मुसाको बदला मोबाइल
जीवनको अभिन्न अङ्गको रूप लिँदै गएको मोबाइल फोनप्रतिको क्रेज विश्वको जुनसुकै स्थानका बासिन्दामा पनि उस्तै रहेको देखिन्छ । सक्नेले आफूले चाहेको ब्रान्ड र मोडलमा मोबाइल खरिद गर्छन्, नसक्नेले लुटपाट गरेका र मानिसको ज्यानै लिएका घटना पनि प्रकाशमा आएका छन् । मोबाइल फोनकै लागि महिलाले आफ्नो यौन बेच्ने गरेका घटना त विश्वका विभिन्न स्थानबाट बेला–बेलामा समाचार बनेर छ्यापछ्याप्ती आउँछन् । यस्तो आकर्षणको वस्तु बनेको मोबाइल फोन दक्षिण अफ्रिकामा भने मुसा मारेकै भरमा हात पर्न थालेको छ । जोहानेसबर्गमा क्रियाशील एक सामाजिक संस्थाले मरेका ६० वटा मुसा लिएर उपस्थित हुनेलाई तत्काल एउटा मोबाइल फोन दिँदै पठाउन थालेको छ । जोहानेसबर्गका अधिकांश इलाकामा मुसाले आतङ्क फैलाएकाले आजित भएर मानिसले सो संस्थासमक्ष गुहार मागेपछि संस्थाले ‘मुसा मार, मोबाइल लैजाऊ’ भन्ने स्किम अघिसारेको हो । यतिबेला जोहानेसबर्गमा उक्त स्किम यति हिट भएको छ कि मानिस अरू काम छोडेर दिनभर मुसाको खोजीमा बरालिन थालेका र कतिपयले त एक दिनमै दुईवटा मोबाइलसमेत हात पार्ने गरेका छन् ।
रेडवाइनको कमाल
एक ग्लास रेडवाइनको सेवनबाट एक घन्टा व्यायाम गरेजत्तिकै लाभ मिल्छ भन्ने कुरा अपत्यारिलो र आश्चर्यपूर्ण लाग्न सक्छ । तर, क्यानडेली अनुसन्धानकर्ताहरूको शोध–प्रतिवेदनमाथि विश्वास गर्ने हो भने यो पत्याउन करै लाग्छ । रातो अंगुरमा पाइने एन्टिअक्सिडेन्ट रेसवेरेट्रोलले शरीरका मांसपेसी एवम् मुटुका लागि त्यत्ति नै लाभ पु-याउँछ जति फाइदा एक घन्टा कडा व्यायाम गर्दा मिल्दछ । क्यानडाको युनिभर्सिटी अफ अल्बर्टाका एक शोधकर्ता डाइकले स्वास्थ्यप्रति सचेत तर व्यायाम गर्न अल्छी गर्नेहरूका लागि एक कप रेडवाइन अत्यन्त लाभकारी रहेको बताएका छन् । शारीरिक क्षमताको विकास, हृदयको कार्यप्रणालीमा सुधार तथा मांसपेसीहरूलाई बलियो तुल्याउन रेडवाइन उपयोगी देखिएकाले डाइकको टिमले त्यसलाई ट्याब्लेटको रूपमा विकसित गर्ने सोच बनाएको छ । अध्येताहरूले उक्त चक्की मोतीबिन्दु र क्यान्सरको खतरा कम गर्नदेखि स्मरणशक्ति बढाउनमा समेत उपयोगी हुने बताएका छन् ।
कुकुर पाल्नेलाई कोर्रा !
सुरक्षाको दृष्टिले मात्र नभई घरमा कुकुर पाल्ने काम आजभोलि सोसियल स्टाटसको विषयसमेत बन्न थालेको छ । तर, संसारमा यस्ता देश पनि छन्, जहाँ कुकुर पाल्ने तथा सार्वजनिक स्थानमा घुमाएर हिँड्नेलाई कोर्रा एवम् आर्थिक जरिवानाको लगाइन्छ । यस्तै कानुन लागू हुँदै छ कट्टर इस्लामिक देश इरानमा । हालै तर्जुमा गरिएको कानुनले कुकुर पालेर सार्वजनिक स्थानमा घुमाउनेलाई अधिकतम् ३७ सय डलर जरिवाना र ७४ कोर्रा लगाइने व्यवस्था गरेको छ । इस्लाम धर्ममा कुकुरलाई फोहोरी जीवको दर्जा दिइएको छ भने इरानमा कुकुर पाल्ने प्रचलन नगन्य मात्र छ । तथापि, विशेष इलाकामा बसोबास गर्ने समृद्ध इरानियन आजकाल कुकुर पालेर साँझ–बिहान सार्वजनिक स्थानमा डुलाउनुलाई आफ्नो उच्चताको प्रतीक मान्न थालेका छन् । यस्तै क्रियाकलापलाई रोक्न इरानी संसद्का ३२ सदस्यले विधेयक बनाएर कुकुर पाल्ने तथा सार्वजनिक स्थानमा घुमाउने कार्यमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।
पाँच किलोमिटर लामो गोल्डचेन
गिनिज बुकमा नाम लेखाउन विश्वमा विभिन्न अनौठा काम गर्ने प्रतिस्पर्धा चलिरहेको हुन्छ । यही उद्देश्यले संयुक्त अरब इमरेट्समा पाँच किलोमिटर लामो सुनको सिक्री बनाउने काम भइरहेको छ । दुबईमा बनिरहेको उक्त गोल्डचेनको निम्ति एक सय ८० किलोग्राम सुन खर्च गरिँदै छ । दुबई सपिङ फेस्टिभललाई लक्षित गरेर निर्माण गरिन लागेको उक्त चेन दुबई गोल्ड एन्ड ज्वेलरी ग्रुपले त्यहाँका अन्य चारवटा नामी ज्वेलर कम्पनीहरूसँग मिलेर बनाउन लागेको हो । आगामी जनवरी १ देखि एक महिनासम्म चल्ने दुबई सपिङ फेस्टिभलमा प्रदर्शन गरिने उक्त चेनलाई ‘दुबई सेलिब्रेसन चेन’ नाम दिइँदै छ । उक्त चेन निर्माण कार्यमा जोडिन चाहनेले त्यो अवसर पनि पाउनेछन् । आफूलाई इच्छा लागेजति सुन दिएर त्यसको हिस्सेदार बन्न सकिने र फेस्टिभल समाप्त भएपछि आफूले दिएजति सुनको तौलबराबर सिक्री काटेर लिन सकिने अवसर निर्माताले दिएका छन् । सिक्रीको टुक्रा नलिए अलग्गै ब्रासलेट लिन सकिने च्वाइस पनि दिइएको छ । उक्त चेन बनाउन ७० जना कालिगढ प्रतिदिन १० घन्टाका हिसाबले खटिएका छन् । चेन प्रदर्शनीका लागि दुई सय मिटर क्षेत्र छुट्याइएको छ भने त्यसको सुरक्षाका लागि दुबई पुलिसले सघाउने भएको छ ।
प्रतिक्रिया