०२९ मा वन–जङ्गल तथा वन्यजन्तु संरक्षण ऐन बन्नुअघिसम्म नेपालका वन–जङ्गलको जथाभावी दुरूपयोग हुँदै आएको थियो भने जङ्गली जनावर मारेर त्यसमाथि चढेर, जनावर मार्न प्रयोग गरिएको बन्दुक देखाएर फोटो खिचिन्थ्यो । यसो गर्दा आफूलाई बहादुर ठानिन्थ्यो र जसले आफूलाई त्यो कर्म गरेर बहादुर ठान्थ्यो त्यो मान्छे विशेषगरी ‘राणा’ थरको हुन्थ्यो । यदि त्यो थरको नभए तिनीहरूकै चाकडी गर्ने कोही नेपाली हुन्थ्यो वा राणाले खुसी पार्न चाहेका कुनै विदेशी वा तिनको समूह हुने गथ्र्यो । यो तथ्यलाई पुष्टि गर्न रुद्रशमशेरका नाति, ईश्वरशमशेरका छोरा विक्रमसम्वत् १९८२ मा जन्मिएका पुरुषोत्तमशमशेर जबराको जीवन भोगाइमा आधारित पुस्तक पढ्न सकिन्छ ।
समयको प्रवाहका कारण बिस्तार–बिस्तार मानव चेतना विकसित हुँदै गयो । यही क्रममा नेपाली जनताको पनि सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक चेतनास्तर अकासिँदै गयो । अवैज्ञानिक, अव्यावहारिक, न्यायविहीन जहानियाँ राणाशासनविरुद्ध केही राणा परिवारका सदस्यहरू र बाँकी अपवादलाई छाडेर सबै नेपालीले राणाशासनको विरुद्ध भौतिक र अभौतिक दुवै लडाइँ लडे । राणालाई हराए, आफूले जिते । शासक राणाहरूले हारेको झन्डै २२ वर्षपछि नेपाली जनताको पनि सहभागिता रहेको सरकारले जतिबेला नेपालको राजदरबारमा नयाँ राजाको रूपमा श्री ५ वीरेन्द्र उदाएका थिए वन–जङ्गल विनाश गर्न रोक लगाउने र जनावर मार्दा सजाय हुने कानुन निर्माण ग-यो । त्यतिबेलादेखि बिस्तारबिस्तार जङ्गल मासिने र जङ्गली जनावर मारिने क्रममा १०० बाट ९९ हुँदै कमी आउन थाल्यो । विश्वका जङ्गलहरूबाट खासगरी बाघ, गैँडा, हात्तीजस्ता जनावर तीव्र रूपमा घट्न थालेपछि विकसित मुलुकका विद्वान्हरूले संसारबाट यस्तो दुर्लभ सावित महत्वपूर्ण जनावरहरूलाई लोप हुन दिन हुँदैन भन्ने सन्देश प्रवाह गरेसँगै दुनियाँले जनावर संरक्षणमा ध्यान दिन थाले । त्यसको प्रभाव नेपालमा पनि प-यो र बल्ल नेपाल सरकारले गैँडा, बाघ, हात्ती संरक्षणमा सक्रियता देखायो । त्यो क्रम आज पनि निरन्तर छ । नेपालको जङ्गली जनावरको प्रसङ्गमा चर्चा गर्दा अन्य जनावर प्राकृतिक कारणले पनि जोखिममा परे । वर्षाको मौसममा पर्नुपर्नेजति पानी नपर्दा निकुञ्जभित्रका तालतलैया सुक्नु, मान्छेका अनेकअनेक गतिविधिका कारण मौसम र वायुमण्डलमै नकारात्मक असर पर्नुजस्ता कारणले थुप्रै जीव–जीवात्माको अस्तित्व धरापमा प-यो, तर जहाँसम्म सवाल विश्वमा अति दुर्लभ मानिएको एकसिङ्गे गैँडाको छ यो जीव सीधा प्राकृतिक कारणले मात्रै सकिने अवस्थामा पुगेन । स्वदेशी र विदेशी मानव मस्तिष्कमा गाडिएको विध्वंसकारी विचारका कारण पनि सङ्कटमा प-यो । गैँडा अरू जनावरभन्दा किन ज्यादा खतरामा प-यो ? जवाफका लागि केही शब्द निर्माण गर्ने प्रयत्न गरौँ ।
