ओम साव, चिनाइदिनुस् वास्तविक अपराधीहरू !

ओम साव, चिनाइदिनुस् वास्तविक अपराधीहरू !


-बसन्त कुँवर
काङ्ग्रेस पार्टीले आयोजना गरेको सभापतिहरूको भेलामा कोइराला परिवारबाट मनोनीत महासचिव हरियो दुबोको मालामा टेलिभिजनमा देखापरे भने निरीह प्रहरीहरू यसै हप्ता गर्दै नगरेको पापको आरोप लगाएर जेल जानबाट बच्न बाबुबाजेका घर-जग्गाको लालपर्ुजा खोज्दै अदालतमा धरौटी बुझाउन चिन्तित भएको देखिए । यस हप्ता यो दृश्य मेरा लागि अविष्मरणीय र चिन्तित तुल्याउने रहे । मेरो मनमा यो दृश्य देखेपछि यस्तो आयो जो मान्छे सुडान काण्डका नायक हुन् र जसले सबैभन्दा बढी त्यस काण्डबाट आफूले र आफूद्वारा कोइराला परिवारमा कमिसन खाने वातावरण मिलाए तिनी भने खुल्लमखुल्ला दुलाहा मालामा सजिएर टेलिभिजनका पर्दामा छाती फुलाएर देखापर्दै छन् र बिचरा निरीह प्रहरी जसले केवल आदेशअनुसार सुको पैसा नलिई हाकिमहरूको विश्वासमा सही गरेका छन् उनीहरू भने भ्रष्टाचारको मुद्दामा परी जेल जानबाट बच्न बाबुबाजेको सम्पत्तिको लालपर्ुजा खोज्दै छन् । यो दृश्य कति हृदयविदारक छ । सायद त्यसैले भनिएको रहेछ यो सतिले सरापेको देश हो भनेर ।
सुडानकाण्डमा भ्रष्टाचार भएको हो र यसमा कमिसनको ठूलो हिस्सा आईजी ओमविक्रम राणा, कृष्णप्रसाद सिटौला, कोइराला परिवार र उमेश मैनालीमा गएकै हो । कृष्णप्रसाद सिटौला त्यसबखत प्रहरी प्रधान कार्यालयको हरेक साना-साना कुरामा पनि हस्तक्षेप गर्दथे र आईजी ओमविक्रम राणा, तिनका सामु हरुवाचरुवाभन्दा बढी हैसियत राख्दैनथे । सुडानमा प्रहरी र हातहतियार पठाउने काम प्रहरी प्रधान कार्यालयको नभई नेपाल सरकारको थियो । त्यसबखतको प्रहरीका लागि नेपाल सरकार भनेको सिटौला थिए । वास्तवमा सिटौलाले प्रहरी कल्याण कोषको रकम खर्च गर्न पनि खोज्दिनुहुने थिएन, किनकि राज्यका लागि चालीस करोड भनेको केही होइन र त्यो रकम पछि संयुक्त राष्ट्र सङ्घबाट फिर्ता हुने भएपछि गृह वा अर्थमार्फत सजिलै लिएर काम चलाउन सकिन्थ्यो । यसो नगरिएको कारण नै कमिसन खानका निम्ति हो भन्ने त्यतिबेलै स्पष्ट भएको थियो । त्यो बुझ्नेले बुझेकै छन् ।
मलाई अहिले सिटौलाभन्दा पनि ओमविक्रम राणाको अनुहार सम्झेर दया लागिरहेछ । मैले सुने कि ओमविक्रम राणाले बयानमा एपीसी खरिदको विषयमा आफूलाई केही थाहा नभएको र लागत अनुमान पनि कुन पदाधिकारीबाट स्वीकृत भयो आफूलाई जानकारी नभएको भनेर बयान दिएका रहेछन् । यो बयान देख्दा मलाई ओमविक्रम राणाप्रति थप घृणा जाग्यो । एउटा फौजको कमान्डर भएर आफैं तल्ला कर्मचारीलाई आदेश दिने, आफैं कमिसन खाने र त्यो अपराधबाट आफू अरूको टाउकोमा दोष लगाई उम्कन खोज्ने कायर षड्यन्त्रकारी र पापी कामबाहेक अरू केही हुन सक्दैन । मलाई लाग्छ तल्ला कर्मचारी जसले यो कुरा थाहा पाउने छन् तिनले झलनाथलाई इटहरीमा गालामा चप्पलले हानेको दृश्य सम्झेर त्यसैबाट प्रेरित भई ओमविक्रम राणाको गालामा जुत्ता हान्न पनि बेर नलगाउलान् । ओमविक्रमले अब गाला बचाउन जरुरी देखिन्छ ।
