छोराछोरी विदेशमा पढाउनेहरू होशियार हुनुपर्ने

छोराछोरी विदेशमा पढाउनेहरू होशियार हुनुपर्ने


mainnewsबैंककमा नेपाली विद्यार्थी अपहरित
उज्ज्वल भविष्यको खोजीमा छोराछोरीलाई विदेश पढ्न पठाएर ढुक्क हुन खोज्नेहरूले होसियार हुनुपर्ने अवस्था आएको छ । उच्च शिक्षा हासिल गर्न थाइल्यान्ड पुगेका तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि अध्ययनका लागि सन्तान विदेश पठाउन चाहने अभिभावकहरू तिनको सुरक्षाप्रति चिन्तित रहनुपर्ने अवस्था आएको हो । थाइल्यान्डको प्रतिष्ठित र पुरानो युनिभसिर्टीको रूपमा चिनिने एजम्सन युनिभर्सिटीमा अध्ययन गरिरहेका तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि पढाईको क्रममा विदेशमा रहेका छात्रछात्राका अभिभावक थप सजग हुनुपर्ने देखिएको हो ।
परराष्ट्र मन्त्रालयको एक अधिकारीले दिएको जानकारीअनुसार नेपाली विद्यार्थी कर्ण हाछेथुु, दिवस रिजाल र रोनिश श्रेष्ठ अपहरणमा परेका थिए । उनीहरू पुस ४, शुक्रबार राति अपहरण्ँमा परेका हुन् । अपहरणमा परेको विद्यार्थीका एक साथीको भनाई उद्धृत गर्दै परराष्ट्रमन्त्रालयका वरिष्ठ अधिकारीले जनाएअनुसार एकजना पाकिस्तानीसँग शुक्रबार राती स्थानीय एक रेष्टुरेन्ट जाने क्रममा उनीहरू अपहरणमा परेका हुन् । ‘हामी अली नाम गरेको पाकिस्तानी नागरिकसँग थोङ्लो पार्टीमा जाँदै छौँ’ भनेर हिँडेको, तर त्यसपछि सम्पर्कमा नआएपछि अपहरणमा परेको पुष्टि भएको’ ती परराष्ट्रअधिकारीले जनाए ।
विद्यार्थीको अपहरण गरेपछि अपहरणकारीले नेपालस्थित विद्यार्थीका परिवारसँग फिरौती रकम माग गरेका थिए । उनीहरूले फिरौतीको लागि जनही एक करोड थाइ भाट अर्थात् तीन करोड नेपाली रूपैयाँ मागेको बताइन्छ । उक्त रकम नेपालमै जम्मा गरेपछि आफूहरूलाई खबर गर्न भन्दै सम्बन्धित अभिभावकलाई उनीहरूले टोलिफोन गरेका थिए । उनीहरूले अभिभावकसँग कुरा गर्दा मुस्लिम नाम बताएको र हिन्दी भाषामा कुरा गराएको अपहरणमा परेका एक विद्यार्थीका अभिभावकले घटना र विचारसँग भने । अपहरणकारीहरूले विद्यार्थी अपहरणको घटनालाई सार्वजनिक नगर्न तिनका परिवारलाई चेतावनी दिँदै छिटोभन्दा छिटो पैसा जम्मा गरी खबर गर्न आदेश दिएका थिए ।
आफूहरूले भनेबमोजिम नभए जे पनि हुन सक्ने भन्दै अपहरणकारीले छिटो पैसा जम्मा गर्न भनेको एक अभिभावकले घटना र विचारलाई बताए । ‘म यतिबेला निकै तनाव र पीडामा छु, एउटा भिक्टिम व्यक्तिको अभिभावक कुन अवस्थामा हुन्छ, तपाईंहरूले अनुमान समेत गर्न सक्नुहुन्न होला ।’ घटनाको संवेदनशीलतालाई ख्याल गरी आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै छोरो अपहरणमा परेका ती अभिभावकले भने, ‘सुरक्षासम्बन्धी अत्यन्त संवेदनशील मामला भएकोले सकभर त यो घटना नै सार्वजनिजक नगर्दा राम्रो हुन्छ, बरु छोरा मुक्त भएपछि म सबै घटना– विवरण उपलब्ध गराउँला ।’
