आफ्नैले झुक्याए उपप्रधानमन्त्रीलाई– मुक्तिनाथ भुसाल

आफ्नैले झुक्याए उपप्रधानमन्त्रीलाई– मुक्तिनाथ भुसाल


arghakhachiचर्पी नबन्दै कसरी बन्यो अर्घाखाँची खुला दिसामुक्त ?
उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा यही मङ्सिर १३ गते अर्घाखाँचीलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरियो । जिल्लाका सभासद् टोपबहादुर रायमाझी, डा. दुमनसिंह थापा, जिल्लाभित्र र छिमेकी जिल्लाबाट राजनीतिक दल, सरकारी तथा अर्धसरकारी कार्यालयका प्रमुख–प्रतिनिधिको उपस्थितिमा घोषणासभा सम्पन्न गरिएको थियो । मूल समारोह समितिका संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीले बडो गर्वको भावमा जिल्लामा रहेका ४६,८२६ घरधुरी (पछिल्लो जनगणनाअनुसार) सुरक्षित चर्पीको पहुँचमा पुगेको ठोकुवा गरे । तर, गाँउ–टोलमा हुँदै नभएका चर्पी पनि ‘बनिसके’ भनी आफ्ना गुडलिस्टका मिडिया प्रयोग गरी जति नै भ्रमपूर्ण प्रचारको प्रयास गरे पनि सत्य एक दिन उजागर भइहाल्छ भन्ने तथ्यलाई एलडीओ अधिकारीले मनन नगरेको टीका–टिप्पणी यतिबेला चल्न थालेको छ ।
वर्षा सुरु हुनुभन्दा अगाडि नै डोजर सञ्चालन गरी कार्यालय समय सकिएपछि कागजी पन्नामा बजेट मिलाउने तथा मान्छे मरेको अलिक वर्षसम्म पनि रेकर्डमा जिउँदै देखाएर वृद्धभत्ता बुझ्ने प्रवृत्तिसँग चर्पीलाई तुलना गर्न कदापि मिल्दैन । चर्पीजस्तो मानव–स्वास्थ्यसँग सम्बन्धित विषयमा एलडीओजस्ता जिम्मेवार व्यक्तिले गलत र भ्रमपूर्ण सन्देश फैलाउनु न्यायोचित हुनै सक्दैन । तर, जिल्लाका एलडीओले यस्तो गैरजिम्मेवार र अनैतिक कार्य गर्न कत्ति हिच्किचाहट मानेनन् । ‘फादर अफ डेमोक्रेसी’ भन्ने इतिहास बनाएका नेपालको प्रजातान्त्रिक आन्दोलनका इतिहासपुरुष स्वर्गीय गणेशमान सिंहका सुपुत्र एवम् मुलुकका उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई समेत गुमराहमा पारेर उनले जिल्लाका कैयन घरमा चर्पी बनिनसकेको तथ्य लुकाएर अर्घाखाँचीलाई खुला दिसामुक्त घोषणा गरे । स्थानीय विकास अधिकारीजस्तो जिम्मेवार व्यक्तिले आफू कार्यरत जिल्लाको यथार्थता अध्ययन नगरी हचुवाको भरमा आमसभा आयोजना गरी झुटो दाबी गर्नु र त्यसमाथि पनि उपप्रधानमन्त्रीलाई नै साक्षी राख्नु एलडीओ अधिकारीको निम्ति सफलता होला, तर अर्घाखाँचीवासी र सिङ्गो देशकै नजरमा यो कानुनको उपहास र नैतिक भ्रष्टाचार नै हो ।