मैले यो पनि सुने कि ओमविक्रम राणाको घरमा पीडित कर्मचारीहरू ‘तपाईंले कमिसन खाएर हामीलाई फसाउनुभयो’ भन्दै अब अदालतमा त्यसको सुधार गरिदिनुपर्‍यो भन्ने अनुराध गर्न पुगे रे, तर मलाई काइते स्वभावका राणाले तलकालाई बचार्य आफू अपराध स्वीकार गर्दछन् जस्तो लाग्दैन । तर पनि राणालाई मेरो के सुझाव छ भने तपाईं यो समाजमा पुन: शिर उठाएर बाँच्न सक्ने एक मौका त्यही अदालतबाट पाउनुहुनेछ । अब तपाईंले भन्नुपर्छ यो डिलमा कमिसनको खेल थियो तर कोइराला परिवार तथा मन्त्री सिटौलाको दबाब मैले थेग्न सकिनँ । तपाईंले भन्नुपर्छ मेरा कर्मचारीहरूले केवल मेरो निर्देशनमा काम गरेका हुन् तिनको केही दोष छैन । तपाईंले आफूले लिएको थोरै रकम खुलाई बाँकी रकम लिएर माला लगाउँदै नेता भएर हिँड्ने छद्मभेषीहरूको वास्तविकता बाहिर ल्याइदिनुपर्छ । नेताको पहिरन र पेसाका भरमा यो मुलुकका कर्मचारीहरूलाई तर्साइतर्साइ भ्रस्ट बनाउनेहरूको मुकुण्डो तपाईंले उघारिदिनुपर्छ । दूध पनि उम्लेपछि पोखिन्छ । वास्तवमै यो मुलुकका वास्तविक भ्रष्टाचारीहरू कर्मचारी होइनन् सिटौलाजस्ता मन्त्रीको खोल ओढेको र कोइराला परिवारजस्ता पार्टीको खोल ओडेको व्यक्तिहरू नै हुन् । सुडानकाण्ड तिनको स्वार्थबाट जन्मिएको काण्ड हो र यो काण्डमा अपराधीहरू नगरी निरपराध प्रहरीहरू भ्रष्टाचारी बन्दै छन् । मलाई थाहा छ तपाईंले पनि केही करोडबाहेक धेरै रकम लिनुभएको छैन । त्यो पैसाको ठूलो हिस्सा सिटौला, मैनाली र कोइराला परिवारमा पुगेको छ । यदि तपाईंले यो कुरा अदालतमा स्पष्ट नपारे अपराधीहरू बच्नेछन् तर तपाईं बच्नु हुनेछैन । तपार्इं बच्न पनि सिटौलाजस्ताको यथार्थ अनुहार अदालतले देख्नुपर्छ । यदि तपाईंले तलका कर्मचारीहरूलाई फर्साई सिटौलालाई बचाएर भोलि तपाईं यो सहरमा हिँड्दा देख्नेले थुक्नेछन् । पीडितहरूका परिवारले तपाईंलाई ढुंगा हान्नेछन् । हो, हिजोसम्म अख्तियारबाट सिटौला र कोइराला परिवारबाट तपाईंलाई जोगाइदिने आश्वासनमा तपाईंले विश्वास गर्नुभयो होला तर अब विश्वास नगर्नुहोस् । ओमविक्रम सा’व तपाईंको प्रायश्चित भनेको यो केसमा कमिसन खानेहरूको वास्तविकता उजागर गरेपछि मात्र सम्भव हुनेछ नत्र तपार्इं पनि डुब्नुहुने र निरपराध प्रहरीहरू पनि डुब्नेछन् ।
तपाईंको कमजोरीले सिटौलाजस्ता व्यक्ति टन्न कमिसन धोकेर हरिया माला लगाई टेलिभिजनमा देखापर्न सक्ने र तिनका अपराधमा निरीह प्रहरीहरू जेल जाने अवस्थामा पर्ने हो भने इतिहासले तपाईंलाई कहिल्यै माफ गर्ने छैन ।
ओम सा’व चिनाइदिनुहोस् वास्तविक अपराधी, त्यसमै तपाईंको र सबैको भलाइ छ ।