शिखरपुरुष बीपी कोइरालाको बारेमा टिप्पणी गर्नु धृष्टता मात्र ठहरिएला । सूर्यको अगाडि दियो बाल्नु या सूर्यलाई हत्केलाले छेक्नुसरह हुन्छ त्यो । उनको विषयमा टिप्पणी गर्न इतिहासको मात्र सहारा लिनु उचित लागेन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाले ०४६ सालपछि निभाएका भूमिकाका सम्बन्धमा चाहिँ आफैं साक्षी भएको हुँदा यो लेख उनीहरूप्रति नै लक्षित छ । काङ्ग्रेसको हकमा तिउन बीपी कोइराला, भुटुन गणेशमान, नुन गिरिजा र चटनी कृष्णप्रसाद हुन् । मरमसला ३६ से, चौरत्तरे, साठी र चालिसे हुन् ।
प्रधानमन्त्रीको पद अस्वीकार गरी त्यागी नेताको रूपमा गणेशमानले आफूलाई प्रस्तुत गरे । ०४७ को संविधान जारी गरी शान्तिपूर्ण रूपमा सफलतापूर्वक आमनिर्वाचन सम्पन्न गराए भट्टराईले । शान्तिप्रक्रियालाई एउटा निष्कर्षको बिन्दुमा पु-याए गिरिजाले । त्रयनेता गणेशमान, कृष्णप्रसाद र गिरिजामा आ–आफ्नै विशिष्टता थिए । इतिहासले स्थापित गरिसकेका, इतिहासको एउटा कालखण्डका नायक इतिहासपुरुष मात्र हुन् गणेशमान, कृष्णप्रसाद र गिरिजा । आदर्शपुरुष भने होइनन् । मानवीय कमी–कमजोरी उनीहरूमा पनि थियो । बीपी कोइरालाले काङ्ग्रेसको नासो गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको हातमा सुरक्षित र सुनिश्चित गर्न जिम्मा लगाएर गए तापनि त्रयनेताले यो जिम्मेवारी पूरा गर्न सकेनन् । बीपीको नासोले काँधमा बोझ बढी भई गह्रुँगो भएको भविष्य देखे त्रय नेताहरूले ।
०४७ वैशाख ३ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठन भएको शक्तिशाली अन्तरिम सरकारमा नेपाली काङ्ग्रेसको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूमा भट्टराईले गिरिजा कोइराला पक्षधर एकजनालाई पनि मन्त्रिमण्डलमा समावेश नगरेपछि त्रयनेताको अवधारणा त्यसै दिनदेखि भत्किसकेको थियो । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधन हाँक्नभन्दा तीनपाङ्ग्रे सवारीसाधन हाँक्न चालकलाई अप्ठ्यारो हुने भएझैँ गणेशमान, कृष्णप्रसाद र गिरिजा तिनटाउकेलाई हाँक्न सकेन काङ्ग्रेसले । दुईपाङ्ग्रे र चारपाङ्ग्रेलाई सन्तुलनमा राखी गुडाउन जति सजिलो हुन्छ, तीनपाङग्रेमा असन्तुलन भएमा दुर्घटनाको जोखिम धेरै हुन्छ । यस्तै भयो काङ्ग्रेसको तीनपाङ्ग्रे गाडीमा ।
शैलजा आचार्य, रामचन्द्र पौडेल र शेरबहादुर देउवा समकक्षी हुन् काङ्ग्रेस पार्टीमा । शैलजा आचार्य आस्था, निष्ठा र प्रतिबद्धताको प्रतिमूर्ति हुन् । भ्रष्टाचारविरुद्ध विद्रोह गर्न आँट गर्ने पहिलो मन्त्री उनै हुन् । रामचन्द्र पौडेल लामो समय जेलजीवन बिताएका नेता हुन् । उनीलाई निष्ठाको राजनीति गर्नेको पङ्क्तिमा उभ्याउन सकिन्छ, तर कहिलेकाहीँ कहीँ–कतै बहकिएर चिप्लिहाल्दछन् । शेरबहादुर निष्ठाको राजनीतिभन्दा पनि साम, दाम, दण्ड, भेदको नीति प्रयोग गरी सत्तामा मात्र रमाउने नेता हुन् । कम्बल ओडेर घ्यू खानेहरूको अझै पनि बिगबिगी र चकचकी छ नेपाली काङ्ग्रेस पार्टीमा ।