खुला दिसामुक्त जिल्ला घोषणा गर्न आयोजित कार्यक्रमकै दौरानमा सम्बन्धित एक अभियानकर्तालाई ‘के तपाईं अर्घाखाँची जिल्ला शत्प्रतिशत दिसामुक्त भएको विश्वास गर्नुहुन्छ ?’ भनी जिज्ञासा राख्दा उनले ९५ प्रतिशत मात्र स्वीकार गर्छु भन्ने जवाफ दिए । यसको मतलब ५० हजार घरधुरीलाई मात्र आधार बनाउने हो भने पनि जिल्लाका लगभग २५ सय घरधुरी सुरक्षित चर्पीको पहुँचमा नभएको अथ्र्याउन सकिन्छ । नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीका पूर्वअध्यक्ष् निमबहादुर रिजालका अनुसार सातवटा गाविस समेटिएको सन्धिखर्क नगरपालिकामा मात्रै १५ देखि २० प्रतिशतले चर्पी नबनाएको र केहीले हालका दिनमा मात्र चर्पी निर्माण गरिरहेका छन् । जिल्ला दिसामुक्त घोषणाको खबरसँगै अर्घाखाँचीको प्रवेशद्वारनजिकै अर्थात् ठाडा– ५ मा अनुगमन गर्दा करिब ३० घरधुरीले खोल्सा, झाडी, बाटोघाटो तथा असुरक्षित खाल्डेचर्पीको प्रयोग गरेको पाइएको छ । जब कि कात्तिक १४ गते नै ठाडा गाविसले आफूलाई ‘खुला दिसामुक्त’ घोषणा गरेको थियो । स्थानीय प्रदीप बीसीले पत्थरकोटवरपर करिब १० घरधुरीले चर्पी निर्माण नगरेको र गाविस तथा जिल्ला घोषणामा आफूहरू अनविज्ञ रहेको बताए । धौलेटाकुरानिवासी झुमकला शर्मा पनि आफ्नो टोलछिमेकमा करिब १०/१२ घरधुरीले चर्पी निर्माण नगरेका कारण चर्पी भएकाहरू पनि दुर्गन्धित हुनुपरेको बताउँछन् । सोही वडाको जुकेपानीनिवासी सुशीला, उमकला र हेमबहादुर नेपाली चर्पी बनाउन सक्ने अवस्थामै देखिँदैनन् । करिब एक दर्जन परिवार भएका गंगाराम घर्तीले सिमेन्ट–बालुवाको जोहो गर्न सकेमा यो वर्षभित्रै चर्पी बनाउने सोच पालेका छन् ।
गरिबी र अशिक्षाका कारण गाउँमा धेरैले चर्पी नबनाउँदै गाविस र सिङ्गो जिल्लालाई खुला दिसामुक्त घोषणा गर्नु आफूहरूको अपमान र कानुनलाई चुनौती दिएकोे अभिव्यक्ति पिडापानीनिवासी देवीराम गैरेले दिए । यस्तै, यो समाचार तयार पार्दै गर्दा सोही गाविसको अमराईनिवासी कुलराज पौडेलले आफ्नो टोलदेखि दहसम्म करिब १० घरधुरीले चर्पी निर्माण नगरेका र केहीले आफ्नो खरबारीसमेत दुर्गन्धित बनाएको पीडा पोखे । पक्की सडकको यात्रामा सन्धिखर्क जाँदा र फर्कंदा ठाडाको अमराईमा बस वा जिप रोकिन्छन् तापनि सार्वजनिक शौचालयको अभावमा रातको समय सडकवरपर काम चलाउने सवारीलाई उज्यालोमा सास्ती खेप्नुपरेको छर्लङ्गै छ । गाविसको सुगम स्थानमै चर्पी निर्माण कार्य सम्पन्न नभएको सङ्घारमा विकट बस्तीहरूको अवस्था कस्तो होला ? एउटा पक्की मोटरबाटोबाहेक खासै उपलब्धि हासिल गर्न नसकेको यस गाविसमा ६ महिनाभित्रै ६ जना गाविससचिव फेर्ने चर्चा पनि स्थानीयबीच चल्न थाल्नु विडम्बना नै हो ।
