सानीनानीको यो कस्तो बानी !
जङ्गली जनावर भन्नेबित्तिकै प्रायः सबैको मनमा डरत्रासको भाव पैदा हुन्छ । केटाकेटीलाई त झन् नामै लिनुहुन्न, तर्सिहाल्छन् । तर, साउदी अरबको रियादमा एक यस्ती बालिका छिन् जो जङ्गलको राजा भनिने सिंह, चितुवा, ब्वाँसोजस्ता जनावरबिना निदाउनै सक्दिनन् । सुन्दा आश्चर्य लागे पनि मदावी अल अनजी नामक ती १० वर्षीया बालिकाको दिनचर्या यस्तै छ । उनी ती जनावरसँग पटक्कै डराउँदिनन् र ती जनावरले पनि उनलाई कुनै नोक्सानी पु-याएका छैनन् । हरेक दिन घन्टौँ शेर र चितुवासँग खेलेर मात्र नपुगी उनी तिनीहरूलाई आफ्नै कोठामा राख्छिन् र सँगै सुत्छिन् पनि । ती जनावर यति नजिकका साथी हुन् कि मेरो जिन्दगी नै हो भन्छिन् उनी । अनजीलाई उनका पिताले नै यसरी जङ्गली जनावरसँग बस्ने तालिम दिएका रहेछन् । अनजी आफू त्यसरी खतरनाक जङ्गली जन्तुसँग रहे पनि अरू बालबालिकाहरूलाई चाहिँ त्यसो नगर्न सचेत गराउँछिन् । बिनातालिम जङ्गली जनावरसँग हिमचिमको कोसिस गर्न नहुने उनको सुझाव छ ।
स्थुल काया कालको छाया
पुष्ट वा मोटो शरीर कुनै बेला स्वस्थताको प्रतीक मानिन्थ्यो, तर आजको विज्ञान ठीक उल्टो तर्क गर्दछ । टोरन्टोमा गरिएको एक अध्ययनले ज्यादा शारीरिक तौल वा मोटोपनले ग्रसित हुनुको सोझो अर्थ कमसेकम जीवनको आठ वर्ष छोट्टिनु हो भन्ने देखाएको छ । उक्त अध्ययनले आवश्यकताभन्दा बढ्ता मोटोपनले शरीरलाई अत्यधिक धुमपान गरेभन्दा बढी घाटा पु-याउनेसमेत पुष्टि गरेको शोधकर्ताहरूको दाबी छ । क्यानडाको म्याकगिल विश्वविद्यालयका प्रोफेसर स्टिवन ग्रोवरका अनुसार अधिक मोटोपन भएका व्यक्ति हृदयरोग एवम् मधुमेहबाट ग्रसित हुनु सामान्य नै हो, जसले व्यक्तिको पूर्ण आयुमध्ये एक दशकजति हरहालतमा छोट्याइदिन्छ । शोधकर्ताहरूले सन् २००३ देखि २०१० सम्मको तथ्याङ्कलाई समेत आधार मानेर यस्तो तथ्य सार्वजनिक गरेका हुन् ।
दश हजार नाघेपछि एउटाको खोजी
दश हजार एकानब्बेजना पुरुषसँग यौन सम्बन्ध गाँसिसकेकी कुनै महिलाले आफूलाई एक स्वच्छ र मायालु पुरुषको प्रेमको प्यासी व्यक्तिका रूपमा चित्रित गरिन् भने हाम्रोजस्तो समाजले कुन रूपमा लेला ? हाम्रो समाज वा संस्कृतिले जेसुकै भने पनि अस्ट्रेलियाकी ३६ वर्षीया ग्वेन्थ मोन्टिनेग्रोलाई भने कसैले चोरऔँलो ठड्याउन सकेका छैनन् । बरु त्यत्तिका पुरुषसँगको आफ्नो शारीरिक सम्बन्धबारे खुलेर सम्पूर्ण विवरणसहितको पुस्तक नै प्रकाशित गरेर चर्चामा आएकी मोन्टिनेग्रो यतिबेला एक सेलिब्रेटी नै बन्न पुगेकी छिन् । एक ट्रेन्ड पाइलटसमेत रहेकी मोन्टिनेग्रोले १५ वर्षअघि पुरुष बदल्दै शारीरिक सन्तुष्टि लिने उपक्रम सुरु गरेकी थिइन्, जसलाई तीन वर्षअघि उनले पूर्णरूपले त्यागिन् र दश हजारभन्दा बढी पुरुषसँगको यौन समागमको अनुभवलाई पुस्तकमा उतार्ने साहसपूर्ण कार्य सुरु गरिन् । आफ्नो पुस्तकमा उनले बाह्रवर्षे उक्त अवधिमा अस्ट्रेलियाका राजनीतिज्ञ, वकिल, कलाकर्मीलगायत