राजा महेन्द्रले बीपीलाई कार उपहार दिने प्रस्ताव गर्दा बीपीले ‘कार म धान्न सक्तिनँ, प्रधानमन्त्री छउन्जेल कार दिइहाल्छन्, प्रधानमन्त्री नरहेपछि कार त म धान्नै सक्तिनँ’ भनेपछि राजाबाट टंकप्रसादलाई कार बक्सिस दिइयो । उनले केही दिन त्यसलाई ट्याक्सीका रूपमा चलाए, त्यसपछि बेचिदिए । त्यसो हुनाले मलाई कार त चाहिँदैन भन्ने उनै बीपीका चेलाचपेटा कार चढ्नेहरूको फेहरिस्त काङ्ग्रेसमा लामै छ । चाहे त्यो जायज आर्जित सम्पत्तिबाट खरिद गरिएको होस् अथवा नाजायज आर्जित सम्पत्तिबाट ।
कृष्णप्रसाद भट्टराई संयोजनकारी भूमिकामा पोख्त थिए । कूटनीति तथा दाउपेचमा माहिर र कुटिलसमेत थिए । प्रतिकूल परिस्थितिलाई अनुकूल बनाउन सक्ने क्षमता थियो उनमा । भट्टराई जोगी मात्र होइन भोगीसमेत थिए । ख्यालठट्टा गर्ने बहानामा पदीय मर्यादा (पोर्टफोलियो) विपरीत हुनेगरी समकक्षीसँग अथवा सार्वजनिक रूपमा बोल्ने पनि भट्टराई नै हुन् ।
‘मेरो लक्ष्य प्रधानमन्त्री बन्नु होइन, मुक्ति हो र मुक्तिभित्र स्वतन्त्रता पनि पर्ने हुँदा सम्पूर्ण नेपालीको मुक्ति मेरो मुक्ति हो ।’ ०४७ वैशाख ३ गते प्रधानमन्त्री पदको शपथग्रहण लिएलगत्तै यस्तो सम्बोधन गर्ने भट्टराईले ३६ सेलगायत शेरबहादुर देउवा तथा उनका चेलाचपेटालाई गिरिजाप्रसाद कोइरालाको छायाबाट मुक्ति त दिलाए, तर पार्टीलाई भड्खालोमा हाले ।
०५० को उपनिर्वाचनमा प्रचार–प्रसारको क्रममा काठमाडौं क्षेत्र नं. १ का मतदातालाई ‘सम्प्रभुता एकजनाको हातबाट खोसेर दुई करोड जनतासमक्ष बाँडेको हुँ, घर–घरमा प्रजातन्त्र पु-याउने काम गरेको हुँ, त्यसैले तपाईंहरू जानुस्, सुत्नुस् र सुत्नेबेलामा छातीमा हात राखेर आफ्नै आत्मालाई सोध्नुहोस् अनि विवेकले जे भन्छ त्यही गर्नुहोस्’ भनी भट्टराईले सम्बोधन गरेका थिए । उनको यो भनाइबाट के बुझे आममतदाताले ? उनको यो भनाइ उनैलाई अभिशाप भयो, उपनिर्वाचन हार्नमा आफैँ पनि कारक बने ।
०५६ साउन ५ गते गृहमन्त्री पूर्णबहादुर खड्काले भट्टराई सरकारको तर्फबाट माओवादीसँग वार्ताका लागि सम्पर्कसूत्रको रूपमा कार्य गर्न दुर्गा सुवेदीलाई नियुक्त गरे । वार्ता अत्यन्त गोप्य राखे भट्टराईले । प्रधानमन्त्री भट्टराई, गृहमन्त्री खड्का, शेरबहादुर देउवा र प्रदीप गिरीबाहेक वार्ताको विषय न मन्त्रिपरिषद्लाई थाहा थियो न सार्वभौम संसद्लाई नै । त्यस्तै गरेर वार्ताबारे भट्टराईले आफ्नै पार्टीलाई समेत गुमराहमा राखी ठूलो गल्ती गरे । यसको खुलासा दुर्गा सुवेदीले गरे । शेरबहादुर देउवालाई गिरिजा गुटबाट चोरी विश्वास पात्र बनाए भट्टराईले । पूर्णबहादुर त भित्रिया मतियार नै थिए । देउवाको संयोजकत्वमा माओवादी समस्या समाधान आयोग बनाएर उनैलाई महत्वपूर्ण भूमिका दिए । भट्टराईले देउवालाई प्रयोग गरिरहे, देउवा गोटी बनिरहे ।
