शब्द र शब्दहरू– २ :एउटा दिक्कलाग्दो अपराह्न ।
कालीप्रसाद रिजाल आफ्नो कार्यकक्षमा थिए ।
एउटा मानिस सुसेल्दै उनको अगाडि आइपुगे । कालीप्रसाद पनि आफ्नो मेचबाट उठेर उनको स्वागत–सत्कारमा लागे । नलागुन् पनि किन ? त्यतिखेर सर्वत्र चर्चा पाएका गायक नारायणगोपाल उनको अगाडि थिए ।
‘कालीप्रसादजी, म नारायणगोपाल !’ नारायणले भने ।
‘हजुर म चिन्छु नि, के छ, कताबाट आज यहाँ ?’
‘तपाई यहाँ हुनुहुन्छ भन्ने सुनेँ, अनि भेट्न आएको ।’ कसैलाई पनि भेट्न नजाने र भेटिहाले पनि राम्रोसँग नबोल्ने नारायणगोपालले उनलाई यसोभन्दा उनी निकै उत्साहित बने ।
त्यसपछि सूचना विभागमा नारायणगोपाल सुसेल्दै आउने क्रम बढ्यो । महिनामा एक–दुई बार उनी कालीप्रसादकहाँ आइपुग्थे ।
‘नारायणगोपाल गायक मात्र थिएन, एउटा अध्ययनशील मानिस पनि थियो । ऊ साहित्य, भूगोल, विज्ञान र समसामयिक सबै विषयमा रुचि राख्थ्यो । मान्छेहरू उनलाई रक्सीमा सीमित गर्छन्, तर ऊ त्यस्तो थिएन । ऊ त एक अध्ययनशील र जिज्ञासु मानिस थियो । जोसँग संसारलाई प्रफुल्ल पार्ने स्वर थियो,’ कालीप्रसाद भन्छन् ।
कालीप्रसाद र नारायणगोपालबीचको भेटमा गीत–सङ्गीतको कुरा पनि हुन्थ्यो । कुनै–कुनै गीत नारायण कालीलाई देखाउँथे । काली ‘यो गीतको तेस्रो लाइन राम्रो भएन, पहिलो निकै उत्तम’जस्ता प्रतिक्रिया दिन्थे भने नारायण ‘कसरी, किन’ भन्ने जिज्ञासा राख्थे । ‘तिमी भए के लेख्थ्यौ तेस्रो लाइनमा ?’ भनी सोध्न पनि भ्याउँथे । कालीप्रसाद पनि यस्तो लेखेको भए अझ राम्रो हुन्थ्यो भनी सुझाउँथे । त्यसताका उनीहरू निकै नै झ्याम्मिएका थिए ।
कुरा बत्तीस सालतिरको हो ।
त्यसताका गीतकार कालीप्रसाद रिजाल सूचना विभागमा थिए । धरान–विराटनगरमा हुर्किएका उनी विद्यालय र क्याम्पसकालीन दिनहरूमा खुव गीत–कविता लेख्थे । वाहवाही पनि पाएका थिए । कलेज पढाउन्जेल उनले फाट्टफुट्ट गीतहरू लेखी नै रहे, तर सरकारी जागिर खाएदेखि उनको गीतलेखन थन्किएको थियो ।
एक अपराह्न नारायणगोपाल त्यसैगरी सुसेल्दै कालीप्रसादको कार्यकक्षमा आइपुगे ।
‘मलाई एउटा गीत चाहियो । तिमी लेख ।’
कालीप्रसाद अक्क न बक्क परे । कसरी लेख्नु ? ‘मैले कहाँ सक्छु र तिमीलाई मनपर्ने गीत लेख्न ?’
‘मलाई मनपर्ने होइन, दुनियाँलाई मनपर्ने गीत चाहिएको छ । तिमी लेख्न सक्छौ । लेख ।’ नारायणले जिद्दी गरे । उनले ‘नाइँ’ भनेनन् पनि ।
जब कालीप्रसाद भूमिसुधारका हाकिम भए । त्यसपछि उनले गीत लेख्न छाडेका थिए । गीतकार कम र सरकारी कर्मचारी बढी भएका थिए । त्यसताकाका कर्मचारी भनेको जी–हजुरीमा टिकेको काम न थियो । अलिकति आदरणार्थी शब्दहरूको मेसो बिग्रियो कि जागिर धरापमा । हाकिमले जे भने पनि हो हजुर भन्नुपर्ने । ‘हजुरले बडा मनसिव कुरा गरिबक्स्यो हजुर, ठ्याक्कै यही हो नि त गर्नुपर्ने ।’ जे कुरामा पनि यसै भन्नुपर्ने अवस्था । तर, नारायणगोपालको आग्रहपछि उनी फेरि गीत लेख्न कस्सिए ।
उनले सूचना विभागको कार्यकक्षमा ढोका थुनेर एउटा गीत लेखे–
‘आँखा छोपी नरोऊ भनी भन्नु प-या छ
मुटुमाथि ढुङ्गा राखी हाँस्नु प-या छ’
गीत लेखेलगत्तै उनी तल ओर्लिए । एक कप चिया पिए । उनलाई डर पनि लाग्यो । यो गीत नारायणगोपलले मन पराएन भने ? उनलाई कताकता अप्ठ्यारो प-यो । मन परेन भन्यो भने के भन्ने ? आफूमाथि उसले त्यत्रो विश्वास गरेको छ । उसलाई गीत नराम्रो लाग्यो भने त नमजा हुन्छ । अनि फेरि अर्को गीत लेख्न उनी उक्लिए – आफ्नै कार्यकक्षमा ।
गीत लेखी पनि हाले –
झरेको पात झैँ भयो उदास मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी
दुईटा गीत लेखेपछि भने कालीप्रसाद केही ढुक्क भए । एउटा त कसो नारायणगोपालले मन नपराउलान् भन्ने भयो ।
दुई दिनपछि भनेकै समयमा सूचना विभागमा नारायणगोपालको सुसेली सुनियो । उनी सुसेल्दै कालीप्रसादको कार्यकक्षमा छिरे । पस्नेबित्तिकै सन्चो–बिसन्चो केही नसोधी नारायणले झम्टिहाले, ‘खोई गीत लेख्यौ त ?’
