शब्द र शब्दहरू

शब्द र शब्दहरू


bicharदुःख लेखिएको नयाँघरेको कथा – मणि लोहनी
युवराज नयाँघरेको यो वर्ष दुई निबन्धसङ्ग्रह बजारमा आए । डलरको डायरी र ह्वाइटहाउसको घामपानी । दुवै अमेरिकामा रहँदाका अनुभूति र सम्झनाहरू हुन् । दुबै राम्रा र गहकिला छन् । अझ डलरको डायरी त निकै राम्रो छ । तर, यहाँ चर्चा गर्न खोजिएको छ– गत वर्षको निबन्धसङ्ग्रह ‘हरियो राहदानी’को । यो नयाँघरेकै निबन्धसङ्ग्रह हो । तर, यो केही भिन्न छ । अलि ‘हट् के’ छ । यो नेपाली जनजीवनको पछिल्लो दुःख र दर्दहरूको कहानी हो । यसलाई निबन्धकारले ललित निबन्ध भनेका छन् । तर, यो हरेक नेपालीको कथा हो । यसमा हाम्रो आफ्नै दैनिकी छ । हाम्रो आफ्नै तस्बिर छ ।
वैदेशिक रोजगारीको विषयलाई केन्द्र बनाएर लेखिएको यस हरियो राहदानी निबन्ध, निबन्ध कम कथा ज्यादा भएको छ । निबन्धमा कोलाज बुन्ने युवराज नयाँघरे हरियो राहदानीमा कथानक सरलताको रूपमा भेटिएका छन् । नेपालको महŒवपूर्ण अङ्ग बनेको वैदेशिक रोजगार र त्यसभित्रका दुःख–सुखलाई कलात्मक ढङ्गले यसमा उतारिएको छ । विशेषगरी साउदी, कतार, यूएई, ओमन, मलेसिया, इजरायल, कोरियाजस्ता मुलुकमा पुगेका र पुग्न चाहेका नेपाली युवाको जिन्दगीको सेरोफेरोमा रहेर कथा रङमगिएको छ ।
नेपाली साहित्य आकाशमा निबन्धको आकार निकै साँघुरो छ । उसो त पछिल्लो समय निबन्ध भनेर थुप्रै कृति प्रकाशित भएका छन् । तर, ती सबै निबन्ध, निबन्धको परिभाषाभित्र पर्छन् कि पर्दैनन्, त्यो भने निबन्धका पाठकले सजिलै छुट्याउन सक्छन् । संमरण या यात्राको विवरणलाई निबन्ध मान्नेहरूको भीड पनि उत्तिकै छ । पछिल्लो समय रिपोर्टिङ र घटनाको विवरण पनि निबन्ध भनेर प्रकाशित गर्ने गरिएको छ ।
‘के हो निबन्ध ?’ यसको ठोस उत्तर खोज्न भने हामी सधैँ लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, हृदयचन्द्रसिंह प्रधान, तारानाथ शर्मा, डा. राममणि रिसाल, माधव पोखरेल, गोविन्द वर्तमान, नारायण ढकाल, युवराज नयाँघरे, मोमिलालगायतमा पुग्नुपर्ने हुन्छ । पछिल्लो समयका यही निबन्धकारहरूको हारमा रहेका युवराज नयाँघरेले आफ्नो कामलाई निरन्तरता दिइरहेका छन् । नेपाली निबन्धमा उनले पहिचानयुक्त उपस्थिति देखाएका छन् । निबन्ध र नियात्रा लेखेर आफ्नो छुट्टै पहिचान बनाएका यिनी विशिष्ट शैली र शिल्पका कारण प्रसिद्ध छन् । काठमाडौंलाई कोर्रा, नीलडाम, एक हातको तालीजस्ता ६ वटा बेजोड निबन्ध कृतिहरू लेखिसकेका निबन्धकार युवराज नयाँघरे नेपाली साहित्यका चर्चित र शक्तिशाली निबन्धकार हुन् । उनको एक हातको तालीले मदन पुरस्कार नै प्राप्त ग-यो । तिनै मदन पुरस्कार विजेता नयाँघरेको यस कृति हरियो राहदानीले नेपाली पीडा र छटपटीलाई उदाङ्गो पारेको छ ।
पछिल्लो समय नेपालका युवाहरूमा बढेको राहदानीको महŒव वास्तवमै डरलाग्दो छ । नेपालको आधाभन्दा बढी आर्थिक भार थेगिरहेको रेमिट्यान्स त्यति सजिलै आएको होइन । त्यसमा यही माटोका कर्मठ युवाहरूको रगत र पसिना समेटिएको छ । त्यसका लागि उनीहरूका हजारौँ सपना र रहरहरू बलिदान भएका छन् । छोरालाई विदेश पठाएर सुखको सास फेर्न खोजिरहेका बुढा बाबुआमा, साहुको ऋण तिरेर प्रफुल्ल भएकी स्वास्नी । त्यहीबाट आएको पैसाले गाउँमा टल्किएका जस्ताका छाना । अझ जस्ताका छानामाथि उभिएको डिस टीभी र टीभीका एन्टिना, गोबर सोहोर्ने हातले समाएका आइफोन…. यी सबै राहदानीकै उपहार हुन् ।
राहदानीले धेरैको जीवनलाई सहज बनाइदिएको छ । धेरै सपनालाई विपना भरिदिएको छ र बेरोजगारीले थिलथिलिएको नेपाली युवाहरूको मनमा आशाका किरणहरू कुदाइदिएको छ । यद्यपि यो सजिलो छैन । आफ्नो माटोलाई बिर्सेर बिदेसिनुको पीडा सबै बिदेसिएकाहरूमा हुन्छन् भन्ने कुरालाई समेटेर लेखिएको किताब हो हरियो राहदानी ।
यसमा झिम्के को झोला, तिलमायाको तिर्खा, अनलाइनमा ओमकुमारी, आसबहादुरको आशा, दोबाटोको दलाल, परदेशी टोलको दसैँ, पिङ हाल्ने पाखुरा, छोराले छाडेका गाउँ….. जस्ता पैँतीसवटा निबन्ध छन् । यी शीर्षकहरू हेर्दै लाग्छन् यसभित्र बिदेसिने नेपालीको गहिरो पीडा छ र छ अलिकति पसिनाले सिञ्चेको खुसी पनि ।
बिदेसिँदा पाउने दुःख, छुट्टिएपछि लाग्ने परिवारको माया र शरीरको तिर्खा, विदेश गएर के–के नै गरुँला भन्ने तन्नेरीहरूको आशा, घरबारी गराइदिने स्वदेशी दलालहरू, र रित्तो भएको गाउँघर अनि लोग्नेले कमाएको पैसामा मोज गर्ने स्वास्नीहरू । सबैको गतिशील कथाहरू छन यसभित्र ।
एउटा मौनता खगमाया !
एउटा सन्नटा मिश्रिनी !!
खबरका प्रकार आइरहेकाछन् । खबरले गाउँका सबै अन्तर छुन थालेकाछन् । खबरले बस्तीका चकमन्न भत्काइरहेकाछन् । अशान्त र उद्विग्नता ओकेल्न थालेका छन् ।
‘उँटले हानेर शर्मिलाको देवर मलेसियामा मरेछ ।’
‘मरुभूमिको जाडोले कक्रिएर मरेछ, श्रीनाथ दाहाल साउदीमा ।’
‘मेसिनले च्वाट्टै पारेछ दाहिने हात, भुसाल माइलाको छोराको ।’
छोराले छाडेको गाउँ शीर्षकभित्रका यी हरफहरू हाम्रै समाजको कटु सत्य हो । यस्ता कैयौँ यथार्थ छन् किताबभित्र, सपनाहरूको यथार्थ, विपनाहरूको सत्य, विकृतिहरूको सिकार, विसङ्गतिको सङ्गत बडो कथानक रूपमा प्रस्तुत भएको ।