०६४ को भदौमा सम्पन्न नेपाली काङ्ग्रेसको महासमिति बैठकले काङ्ग्रेस गणतन्त्रमा जाने निर्णय गरेपछि पार्टी छोडेको घोषणा गरे भट्टराईले, नेपाली काङ्ग्रेसको १२औँ महाधिवेशनलाई दिएको सन्देशमा ‘म नक्कली काङ्ग्रेसको नक्कली महाधिवेशनमा सहभागी हुन्नँ’ भनी गणतन्त्रलाई स्वीकार नगर्नु भट्टराईको गम्भीर भूल थियो । परिवर्तनलाई आत्मसात् नगरी संवैधानिक राजतन्त्रको रटान रट्नुसमेत भट्टराईको कमजोरी थियो ।
स्वेच्छाचारी र अधिनायकवादी चरित्र थियो गिरिजाप्रसाद कोइरालाको । सत्ताको शिखर चुमिरहे गिरिजाले, सत्ताको उन्मादको मात लागेको थियो उनीमा । गणेशमान र कृष्णप्रसादलाई विषको अपमान पिलाइरहे । रेडियो नेपालबाट सत्र मिनेट लामो मन्तव्य दिएर भट्टराईलाई काठमाडौं क्षेत्र नं. १ को उपनिर्वाचनमा हराउन सकुनीको भूमिका खेले गिरिजाले । ०४८ मा कोइरालाले गणेशमान र भट्टराईनिकटस्थ ६ जना मन्त्रीलाई एकलौटी ढङ्गले हटाएर पार्टीभित्रको विवाद झन् अरू चर्काए । बर्खास्त गरिएका मन्त्रीहरूको अगुवाइमा पार्टीभित्र ३६ से समूहको जन्म भयो । मौकामा चौका हान्न जान्ने गिरिजाले भट्टराईलाई हप्ता दिनको समय सीमाअवधि पनि नदिएर प्रधानमन्त्रीको पदबाट राजीनामा गर्न बाध्य बनाएर भट्टराईसँग एकमुष्ट बदला लिए ।
शेरबहादुर देउवा पुनः प्रधानमन्त्री भएपछि देउवाले ‘युद्धविराम’को घोषणा गरी नाटक गरे । शेरबहादुर त मोहरा मात्रै थिए, अन्ततोगत्वा ‘युद्धविराम’ भङ्ग भयो । शेरबहादुर दोस्रोपटक प्रधानमन्त्री भएको समयमा नेपालको इतिहासमा सबैभन्दा बढी नेपाली नागरिक मारिए, बेपत्ता पारिए । लुटतन्त्र, मनपरीतन्त्र, देउवाकै पालामा झाँगिएको र मौलाएको हो । तस्करी, कालोबजारी, भ्रष्टाचार, अनैतिकता, बेइमानी र निर्लज्जताजस्ता चरम विकृति देउवाकै पालामा भित्रिएका हुन् । यी कार्यहरूका लागि खुला आकाशसरह थियो देउवा सरकारको स्वर्णिमकाल । सुशील कोइरालाले अन्य पार्टीहरूसँग एकता, सहकार्यको बाँसुरी बजाइरहेका र सारङ्गी रेटिरहेका छन्, तर आफ्नै पार्टीभित्रको गाँठो फुकाउन सकेका छैनन् ।
गणेशमान सिंहजस्तो नेताले सौताको रिसले पोइको नाक काट्नु भनेझैँ, गिरिजाप्रसाद कोइरालाको रिसले जीवनको उत्तरार्धमा आएर काङ्ग्रेस पार्टी छाड्नुहँुदैनथ्यो । भट्टराई र कोइरालालाई एक ढिक्का बनाएर काङ्ग्रेस पार्टीलाई अनुशासित र गतिशील बनाउन योगदान दिन सक्नुपथ्र्यो सर्वोच्च नेताको भिटो प्रयोग गरेर ।
(लेखक सहिद श्रीप्रसाद पराजुलीका सुपुत्र हुन् ।)
प्रतिक्रिया