गुर्खा संस्कार र अबको बाटो–१– प्रकाश के.सी.

गुर्खा संस्कार र अबको बाटो–१– प्रकाश के.सी.


gurkha०५३/५४ तिर जाजरकोट खलङ्गाको सुरुमै रहेको एउटा प्राथमिक स्कुलअगाडि एक चौतारामा सधैँजसो जमदार चक्रविक्रम खाँण गफिँदै बस्दथे । उनी सायदै एक्लै हुन्थे, त्यहाँबाट धेरै–धेरै तल भेरीको किनारतिर नियाल्दै उसबेलाका कुराहरू गर्ने समयमा । आफ्नो पन्ध्रवर्षे अवधि बिताएर आउने खलङ्गामा एउटै व्यक्ति थिए जमदार चक्रविक्रम खाँण । अन्यत्रजस्तै जाजरकोटमा पनि केही भूपू गुर्खा खाली हात नै फर्काइएका थिए अनि कोही घाइते भएर फर्केका थिए र समयको अन्तरालमा त्यस माटोमा बिलाइसकेका थिए । सुर्खेतको वीरेन्द्रनगरमा पुगेर भर्ती हुने जाजरकोटेहरू सङ्ख्यामा निकै नै कम थिए । खलङ्गाको त्यो सुको चौतारोमा हरेकजसो दिन लाहुरे कथाहरू सुनाए पनि खाँणले त्यो भेगबाट प्रशस्तै लाहुरेहरू बनाउन सकेनन् । उनका एक मात्र छोरो शुक्रविक्रम खाँण रुकुमको कुनै विकट गाउँको कुनै स्कुलमा मास्टर पो बन्न पुगेका थिए । केहीपछि माओवादी आन्दोलनको सायद सुरुसुरुमा मारिने व्यक्तिमध्ये एक थिए शुक्रविक्रम । माओवादीको हल्ला चल्न थालेपछि छोरोलाई लिएर जसरी भए पनि जाजरकोट छोड्ने हरसम्भव प्रयत्न गर्दागर्दै छोरो गुमाएको दोस्रो महिनामा बितेका थिए चक्रविक्रम । उनका लाहुरे कथाहरू अहिले गाउँखाने कथाजस्ता भएका छन् ।

स्याङ्जाका साइँला भनिने ओमबहादुर गुरुङ पोखरामा ट्याक्सी चलाउँदथे त्यतिबेला, जतिबेला भर्खर–भर्खर हङकङ–आईडीको चर्चा चल्न थालेको थियो । हङकङमा जन्मेका साइँला ‘अब आफ्नो जिन्दगी पनि सुध्रिनेमा’ एक किसिमिले विश्वस्त रहेकै बेला उनका ६२ वर्षीय बाबु भूपू गुर्खा धनबहादुर नराम्रोसँग बिमारीले थलिए । मलायाको लाहुरे भएर पनि पेन्सन नपाउँदै नेपाल फर्किनुपरेका धनबहादुरलगायत उनको परिवारले त्यसपछिको जीवन राम्रो देखेन । आखिरमा गण्डकी अस्पतालमा भर्ना गरिएर आईसीयूमा राखिनुपरेका धनबहादुर ११औँ दिनमा बितेका थिए । मृत्यु कसैलाई पनि प्रिय हुँदैन, धनबहादुरको मृत्यु पनि प्रिय थिएन, तर धनबहादुरको मृत्युको दुःखभन्दा ज्यादा दुःखलाग्दो प्रसङ्गचाहिँ साइँलाको ‘सपनाहरूको मृत्यु’को थियो । ‘हङकङ गएर जीवनलाई सुन्दर बनाउन पाउने बाटोहरू खुलेको देख्ने’ साइँलाले त्यसलाई मूर्तरूप दिन नपाउँदै बिरामी बाबुको उपचारको खर्च जुटाउन सोही हङकङमा आफू जन्मेको प्रमाणपत्र अन्यलाई जम्मा ८०,००० रुपैयाँमा बेच्न बाध्य भए । पैसा सकिएको लगत्तै उनको बाबु बितेका थिए, बाबुको अर्घौं गर्नका लागि प्रशस्तै ऋण थपियो उनको जीवनमा । हङकङ उनका लागि एक ‘सपनाको सहर’ मात्र बनेर रह्यो, उनी अझै पोखरामै ट्याक्सी चलाउँदछन् थोत्रिँदै गएको ट्याक्सीको गतिमा थोत्रिँदै गइरहेको मन र तनलाई घिसार्दै ।

