‘तिमी छोटो समयका लागि जनतालाई मूर्ख बनाउन सक्छौ
केहीलाई सधैँका लागि बनाउन सक्छौ तर
सबैलाई सधैँका लागि मूर्ख बनाउन सक्दैनौ ।’
– अब्राहम लिङ्कन
नेविसङ्घको महाधिवेशनलाई पार्टीका बोसहरूले निल्ने हिम्मत नभएपछि यसलाई निल्न सार्क नै बोलाएर ल्याएछन् । वाह ! कस्तो बहाना । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आफ्नो धारणा यसरी ट्विटर गरे । २०७१ कात्तिक २९ गते राजधानीमा भएको एक पुस्तक विमोचन कार्यक्रममा नेपाली विद्यार्थी सङ्घका पूर्वमहामन्त्रीसमेत भइसकेका थापाले पार्टीलाई प्राइभेट कम्पनी बनाएको, जसले महाधिवेशन स्थगितको निर्णय लियो उसैले जिम्मा लिनुपर्ने । रञ्जित कर्णले नेतृत्व गरेको केन्द्रीय समितिलाई मान्नु नपर्ने, जसले बनायो उसैले मान्नुपर्ने भन्नेजस्ता अराजक र उच्छृङ्खल अभिव्यक्ति दिएर नेपाल विद्यार्थी सङ्घका नेता तथा कार्यकर्तालाई भड्काउँदै उत्तेजित बनाएर पार्टी अनुशासनको गम्भीर उल्लङ्घन गरेका छन् ।
०७१ कात्तिक ५ गतेका दिन निर्वाचन क्षेत्र नं. ४ को कपनमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका प्रमुख अतिथि गगन थापाले आफू निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेको र यसको लबिङ गरिरहेको खुलासा आफ्नै पार्टीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा गरे । मञ्चमा आसिन काङ्ग्रेसलगायत अन्य पार्टीका नेता र फ्लोरमा बस्ने मतदाता तथा कार्यकर्ताले मजैले ताली बजाए । गगनको मन्तव्य सुन्दा पङ्क्तिकारलाई कुरी–कुरी लाग्यो । यस्तो छ काङ्गे्रसी नेता तथा कार्यकर्ताको चेतनाको स्तर ।
नेपाली काङ्ग्रेसले संविधानसभा निर्वाचन ०७० मा जारी गरेको घोषणापत्रको संसदीय प्रणालीमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थामा, राष्ट्रपति संवैधानिक राष्ट्रप्रमुखको रूपमा र प्रधानमन्त्री कार्यकारी अधिकार सम्पन्न सरकारप्रमुखको रूपमा रहने गरी संसदीय शासनप्रणाली अवलम्बन गरिनेछ । राष्ट्रपति सङ्घीय संसद्का दुवै सदन र सबै प्रदेशसभा सदस्यहरूबाट निर्वाचित हुनेछन् । प्रधानमन्त्री प्रतिनिधिसभाबाट निर्वाचित र प्रतिनिधिसभाप्रति नै उत्तरदायी हुनेछन् भन्ने उल्लेख छ ।
जुन पार्टीको घोषणापत्रको आधारमा गगन थापा निर्वाचन जितेर आए त्यही घोषणपत्रको बर्खिलाप हुनेगरी सार्वजनिक रूपमा पार्टीको नीतिविपरीत बोल्नु पार्टीको अनुशासन उल्लङ्घन गर्नु हो कि होइन ? गगन सभासद् मात्र नभएर नेपाली काङ्ग्रेसको नीति निर्माण गर्ने थलो केन्द्रीय समितिको केन्द्रीय सदस्यसमेत भएको हुँदा गगनले एमालेको एजेन्डा बोक्न मिल्छ कि मिल्दैन ? उनीलाई अब काङ्ग्रेस भन्ने अधिकार रहन्छ कि रहँदैन ? अलिकति पनि गगनमा नैतिकता छ भने सार्वजनिक वक्तव्य प्रकाशित गरी उनले माफी माग्नुपर्छ । गगन थापाले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा वकालत गर्न मिल्दैन भन्ने यो पङ्क्तिकारको भनाइ होइन । भनाइ यति मात्रै हो कि यो मुद्दा गगनले पार्टीको आधिकारिक निकायहरूमा छलफलको विषय बनाउनुपर्दथ्यो । गगनलाई ख्याल रहोस्, निर्वाचन उनले जितेको होइन काङ्ग्रेसले जितेको हो, उनी त प्रतिनिधि पात्र मात्र हुन् ।
