संविधान बने प्रधानमन्त्री ओली, नबने शेरबहादुर देउवा

संविधान बने प्रधानमन्त्री ओली, नबने शेरबहादुर देउवा


mainnewsसार्कपछि नेपाली राजनीतिमा नयाँ मोड
सार्क राष्ट्रहरूको शिखर सम्मेलनलगत्तै नेपाली राजनीतिमा नयाँ मोड आउने सङ्केतहरू देखिएका छन् । दलहरूबीच सहमति बनाउन भएको प्रयास केही दिनदेखि अलपत्र परेको र दुईतिहाइ बहुमतका आधारमा संविधान जारी हुने सम्भावना पनि क्षीण हुँदै गएकोले राजनीतिमा नयाँ मोड आउने सम्भावना बढेको हो । सार्क सम्मेलनका कारण नेपाली राजनीतिको मूल पाटो ओझेलमा परेकोले आगामी सातादेखि मात्र राजनीतिक क्रियाकलाप तीव्र बन्ने अवस्था छ । तर, अबको राजनीति संविधानमा केन्द्रित रहने सम्भावना भने कम देखिएको छ । एकथरी राजनीतिकर्मीहरू जे–जसरी भए पनि संविधान जारी गर्ने मानसिकतामा रहेका छन् भने अर्काथरीले चाहिँ सरकार परिवर्तनलाई राजनीतिको केन्द्रीय विषय बनाउने तयारी गरेका छन् । प्रचण्ड नेतृत्वको बाइसदलीय मोर्चाले त सशक्त सङ्घर्ष गर्ने घोषणा नै गरिसकेको छ । खासगरी प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेको नेतृत्व जसरी भए पनि आगामी माघ ८ गते नै संविधान जारी गर्न दृढ देखिएका छन् । एमाले नेतृत्व र प्रधानमन्त्री कोइरालाबीच भएको गुप्त सम्झौताअनुसार माघ ८ गते संविधान जारी भएपछि कोइरालाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नुहुनेछ र कोइराला स्वयम्चाहिँ राष्ट्रपति बन्नुहुनेछ । दुई प्रमुख दलका नेताहरूमध्ये एक राष्ट्रपति र अर्को प्रधानमन्त्री बन्ने आन्तरिक सहमति बनेकै कारण काङ्गे्रस र एमालेका शीर्ष नेताहरूबीच अभूतपूर्व तालमेल र एकता कायम भएको देखिएको हो । ओली प्रधानमन्त्री बनिसकेपछि राष्ट्रपतिको चुनाव गराइने र डा. रामवरण यादवको ठाउँमा सुशील कोइरालालाई पु-याइने, उपप्रधानमन्त्रीसहितको गृहमन्त्रीमा काङ्गे्रस महामन्त्री कृष्णप्रसाद सिटौलाको चयन हुने सहमति उच्चस्तरमा बनेको बुझिएको छ । त्यसैले माघ ८ मा संविधान जारी भएमा सरकारको नेतृत्व केपी ओलीले लिने निश्चित मानिएको छ । माघ ८ मा दुईतिहाइ बहुमतले संविधान जारी गर्न नेपाली काङ्गे्रसका तराईकेन्द्रित सांसदहरूले व्यवधान पैदा गर्न सक्ने सम्भावना छ । काङ्गे्रस–एमालेद्वारा प्रस्तावित सङ्घीय राज्यहरूको खाकाप्रति विरोध जनाउँदै तराईकेन्द्रित सभासद्हरूले सुरु गरेको हस्ताक्षर अभियान आफ्नो अडानमा कायम रह्यो भने यही कारणले दुईतिहाइ बहुमत पुग्ने छैन । पाँचजना सभासद् मात्र अनुपस्थित भइदिए पनि दुईतिहाइ बहुमतका आधारमा संविधान जारी गर्ने प्रयास असफल हुनेछ । अर्कोतिर एमाओवादीलगायतका दलहरू पनि काङ्गे्रस–एमालेको प्रयासमा प्रभावकारी अवरोध बन्ने स्थिति छ । दुईतिहाइ मतका आधारमा संविधान जारी गर्न खोजिए संविधान सभाहलभित्रै अवरोध पैदा गर्ने र बलजफ्ती गरिए सामूहिक राजीनामा दिएर कठोर सङ्घर्षमा उत्रने सोच एमाओवादी नेतृत्वले बनाएको छ ।
त्यसैगरी राप्रपा नेपाललगायतका केही साना दल पनि संविधानमा हिन्दूराष्ट्र नलेखिए सभाभित्रै प्रतिरोध गर्ने र संविधान जारी हुन नदिने तयारीमा छन् । कदाचित संविधान जारी गरिएछ भने पनि त्यसलाई अस्वीकार गर्दै अनेकथरी राजीतिक, धार्मिक र जातीय तथा क्षेत्रीयतावादी समूहहरू सङ्घर्षमा उत्रनेछन्, जसलाई थेग्न सुशील कोइराला र एमालेले मात्र सक्नेमा शङ्का छ ।
संविधान निर्माण भएको अवस्थामा केपी ओली प्रधानमन्त्री बन्ने सम्भावना बलियो भएजस्तै नबनेको अवस्थामा भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सम्भावना प्रबल भएको बताइन्छ । संविधान नबन्दा राष्ट्रपति परिवर्तन हुने छैनन्, तर सुशील कोइरालाले प्रधानमन्त्रीको पदीय जिम्मेवारीमा निरन्तरता पाउने स्थिति देखिँदैन । यद्यपि कोइराला भने आफू राष्ट्रपति बन्ने अवस्थामा मात्र पदत्याग गर्ने मानसिकतामा रहेका छन् । जब कि नेकपा एमालेका झलनाथ खनाल र माधवकुमार नेपाल पनि राष्ट्रपति बन्न लालायित छन् । देउवा प्रधानमन्त्री बनेको अवस्थामा माधव नेपाल या झलनाथ राष्ट्रपति बन्न सक्ने सम्भावना जति हुनेछ, सुशील कोइरालाको हुने देखिँदैन । त्यसैले कोइरालाको जोड सकेसम्म आफैँ पदमा रहिरहने र नसके केपी ओलीलाई प्रधानमन्त्री बनाउनमा रहनेछ । उता माधव नेपाल पनि ओलीलाई सरकारको नेतृत्व दिएको अवस्थामा भन्दा देउवालाई प्रधानमन्त्री बनाउँदा आफ्नो राजनीतिक भविष्य सुरक्षित हुने ठानेर ओलीको सहयोगी भूमिकामा देखिए भने आश्चर्य हुनेछैन । यस्तो जटिल परिस्थितिमा पार्टीहरूले आफ्नो एकता कसरी जोगाउन सक्नेहुन् प्रतीक्षाको विषय बनेको छ । सुशील कोइराला र केपी ओलीबीचको गठबन्धन कायम रहेमा माधव नेपाल र देउवा पनि एक ठाउँमा उभिन सम्भव छ । त्यस्तो स्थितिमा एमाओवादी र मधेसकेन्द्रित दलहरूको भूमिका सरकार गठनमा निर्णायक हुन सक्नेछ । जे होस्, अब नेपाली राजनीति संविधानकेन्द्रित नभई सरकारकेन्द्रित हुनेचाहिँ निश्चितप्रायः भएको छ ।