नेपालको व्यक्तिवादी राजनीतिले कुनै पनि निकास, निचोड र उपलब्धि दिन नसके तापनि आ–आफ्नो व्यक्तिगत महत्वाकाङ्क्षालाई उजागार गर्ने मौका भने प्रशस्त दिएको पाइन्छ । एमाओवादी टुक्रिएर बीमाओवादी गठन हुनु र बीमाओवादी पनि चोइटिएर चन्द माओवादी अर्थात् सीमाओवादी जन्मिएको छ, जसलाई व्यक्तिवादी राजनीतिको पराकाष्ठाको रूपमा लिन सकिन्छ । शान्तिकामी नेपाली जनतालाई हत्या र हिंसाको चपेटामा दश वर्ष दुःख दिइएको कथित जनयुद्धको एउटा हिस्सा हुनुबाहेक नेत्रविक्रम चन्दको यो मुलुकको राजनीतिमार्फत अरू केही पनि ‘योगदान’ रहेको छैन । तिनै नेत्रविक्रम चन्द उर्फ विप्लव बल प्रयोगको सिद्धान्तको आवश्यकता रहेको बताउँदै फेरि नेपाली जनताको दिमाग चाट्न द्वन्द्वात्मक भौतिकवादी खोक्रो र सडेगलेको नारा बोकेर नेपाल कम्युनिस्ट पार्टी ‘सीमाओवादी’ गठन गर्न पुगेका छन् ।
नेपालमा कम्युनिस्ट राजनीति गर्नेहरू पूर्णरूपेण व्यापार–व्यवसायको सूत्रमा उत्रिएका छन् । पार्टनरसिपमा गरिएको व्यवसायमा एउटालाई चित्त नबुझे आफ्नो भाग बटुलेर सो व्यवसायबाट अलग भई अर्को छुट्टै व्यवसाय गर्ने परम्परा रहिआएको छ । राजनीतिमा समेत यस्तै प्रचलन हावी हुँदै गएको छ । कम्युनिस्टको पहिचान बनाएर र कम्युनिज्मको नाम बेचेर, माक्र्स, लेनिन, माओको विज्ञापन पस्केर सीधासाधा र सरल नेपाली जनतालाई उल्लु बनाउने क्रम जारी छ । आर्थिक विपन्नता नै नेपाली जनताको प्रमुख शत्रु हो । सर्वहाराको प्रतिनिधित्व नेपाली काङ्ग्रेसले पनि नगरेको छैन । बिहान–बेलुकाको छाक टार्न मुस्किल पर्ने वर्गले राप्रपा नेपाललाई पनि भोट हालेकै हुन् । गरिबको नाममा कम्युनिज्म फैलाउने जमाना गइसकेको छ । नेपाली काङ्गे्रसलाई प्रमुख शत्रु घोषणा गरेर नेपाली जनताको गाँस, बास र कपासको ग्यारेन्टी कसरी हुन्छ, विप्लवले जवाफ दिन सक्नुपर्छ । जसरी महिलाको शत्रु महिला नै हुन्छन् भन्ने यथार्थ नेपाली समाजमा स्थापित भएको छ त्यसैगरी कम्युनिस्टको शत्रु पनि कम्युनिस्ट नै हुन् भन्ने वास्तविकता नेपालका कम्युनिस्टहरूले बुझ्नु अत्यावश्यक भइसकेको छ ।
अत्याधुनिक प्रविधिहरूले सुसज्जित २१औँ शताब्दीको विश्व समाजमा ढाँटछलको राजनीतिलाई कुनै स्पेस छैन । ०६२/६३ को आन्दोलन कसैलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन भएको थिएन । राजाको निरङ्कुश शासनलाई अन्त्य गर्नुपर्छ र नेपालमा प्रजातन्त्र चाहिन्छ भन्ने उद्देश्यका साथ जनता सडकमा उत्रेका थिए । तत्पश्चात् दुरुपयोग हुन थालेको जनादेश हालसम्म पनि यथावत् रहेको छ । मुलुकको सत्ता सम्हालेर बसेका दल र तिनका नेतृत्वले गणतन्त्र घोषणापछिको ८ वर्षलाई के भन्छन्, परिवर्तनकारी कि यथास्थितिवादी ? राजाको शासनका बेला एकसरो कपडा लाउनेहरू अहिले नाङ्गै भएका छन्, त्यतिबेला गिट्टी कुटेर जीविका चलाउनेहरू अहिले प्लास्टिक टिप्न बाध्य छन् । के यही हो आमूल परिवर्तन ? त्यतिबेला टेबुलमुनिबाट भ्रष्टाचार गर्नेहरू अहिले हाकाहाकी घुस माग्छन् । के यही हो महान् क्रान्तिकारी उपलब्धि ? त्यतिबेला लुकेर सातु खाने नेता भनाउँदाहरूलाई अहिले खसीको मासु नभई भात रुच्दैन । के यही हो अग्रगमन र क्रान्तिकारी छलाङ ?