‘छोड न गीतको कुरा । पहिला सुनाऊ के छ हालचाल ?’ कालीप्रसादले भने ।
‘पहिला गीत नै चाहियो । खोइ गीत ?’
गीत नदिई कालीप्रसादलाई सुखै भएन । उनले कोटको खल्तीबाट गीत निकालेर नारायणलाई दिए । नारायणले दुवै गीत पालैपालो पढे र भने, ‘ल म हिँडेँ ।’ यसो भन्दै नारायणगोपाल उनको कार्यकक्षबाट बाहिरिहाले पनि ।
त्यसको दुई दिनपछि नारायणगोपाल एउटा क्यासेट चक्का लिएर कालीप्रसादकहाँ आए ।
नारायणगोपालले दुवै गीत रत्न रेकर्डिङ संस्थानमा रेकर्ड गराएछन् । दुवै गीत बेजोड बनेछन् । चाँडै नै दुवै गीत लोकप्रिय बने । नेपाली सुगम सङ्गीतका यी कालजयी गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् । तर, यी दुईमध्येको एक गीतको तत्कालीन यात्रा सहज बनेन ।
तत्कालीन राजा वीरेन्द्रकहाँ कोही एकजनाले जाहेरी हालेछ । ‘मौसुफ हजुरको राज्यमा सूचना विभागको हाकिमजस्तो मानिसले मुटुमाथि ढुङ्गा राखी हाँस्नु प-या छ भनेर लेख्ने ? यस्तो गीत लेख्नेलाई त सजाय हुनुपर्छ । सामान्य जनताले लेखेको भए कुरा बेग्लै, तर यो त सरकारको नुन खाएको मानिसले लेखेको हो । उचित कारबाही होस् ।’
निवेदनमाथि राजा वीरेन्द्रले ‘आवश्यक कारबाही अघि बढाउनू’ भनेर तोक लगाइदिएछन् । त्यसपछि मर्नुप-यो कालीप्रसाद रिजाललाई । ‘अहिले सम्झिँदा त निकै डर लाग्छ । सेनाले कतै लगेर ठोकिदिन पनि सक्थ्यो नि । त्यसबेलाको के भर ? राजाको शासन भएको पञ्चायती व्यवस्थाको बेला जे पनि हुन सक्थ्यो । तर, त्यस्तो भएन । एउटा जाँचबुझ समिति बन्यो र त्यसले जाँचपड्ताल ग-यो,’ कालीप्रसाद रिजाल भन्छन् ।
राजाकहाँ निवेदन परेलगत्तै ‘आँखा छोपी नरोऊ भनी भन्नु प-या छ’ गीत ब्यान्ड भयो । एउटा मात्र रहेको रेडियो नेपालमा गीत बजाउन प्रतिबन्ध लगाइयो । चर्चामा रहेको गीत एकाएक बन्द भयो । तत्कालीन सञ्चारसचिव तीर्थराज तुलाधर, रेडियो नेपालका निर्देशक भोग्यप्रसाद शाह र एकजना विशेषज्ञसहितको समितिले गीतको शब्द–शब्द केलाउन थाल्यो । यता सूचना विभागका प्रमुख कालीप्रसादको मनमा डर उस्तै थियो । के भन्ने हो, के प्रतिवेदन दरबारमा बुझाउने हो ? भन्ने डर उस्तै नै थियो ।
‘त्यसबेला कर्मचारीले दुइवटा ठाउँ रिझाउनुपथ्र्यो– एउटा मन्त्रालय अर्को दरबार । अझ दरबार रिझाउन सकिएन भने त कुनै पनि बेला जे पनि हुन सक्थ्यो ।’ नयाँ कवितासङ्ग्रह यसै साता बाहिर ल्याउँदै गरेका कालीप्रसादले तत्कालीन कुरा उप्काए, ‘स्वाभिमानी र जी–हजुरी गर्न नसक्ने मजस्तो हठी मिजासको मान्छेलाई निकै गाह्रो थियो ।’
निकै लामो अध्ययनपछि समितिले गीतका शब्द व्यवस्थाविरोधी नभएको प्रतिवेदन दरबारमा पेस गरेपछि ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प-या छ’ भन्ने कालजयी गीतले पुनः प्रसारण अनुमति पायो र तपाईं–हामी सबैले गीत सुन्न पायौँ ।
प्रतिक्रिया