अपहरणमा परेका तीनैजना विद्यार्थीका अभिभावक नेपालमा प्रतिष्ठित र परिचित व्यक्तिमध्येमा पर्छन् । थाइल्यान्डमा अपहरणमा पर्ने विद्यार्थीका अभिभावकहरूमा प्राध्यापक कृष्ण हाछेथु, कर्मचारी शंकरप्रसाद रिजाल र व्यापारी रमेश श्रेष्ठ हुन् । सु्त्रका अनुसार अपहरणकारीहरूको आदेश स्वीकार गर्दै श्रेष्ठ र रिजालले प्रहरीप्रशासन तथा राज्यका कुनै पनि निकायलाई खबर नगरी तोकिएको फिरौती रकम जम्मा गर्नेतिर लागेको बताइन्छ, तर उनीहरूले पैसा बुझाइसके–नसकेको भने खुलिसकेको छैन । त्यस्तै, हाछेथु भने छोरा अपहरणमा परेको दुई दिनपछि मेरो छोरा अपहरणमा प-यो, मुक्त गराइदिनु प-यो भन्दै राज्यको शरणमा पुगेका थिए । त्यसपछि मात्र उच्च तहमा यस घटनाबारे जानकारी भएको हो । यद्यपि, हाछेथुले भित्रभित्रै छोरो अपाहरणमा परेको कुरा राज्यलाई जानकारी गराएर सहयोग माग गरे पनि अपहरणकारीलाई दिने रकम जम्मा भने गरिरहेको बताइन्छ ।
‘अपहरणकारीहरूले अपहरणमा पर्ने विद्यार्थीको ‘फ्यामिली ब्याकग्राउण्ड’बारे गहिरो अध्ययन गरेर मात्र नाटकीय रूपमा अपहरण गरेको देखिन्छ’, परराष्ट्र स्रोतले भन्यो । परराष्ट्र मन्त्रालयका प्रवक्ता तारा पोखरेलले यस घटनालाई सरकारले गम्भीर रूपमा लिएको र थाइल्यान्डस्थित दूतावासमार्फत् अपहरित विद्यार्थीको रिहाईको पहल गरेको जानकारी दिए । उनले भने, ‘यस घटनालाई थाइ सरकारले पनि गम्भीर रूपमा लिएको र छुट्टै अनुसन्धान तथा सर्च सेल बनाएर खोजिरहेको छ ।’ प्रवक्ता पोखरेलले भने, ‘यस घटनाको जानकारी पाउनेवित्तिकै थाइल्यान्डका कार्यवाहक राजदूत डोरनाथ अर्यालको सक्रियतामा थाइ सरकारले चासोपूर्ण ढङ्गले खोजिरहेको छ, अपहरणमा परेकाहरू छिट्टै मुक्त हुने आशा गरेका छौँ ।’ नभन्दै मंगलबार (पुस ८ गते) अपहरित तीनैजना विद्यार्थी मुक्त भएको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रमुख हेमन्त मल्लले जानकारी दिएका छन् । अपहरित विद्यार्थी मुक्त भए पनि अपहरणकारीहरू नसमातिएकोले यसबारे विस्तृत विवरण आउन बाँकी रहेको र अपरेसन पनि जारी रहेको मल्लले बताए ।
नेपाल प्रहरीले यसलाई गम्भीर रूपमा लिएर अनुसन्धान थालेको जानकारी प्रहरी प्रवक्ता माधव जोशीले दिए । ‘हामीले स्पेसल टिम बनाएर यस विषयमा अनुसन्धान ग-यौँ र गरिरहेका छौँ,’ प्रवक्ता जोशीले भने, ‘अनुसन्धानमा संलग्न टिमले थप नयाँ कुरा पत्ता लगाउने कोशिस गरिरहेको छ, अहिलेसम्म सुरुमा जे जानकारी आएको थियो, त्यति मात्र हो ।’ तर, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक सुरेन्द्रबहादुर शाहले आफु एक सातादेखि राजधानी बाहिर रहेकोले यसबारेमा केही जानकारी नभएको बताए । उनले भने, ‘यो पछि डेभलप भएको घटना भएकोले मलाई केही जानकारी भएन, यसबारेमा बुझेर खबर गरौँला ।’
यसबारेमा गृहमन्त्रालयका प्रवक्ता लक्ष्मी ढकालले यस सम्बन्धमा आफुहरूसँग धेरै जानकारी नभएको प्रतिक्रिया दिए । ‘यो सबै परराष्ट्रअन्तर्गत पर्ने भएकोले हामीलाई जे–जति जानकारी भएको छ, ती सबै कुरा परराष्ट्रलाई मौखिक जानकारी गराएका छौँ’, प्रवक्ता ढकालले भने– ‘यो विदेशमा परेको समस्या भएकाले हामीले परराष्ट्रमार्फत् कुटनीतिक पहल गर्न भनेका छौँ, परराष्ट्रले सोहीअनुसार काम गरिरहेको होला, विद्यार्थी मुक्त भए–नभएको बारेमा हामीलाई जानकारी गराएको छैन र थप जानकारी छैन ।’
अपहरणमा परेका तीनजना विद्यार्थी मुक्त हुनुमा नगदले काम गरेको हो या थाइ प्रहरीको सक्रियताले काम गरेको हो भन्ने बारेमा घटना र विचारले खोजी गरिरहेको छ । यो समाचार तयार पारिन्जेलसम्म थप तथ्यहरु प्राप्त हुन सकेका छैनन् ।