वयस्क गैँडाको टाउकोमा नाकमाथि एक फुटजतिको अग्लो भाग हुन्छ त्यसलाई नेपाली भाषामा ‘खाग’ भनिन्छ । त्यो खाग भन्ने गरिएको गैँडाको अङ्ग ‘रौँहरूको गुजुल्टो हो जुन रौँहरू कडारूपले खाँदिएर’ बनेको हुन्छ । पहिलेपहिलेका बद्मास राणाशासकहरूले कमजोर बुद्धिका कारण त्यो ‘खाग’ यौनशक्ति बढ्छ भन्ने विश्वासमा विभिन्न तरिका अपनाएर खान थाले । राणाहरूको यो तौरतरिका देखेर तिनको सङ्गतमा आएका केही विदेशीहरूले पनि सोही प्रयोजनका लागि र कसैले अन्य खालका औषधि बन्छ भन्ने विश्वासमा गैँडाको ‘खाग’ खोज्न थाले । ‘खाग’का लागि गैँडा मार्नैपर्ने भयो । राणाहरू शासनमा रहँदादेखि बनेको गैँडा मार्ने च्यानल कमजोर थिएन । ‘खाग’का लागि धनी र शक्तिशाली स्वदेशी, विदेशीहरूले जति ठूलो धनराशि पनि तिर्न तयार भए । यही कारणले पनि गैँडा मार्ने अपराधको शृङ्खला आज पनि निमिट्यान्न भएन, जारी छ । अन्धविश्वास मानव संसारमा अस्तित्वमा रहिरहेको एउटा यस्तो खतरनाक रोग हो जसको अचुक औषधि के हो आजसम्म पत्ता लाग्न सकेन । भूत, प्रेत, पिसाच, डंकिनी, बोक्सी, झाँक्री हुन्छ र यिनले नकारात्मक प्रभाव पार्छन् भन्ने कहावत नेपालमा मात्रै होइन, विश्वका थुप्रै मुलुकमा कहिन्छ । कानुनमै बन्दोबस्त गरेर कसैले कसैलाई बोक्सी आरोप लगाउन पाइँदैन भनिएको छ, तर नेपालमा अझै त्यो अन्धविश्वासको प्रभाव देखिएको छ र कुनै कमजोर महिला वा पुरुषलाई दिसा, पिसाब खुवाएर यातना दिइएको छ । बेलाबखत यस्ता घटना घटिरहेका छन् ।
त्यस्तै गैँडाको ‘खाग’ के काम लाग्छ वैज्ञानिक परीक्षणबिना नै रुढिवादका कारण ‘खाग’ प्राप्तिका लागि गैँडाजस्तो एक निर्दोष प्राणीको अपराधीहरूले हत्या गरिरहेका छन् । भौतिक दुनियाँका वैज्ञानिकहरूलाई मान्नुपर्ने यतिबेलाका मानिसलाई एकप्रकारको बाध्यता पनि छ । त्यही कोणबाट ब्याख्या गर्दा यदि वैज्ञानिकले गैँडाको खाग औषधिको रूपमा यो तरिकाले प्रयोग गर्न सकिन्छ भन्ने जानकारी दिएका थिए भने ‘लौ गैँडा समाप्त पारौँ र क्षणिक मस्ती गरौँ’ भन्न पनि सुहाउँथ्यो । तर, अन्धविश्वासकै कारण आज संसारमा दुर्लभ गैँडालाई एक–एक गरी मार्दै सिध्याउँदै गर्न लागिएको छ, यो नेपाल र नेपालीका लागि दुर्भाग्यबाहेक अरू हुनै सक्दैन । फेरि अचम्म र उदेकलाग्दो विषयचाहिँ के देखिन्छ भने गैँडा संरक्षणका लागि सरकारी कर्मचारी छन्, एक डफ्फा सेनासमेत तैनाथ गरिएको छ, जासुसहरू परिचालन गरिएको छ । यतिबेला त केही जागरुक युवापङ्क्तिसमेत स्वयम्सेवकको रूपमा खटिएका छन् । यति भईकन नेपाली जनताको साझा सम्पत्ति दुर्लभ एकसिङ्गे गैँडा कसरी मारिन्छ र खाग लुटिन्छ ? ठीक जवाफ यस्तो हुन सक्छ– ‘जति शक्तिशाली र साधनस्रोत सम्पन्न संरक्षणकर्मीहरू छन् तीभन्दा खाग तस्करहरू कुनै पनि हालतमा कमजोर छैनन् ।’ आजसम्मको नतिजाले यही भन्छ । उसो भए को हुन सक्छ त्यति बिघ्न शक्तिशाली तस्कर जो सिङ्गो नेपाल सरकारसँग जोरी खोज्छ र सिँगौरी खेल्छ ? गैँडा मार्छ र त्यो खाग विदेशीलाई डलरमा बेच्छ ?
