गुर्खा संस्कार र अबको बाटो–३– प्रकाश के.सी.

गुर्खा संस्कार र अबको बाटो–३– प्रकाश के.सी.


treaty_of_sugauli1(गताङ्कबाट जारी)
पहिलो र दोस्रो विश्वयुद्धमा हजारौँ नेपाली युवा विदेशी माटोमा बिलाएका थिए । आँकडाअनुसार पहिलो विश्वयुद्धमा करिब दुई लाख गुर्खाको संलग्नता रहेकोमा २० हजारजतिको क्षति भएको थियो भने दोस्रो विश्वयुद्धमा दुई लाख ५० हजार गुर्खाको संलग्नतामा ३२ हजारजनाको क्षति भएको थियो, जसमा वीरताको माथिल्लो तक्मा मानिएको ‘भिक्टोरिया क्रस’ १३ जना नेपालीले पाएका थिए । पहिलो र दोस्रो विश्वयुद्धताका वीर भएकाले, शूरो भएकाले नेपाली सिपाहीको चर्चा धेरै चल्यो र त्यही वीरताले संसारमा निकै नै चर्चा कमायो । कवि भूपि शेरचनले आफ्नो ‘घुम्ने मेचमा अन्धो मान्छे’ शीर्षकको कविताुसङ्ग्रहमा राखिएको एक कवितामा लेखेका छन्, ‘हामी वीर छौँ, तर बुद्धू छौँ, हामी बुद्धू छौं र त हामी वीर छौँ, हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ’ भन्ने एक सन्दर्भ राखेका थिए, जसको निकै चर्चा चलेको थियो । कसैले सीधासादा वा साोझोपनको गलत व्याख्या पङ्क्तिमा गरेका हुन् भूपिले भन्ने आसय राखे भने कतिले आफ्नो जीवनको पर्वाह नै नगरी ‘मूर्खतापूर्ण’ किसिमले लड्ने स्वभावले गर्दा हामी ‘वीर’ कहलिएका हौँ भन्ने आशय पङ्क्तिकारले राखेको जताए । जे र जस्तो होस्, विश्वसामु नेपालीको अदम्य साहस र बहादुरीको औपचारिक रूपमा सही मूल्याङ्कनचाहिँ भएको छैन ।
नेपालले तत्कालीन अवस्थामा आफ्नो ‘स्वाधीनता’ बचाउन ‘इस्टइन्डिया कम्पनी’सँग सम्झौता गरेका भन्नेहरूले सोअनुरूप उक्त कम्पनीले छोडेपछि मात्र, विधिवत् रूपले ‘भारत’ भएको देशसँग किन नेपालले सोही ‘सम्झौता र सन्धि’लाई मानेको थियो भन्ने प्रश्न गरेनन् ? सन् १९५० को जुलाई ३१ तारिख काठमाडौंमा पहिलोपल्ट भारत र नेपालबीच विधिवत रूपमा दुईपक्षीय पारस्परिक सन्धि भयो । मोहनशमशेर प्रधानमन्त्री रहेको बेला भएको सो सम्झौतामा ‘इस्टइन्डिया कम्पनी’ले भारत छाडी गएपछि त्यो कम्पनीसँग नेपालले गुमाएको आफ्नो भूभागहरूको माग किन गरिएन ? गुर्खाहरूको ‘भविष्य निर्धारण’ गर्ने बखत नेपालको तर्फबाट किन नेपाली भूभागबारे प्रश्न उठाइएन ? समयको सही उपयोग गर्नबाट तत्कालीन नेपाली शासक चुकेको भने पक्कै हो । तर, आफ्नो राणाशासनलाई धान्न मुस्किल परिरहेको अवस्थामा मोहनशमशेरबाट ‘राष्ट्रिय फाइदा’का लागि चालिने कदमको अपेक्षा गर्न पनि सकिँदैनथ्यो । भारतसँग गरिएको सम्झौताको दुई महिनाभित्रै राणा शासनको पनि नेपालमा अन्त्य भएको थियो । यथार्थ यो पनि हो कि, लाखौँ युवा देशलाई राणाहरूको शासनबाट मुक्त गर्ने बाटोमा तत्कालीन राजावादीहरूको साथमा रातदिन एक गरिरहेका यो त्यही समय थियो, जतिबेला ‘मलायाको लाहुरे हुनका लागि’ अथवा अर्कै देशका लागि अर्कै देशसँग लड्ने प्रण गर्दै नेपाली ‘निश्चित’ समुदायहरूमा आकर्षण बाक्लिएको थियो । त्यो तत्कालीन ‘सामाजिक संरचनात्मक नियति’ थियो ।