तनहुँका वीरमान घर्तीमगर आफ्नी बिरामी श्रीमतीसहित पोखरामा एक सानो भाडाको छाप्रोमा बस्दथे । केहीअगाडि एउटी मात्रै तरुनी छोरी साथमा हुँदा दमौलीमा सानो रेस्टुरेन्ट खोलेर बसेका वीरमान, छोरीको एक बस ड्राइभरसँग विवाह भएको पहिलो सालमा नै कुरिनघाटमा भएको बस दुघर्टनामा परेर मृत्यु भएपछि त्यसको ठूलो शोक खप्न नसकी श्रीमती बिरामी मात्रै हुने हुँदा पोखराको ब्रिटिस क्याम्पनजिकै पेन्सन बुझ्न सजिलो हुने गरी पृथ्वीनारायण क्पाम्पसनजिकैको एक झोपडीमा बाँकी दिनहरू बिताइरहेका थिए । सन्तानको नाममा उही एक्ली छोरी मृत्यु भएपछि पनि उही छोरी उसबेला हङकङमा जन्मेकी भएकाले त्यही आईडी किन्न पनि एकपटक त मानिसहरूको ताँती नै लागेको थियो । अन्तमा उनले एक–डेढ लाखमा सो मृत छोरीको नामको आईडी बेचेका थिए । एक्कासि आएको पैसाले तिनलाई सुख दिएन, मनभरि जमेर रहेका अनेकौँ पीरलाई रक्सीका घुट्कामा निल्ने सुरमा व्यस्त लाग्ने घर्तीमगरदम्पतीले केही महिनामा नै सो पैसा सकेका थिए । जीवनलाई स्वाभाविक रूपमा चलाउन नसक्ने गरी एकोहोरो जीवनका केही अवधि बाँचेका वीरमानले पैसा साथमा हुँदा पनि श्रीमतीलाई बचाउन सकेनन् । श्रीमती बितेकी केही महिनामा नै उनी सुतेको अवस्थामा बिते । तिनको लास जलाउन चन्दा उठाउनुपरेको थियो छिमेकीलाई । एक लाहुरे जीवनको कुरूप कथाको अन्त भएको थियो त्यसरी ।

ब्रिटिसले हङकङ छोड्नुअधि त्यहाँ जन्मेका विदेशी नागरिकका सन्तानले हङकङ आईडी पाई अन्य नागरिकसरह त्यहाँ बस्न पाउने कानुनलाई त्यहाँ सञ्चालनमा ल्याइछोडेकाले नै हजारौँ भूपू गुर्खाका सन्तानको आगमन हुन थालेको हो । जीवनलाई सुन्दर बनाउन सक्ने हैसियत बोकेको त्यही हङकङमा भूपू गुर्खाहरूसहित तिनका छोराछोरी सन् १९९५ तिर हो र त्यसको उच्चतम बिन्दुचाहिँ सन् १९९७ मा देखियो । चाइनाले हङकङ लिएपछि त्यो क्रम रोकिन सकिने सम्भावनाहरू सर्वत्र थियो । हङकङमा जन्मेको आधारमा भित्रिने छोराछोरीबाट बुहारी, ज्वाइँ अनि तिनका नाबालक छोराछोरी तथा बाबुआमा अनि तिनै बाबुआमाबाट तिनका अन्य छोराछोरी, तिनका श्रीमती तथा श्रीमान् र तिनका पनि नाबालक छोराछोरी आदि गरेर फैलिँदै एक जन्मदर्ताको प्रमाणपत्रको आधारमा केही वर्षभित्रै हङकङमा अन्य ४० जना कानुनी रूपमा भित्रिएका घटना पनि सुन्नमा आएको थियो । त्यसरी हङकङमा पचास हजारभन्दा बढी नेपाली भित्रिएका थिए । ब्रिटिस उपनिवेशभित्र परेको हङकङमा नेपाली गुर्खा रेजिमेन्टअन्तर्गत रहेको अन्तिम दिन थियो सन् १९९७ को जुलाई ०१ । साधारण नागरिकको रूपमा बेलायतको उपनिवेश क्षेत्र रहेको हङकङमा आफ्ना सन्तानको साथमा भूपूहरू आवासीय रूपमा भित्रिने क्रमको प्रत्यक्ष कडी सन् १९४७ को त्रिपक्षीय सन्धि भए तापनि त्यसको मूल आधार अर्थात् सुगौली सन्धिलाई भुल्न सकिँदैन ।

