गुर्खा संस्कार र अबको बाटो–२– प्रकाश के.सी.

गुर्खा संस्कार र अबको बाटो–२– प्रकाश के.सी.


nepal-british-battle(गताङ्कबाट जारी)
सुगौली सन्धिमा कहीँ र कतै पनि नेपाली युवालाई (जनजाति ?) ‘इस्टइन्डिया कम्पनी’अन्तर्गतको सेनामा भर्ना गर्ने ‘प्रावधान’ राखिएको थिएन । युद्धताका नेपाली (गोर्खाली) को बहादुरी र त्यागको प्रशस्तै प्रशंसा गरिएको थियो, जसको प्रभावले ‘स्वेच्छा’ले सो कम्पनीअन्तर्गतको सेनामा भर्ना हुन सकिने व्यवस्था भने थियो र सोहीअनुरूप नेपाली भर्ना पनि गरिएका थिए । तर, योचाहिँ पक्कै हो कि तत्कालीन नेपाली शासकले सोही सीधासादा नेपाली युवाको भविष्यका लागि कम्पनीसँग ‘बार्गेनिङ’ गरेन, त्यसको असर भारत स्वतन्त्र नहुन्जेल नेपाली युवाहरू र तिनका नेपालमा भएका परिवारले व्यहोर्नुप-यो, जुन ज्यादै लामो अवधि थियो ।

२६औँ वर्षदेखि भू.पू. गुर्खा सिपाहीहरूको हक र हितमा काम गर्दै आएको गेसोका पदमबहादुर गुरुङ, ‘नेपाल र बेलायतलाई विपक्षमा राखी मुद्दा हाल्नुपर्दछ’ भन्ने धारणा राख्दछन् । उनका अनुसार ‘नालापानीको युद्धपछि नेपाल सरकारले ‘इस्टइण्डिया कम्पनी’लाई सोझासीधा नेपाली जनजाति युवाहरूलाई बेचेको र सो कम्पनीमार्फत बेलायतले किनेकोले दुवै देशलाई मानव बेचबिखनअन्तर्गतको मुद्दा हाल्नुपर्ने’ भन्ने आफ्नो लिखित विचार सार्वजनिक रूपमा गरेका थिए धेरैअगाडि । भू.पू. गुर्खा सिपाही तथा तमू विचारक तर्कजंग गुरुङ भन्छन्, ‘कागज तथा इतिहासका पन्नामा कलमले नलेखिएका भए तापनि तत्कालीन अवस्थामा त्यसबेला नेपालका खासगरी गाउँगाउँहरूबाट सीधासादा जनजातिका युवाहरूलाई जबर्जस्ती पनि इस्टइण्डिया कम्पनीमा भर्ना गरिएको भने हो ।’ हङकङमा कुनै जुगाडका साथ भित्रिएर स्थायी रूपमा बसोबास गर्दै आइरहेका पत्रकार जेबी पुनमगर आफ्नो फेसबुकको स्ट्याट्समा लेख्दछन्, ‘बेलायती साम्राज्यको प्रत्यक्ष उपनिवेशबाट जोगिन नेपाली सत्ताले युद्धमा होमेका (बेचेका, तत्कालीन नेपालीहरू (जातीय रूपमा मगर, गुरुङ, राई, लिम्बू) कै कारण नेपाल भन्ने देश प्रत्यक्ष उपनिवेश हुनबाट जोगिएको हो । तर, नेपाली इतिहासकार, राज्य र बौद्धिकहरू भने बलिदानी दिएर देशको स्वाधीनता बचाउने हजारौँ ती नेपालीलाई अत्यन्त लज्जित (भाडाका सिपाही, आफैँ गएका, पैसाका लोभी) किसिमले प्रोजेक्ट गर्दै आइरहेको छ । जब कि तिनीहरू त्यसै गएका थिएनन् । जातीय रूपमा फलाना–फलाना जातिलाई मात्र भर्ती गर्नू भनी गोर्खे लौरो लगाई बेचिएको थियो । त्यसबापत कमिसनसमेत तिनले गोजीमा हाल्दथे ।’

