मोदीका सात उपलब्धि

मोदीका सात उपलब्धि


Narendra-Modi1योग्य, सक्षम, गतिशील र दूरदर्शी नेतृत्व प्राप्त भयो भने कुनै पनि देशले कति चाँडो उपलब्धि हासिल गर्न सक्दोरहेछ भन्ने दृष्टान्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बनेका छन् । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार गठन भएको ६ महिना मात्र बितेको छ । अल्पअवधिमै भारतले हासिल गरेको उपलब्धि विश्वकै निम्ति उदाहरणीय बन्न पुगेको छ । मोदीको उदयपश्चात् भारतले प्राप्त गरेका सात उपलब्धि दूरगामी महत्वको देखिएको छ । भारतको राष्ट्रियता र राष्ट्रिय एकताको सबलीकरणलाई मोदीको पहिलो उपलब्धिका रूपमा लिन सकिन्छ । भारतमा विगत दुई दशकदेखि क्षेत्रीय दलहरू राजनीतिमा अनपेक्षित ढङ्गले हावी हुँदै गएका थिए । राष्ट्रियस्तरका दलहरू कमजोर र क्षेत्रीयस्तरका राजनीतिक समूहहरू केन्द्रलाई नै वशीभूत गर्ने प्रकारले बलियो हुँदै जाँदा भारतको राष्ट्रिय एकता र अखण्डतालाई कालान्तरमा चुनौती बन्न सक्ने खतराका सङ्केतहरू देखापर्न थालेका थिए । केन्द्रीय सत्ता सञ्चालनमा क्षेत्रीय शक्तिहरूको हस्तक्षेप र प्रभाव बढ्नुलाई नयाँदिल्लीका निम्ति पन्छाउनै नसकिने प्रकारको बाध्यकारी पीडाका रूपमा बुझ्न सकिन्छ । क्षेत्रीय शक्तिहरूले केन्द्रसँग ‘बार्गेनिङ’ गरिरहने जुन परिस्थिति निर्माण भएको थियो, त्यसले राजकाजको दैनिक कार्यमा कठिनाइ उत्पन्न गरिरहेको मात्र थिएन, समग्र भारतीय भावमा क्षति पु-याउने सम्भावना पनि बढाएको थियो । भारतीय राजनीतिमा ठालु बनेका क्षेत्रीय शक्तिहरू ६ महिनायता रक्षात्मक अवस्थामा पुगेका छन् र उनीहरू आपसी मोर्चाबन्दी या एकता गरेर भए पनि राष्ट्रिय शक्ति बन्नेतर्फ अग्रसर हुन थालेका छन् । भारतजस्तो विविधताले भरिपूर्ण मुलुकका निम्ति राष्ट्रिय एकताको महत्वपूर्ण राष्ट्रिय राजनीतिक दलहरू मात्र बन्नसक्ने यथार्थबोध गर्दा मोदीको उदयले भारतको आन्तरिक एकता मजबुत तुल्याउन ऐतिहासिक योगदान पु-याएको निष्कर्षमा पुग्न सकिन्छ ।
मोदीको सोच, व्यवहार, दृष्टिकोण र अभिव्यक्तिहरूको सूक्ष्म अध्ययन गर्दा उनी आफ्नो मुलुकप्रति अत्यन्त इमानदार, निष्ठावान र समर्पित देखिन्छन् । मजबुत धार्मिक आस्थाका कारण उनी आध्यात्मिक व्यक्ति भएको दर्शाउँछ र यसकारण मोदी मानव कल्याणका निम्ति यत्नशील छन् भन्न सकिन्छ । मोदीका प्रयासले सिङ्गै भारतीय समाजलाई झकझक्याएको र यसले सामाजिक परिवर्तनको जागरण पैदा गरेको छ । अहिले हरेक भारतीय नागरिकमा समाज परिवर्तनका निम्ति जुन प्रकारको उत्साह देखिएको छ, यसलाई मोदीको दोस्रो महत्वपूर्ण उपलब्धिका रूपमा लिनु गलत हुनेछैन ।
भारत र भारतीयप्रतिको विश्व दृष्टिकोण कछुवा गतिमा परिवर्तन हुँदै थियो । मोदीको आगमनपश्चात् भारतीयको आत्मसम्मानमा अप्रत्यासित ढङ्गले वृद्धि हुन पुगेको छ । भारतभित्र र विश्वको जुनसुकै कुनामा रहने भारतीयले पनि आफू भारतीय भएकोमा गौरव गर्ने परिस्थिति निर्माण भएको छ । आफ्ना नागरिकको आत्मगौरव बढाउने कार्यमा मोदीले जुन छलाङ मारेका छन्, यसले सन् १९४७ मा स्वतन्त्र भएपछि सम्भवतः पहिलोपटक भारतीयमा नवीनतम् उत्साह थपेको छ र उनीहरू लघुताभास मुक्तप्रायः भएका छन् । उत्साही र आत्मगौरवसम्पन्न नागरिक राष्ट्र निर्माणमा बेजोड सहयोगी बन्न सक्छन्, यसलाई अर्को महत्वपूर्ण उपलब्धि भन्न सकिन्छ ।
