संसारका सम्पूर्ण जीवात्मा जन्मपछि सुरक्षित जीवन जिउन चाहन्छन् । हिन्दूधर्ममा चौरासी जुनी पार गरिसकेपछि मात्र मानव (मनुष्य) योनीमा जन्म लिन पाइन्छ भनेको सर्वविदितै छ । तथापि, मनुष्य योनीमा जन्म हुनु आफैँमा पूर्वजन्मको उच्चतम् फल हो मान्यता हुँदाहुँदै मनुष्य समुदायभित्रै मानवले असुरक्षित महसुस गर्नुपरेको दृष्टान्त पक्कै पनि नयाँ होइन । अर्को शब्दमा मानव चोलालाई चैतन्य चोला पनि भनिन्छ । यही चेतना अथवा विवेककै कारण मनुष्य संसारको उत्कृष्ट प्राणी सावित हुन गएको छ । यसो हुँदाहुँदै पनि मानवभित्र दैवी र दानवीय दुवै तत्व हाबी हुने भएका कारण दैवीतत्वको वर्चश्व कायम भएका अवस्थामा सोही मानव ईश्वर सावित हुन सक्छ । तर, विपरीत गई दानवीय तत्व हाबी भयो भने मानव मानव नभएर दानव भइरहेको चौतर्फी नियाल्दा सावित हुन पुग्छ ।
त्यसैले मानवाधिकारको मूल्य र मान्यताअनुरूप गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र सुरक्षा आदि निर्विकल्प रूपमा सबैले समान रूपमा प्राप्त गर्न पाउनुपर्छ भन्दाभन्दै पनि संसारमा आधाभन्दा बढी मानवबस्ती यो सुविधाबाट वञ्चित छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा यी सबै सुरक्षाकै आधारभूत तत्वहरू हुन्, तर सुरक्षा भन्ने चिज यसरी कि पछि मात्र लिइन्छ ? यदि पहिला सुरक्षित नरहँदा अगाडिका सबै आधारभूत कुराहरूको महत्व रहँदैन । त्यसैले सरक्षा यस्तो विषयवस्तु हो जसले जीवन जिउनमा भयमुक्त बनाउँछ र बाँकी सबै चिज मानव स्वयम्ले सिर्जन गर्न सक्दछ । त्यसैले लेखकको निजी विचारमा सुरक्षा नै सर्वोपरि छ ।
माथिको पृष्ठभूमिले सङ्केत गर्न खोजेको विषयसँग काठमाडौंमा हुँदै गरेको १८औँ सार्क शिखर बैठकको प्रसङ्गसँग जोड्दै गर्दा सो सम्मेलनमा उपस्थित हुने सार्क देशका सरकारप्रमुख तथा राष्ट्रप्रमुखका रूपमा आउने विशिष्ट पाहुनालाई दिइने सुविधा र उनीहरूले हामीप्रति देखाएको सदासयता र विश्वासको विषयलाई लिएर विश्लेषण गर्दा । यस सम्मेलनमा सर्वाधिक चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको काठमाडौंबाहिर जनकपुर, लुम्बिनी र मुक्तिनाथ दर्शन भ्रमणलाई लिएर उत्पन्न विवादलाई लिएर सूक्ष्म विश्लेषण गर्ने हो भने सतहमा देखिएको विषयभन्दा फरक देखिन पनि सक्छ । दुई–चार दिनअघि समाचार माध्यमहरूबाट ब्रेकिङ न्युजको रूपमा प्रसारित हुँदै गर्दा सम्मेलन भ्रमणबाहेक सम्पूर्ण मठ, मन्दिर र गुम्बाको दर्शन भ्रमण रद्द गरिएको जानकारीले देशको सुरक्षा व्यवस्थाबारे अझ सोच्न बाध्य बनाएको छ । मोदीको काठमाडौंबाहिरको भ्रमण रद्द भएबाट यसले हाम्रो देशको कूटनीतिक क्षमता र सुझबुझमा त ठूलै खाडल रहेछ भन्दै गर्दा त्यसका साथमा सुरक्षास्थितिसमेत भनेजस्तो र सोेचेजस्तो बलियो छैन भन्ने कुरालाई अझ छर्लङ्ग बनाएको छ । नेपालमा कूटनीतिक विषयवस्तुमा आफूलाई दिग्गज भन्नेहरू कतै असफल भएका त होइनन् ? सम्पूर्ण सुरक्षाको प्रत्याभूति गराउने निकाय कमजोर भइरहेको