सबैभन्दा शक्तिशाली समय हो, जसले मानव जीवनमा समयअनुसार सापेक्ष हुने खालका अवस्थाहरूका सिर्जना गर्दछ । सन् १८१६ तिरका अवस्थाहरू भनेका बहादुरी, राष्ट्रियता वा देशप्रेम अनि साधारण र शालीन जीवन शैलीको अवस्था थियो खासगरी नेपाली परिवेशमा । जे र जस्ता परिवेशका सामाजिक संरचनाहरू थिए तत्कालीन परिप्रेक्ष्यमा, चालीस लाख जनसङ्ख्या भएको नेपाल, सौम्य, शक्तिशाली र ओजस्वी थियो र जनता पनि तदनुरूप नै थिए । त्यतिबेला सीधासादा वा जनजातिलाई बेचिएको, जबर्जस्ती अर्काको लडाइँमा लगिएको भन्ने अतिवादी–जातिवादी नेपालीहरूका ‘सङ्कीर्ण’ मनस्थिति हो । तत्कालीन परिवेशमा देशको सिमानालाई चाक्लो पार्नेदेखि लिएर देशको स्वाधीनताको लागि विदेशीहरूसँग लड्न, तत्कालीन व्यवसाय, कार्य तथा रोजगारीको आधारमा वर्गीकरण गरिएको ‘जातिगत सामाजिक संरचनाको आधार’मा क्षेत्रीहरूलाई अगाडि ल्याइएको थियो । देशको आफ्नै भूमिमा कतियौँ क्षेत्रीहरू मरे होलान् ? के अब क्षेत्रीहरूले आफ्ना ती पूर्वजहरूलाई तत्कालीन सरकारले मृत्युको मुखमा होमेको हो भन्ने ? अतीतका प्रसङ्गहरू अहिले जातिगत सन्दर्भमा केलाउनु अस्वस्थ र अहितकर नीति हो । समूलमा के हो भने, बेलायती साम्राज्यको एसियामा प्रतिनिधित्व गर्ने ‘इस्टइण्डिया कम्पनी’ले तत्काली नेपाली शासकहरूलाई दबाएर, लोभ्याएर वा धम्क्याएर, नेपाली सीधासादा युवाहरूको घोर ‘शोषण’ गरेको हो । ती युवाहरूको तर्फबाट तिनको स्थायी हितका लागि वा तिनको भविष्यका लागि आधिकारिक रूपमा नेपालले नबोलिदिएकाले नै नेपाली युवाहरू ‘भाडाका सिपाही’ बनाइए, तिनका लडाइँमा परेर भएका मृत्यु र तिनका परिवारको छातीमा चह-याउने नमेटिने घाउ तथा तत्कालीन तिनको कष्टकर जीवनको दोषी, जति ‘इस्टइण्डिया कम्पनी’ थियो, त्यत्तिकै ‘तत्कालीन’ नेपाली शासकहरू पनि थिए ।

सन् १८५६ तिर ‘इस्टइण्डिया कम्पनी’ले दिल्लीमा आफूविरुद्ध आफ्नै मातहतमा रहेका स्थानीय सिपाहीहरूले साथ छोड्न थालेपछि लगभग ८००० नेपाली सेना, नेपालबाटै तत्कालीन प्रधानमन्त्रीको ‘व्यक्तिगत जागरुकता’मा दिल्ली गएर कम्पनीलाई ठूलो खति हुनबाट जोगाएकोले, ‘सन्धिपछि गुमाउनुपरेका’ बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलाई नेपालले आफ्नो स्वामित्वमा ‘पुरस्कारस्वरूप’ पाएको थियो । सिपाहीको रूपमा ‘रोजगारी’को अवस्था सो समयमा राम्रो मानिन्थ्यो, र त्यसको आभास आमनेपालीवृत्तमा देखिनु अस्वाभाविक थिएन । त्यसैगरी सन् १८५७ बाट नेपाली ‘इस्टइण्डिया कम्पनी’मा सेनामा औपचारिक रूपमा भर्ना गरिने क्रम सुरु भएको थियो र त्यसरी ‘फस्र्ट रेजिमेन्ट अफ गोर्खा ब्रिगेड’ तयार भएको थियो ।