आँसु मात्र होइन दाइ, रगतै कटाएर केही पैसो बचाएथेँ । एउटा ल्यापटप सानो क्यामेरा नि किनेँ । आफन्तलाई लुगाफाटो हालेँ । यै जोरजाम गर्न नि हड्डी नै घोट्नुप-यो मैले ।

यसरी ल्याएको पसिनाको कमाइ त्रिभुवन विमानस्थलमा हराउँदा ठक्करप्रसादजस्ता धेरैको मन धरधरी रोएको छ । विदेशमा भन्दा स्वदेशमै असुरक्षित नेपालीको भाग्यको अँध्यारो वर्तमान पोखिएको छ ।
झन्डै एक दशकअगाडिबाट पढ्दै आएको युवराज नयाँघरेका निबन्ध र यो हरियो राहदानीभित्रका निबन्ध बिलकुल फरक छन् । भाषा उस्तै छ, शैली पनि उस्तै छ । तर प्रस्तुति फरक छ । धेरै कथा र घटनाका पात्रको संवादले पूरै किताब भरिएको छ । जो अक्सर कथा या उपन्यासमा हुने गर्छ । हामी निबन्धमा विचार पढ्दै आएका छौँ । विचारको कलात्मक प्रस्तुतिलाई निबन्ध मान्दै आएका छौँ । त्यसैले निबन्ध पढिरहँदा वैचारिक कोलाजको भुमरीलाई खोजिँदोरहेछ । त्यो कोलाज यो हरियो राहदानीभित्र कतै पाइँदैन । यद्यपि विषय राम्रो छ । पाठकले पढिरहन मन पनि पराउँछन् । तर, विगतका निबन्ध कृतिभन्दा निकै फरक छ यो कृति ।
समाज र सामाजिक जीवनको गहिरो अध्ययन गर्ने युवराज नयाँघरे, हरियो राहदानीमा देश नै बोकेर हिँडेका छन् । रित्तिँदै गएको स्वाधीनता, स्वाभिमान र राज्यको कमजोर नीतिलाई यसभित्रका प्रत्येक हरफहरूले प्रश्न उठाएका छन् ।