राजनीति ? कुरै नगर्नुस्

राजनीति ? कुरै नगर्नुस्


nisedh२०४८ मा राष्ट्रियसभामा सुशीला शर्मालाई मनोनित गरिएपछि नेपाली काङ्ग्रेसकै सुशीला नाम गरेकी अर्की नेतृ निरास र हतास भएर नेता कृष्णप्रसाद भट्टराईकहाँ गइछन् । हतास सुशीलालाई देखेर नेता भट्टराईले ‘के भयो?’ भनेर सोधेछन । आँखाभरी आँशु पारेर उनले भनिछ्– ‘किसुनजी, मलाई राष्ट्रियसभाको सदस्य बनाउछु भनेर तपाईंले सुशीला शर्मालाई बनाउने ? के गरेको यो ?’ केही थाहा नपाएझैँ गरी किसुनजीले भनेंछन्, ‘होइन, तिम्रो नाम गइसकेको छ त, मैले भनिसकेको छु, हुन्छ ।’ ‘किसुनजी, रेडियोले सुशीला शर्मा भनेर नाम भनिसक्यो, मलाई त ठुलो धोखा भयो नि !’ त्यसपछि किसुनजीले ‘ए हो र ?’ भन्दै ‘कसरी त्यस्तो भयो त, हुनै नपर्ने, मैले सुशीला भनेर टिपाएँ उनीहरूले शर्मालाई पो बनाएछन् ? मैले त तिम्रै नाम भनेको थिएँ । भइहाल्यो अब छेडिदेउ, अर्कोपल्ट गरुँला’ भनेर किसुनजीले भनेपछि ‘हुन्छ किसुनजी, अर्कोपल्टचाहिँ फरक नपरोस है’ भन्दै उनी त्यहाँबाट निस्किइछन् । उनी हिँडेपछि आफुसँगै रहेका आफ्ना चेला कानून ब्यवसायीसँग किसुनजीले भनेंछन्– ‘हेर्नुस् त महिलाहरू कति ब्यवकुफ हुन्छन् ! मैले त यिनलाइ नै बनाउन खोजेको थिएँ भनेर दङ्ग परेर गइनँ । यिनीहरूलाई त केही थाहै हुँदैन क्या !’ आफ्नै दलका ‘उच्च स्तरीय’ नेतृत्व वर्गले महिला नेता कार्यकतालाई कसरी हेर्छन या हेरि रहेका हुन्छन् भन्ने कुराको सानो उदाहरण हो यो । नेपालको राजनीतिको उच्च पदमा या भनौँ निर्णायक तहमा महिलाहरू छैनन्, जति छन् तिनको पनि प्रभाव ज्यादै न्युन छ । जसका कारण कुनै पदको कुरा जब आउँछ, पुरुषहरू दिने र महिलाहरू लिने ‘पोजिसन’मा देखिन्छन् । संविधानसभाको निर्वाचनअघि राजधानीमा आयोजित एक कार्यक्रममा राजनीतिक दलका नेताहरूको छलफल गजबको थियो । प्रतिनिधित्वको सवालमा कुरा भइरहेको थियो जहाँ एनेकपा माओवादीकी नेतृ हिसिला यमी ‘हामी (महिला)लाई यति चाहिन्छ, हुनैपर्छ ।’ भनेर माग गरिरहेकी थिइन् भने समान हैसियतका (दुवै केन्द्रीय सदस्य)नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीचाहिँ हामी यतिसम्म कोशिस गर्छौं भनिरहेका थिए । यो कुनै राजनीतिक दलविशेषको कुरा होइन, जुनसुकै दलमा पनि महिला माग्ने र पुरुष दिने ‘पोजिसन’मा रहेको देखिन्छ ।
नेपालको राजनीतिमा महिलाको सहभागिता धेरै पुरानो हो । तर, जतिसुकै पुरानो भए पनि राजनीतिक दल र सरकारमा महिलाले समान हैसियत प्राप्त गर्न भने सकेका छैनन् । हाम्रोजस्तो मुलुकमा राजनीति गर्नु महिलाका लागि सहज कुरा होइन । तर पनि जिल्ला–जिल्लामा महिलाहरू राजनीतिमा संलग्न छन् । हालै सम्पन्न अन्तरपार्टी महिला सञ्जालको राष्ट्रिय सम्मेलनमा भाग लिन ७५ वटै जिल्लाबाट राजधानी आएका जिल्ला नेतृहरूका कुरा सुन्दा राजनीतिमा महिलाहरू धन्नै टिकिरहेका छन् भन्ने अनुभुति भयो । राजनीति गर्न कति सहज छ ? भन्ने प्रश्नमा धेरैले भनेका थिए– ‘ओहो, राजनीति ? कुरै नगर्नुस् बरु अरु कुनै काम गरेको भए यतिका वर्षसम्ममा केही न केही त हुन्थ्यो होला जस्तो पनि लाग्छ कहिलेकाहीँ । हामी कोशिस त गरिरहेका छौँ तर अरुसँग लड्न सजिलो आफ्नैसँग गाह्रो ।’ बर्दियाकी एक राजनीतिकर्मीले त ‘तिम्रो अन्तर्घातको कथा कहाँ लेखियो र ?’ भन्ने गीत मानिसहरूको ब्यक्तिगत जीवनमा मात्र नभएर राजनीतिमा पनि लागु हुने बताइन् । भनिन्– ‘बल्ल बल्ल आफ्नो ठाउँ बनायो, टिकट पाएपछि आफ्नैले अन्तर्घात गरेर उठ्न दिँदैनन् ।’ चुनावमा अन्तर्घात त पुरुषहरूलाई पनि हुन्छ तर महिलाहरूलाई भने अलि बढि नै हुने गरेको देखिएको छ । गत संविधानसभामा धादिङ क्षेत्र नं ३ बाट नेपाली काङ्ग्रेसकी नेतृ बुद्धलक्ष्मी लामाले टिकट पाएपछि सो क्षेत्रका केही कार्यकर्ताले भनेको सुनिएको थियो– ‘अब ति दिदीले जितिन् भने पनि आइमाइसँग मेरो काम गरिदेउ न भनेर के जानु ? खै के गर्ने गर्ने…!’ यसो भन्नेहरूले उनलाई भोट दिए होलान् भनेर भन्न सकिँदैन । यसप्रकारको एटिच्युट अहिलेसम्म जिवीत रहेको देख्दा त्यतिबेला अचम्मै लागेको थियो । ‘महिलासँग पनि के डिमान्ड गर्नु ? यिनीहरू त दिने जात पो हो त’ भन्ने एटिच्युट एकातिर देखिन्छ भने आफूलाई टिकट नदिएको बदलामा अन्तर्घात गर्नेहरूको ताँती ठुलो छ । अरू दलभन्दा विशेषगरी नेपाली काङ्ग्रेसमा यो प्रवृत्ति बढि छ ।
राजनीतिमा लाग्ने महिलाहरूको सबैभन्दा ठुलो समस्या भनेको आर्थिक हो । समस्या त अरु पनि छन्, तर धेरै समस्या अर्थको वरिपरि नै घुमिरहेका हुन्छन् । आफुसँगै राजनीतिमा प्रवेश गरेका कतिपय पुरुष मित्रहरू गाडी चढेर हिँडे पनि धेरैजसो महिलाको आफ्नो सवारी साधन छैन । जिल्लामा मात्र नभएर राजधानीमै राजनीति गर्नेहरूको पनि समस्या हो यो । आफुसँग सवारी साधन नभएपछि बैठक तथा अन्य कामका लागि बाहिर निस्किँदा अरुको लिफ्ट माग्नै प-यो । कुनै सहकर्मीको मोटर या मोटरसाइकलमा लिफ्ट लिएकै आधारमा कतिपय राजनीतिकर्मी महिलाको चरित्र हत्या गरिएको छ । लिफ्ट हो सधैं एकै जनासँग लिने कुरा भएन, अनि त्यस्तो बेलामा भन्ने गरिन्छ, हेर हिजो एउटासँग, आज अर्कैसँग…, महिलाहरूलाई खसाउनका लागि ठुलो प्रयास गर्नु पर्दैन चरित्रको मसलासँगै ‘खत्तम’को ट्याग भुुण्डाइदिए पुग्छ । प्रमाणित गरिरहनु नपर्ने भएकाले यसप्रकारको खेती सहज पनि छ । कहिलेकाहीँ यस्ता कार्यका लागि महिलाहरू स्वयम् नै पनि प्रयोग भइरहेका हुन्छन् । बाहिर नहिँडुँ, जनताको काममा अघि नसरुँ आफु अघि नबढिने, अघि सरुँ त सधैं घरबाहिर हुँदा घर लथालिङ्ग भएका उदाहरणहरू पनि प्रसस्तै छन् । कति राजनीतिकर्मी महिलाहरूको छोराछोरीसँग पनि दूरी बढ्दै गएको छ । दुइचार पैसा दिने बेलामा हामीलाई बुबाले नगरी हुँदैन, तपाईं रातदिन बाहिर हिँडेर के भएको छ ? भनेर छोराछोरीले प्रश्न गर्दा आफुले केही भन्न नसकेको अनुभव एक राजनीतिकर्मीले सुनाएकी थिइन् । कतिको त श्रीमान्श्रीमतीको सम्बन्धमै समस्या पनि आएको छ । यस्ता सानातिना लाग्ने तर जीवनमा ठुलो प्रभाव पार्ने समस्याहरूसँग जुध्दै महिलाहरू विभिन्न दलमा आबद्ध भएर काम गरिरहेका छन् । थोरैले आफ्नो दल र कहिलेकाहीँ सरकारमा राम्रै स्थान पाए पनि आफ्नो जिन्दगीका उर्वर वर्षहरू पार्टीको काममा बिताएका धेरैले चाहिँ नेतृत्व वर्गबाट स्याबासीका दुइ शब्दसम्म पनि प्राप्त गर्न सकेका छैनन् । जीवनको युवा अवस्थादेखि नै जयनेपाल, लालसलाम या अन्य अभिवादनका लागि उठेका हातहरू वृद्ध अवस्थामा पुग्दा थरथर काँप्दै आफ्नो योगदान आफैले मात्र सम्झनुपर्ने अवस्थामा नपुग्नका लागि महिला राजनीतिकर्मीले सामूहिक रुपमै सशक्त हुन आवश्यक छ । विचार र सिद्धान्त फरक भए पनि महिलालाई हेर्ने दृष्टिकोण र उनीहरूप्रतिको ब्यवहार सबै पार्टीमा उस्तै देखिएकोले आफु लिने होइन दिने ठाउँमा पुग्न र अरुलाई पनि पु-याउनका लागि सामूहिक प्रयास जरुरी छ ।