desh-pariveshविभिन्न बुँदाहरूभित्र ‘बाँधिएर’ गरिएका सन्धिहरूसँग पछिका कैयौँ नेपाली शासकहरू खुसी थिएनन् । औपचारिक रूपमा नेपाल बेलायतको उपनिवेशभित्र नपरेको भए तापनि, ‘सुगौली सन्धिले बाँधिएको नेपालको अवस्था निश्चय नै पराधीन थियो’ र त्यस्तो अवस्थामा नेपाल र समस्त नेपालीको अति नै आपत्ति भएको र त्यसलाई सच्याउनका लागि काठमाडौ आएका प्रिन्स अफ वेल्स इडवार्ड–आठौँसँग तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले गरेका आग्रहस्वरूप लगभग तीन महिनाभित्रै अर्थात् सन् १९२३ डिसेम्बर २१ तारिखका दिन सिंहदरबारमा बेलायती सरकार र नेपाल सरकारबीच अर्को सम्झौता भयो, जसले मुख्यगरी सुगौली सन्धिमा राखिएका नेपालमाथिका केही प्रतिबन्ध अवस्थाहरूलाई पूर्णतः खारेज गरिदियो, त्यही दिनबाट खासगरी नेपाल त्यस अर्थमा पूर्ण ‘स्वतन्त्र’ भएको हो । इतिहासमा मेटाउनै नमिल्ने किसिमको चन्द्रशमशेरको त्यो ठूलो कार्य थियो । तर, त्यतिखेर पनि ‘इष्स्टइण्डिया कम्पनी’अन्तर्गत कार्यरत गुर्खाहरूबारे केही बोलिएन । सन् १८५७ बाट लगातार रूपमा एक गुर्खा रेजिमेन्टलाई नियन्त्रण गर्ने ‘बेलायती हाकिमको तजबिजको भर’मा गुर्खाहरूको तत्कालीन समय र तिनका भविष्यहरूको तर्जुमा सन् १९४७ सम्म लगातार रूपमा भइरह्यो । भारत स्वतन्त्र भइसकेपछि त्यहाँ रहेको गुर्खाहरूका भविष्यलाई निर्धारण गर्ने गरी नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा त्रिपक्षीय सन्धि गरियो, जसअनुसार तत्कालीन अवस्थामा सञ्चालनमा आएको १० वटा गुर्खा रेजिमेन्टबाट ब्रिटेनले दोस्रो, छैटौँ, सातौँ र दशौँ राइफल्सलाई यूके ल्यायो । सोही सन्धिपछि भारतमा अनि ब्रिटेनमा काम गर्ने गुर्खाहरू सो देशहरूकै ‘सेनासरह’ मानिने भयो र तलबचाहिँ ‘भारतमा गुर्खाहरूले पाउने रकमबराबर’ ब्रिटिस गुर्खाहरूले पनि पाउने, तर अन्य भत्ताहरू भने देशअनुरूप हुने भनिएको थियो । ब्रिटेनले त्यसपछि आफ्ना चार गुर्खाका रेजिमेन्टलाई मलाया, बोर्नियो, हङकङ, ब्रुनाई, सिंगापुर आदि देशहरूमा सञ्चालन ग-यो । सो अवधिमा भने मलाया लाहुरेहरूको आकर्षण नेपाली समाजमा ह्वात्तै बढेको हो । खासगरी गुरुङ, मगर, राई, लिम्बूहरू क्षेत्रगत आधारमा भिन्नभिन्नै रेजिमेन्टका लागि त्यसरी नै भर्ना गर्न थालियो, यो समयमा अन्य जातिकाहरूलाई मलायाको लाहुरे हुन ज्यादै मुस्किल थियो र कतिले सजिलोका लागि तदनुरूपको जातअनुसारको नागरिकता बनाउँदै भर्ना भएका थिए । गल्लाहरूले आफ्नो जातविशेषकाहरूलाई रोज्ने त्यो अवस्थालाई ‘बेचिएका, जबर्जस्ती गरिएका’ भन्नेहरूले ‘नजरअन्दाज’ गरेका लाग्दछन् । (क्रमशः)