नेपाली कलाकारका कारण विदेशमा शीर झुक्दा…

नेपाली कलाकारका कारण विदेशमा शीर झुक्दा…


bichar– मुक्तिनाथ खनाल
सधैँ राजनीतिको कुरा गर्दागर्दा थकाइ लागिसक्यो, तर राजनीतिको मेलो भने जहाँको त्यहीँ । अब त पढ्ने–सुन्नेलाई पनि दिक्क लाग्दो हो । त्यसैले पङ्क्तिकारलाई यसपटक राजनीतिक कुरा गर्ने जाँगर चलेन । बरु नेपाली कलाकारहरूको विषयमा केही लेखुँजस्तो लाग्यो । कलाकारहरू सबैको मन लुट्ने प्रिय र सम्मानित पनि हुन्छन् । तर, हाम्रो देशमा भने अरू कलाहरूको तुलनामा सिने कलाकारहरूले ठूलो प्रगति गर्न सकेनन्, यो दुर्भाग्य हो । यसको मूल कारण पनि या त आफ्नो देशको मौलिकता मन पराएनन् वा गहिरिएर खोजी गर्न सकेनन् अथवा त्यसतर्फ लाग्दा धेरै समय लाग्ने र पैसा चाँडो नकमिने । बरु भारतीय सिनेकर्मीहरूको सिनमाको नक्कल गरेर एकैचोटि प्रोड्युसर–निर्देशक, हिरो, हिरोइन बनी चाँडो पैसा कमाउन सकिने उद्देश्य लुकेर हो नेपाली सिनेमा त्यति अगाडि बढ्न सकेन । यद्यपि यहाँ नेपाली कलाकारिता नै छैन भन्न खोजेको भने अवश्य होइन ।
हस्तकला एवम् शिल्पकलाको धनी देश नेपालमा सिने कलाकर्मी पछाडि पर्नु अवश्य नै दुःखद् पक्ष हो भने हास्यव्यङ्ग्य, लोकगीत, नृत्य धेरै अगाडि बढेको देख्न पाउनु सुखद पक्ष पनि हो । हास्यव्यङ्ग्य कलाका अग्रज हरिवंश, मदनकृष्णको मह जोडीले नेपाललाई अन्य मुलुकमा पनि परिचय दिन सकेको छ । त्यस्तै लोकगीत, लोकनृत्य, लोकदोहोरीले नेपालीको मात्र नभएर विदेशीको पनि मन लुट्न सफल भएको छ । त्यसैले होला हिजोआज देश–विदेशमा रहेका नेपाली तथा केही विदेशीको इच्छा र सहयोगमा नेपाली लोकनृत्य तथा हास्यव्यङ्ग्यका कलाकारलाई धेरै खर्च गरेर झिकाउँदा रहेछन् । उनीहरूबाट मनोरञ्जन लिने होड अहिले तीव्र रूपमा चलेको छ । हरेक कलाकारहरूलाई फुर्सद छैन विभिन्न देशमा घुमिरहेका छन्, अमेरिका, बेलायत, क्यानडा, अस्टे«लिया, हङकङ, सिङ्गापुर आदि मुलुकमा ।
विदेश भ्रमणकै क्रममा यो पङ्क्तिकार पनि घुम्दैफिर्दै भर्खरै अस्टे«लियाको उत्तरी राज्य डारविनबाट सिड्नी विसवन हुँदै यही २०१४ को नोभेम्बर ५ तदनुसार नेपाली ०७१ साल कात्तिक १८ गते मेलवर्न पुगेको थियो । त्यो दिन सायद उनीहरूको उत्सव घोडेजात्राजस्तै मेला लाग्दोरहेछ । त्यसै मौका पारी नेपालीहरूको सक्रियतामा नेपाली कल्चर सांस्कृतिक कार्यक्रम देखाउन नेपालबाट कलाकार झिकाएका रहेछन् । त्यही मौकामा एनआरएनका