गेसोको लगातारको सङ्घर्षले गर्दा सन् २००६ बाट सन् १९९७ पछि अवकाश लिएका भूपूहरू आफ्ना परिवारसहित आवासीय भीसामा यूके आउन थालेका थिए, तर त्यतिखेर ९७ भन्दा अगाडि अवकाश पाएका वा दिलाइएकाहरूमाथि व्यापक भेदभाव भएको भन्दै लन्डनमा जोयना लुम्लेले पनि साथ दिएकी आन्दोलनहरू भए र आखिरमा सन् २००९ पछि भने भूपू गुर्खाहरू आफ्ना श्रीमती अनि उमेर नपुगेका सन्तानसहित यूके भित्रिइन थाले । यस्तै नै, लन्डनको फेल्थामस्थित एक्स सर्भिस् मेनहरूको क्लबको पछाडि रहेको ठूलो फुटबलको चउरमा झापाका चन्द्र राई अक्सर एक्लै–एक्लै परिक्रमा लगाउँदछन् । चउरभन्दा केही अगाडिको दौडने ‘ट्र्याक’मा उनीजस्ता अनि उनकै उमेरका धेरै भूपू गुर्खाहरू आ–आफ्ना श्रीमतीसँग र कोही एक्लै–एक्लै पनि खासगरी घमाइलो दिनमा गफिइँदै चक्कर काटिरहेका हुन्छन्, तर चन्द्र राई सो भीडमा जान खासै रुचाउँदैनन् । …‘कारण अरू के हुनु बाबु, जहानको अति नै याद आउँछ । बेकारमा नै छोडेर आएको जस्तो लाग्दछ कहिलेकाहीँ त । उमेर पुगेकी छोरीलाई झिकाउन सके त उसको परिवारमा राम्रो हुने थियो भनेको, आफ्नो त राम्रो बन्दोबस्त भएको छैन । सानो कोठामा एकजना साथीसँग बसेको पनि दुई वर्ष भइसक्यो । महिनाको आउने ‘बेनिफिट’बाट सक्दो ‘बचाएर’ नाति र नातिनीको पढाइका लागि पैसा नेपाल पठाउनुपरेकाले नेपाल जानै सकिएको छैन । ज्वाइँ बितेकाले छोरी, नाति र नातिनीसित माइतमा बस्दछे, बाबु । हामीले मुद्दा जिते त ‘झ्वाप्पै’ सबै लिएर सधँैका लागि फर्कने थिएँ । के गर्नु ?’ एकपटक उनीसँगै त्यहाँ टहल्दै गर्दा धेरै कर गरेपछि बताएका थिए चन्द्र राईले । कतिपय भूपू गुर्खाहरू आफ्नै सत्संगभित्रै रमाउन चाहन्छन् र खुल्न चाहँदैनन् । लस्करै ट्र्याकमा हिँडिरहेका पूर्वतिरका भूपू गुर्खादम्पतीलाई धेरैपटक सोध्ने प्रयत्न गरिएको हो, तर तिनीहरू खासै खुल्दैन थिए । बेडफोन्ट सर्जरीमा मजेत्रोलाई शिरमा बेरेर एक अधबैंसे महिला, अधबैंसे तर अन्धा नेपालीलाई डो-याउँदै भित्र पस्छिन्, अन्धा अधबैंसेलाई काउन्टरको नजिक राखेर ‘..अब बोल..’ भन्छिन् । अधबैंसे अति नै आधारभूत अङ्ग्रेजीमा आफ्नो दुखेसो रिसेस्सनिस्टलाई सुनाउँछन् । पहिला दिएको कुनै औषधिले काम ठ्याक्कै नगरेकाले आफूलाई फेरि जाँच्नका लागि एक किसिमले अराउँदछन् । रिसेप्सनिस्टले ‘भर्खरै अनि तुरुन्तै त्यसो नहुने, र अप्वाइन्टमेन्ट दिने र त्यो पनि अर्को महिनाको पहिलो हप्तामा कुनै दिन हुने’ भन्छिन् । तर, ‘मान्छे अहिले मर्ने अनि ओखतिचाहिँ पछि हो कि क्या हो ?’ भन्ने आशयले आफ्नो दिक्दारी व्यक्त गरेका ती भूपू गुर्खा (सायद)को हालतको अनि उनको आशयले उनकै पछाडि उभिएका कुइरे बूढोलाई चित्त बुझ्दैन, ऊ आफूसँगै उभिएका महिलालाई हेरेर आफ्नो ‘दिक्कपन’को आभास दिन्छन्, महिलाको मनमा त अन्धो नेपालीको ‘लाचारीको महत्व’ नै हुँदैन । ‘आफूलाई हतार भएको’बारे बताउन थालेपछि अन्धा नेपालीकी श्रीमतीले उनलाई एकछिन एकतर्फ उभ्याउँदछिन् । ‘के समस्या भयो तपाईँहरूलाई ?’ भन्ने प्रश्नको उत्तर दिन, धेरै नै बेर लगाउने त्यो जोडीको अनुहारमा ‘एक नेपाली पनि साथै उभिएको’बारे खुसी देखिएन, एकप्रकारले सक्दो बेवास्ता गरे पनि अन्त्यमा ‘बेलाबेलामा छाती दुख्ने, अनि कम्मर पनि दुख्ने भएकोमा औषधि कामै नलाग्ने दिएको’बारे हतार–हतारमा वा सङ्क्षिप्तमा बताउन भ्याएका थिए, ती अधबैंसे नेपालीले । ‘आफूलाई साह्रै नै दुख्यो’ भनेर बिहान साढे आठ बजेतिर फोन गरे केही घन्टाभित्रमा नै ‘अप्वाइन्टमेन्ट’ मिल्न सक्छ र त्यसै गर्नका लागि सुझाव दिएकोमा ‘धन्यवाद’ भन्दै बाहिरिएका जोडीसँग पनि व्यत्याउन मिल्ने कथाहरूको चाङ होलान्, तर तिनले खोल्न नै चाहेनन् ।
सन् १९४७ पछि मात्र गुर्खा पेन्सन स्किम सुरु गरियो । दोस्रो विश्वयुद्धपछि सात हजार गुर्खा नेपाल फर्के वा फर्काइए । तीमध्ये तीन हजार चार सय ३८ जना मात्र सो पेन्सन स्किमअन्तर्गत अर्थात् चालीस पाउन्ड हरेक महिनाको दरले प्राप्त गरे भने बाँकीले केही पाएनन् । त्रिपक्षीय सम्झौतामा लेखिएअनुसार, पेन्सनको हकदार हुनका लागि कम्तीमा पन्ध्र वर्ष सेवा गर्नुपर्ने हालात थियो । ३२ हजार नेपाली युवा मारिएको सो ताकाको विश्वयुद्धमा अङ्गभङ्ग भएर बेहालातमा नेपाल फर्किनेहरू वा फर्काइनेहरू पनि हजारौँको सङ्ख्यामा थिए । नेपालका कतिपय गाउँहरू त पूराका पूरा युवकविहीन थिए । बूढाबूढी अनि छोरीबुहारीहरूका आँखाहरू महिनौँसम्म ओभानो नभएका प्रसङ्गहरू तत्कालीन साहित्यकारहरूले आफ्ना सिर्जनामा गरेका अहिले पनि पढ्न सकिन्छ । मनको अन्तरमा केही चिरिएर आउँछ, लाचार नेपाली इतिहासले मन धेरै नै क्षुब्ध बनाउँछ । मलायामा कम्युनिस्टहरूलाई दबाउनका लागि सन् १९४८ देखि १९६० सम्म हजारौँ नेपालीलाई खटाइए । मलायामा लाहुरे हुन जाने र पाउने सपनामा नेपालका गाउँघरमा युवा लालायित भएको अवस्था थियो त्यो । त्यसरी लाहुरे हुनका लागि गल्लावालाहरूलाई रिझाउन गर्ने कामहरू सर्वव्यापी थिए त्यतिखेर । गल्लावालहरू गाउँ तथा जिल्लामा आउँदा, तिनको सम्मान मालिकको जस्तो पनि गर्ने गरिन्थ्यो । मलायाको लाहुरेले कति पैसा तीन वर्षको अन्तरालपछि नेपाल फर्कँदा ल्याउँछ भन्ने हरेकको चासोको विषय जस्तो बनेको त्यो समय थियो । मलायामा बेलायती नागरिकका सेनालाई मलाया रकम चार सय ५० दिइने गरिन्थ्यो भने नेपाली नागरिकले जम्मा रकम ४३ पाउँदथे, तर सो बेला, नेपालमा त्यही रकम नै पर्याप्त थियो भन्ने बुझिने गरेर मलाया लाहुरेहरूको आकर्षण रहेको वास्तविकता हो । सन् १९६९ पछि गुर्खाहरूको सङ्ख्या सात हजारमा झारियो र त्यही क्रममा हजारौँ नेपाली खालीहातजस्तै गरी सेवाअवधिको बीचमा नै फर्काइएका थिए । ओखलढुङ्गाका बलविक्रम क्षेत्री पनि त्यही समूहमा थिए । हङकङ र मलाया गर्दागर्दै जागिर खाएको नौ वर्षमा नै काखेछोरोलाई श्रीमतीसहित च्यापेर पानीजहाजबाट हप्तौँ–हप्तौँ लगाएर नेपाल फर्कन बाध्य भएका उनी आजभोलि लन्डनमा छोराबुहारीसँग बस्दै छन् । एक जमानामा खाली हात नेपाल पठाइएका उनीजस्ता कैयौँ अहिले यूकेमा पेन्सनलगायतका अन्य सुविधासहित छन् । लगातार २६औँ वर्षदेखि गुर्खा हक र हितका लागि काम गरिरहेको गेसोको प्रारम्भिक सङ्घर्षको परिणाम थियो त्यो । (क्रमशः)