विधि–विधान र पद्धतिअनुसार पार्टी सञ्चालन हुनुपर्छ भनी बेला–बेलामा चर्को आवाज गर्ने गगनलाई माननीयबाट महामहिम हुने भूत सवार भएको छ । गगनको कुटिल अभिव्यक्तिको आशय जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने दाउ हो भनेर कसरी नबुझ्ने ? थापाले आफूलाई प्रधानमन्त्री पदको लिगलिग दौडमा धावकको रूपमा प्रस्तुत गर्दै छन् । समय, परिस्थिति सधैँ एकै हुँदैन । महाधिवेशनबाट सर्वाधिक मत प्राप्त गरी केन्द्रीय सदस्य निर्वाचित भएको दम्भ प्रदर्शन गर्दै छन् गगन । मूल बाटो छोडेर चोरबाटो हिँड्न खोज्दै छन् गगन । भदौमा आँखा फुटेको डिँगोले सधैँ हरियो देखेझैँ, देख्ने दुवै आँखा भएर पनि अन्धोजस्तै भएका छन् र दुवै कान सुन्ने भएर पनि बैरो भएका छन् गगन । पार्टीको घोषणापत्र नीति र सिद्धान्तविपरीत हुनेगरी सार्वजनिक रूपमा अभिव्यक्ति दिने गगन थापामाथि पार्टीले अनुशासनको के–कस्तो कारबाही गर्दछ त्योचाहिँ हेर्न बाँकी नै छ ।
०७१ कात्तिक १७ गते एक सोमबारे साप्ताहिकले ‘फ्रि तिब्बत वकालत गर्नेले भेटे गगनलाई’ भन्ने शीर्षक राखेर माननीय गगन थापासँग क्षेत्रीय तिब्बतीयन युथ कङ्ग्रेसका अध्यक्ष पासाङ चुङदक लक र रेडियो फ्री एसियाका थुप्तेन लकले ०७१ कात्तिक ११ गते माननीय थापाकै सम्पर्क कार्यालयमा भेटघाट गरेको तस्बिरसहितको समाचार प्रकाशित गरी फ्री तिब्बतको पक्षमा आफूले वकालत गर्ने र संसद्मा समेत आवाज उठाउने विश्वास गगनले उनीहरूलाई दिलाएको खुलासा गरेको छ । त्यस्तै गरेर ०७१ कात्तिक २४ गते सोही पत्रिकामा ‘गगनको डनसँग गजबको साइनो’ भन्ने शीर्षकको गगन थापा र सगुन श्रेष्ठको संयुक्त रूपमा खिचिएको तस्बिर छापियो । प्रकाशित समाचारमा सिन्धुपाल्चोकका सगुन श्रेष्ठ, काभ्रेका सञ्जीव लामा, रामेछापका नारायण खड्का, कुमार घैँटेजस्ता डनहरूलाई माननीय गगनकुमार थापाले संरक्षण दिइराखेको खुलासा गरेको छ । प्रकाशित दुईवटै खबरहरूको गगनले खण्डन गरेका छैनन् । कस्ताको सारथि हुँदै छन् गगन ? नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा माननीय सभासद्को गरिमामाथि चोट पुगेको छ । यसको पार्टी तथा सरकारले छानबिन गर्न जरुरी छ ।
गगनको वक्तृत्वकला राम्रो छ, क्षमतावान् छन् । युवाहरूमाझ लोकप्रिय छन्, नेतृत्वमा हुनुपर्ने गुण–अवगुणहरू पनि छन् । मन्तव्य गर्ने विषयको छनोट गर्न खप्पीस छन्, प्रस्तुतीकरणको शैली र हाउभाउमा जमेकै हुन्छन् । ढाँटेरै भए पनि श्रोतालाई मन्त्रमुग्ध पार्छन्, प्रपोगन्डाको राजनीति गर्न माहिर छन् । श्रोताको स्तर पहिचान नगरी सबैलाई औँठाछाप ठान्छन्, आलङ्कारिक, बिनासन्दर्भका भनाइ र भ्रामक श्रोताको प्रयोग गरी अरूको ध्यान आफूतर्फ खिच्दछन् । गगनको मन्तव्यमा राप र ताप दुवै हुन्छन् ।
अनुशासन जीवनको अनिवार्य तत्व हो । अनुशासन मानिसको गहना हो । नेपाली काङ्ग्रेसको हकमा अनुशासनको निसानामा साना कार्यकर्ता मात्र हुने गरेका छन्, त्यो पनि अनुशासन कारबाही भइहालेमा । काङ्ग्रेस अहिले अनुशासनहीनहरूको पार्टीमा दर्ज भएको छ । अनुशासनलाई ठाडो चुनौती दिने र मलजल गर्ने कार्य केन्द्रीय नेताहरूबाट नै भइरहेको छ । दुर्भाग्य नै भन्नुपर्छ, राजनीति दूषित भएको छ, नेताहरूमा सामन्ती संस्कार, अहङ्कार, तृष्णा र परिवार मोह बढ्दै गइरहेको छ । जुझारूपन बढ्नुको सट्टा दम्भचाहिँ बढ्दै गइरहेको छ ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीका सुपुत्र हुन् ।)
प्रतिक्रिया