वर्तमान अध्यक्ष शेष घले र मेलवर्नका नेपाली समाजका प्रतिष्ठित समाजसेवी नवीन खड्का त्यहाँ हुनुहुँदोरहेछ । सायद उहाँहरूको पनि यो कार्यक्रमलाई सहयोग थियो । नवीन खड्काको सहयोग प्राप्त भएको कुरा रङ्गमञ्चबाटै घोषणा गरिएको सुनिन्थ्यो । रङ्गमञ्च वरिपरि यस्तो दृश्य देखिन्थ्यो कि यो नेपाल देश नै हो । मेलवर्न राज्यको ठूलो विश्वविद्यालय विश्वको पाँचौँ–छैटौँमा गनिदोरहेछ । त्यसमा पढ्न छात्रवृत्ति प्राप्त गरेर गएका नेपाली विद्यार्थीहरू र प्रवासी नेपालीहरू यो राष्ट्रिय पोसाक दौरा–सुरुवाल, जोडी खुकुरी जडिएको कालो भादगाउँले टोलीले अर्को रौनक थपिएको थियो । आ–आफ्नो दुःखले कामको खोजीमा जहाँ–जहाँ भौँतारिए पनि आफ्नो देशको राष्ट्रिय गौरव झल्कने गरी उपस्थिति देखाइएकोमा प्रशंसनीय नै मान्नुपर्छ । यद्यपि म आफू स्वयम् पनि राष्ट्रिय पोसाकमा थिएँ । सायद उनीहरूबाटै पाएको पे्ररणाले होला । …ए ! म त राष्ट्रिय गुनगानतिर पो पुगेछु । प्रसङ्ग थियो नेपाली कल्चर प्रोग्रामको । अँ ! त्यो दिन रामै्र कलाकारहरू आएका होलान् भनी सम्झी सबै उत्साहसाथ आ–आफ्ना परिवार साडी, चोलो, दौरा–सुरुवालमा रंगमञ्च पुगे । हेर्दा नेपाली कलाकार मिलन लामाको नेतृत्वमा नयाँ भर्खर सिकारु कलाकार गएका रहेछन् । मिलन लामाको पुरानो गीत ‘माझी दाइ पोखरा फेवातालको, लाऊँ माया साँच्चैको नलाऊँ भो ख्याल ख्यालको’ सुरुमा नै प्रदर्शन भयो । तर, त्यो गीतलाई साथ दिने महिला कलाकार थिइनन्, एक्लै नाचे, खल्लो देखियो । त्यसपछि कुनै कलाकारको पनि राम्रो नृत्य देखिएन । एक–दुईजना गायक समथिङ राई थर गरेका मञ्चमा पुगे, तर रक्सीले टिल बनेर मञ्चमा उभिन पनि नसक्ने गरी, बेइज्जत गरे, कार्यक्रम बन्द भयो, नेपालीको मन नराम्रोसँग भाँचियो । अध्यक्ष शेष घलेले पनि नरमाइलो मानेजस्तो बुझिन्थ्यो । व्यापक प्रशंसा गर्दै जम्मा भएका नेपाली शिर झुकाएर फर्केको देखियो ।
यहाँ भन्न खोजिएको कुरा के हो भने, नेपाली कलाकारका आ–आफ्ना संस्था होलान् । विदेशबाट नेपालीहरूले ठूलो खर्च गरी झिकाइसकेपछि आफ्नो देशको इज्जत राख्नेगरी केही तालिम दिएर योग्य व्यक्तिको नेतृत्वमा कस्ता कलाकार कहाँ पठाउनुपर्ने हो पठाउने गर्नुपर्छ । जस्तो पनि कलाकार आ–आफ्ना तालमा जान खोज्नेलाई अनुमति भिसा दिइनुहुँदैन । यस कुरामा हास्यव्यङ्ग्य, त्यस्तै लोकनृत्यका कलाकारको संस्थाले ध्यान देओस्, हाम्रो आग्रह यही हो ।