त छैन ? यस्ता विषयवस्तुले कहिलेकाहीँ राजनीतिक तरङ्गसमेत पैदा गर्न सक्छन् । यी सबै भविष्यका सम्भावनाका स्रोतहरू हुन् । यी सबै कारणबाट राज्य र जनताले थप क्षतिसमेत व्यहोर्नुपर्ने हुन सक्छ । संसारले आज सुरक्षा र विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । तर, हाम्रोजस्तो देशमा यस्ता विषयवस्तु तेस्रो प्राथमिकतामा पर्नसमेत हम्मे–हम्मे नै छ । आधा शताब्दीभन्दा बढीको राजनीतिक तरलताका कारण यद्यपि हाम्रो देश त्यसभन्दा माथि उठ्न सकिरहेको छैन ।
उज्ज्वल भविष्यको परिकल्पना गर्दै कुनै एक पुस्ताले आफ्नो अमूल्य जीवन योगदान गर्न सक्ला, तर तीन–चार पुस्तासम्मको निरन्तर योगदानले पनि राजनीतिक स्थिरता कायम हुन नसकेपछि अब जनताले परिलक्षित विकल्पसहितको परिवर्तनको चाहना राख्न बेर लाग्दैन । सूचना र सञ्चारले क्षणभरमा विश्वलाई गोलबन्द गर्न सक्दछ । सूचना र जागरणका लागि गाइनेले अलाप्नुपर्ने वा कटुवालले फलाक्नुपर्ने युगबाट संसारले मुक्ति पाइसकेको छ । दशककै सर्वाधिक चर्चामा रहेका बहुआयामिक राजनेता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदकोे भौतिक उपस्थिति आफैँमा अतुलनीय बनिरहेको अवस्थामा हाम्रो छिमेकी राष्ट्र, जहाँ धर्म, संस्कार, संस्कृति, परम्परा आदि समेत मेल खाने र वैदिक सनातन धर्मशास्त्रअनुसार ‘भारतवर्ष’ भनेर चिनिने राष्ट्रको पटक–पटकको सम्मानित भ्रमणले हाम्रोजस्तो हरेक विषयमा पीडा भोगिरहेको राज्यले अनेक हिसाबले त्राण पाउने थियो ।
संसारकै सर्वाधिक चर्चामा रहेका सरकारप्रमुखको भ्रमण आफैँमा फलदायी त छँदै छ, हामीबाट प्रचारमा ल्याउन कठिन भइरहेको पर्यटकीय, सांस्कृतिक र धार्मिक पुन्यस्थलको समेत अन्तर्राष्ट्रिय मिडियाले प्रचारप्रसार गरिदिँदा भोलिको हाम्रो धार्मिक र सांस्कृतिक पर्यटनको विकास पूर्वाधार तय हुन सक्ने कुरालाई नकार्न सकिन्न । संसारकै वरिष्ठतम् उचाइ भएका व्यक्तित्वको पदार्पणले निकै ठूलो ऊर्जा प्रदान गर्ने थियो । तर, दुर्भाग्य ! समाचारको ब्रेकिङ हेर्दाहेर्दै यस्ता अनगिन्ती नमिठा, पट्यारलाग्दा समाचार सुन्न–देख्न बाध्य हुनुपर्दछ । स्वयम् हामी जनताकै तर्फबाट समेत केही न केही कमी–कमजोरी पनि भएकै होला, तर त्योभन्दा पनि ठूलो कमजोरी शासन–सत्ता, सरकार र प्रतिपक्षमा रहने–बस्नेको नै बढी होला । दर्शकले घोडाको दौड हेर्न मात्रै सक्छ, तर लगाम समात्नेले घोडाको गतिलाई कम–बेसी दुवै गराउन सक्दछ । अब हाम्रो देशले पनि गतिशील नेतृत्व चाहेको छ । युवाहरू प्रगतिको दिशा र नेतृत्व तहमा जान चाहन्छन् । सुरक्षा र विकास समस्त युवा र सिङ्गो समाजको सामूहिक माग हो । मोदीजस्तै गतिशील र दूरगामी नेतृत्वको चाँडै पदार्पण होस् । शासकले सर्वप्रथम जनमानसमा सुरक्षाको प्रत्याभूति गराउन सक्नुपर्छ, अनि विकास सँगसँगै लैजानुपर्छ । आज सबैतिर सुरक्षा चुनौती र विकासकै राजनीतिको मूल प्रश्न खडा भएको छ ।
(लेखक टीयूका पीएचडी स्कलर हुन् ।)
प्रतिक्रिया