desh-pariveshब्रिटिस साम्राज्यले भारतमा आफ्नो विस्तारवादी जगको स्थापना सन् १७५७ मा ‘हाल’ भारतमा पर्ने भूभागमा ‘इस्टइन्डिया कम्पनी’को नामबाट गरेको थियो । दक्षिणी एसियाका क्षेत्रहरूमा ससाना राज्यहरू थिए । त्यो क्षेत्रको उत्तरी सिमानामा, पृथ्वीनारायण शाहको राजकाजमा एक सानो पहाडी राज्य ‘गोर्खा’ रहेको थियो, जो, लडाइँ लड्दै राज्य विस्तार गर्ने तत्कालीन प्रचलन सर्वत्र चल्दै गरेको क्रममा विस्तारिँदै विशाल बन्दै थियो । एकातिर ‘इस्टइन्डिया कम्पनी’ले पनि ससाना राज्यहरूलाई कब्जा गर्दै एसियाको दक्षिण पूर्वी क्षेत्रमा आफ्नो प्रभाव बढाउँदै गएको थियो भने गोर्खाका राजा प्रथ्वीनारायण शाह, प्रतापविक्रम शाह र उनलाई साथ दिने भाइ बहादुर शाह, नाबालक राजा गीर्वाणयुद्धविक्रम शाहका प्रधानमन्त्री भीमसेन थापा, सेनापति अमरसिंह थापा आदिले पच्चीस वर्षसम्मको समयावधिमा गोर्खा राज्यबाट नेपाल बनेको राज्यको सिमाना काश्मिरदेखि यता भुटानसम्म फैलिएको थियो । त्यो क्रम, ब्रिटिस साम्राज्यको ‘इस्टइन्डिया कम्पनी’ले औपचारिक रूपमा सन् १८१४ मा नेपालको सिमानामा हमला गरेपछि रोकिएको थियो । लगातार दुई वर्ष चलेको सो युद्ध (नालापानीको युद्ध र काँगडा किल्लाको युद्ध) आखिरमा गएर सन् १८१६ मा नेपाल राज्य र ‘इस्टइन्डिया कम्पनी’बीच ‘सुगौली सन्धि’ गरेर समाप्त भएको थियो । युद्धमा दुवैतर्फ सयौँको मृत्यु भएको थियो । नेपालीले अदम्य बहादुरीका साथ लडेको तथ्यको मुक्त कण्ठले ब्रिटिसहरूले प्रशंसा गरेका थिए । सन्धिमा दुवैतर्फबाट हस्ताक्षर गरिएको तीन महिनापछाडि मात्र, अर्थात् सन् १८१६ को मार्च ०४ मा मात्रै तत्कालीन नेपाली प्रधानमन्त्री भीमसेन थापाले सो सन्धिको औपचारिक रूपमा अनुमोदन गरेका थिए, जुन कार्यप्रति तत्कालीन सेनापति अमरसिंह थापाको असहमति थियो । भीमसेन थापाले सन्धिको अनुमोदन गरेर रोकिएको युद्धपछि नेपालले त्यसअघिको पच्चीस वर्षउतादेखि जितेर विशाल बन्दै आइरहेको धेरै ‘भूभाग’हरू गुमाउनुपरेको थियो । अहिलेको हालतको नक्साको करिब एकतिहाइ जमिन सो कम्पनीले लगेको थियो र तात्कालिक भारतमा गाभेको थियो । औपचारिक रूपमा उपनिवेश नरहे पनि नेपालमा आफ्नो सरकारी अड्डाजस्तो राखेर गुप्तचरी गर्न सफल ‘इस्टइन्डिया कम्पनी’ले अन्य धेरै हालतबाट पनि नेपाललाई ‘अधिकारहीन’ बनाएको थियो । सोही सन्धिपछि नेपालले अन्य युरोपियन देशहरूलगायत अमेरिकाबाट नेपालमा कुनै सेवाहरू लिन नपाउने र हतियारहरू पनि अन्य देशहरूसँग खरिद गर्न नपाउने व्यवस्था गरिएको भए पनि सो सन्धिमा हस्ताक्षर गर्न नेपाल सरकार ‘बाध्य’ भएको थियो । वास्तवमा सो सन्धि दुवै पक्षबीचको ‘समान’ सन्धि थिएन । इस्टइन्डिया कम्पनी र नेपालबीच भएको सो सन्धि कुनै पनि हालतमा दुई पार्टीबीचको नभई ‘खुकुरी र अचानो’बीचको सन्धिजस्तो थियो । (क्रमशः)
Picture-Gurkharun