अख्तियार दुरुपयोग निवारण आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई संसदीय समितिमा बोलाएर स्पष्टीकरण लिने र स्वतन्त्र रूपमा काम गर्न नदिने अनि हुर्मत लिने कसरत जारी छ । के यही हो पारदर्शिता र सुशासन ? कमिसन र पदको भागबन्डामा कसैको कुनै असहमति रहँदैन, तर संविधान निर्माणमा विवादैविवाद छरपष्ट छन् । यी सबै यथार्थ दलबाट नेपाली जनतामाथि गरिएका अत्याचार र अपमानका उदाहरण हुन् । मुलुक र समाजका लागि राजनीति गरेका हौँ भन्नेहरूले के नेपाली जनताका खास समस्या के–के हुन् भन्ने बुझेका छैनन् ? बुझेका छन् राम्ररी, तर नकच्चरालाई बुझ पचाउन केको लाज, केको डर ? गाउँघरमा मलामी र जन्ती पाउन छोडिएको छ किनकि नेपालमा पौरख देखाउनुपर्ने युवाजगत् बिदेसिन बाध्य पारिएको छ । केही हुनेखानेहरू सहरबजारमै मस्त छन् भने गाउँहरू रित्तिएका छन्, अधिकांश घरमा तालाबन्दी भएको छ । आफ्नो मुलुकमा रोजगारी नभेटिने भएपछि बिदेसिनु नेपाली युवाको बाध्यता बन्छ, रहर होइन । तिनै बिदेसिएका युवाले पठाउने रेमिट्यान्समा सत्ताधारीहरू रमाउने गरेका छन् । रेमिट्यान्सले बजेट धान्नु गौरवको विषय होइन । यो लाजमर्दो विषय हो ।
भिजन र दूरदर्शिता भएका नेताहरूले नेपालमा राम्रोसँग सत्ता चलाउन पाएनन् । पहिलेजस्तै दूरावस्था भए पनि राजालाई दोष थोपर्ने चलन थियो । वर्तमानमा राजतन्त्र छैन, अब कसलाई दोष थोपर्ने भन्दा विदेशीलाई । विदेशीकै नुन खायो, उनीहरूकै निर्देशनमा मनलागी ग-यो अनि उनीहरूलाई नै गाली ग-यो बस् ।
नेपाली राजनीति यतिबेला तर्कशास्त्रमा रुमल्लिएको अवस्था छ । तर्क–कुतर्क गर्नमा नेपालका नेताहरूलाई बाराक ओबामा, पुटिन, मोदी कसैले पनि उछिन्न सक्दैनन् होला । तर, के गर्नु तर्कले विकास हुँदैन, समृद्धि आउँदैन, शान्ति हुँदैन । त्याग र तपस्या, मुलुक र जनता भनेको के हो त्यो नेपालका नेताले बुझेका छैनन् या बुझ पचाइरहेका छन् । आफू धनी हुन जान्नेले अरूलाई पनि धनी बनाउन सक्छ । त्यसका लागि सद्विवेक, सद्व्यवहार र निष्ठायुक्त सत्यवादी विचार चाहिन्छ जसको नेपालका नेताहरूमा सर्वथा खडेरी परेको छ । त्यसकारण कविशिरोमणि लेखनाथ पौड्यालले लेखेको कविताजस्तै ‘मै खाऊँ, मै लाऊँ सुखसयल वा मोज म गरुँ, मै हाँसु, मै नाँचु अरू सब मरून् दुर्बलहरू’ भनेजस्तै भएको हो ।
व्यक्तिवादमा रोमाञ्चित भइरहेका नेताहरूले के बुझ्नु जरुरी छ भने समयभन्दा बलवान अरू केही हुँदैन । साथै मौका आउँछ र पर्खिंदैन । मुलुक र जनतालाई राहत दिनसक्ने ठाउँमा जो–जो छन् तिनले बेलैमा सोचून् सीधासाधा नेपाली जनतालाई गाँस, बास, कपास शिक्षा, स्वास्थ्य रोजगारीमा पहुँच चाहिएको कुरा घामजत्तिकै छर्लङ्ग छ । यस्ता आधारभूत आवश्यकतालाई राज्यले कसरी सम्बोधन गर्न सक्छ त्यतातिर राजनीतिक नेतृत्वको ध्यान जाओस् । यसका लागि देश/विदेशको राजनीतिक, सामाजिक इतिहास कण्ठस्थ पारेर बसेका विद्वान् व्यक्तिहरूले पनि सुझाउन–बुझाउन अर्घेल्याइँ वा ढिलाइ नगरून् । नेपालको राजनीतिक नेतृत्वले समयमा नै आफ्ना व्यक्तिवादी महत्वाकाङ्क्षालाई तिलाञ्जली दिएर नेपाली जनताका आधारभूत आवश्यकतालाई उचित सम्बोधन गर्न चाहेनन् वा सकेनन् भने क्रूर नियतिले उनीहरूलाई कसरी ‘एक्सन’ लिने हो त्यो भयावस्थाको चित्रण यतिबेला नगर्नु नै जाती होला ।
प्रतिक्रिया