छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तीर्थाटन भ्रमण रोकिँदा आमनेपाली जनतामा एकप्रकारको खिन्नभाव पैदा भएको छ । सार्क सम्मेलनमा भाग लिन नेपाल आएका बेला मोदीजीले रामजानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथ दर्शन गर्नुहुने सुनिश्चित मानिएको थियो । मोदी स्वयम्ले यसअघिको नेपाल भ्रमणका क्रममा जनकपुर र लुम्बिनी पुग्ने इच्छा प्रकट गरेका कारण उहाँबाट यसपटक उल्लिखित धार्मिक स्थलहरूको भ्रमण हुने विश्वास गरिएको हो र सोहीबमोजिम नेपालमा तयारी पनि हुँदै थियो । तर, सुशील कोइराला नेतृत्वको सरकार अचानक बक्री भइदिँदा मोदीजीको भ्रमण अप्रत्यासित रूपले रोकिने स्थिति बन्यो, यसले मोदीजीलाई सुन्न व्यग्रतापूर्ण प्रतीक्षा गरिरहेका नेपाली जनतालाई आहत बनाएको छ । पहिलो भ्रमणका बेला संसद्मा प्रस्तुत एउटै मन्तव्यले नेपालमा मोदीको लोकप्रियता मात्र स्थापित गरेको थिएन, नेपाल–भारतबीचको सम्बन्धमा दशकौँअघिदेखि कायम गाँठो फुकाएको र एक–अर्काप्रति विश्वास र भरोसा बढाउने काम पनि गरेको छ । तर, सार्क सम्मेलन नजिकिँदै गर्दा सरकारी तहबाट नै मोदी भ्रमणलाई विवादमा पार्ने प्रयत्न भयो । खासगरी रामजानकी मन्दिरमा दर्शनपछि नागरिककातर्फबाट मोदीलाई गरिने अभिनन्दन स्थलको विषयलाई विवादमा ल्याएर मोदी र जनताको इच्छामा तुषारापात गर्ने काम नेपाल सरकारले ग-यो ।
मोदीजीले जनकपुरदेखि मुक्तिनाथसम्मको यात्रा गर्नुहुँदा उहाँलाई कति पुण्यलाभ हुनसक्थ्यो त्यो एउटा आस्था र विश्वासको पाटो मात्र हो । उहाँको भ्रमणबाट नेपाललाई चाहिँ तत्कालै लाभ हुने निश्चित थियो । मोदी भ्रमणका कारण लुम्बिनी, रामजानकी मन्दिर र मुक्तिनाथजस्ता धामहरूको अन्तर्राष्ट्रियस्तरमा प्रचार हुने र यसले नेपालको पर्यटन प्रवद्र्धनमा अतुलनीय योगदान पु-याउन सक्थ्यो । नेपालले पर्यटन प्रवद्र्धनका लागि पटक–पटक ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरी हाम्रा निधिहरूको प्रचार–प्रसारका लागि मात्र अर्बौं रुपैयाँ खर्च गरिसकेको छ । राज्यले अर्बौं खर्च गरेर प्राप्त गर्न नसकेको लाभ मोदीजीको भ्रमणले एकै झट्कामा उपलब्ध गराउने सुनिश्चित थियो । यसबाट नेपालको महत्व अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने र पर्यटन व्यवसायमा अनपेक्षित लाभ पुग्नुका साथै सिङ्गै मुलुकको गरिमा बढ्नेमा शङ्कै गर्नुपर्ने थिएन । तर, मोदी भ्रमणबाट एकै झट्कामा प्राप्त हुनसक्ने लाभ नेपालले गुमाएको छ । यहीँनेर नेपाली राज्यसत्ताका अगुवाहरूको कूटनीतिक क्षमता ‘एक्स्पोज’ हुन पुगेको छ । यस प्रकरणले आफ्नै नेतृत्वप्रति नेपाली जनताले शङ्का र थप अनास्था प्रकट गर्नुपर्ने अवस्था पनि पैदा गरिदिएको छ ।
छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीले कुनै स्थानविशेषको भ्रमण गर्नु या नगर्नुलाई सामान्य रूपमा पनि बुझ्न सकिन्छ । मोदीजीले ‘कार्यव्यस्तता’लाई भ्रमण स्थगनको कारण बनाउनुलाई एउटा परिपक्व कूटनीतिक व्यवहारको रूपमा बुझ्नु उचित हुनेछ । नेपालका महत्वपूर्ण धार्मिक स्थलहरूको भ्रमण गरेर मोदीजीले परलोक होइन यही लोकको महत्ता दर्शाउन खोज्नुभएको थियो र छ । तर, धर्मविरोधीहरू, परायाधर्मका सेवकहरू, देशलाई अधर्मीहरूको देश (धर्मनिरपेक्ष) बनाउन सकेकोमा गौरवान्वित हुनेहरू, गरिब र अशिक्षित नेपालीलाई इसाईकरण गर्न चाहनेहरू, नेपाल–भारत सम्बन्धमा माधुर्य जागृत भएको देख्न नचाहनेहरू, नेपालमा इसाईकरणका लागि ठूलो लगानी गरिरहेका केही पश्चिमा इसाई मुलुकहरू र सबल एवम् एकीकृत नेपाली राष्ट्रियताका वैरीहरू मोदीजीको धार्मिक भ्रमणमा अवरोध पैदा गर्न चाहन्थे । पछिल्लो समयमा नेपाललाई सनातनी हिन्दूराष्ट्र बनाइनुपर्छ भन्ने आवाज घनीभूत हुँदै गएबाट आतङ्कित बनेकाहरूले मोदीजीबाट धार्मिक स्थलहरूको भ्रमण हुँदा सनातनी जागरणमा सकारात्मक प्रभाव पर्ने ठाने र नेपाली राज्यसत्ताको नेतृत्वदायी अङ्गमा रहेका तलबीहरूमार्फत भ्रमण स्थगनका निम्ति तानाबाना बुन्ने काम गरियो भन्न सङ्कोच मान्नुपर्ने ठाउँ अब रहेन । सत्तासीनहरूमा मोदीको धार्मिक यात्रालाई रोक्ने क्षमता र साहस थिएन, त्यसैले तर्क निकालियो– ‘सार्क राष्ट्रका सबै पाहुनालाई समान ‘ट्रिट’ गरिनुपर्छ, कुनै एक देशलाई मात्र विशेष व्यवहार गरिनुहुँदैन ।’ इसाई मुलुकहरूको लगानीमा सञ्चालित आईएनजीओ र एनजीओहरूको बलियो पकड रहेको मानिने नेकपा एमालेतिरबाट अर्को तर्क थपियो, ‘सार्वभौमसत्तासम्पन्न मुलुकमा विदेशी प्रधानमन्त्रीले सार्वजनिक समारोहहरूमा भाषण गर्दै हिँड्नु उचित होइन ।’ मोदीजीले अमेरिका र अस्टे«लियामा सार्वजनिक समारोहलाई सम्बोधन गर्नुहुँदा ती मुलुकको सार्वभौमिकतामा क्षति नपुगेको दृष्टान्तलाई आधार बनाउने हो भने नेपालको सार्वभौमिकता पनि त्यति कमजोर अवश्य होइन– छिमेकका प्रधानमन्त्रीले बोल्नेबित्तिकै चकनाचुर हुने । प्रजातन्त्र स्थापनाको आन्दोलनमा हामीले पटकपटक भारतीय नेताहरूलाई आमन्त्रण गरेर सार्वजनिक समारोहलाई सम्बोधन गर्न लगाएका हौँ । विदेशीको आशीर्वाद लिन सधैँ आतुर र व्यग्र नेताहरूले सार्वभौमिकताको सम्मान कति गर्न सकेका छन् भन्ने विषयलाई बहसमा ल्याइएको छैन, तर यिनै नेताहरूले नेपालको सार्वभौमिकता र सार्वभौमिकताको सम्मानप्रति चासो राख्नु आफैँमा रोचक एवम् अनौठो सन्दर्भचाहिँ हो । आईएनजीओ पे्ररित एमाले नेताहरू र कुन्नि क–कसबाट निर्देशित/प्रभावित प्रधानमन्त्री सुशील कोइरालाले मोदीको धार्मिक यात्राप्रति प्रारम्भदेखि नै असन्तुष्टि जनाएको गन्ध प्रकट हुँदै थियो । संसद्को