आर्थिक विकासलाई मोदीले सर्वाधिक प्राथमिकतामा राखेको उनका अभिव्यक्ति र भारत सरकारले लिएको नयाँ नीतिबाट बुझिन्छ । गरिबीको रेखामुखि रहेका सात करोड नागरिकले बैंकमा खाता खोली ६ हजार करोड रुपैयाँ सञ्चय गर्नु र हरेक नागरिक आर्थिक उपार्जनको निम्ति क्रियाशील हुनुले भोलिको समृद्ध भारतको सम्भावना दर्शाउँदै छ । स्वदेशी तथा विदेशी लगानीका निम्ति अनुकूल वातावरण सिर्जना गरेर उनले समृद्ध भारतको ढोका खोलिसकेका छन् । मोदीमा आर्थिक तथा भौतिक विकास गर्न सक्ने अद्वितीय क्षमता रहेको पुष्टि गुजरातमै भइसकेको हो । मोदी मुख्यमुन्त्री बन्नुअघि नौ हजार मेगावाट विद्युत् उत्पादन रहेको गुजरातमा उनले चौबीस हजार मेगावाट विद्युत् उत्पादन पु-याएका छन् । प्रतिवर्ष असी लाख टन खाद्यान्न उत्पादन हुँदै आएको गुजरातमा मोदीले चार सय लाख टन खाद्यान्न उत्पादन गराएका छन् । उनले गुजरातमा मात्र २१ लाख करोडको लगानी भित्याएका थिए । विपन्न गुजरातलाई एक दशकमै सम्पन्न गुजरातमा रूपान्तरित गर्ने मोदीको आर्थिक नीतिले आगामी दशकभित्रै भारतलाई सुदृढ अर्थतन्त्रसहितको शक्तिशाली राष्ट्र बनाउने विश्वास आमरूपमा गरिएको छ । यसलाई मोदीको विशेष उपलब्धि मान्नु उचित हुनेछ ।
राजनीतिक स्थायित्व भारतको निम्ति अपरिहार्य बन्दै गएको थियो । मोदीले भारतीय राजनीतिलाई सुस्थिर एवम् जनउपयोगी बनाउने सफलता प्राप्त गरेका छन् । यसअघि भारतमा संयुक्त सरकार बने पनि कार्यकालले पूर्णताचाहिँ पाउँदै आएको थियो । तर, साझेदारहरूको ‘बार्गेनिङ’ र क्षेत्रीयतावादी सोचका कारण केन्द्रले लिनैपर्ने कतिपय महत्वपूर्ण निर्णयहरू हुन सकिरहेको थिएन । मोदीको उदयपश्चात् सुदृढ एवम् स्थिर सरकार बनेको छ, जसका कारण राजनीतिमा अस्थिरताका कारण देखापर्ने सङ्कटबाट भारत मुक्त भएको छ । यसलाई पनि मोदीकै उपलब्धिका रूपमा बुझ्नु नाजायज हुनेछैन ।
मोदी प्रधानमन्त्री बनिसकेपछि छिमेकी मुलुकहरूसँगको सम्बन्धमा निकै सुधार भएको छ । आफैँ राष्ट्रवादी भएकोले मोदी अर्को मुलुकको सार्वभौमिकताको बिनाकञ्जुस्याइँ सम्मान गर्दै छन् । जसले छिमेकी मुलुकमा भारतप्रति रहेको संसय हटाउन र नागरिक तहसम्म विश्वास बढाउन मद्दत गरेको छ । पाकिस्तानसँगको स्थायी वा नियोजित झमेलालाई छोडेर भन्नुपर्दा छिमेकी मुलुकहरू चीन, नेपाल, भुटान, म्यानमार, माल्दिभ्स र श्रीलङ्कासँगको सम्बन्ध हार्दिकतापूर्ण बन्न सक्ने देखिएको छ । कैयन वर्षदेखि थाती रहेका मुद्दा, जसका कारणले दुईपक्षीय सम्बन्धमा चिसोपन बढाउने सम्भावना थियो, त्यस्ता मुद्दा सल्टाउन मोदीले लिएको तत्परताले छिमेकीको मन जितेको छ, यसलाई मोदीको अर्को उपलब्धि मान्नु नपर्ने कुनै कारण देखिँदैन ।
अन्तर्राष्ट्रिय जगत्मा भारतको उचाइ बढाउने र पुराना शक्तिशाली मुलुकहरूसँग समान हैसियतमा सम्बन्ध बनाउने या विकास गर्ने कार्य पनि मोदीको ६ महिने कार्यकालमै भएको छ । अमेरिका, क्यानडा, चीन, जापान, रसिया, ब्राजिल, ब्रिटेन, फ्रान्स, अस्टे«लिया र जर्मनीलगायतका मुलुक भारतसँगको सौहार्दपूर्ण एवम् सुदृढ सम्बन्ध बनाउन लालायित देखिन्छन् । मोदीको आगमनपश्चात् भारतले अन्तर्राष्ट्रिय जगत्मा पाएको सम्मान र महत्वलाई उनको सातौँ महत्वपूर्ण उपलब्धिका रूपमा बोध गर्न सकिन्छ ।
यसरी नरेन्द्र मोदीले देशको नेतृत्वमा योग्य र सक्षम व्यक्ति चयन भयो भने मुलुकले कति चाँडो, कुन स्तरको उपलब्धि हासिल गर्न सक्छ भन्ने दृष्टान्त पेस गरेका छन्, अर्थात् आफैँ एक दृष्टान्त बनेका छन्, तर हामी नेपालीले मोदीस्तरको नेतृत्व कहिले प्राप्त गरौँला ? मन बिझाउने प्रश्न यही बनेको छ ।
– डीपीटी