पुरुषोत्तमशमशेरको पुस्तकमा उल्लेख गरिएको छ– ‘त्यतिबेलाको शक्तिशाली राजदरबारका बहिनी–छोरीहरू नै अनेक खालको तस्करीमा सामेल थिए ।’ यसलाई प्रमाण मान्दा अनुमान लगाउन सकिन्छ कि तस्करीमा सानो व्यक्ति वा समूह संलग्न हुनै सक्दैनन् । नेपालमा यतिबेला राजतन्त्र समाप्त भइसकेको छ । शाह र राणा थरका मान्छेहरू खासै शक्तिकेन्द्रमा छैनन् । यतिबेला नयाँ शक्तिकेन्द्रहरूको रूपमा अनेक–अनेक शक्ति निर्माण भएका छन् । जसको अनुहार हेरे पनि उस्तै देखिन्छ । कसैले कसैलाई ‘गैँडा हत्यारा’ भन्न सक्ने अवस्था छैन, तर पक्का कुराचाहिँ यही हो गैँडा हत्या गर्ने नेपाली नै हो । बन्दुक पड्काउने हात र रगत चुहाउँदै गैँडाको शरीरबाट खाग रेटेर छुट्याउने पनि नेपाली हात नै हो । तर, थाहा छैन त्यो निर्दोष गैँडाको शरीरबाट छुट्याइएको खाग पोको पारेर कसले काठमाडाँै पु-याउँछ ? त्यो काठमाडौबाट कसले छिमेकी मुलुकको सिमानासम्म पु-याउँछ ? कसले कसलाई कति हरियो डलर दिन्छ ? त्यो हरियो डलरबाट कसले कति करोडको गाडी चढ्छ, ठूलो घर बनाउँछ र महँगो रक्सी पिउँछ ? योचाहिँ हत्तपत्ति थाहा हुँदैन, आजसम्म भएको छैन ।
कुरा प्रस्ट छ– नेपाली जनताको सरकार औधी कमजोर छ किनकि यसले पूरा राज्यसत्ता आफ्नो मुठ्ठीमा भएको बखतमा समेत एउटा गैँडा जोगाउन सकेन । तस्करलाई पक्रिएर कानुनको कठघरामा ल्याउन सकेन । नेपाली जनतालाई गैँडा भविष्यका नेपालीको पनि सम्पत्ति हो जोगाउने काममा लागौँ भन्न सकेन । यति मामुली काम पनि गर्न सक्दैनन् भने नेपालको यतिबेलाको सरकार र अब नयाँ सरकार बनाउन तम्तयार दलहरूबाट के आशा गर्ने ? तर, सरकार सक्षम होस्–नहोस् आफ्नै ठाउँमा छ, देश नेपाली जनताको हो । गैँडा हाम्रै सम्पत्ति हो । अब अरूले होइन, निकुञ्जवरिपरिकै जनताले गैँडा जोगाउनुपर्छ । यसका लागि शङ्कास्पद काम गर्ने व्यक्ति र संस्थाहरू माथि निगरानी गरेर संरक्षणकर्मीलाई सहयोग गर्नुपर्छ त्यसका लागि कुनै जटिल चुनौतीको सामना गर्न नै किन नपरोस् । गैँडाको निरन्तरको मृत्यु नेपाली छातीमा हरेक कोणबाट पर्ने बन्चरोबाहेक अरू केही होइन । खासगरी चितवन, बर्दिया, नवलपरासी र मकवानपुरतिरका जनतालाई चेतना भया ।
प्रतिक्रिया