नामी–नामी व्यक्तिहरूसमेत आफूसँग शारीरिक प्यास मेटाउन कति लालायित हुन्थे भन्ने कुराको पोल खोलेकी छिन् । आफ्नो पेसाको चरमोत्कर्षमा घन्टाको हजार डलरसम्म हासिल हुने गरेको पनि उनले खुलासा गरेकी छिन् । पुस्तक प्रकाशन भएपछि आफ्ना फ्यानको सङ्ख्यामा चौगुना वृद्धि भएको र असीभन्दा बढी बिहेको प्रस्ताव आएको उनको दाबी छ । छिट्टै एक लायक र मायालु पुरुष छानेर आफू वैवाहिक बन्धनमा बाँधिने ग्वेन्थले सार्वजनिक घोषणा गरेकी छिन् ।
हाँसी–हाँसी गलामा फाँसी
जीवनप्रति वैराग्य छाएर बाँच्नै नसक्ने अवस्थामा पुगेका मानिसले आत्महत्या गर्न सर्वाधिक अवलम्बन गर्ने उपाय हो– गलपासो । हुन पनि घाँटीमा पासो लगाएर झुन्डिएको व्यक्ति जीवित रहेको पाइँदैन । चीनको दिङ्ताओनिवासी ली लियाङविन भने अपवादका पात्र बनेका छन् । ४९ वर्षीय लियाङविन आफ्नो गलामा डोरी कसेर रूखको हाँगोमा झुन्डिन्छन् र पनि आरामले सास फेरिरहेका हुन्छन्, मानौँ उनी सोफामा बसेर आराम फर्माइरहेका छन् । यस्तो कसरी सम्भव भयो त ? लीको कठोर अभ्यासले यस्तो असम्भव कार्य पनि सम्भव बनेको रहेछ । वास्तवमा उनी एक मार्सलआर्ट एक्सपर्ट हुन्, जसले सानै उमेरदेखि विशेषगरी आफ्नो घाँटीका मांसपेसीलाई नियन्त्रणमा राख्ने अभ्यास गर्दै आएका रहेछन् । दृढ इच्छाशक्ति, अनुशासन र लामो समयदेखिको अभ्यासले मृत्युलाई नै छक्याउने यस्तो दुर्लभ कर्म गर्न सक्षम बनेका ली कसैले पनि यस कार्यलाई खेलाँची सम्झेर प्रयोग गर्न नहुने सुझाव दिने गर्छन् ।
मोबाइल चार्ज गर्ने यो कस्तो विधि ?
आजको युगलाई प्रविधिको युग भनिन्छ । हुन पनि आजभोलि मानिस प्रविधिमाथि यति निर्भर बन्न पुगेका छन् कि प्राकृतिक रूपले जीवन निर्वाह गर्ने कुरा अब कोरा आदर्श मात्र बन्न सक्छ । प्रविधिमाथि यतिबिघ्न भर पर्नु कति जायज होला ? यसबारे चेतना जागृत गर्नु अपरिहार्य बन्न पुगेको छ । हो, यही उद्देश्यले हालै अमेरिकाको मियामीमा ‘आर्ट बेसेल मियामी’ नामक प्रदर्शनी आयोजना गरिएको थियो । प्रदर्शनीकोे खास आकर्षण बन्यो लिना मार्कुइस नामक एक महिलाको विशेष प्रदर्शन । मोबाइल फोन चार्ज गर्न सम्बन्धित फोनको चार्जर प्रयोग नगरी लिनाले अनौठो तथा नौलो विधि प्रदर्शन गरेकीले उनी मेलाकै आकर्षण बनेकी हुन् । मोबाइल चार्ज गर्ने उनको तरिका यति उदेकलाग्दो थियो कि मेलाका तमासेहरू हेरेकोहे-यै भए । प्रदर्शनीमा लिनाले आफ्नो शरीरको प्राइभेट पार्ट (गुप्ताङ्ग)मा जडित एक उपकरणलाई माध्यम बनाएर आरामपूर्वक मोबाइल चार्ज गरिदिइन् । मेलामा उपस्थित हजारौँले उनको उक्त साहसपूर्ण कार्य सुरुचिका साथ हेरेर आनन्द लिए । प्रदर्शनी आयोजकहरूको उद्देश्यअनुसार लिनाको सो कार्यमार्फत प्रविधिमाथि मानिसको निर्भरताबारे सर्वसाधारणले कति ज्ञान पाए या पाएनन् कुन्नि ! तर, महिलाको गुप्ताङ्गमा जडित प्रविधिमार्फत पनि मोबाइल चार्ज भएको देखेरचाहिँ दुनियाँ छक्क प-यो ।
प्रतिक्रिया