुन् ।)