एक समितिमा त प्रधानमन्त्री कोइरालाले ‘आफैँले जान्छु भनेपछि हामीले रोक्ने कुरा आएन’सम्म भन्नुभएको थियो । उहाँ सकारात्मक भएको भए ‘महिन्दा राजापाक्षेको लुम्बिनी भ्रमण र नरेन्द्र मोदीको तीन धाम यात्राले नेपाललाई लाभ पु-याउने’ भन्दै खुसी प्रकट गर्न पनि सक्नुहुन्थ्यो । एमाले नेतृत्व र प्रधानमन्त्री सुशील कोइराला मोदीको तीर्थाटन रोक्न प्रारम्भदेखि नै प्रयत्नशील रहेको महसुस गरिँदै थियो । रोक्नका निम्ति उनीहरूले सीधै पहल गर्न सकेनन् र सम्बोधनको विषयलाई आधार बनाएर विवाद झिकियो । सकेसम्म धार्मिक यात्रा रोक्ने, नसके सम्बोधन कार्यक्रमलाई निषेध गर्ने र सम्बोधन पनि रोक्न नसक्ने अवस्था आएमा त्यसलाई सीमित एवम् सङ्कुचित तुल्याइने रणनीतिक चालबाजी सरकारी तहबाट नै रचियो । जनकपुरमा ‘बाह्रबिघा’ वा बन्द कोठा, कहाँ मोदीजीले सम्बोधन गर्ने भन्ने विषयलाई यसरी उचालियो कि अन्ततः मोदी स्वयम्ले काठमाडौंको औपचारिक कार्यक्रमबाहेक धार्मिक यत्राहरूमा नजाने निर्णय लिन बाध्य हुनुप-यो । सुशील कोइराला र एमाले नेतृत्वको यस व्यवहारले उनीहरूको अपरिपक्व कूटनीतिक व्यवहारको उजागर मात्र गरेको छैन, नेपाल–भारत सम्बन्धलाई उच्च राजनीतिक तहमा कसिलो र माधुर्यपूर्ण बनाउन नचाहने तत्वहरूको चङ्गुलमा उनीहरू रहेको तथ्यबोध पनि गराएको छ । नेपाल–भारत सम्बन्धमा उर्वर हुँदै गरेको सौहार्दतामा ठेस पु-याउने काम सत्ताधारीहरूबाट नै भएको छ ।
मोदीजी प्रधानमन्त्री भारतका मात्र हुनुहुन्छ, तर उहाँलाई एउटा देशको कार्यकारी प्रमुखमा रूपमा मात्र बुझ्नुपर्दैन । बरु विश्वनेताका रूपमा आत्मसात् गरियो भने उहाँका विलक्षण सोच र शैलीको अनुकरण–अनुशरण गर्न कञ्जुस्याइँ गर्नुपर्ने हुँदैन । सोचमा विशिष्टता, शैलीमा मौलिकता, अभिव्यक्तिमा स्पष्टता, व्यवहारमा निष्कपटता र कर्ममा दृढता मोदीका विशेषता हुन् । उहाँको दश प्रतिशत मात्र अनुशरण हाम्रो नेताहरूले गर्न सके भने देश लाभान्वित हुन लामो प्रतीक्षा गर्नु नपर्ने हुनसक्छ । जनसमर्थन प्राप्त गर्न ठूलठूला क्रान्ति र हिंसाका गफ दिनुपर्दैन, आफ्नो मौलिक परम्परा, धर्म, राष्ट्र र राष्ट्रियताको पक्षमा मात्र इमानदारीपूर्ण क्रियाशीलता हुनसक्दा पनि जनताको अपार साथ–समर्थन प्राप्त गर्न सकिँदोरहेछ भन्ने दृष्टान्त मोदीजीले प्रस्तुत गर्नुभएको छ ।
मुक्तिनाथ, रामजानकी मन्दिर र लुम्बिनीको भ्रमण मोदीजीबाट भएको भए यसबाट नेपालबाहेक अरू कसैले लाभ प्राप्त गर्ने थिएन । भ्रमण नहुँदाको लाभ इसाईकरणका पक्षपाती र नेपाल–भारत सम्बन्ध सबलीकरणका विरोधी मात्रले प्राप्त गरेका छन् । मोदीप्रति गरिएको यस अमर्यादित व्यवहारले नेपालमा दीर्घकालिक असर पर्ने स्थिति बन्यो भने त्यसलाई अस्वाभाविक मान्नुपर्ने छैन ।
प्रतिक्रिया