ठाडा एउटा प्रतिनिधि गाविस मात्र हो । जुकेना गाविसमा करिव १० प्रतिसतले चर्पी नबनाएको स्थानीइ समाजसेवी झविन्द्र पौडेलबाट बुझिएको छ । जुकेना, जलुके, सिमलपानी, सिद्धारालगायतका गाविसमा पनि समस्या विद्यमान रहेको बुझिएको छ । सन् २०१७ सम्ममा मुलुकलाई खुला दिसामुक्त गर्ने लक्ष्यअनुरूप नेपालको सरसफाइ गुरुयोजना– ०६८ तयार भई कार्यान्वयनमा आएको हो र यसै कार्यलाई सहयोग गर्ने सन् २०१० अक्टुबर ७ मा नेपाल सरकारसँग सम्झौता गरी ग्लोबल स्यानिटेसन फन्ड अर्थात् जीएसएफ कार्यक्रम आरम्भ भएको थियो ।
अर्घाखाँचीमा काम गर्न २०१२ जुन १६ गते जीएसएफले नेष्ट र एकार्डस्सँग पहिलो चरणको सम्झौता गरेको थियो । नेष्टको स्थानीय संस्था सिसेक र इकार्डस्ले प्रागसँगको सहकार्यमा ३२ गाविसमा २४ महिना समयावधिसहित चार करोड ५६ लाख ५८ हजार रुपैयाँ र कन्ट्रिब्युसनमा थप एक करोड १५ लाख रुपैयाँ तय भएको थियो । जसअन्तर्गत ३२ वटा गाविसले दुई हजार डलर र ३२ गाविसका तीन सय विद्यालयमा ८० डलरका दरले दिने प्रावधान रहेको थियो । जसमुताबिक ठाडा गाविसले पनि सो रकम प्राप्त नगरेको होला भन्न सकिँदैन ।
दोस्रो चरणअन्तर्गत २०१३ मार्च १२ मा लुम्बिनी सामाजिक विकास केन्द्र र इकार्डस्सँग १५ महिने सम्झौतामा बाँकी रहेका १० गाविसमा कार्यक्रम सञ्चालन गर्नका लागि ९७ लाख ७४ हजार रुपैयाँ र कन्ट्रिब्युसनतर्फ २० लाख २८ हजार रकम उपलब्ध गराइएको स्यानिटेसन अर्घाखाँची संयोजक विष्णु दवाडीद्वारा बुझिएको छ । यो चरणमा परेका गाविसले सोह्र सय डलर र १० गाविसका सय विद्यालयले ८० डलरका दरले पाउने प्रावधान रहेको थियो । यहाँनेर महत्वपूर्ण कुरा के भने माथि उल्लेख गरिएको रकमबाट कुनै पनि विपन्न वर्गका मानिसहरूले नगद वा निःशुल्क चर्पी सामग्री सहयोग पाउने विषयमा उनीहरूको गुरुयोजनामा उल्लेख नगरिएको बुझिएको छ ।
muktiघरमा शौचालय निर्माण गर्नु नागरिकको आफ्नै लागि हितकारी कुरा हो । तर, अशिक्षा र विपन्नताका कारण सुरक्षित चर्पीको पहुँचमा आमजिल्लावासी पुग्न नभ्याउँदै खुला दिसामुक्त भएको प्रचार गरेर कसको इज्जत बढ्ला ? तसर्थ, चर्पी नबनाएकालाई थप सचेतना र कमसेकम न्यूनतम सहयोगी हात बढाएर भए पनि समग्र जिल्लावासी र जिल्लामा आउनेहरूकोे दिसा सुरक्षित तवरले लुकाउन सफल बनेमा ‘हाम्रो गौरव हाम्रो स्वाभिमान, खुला दिसामुक्त अर्घाखाँची हाम्रो अभियान’ भन्ने नारा ढिलै भए पनि पूर्ण रूपमा सफल बन्नेछ । तब मात्र यस अभियानको अगुवाइ गरेको जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिलाई समस्त स्थानीयले हृदयदेखि वाहवाही दिने अपेक्षा गर्न सकिन्छ ।