रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2७० वर्षान्तरका दुलहा–दुलही
स्वस्थानी ब्रत कथामा ७० वर्षीय शिव भट्टले सात वर्षीया बालिका गोमालाई विवाह गरेको सन्दर्भ आजको पुस्ताले सुन्दा अचम्म मान्ने गर्छन् । यस्तो कुरा कथामा मात्रै सम्भव छ, वास्तविक जीवनमा होइन भन्ने तर्क उनीहरूको रहन्छ । यद्यपि, उमेरको हिसाबले अनमेल वैवाहिक बन्धनका अनेक उदाहरण समाजमा यत्रतत्र पाइन्छन् । यस्तै एक आश्चर्यलाग्दो उपमा बन्न पुगेको छ इराकको एक जोडी । अनमेल विवाहको समस्त किस्सालाई पछि पार्दै बगदादनजिक पर्ने गुब्बन नामक गाउँका ९२ वर्षीय एक वृद्धले २२ वर्षीया कन्यासँग हालै प्रणय बन्धन कसेका छन् । मुसली मोहम्मद अल मुजामी नामका ती पुरुषले यो उमेरसम्म एउटै पत्नीसँग गुजारेका थिए । तीन वर्षअघि मात्र उनकी पहिली पत्नीको देहान्त भएको थियो । पहिली पत्नीबाट १६ सन्तानका बाबु बनेका मुसली उमेरले नौ दशक काटे पनि शरिर र सोचका हिसाबले आफू अझै जवान नै रहेको बताउँछन् । नवविवाहिता युवतीसँग मुसलीको उमेरअन्तर नै ७० वर्ष रहे पनि अझ निकै वर्ष आफूले सुखद प्रणय सम्बन्ध निर्वाह गर्ने उनको दाबी छ । यी जिजुबाजेको बिहे हेर्न टाढा–टाढाका गाउँदेखि मानिस जम्मा भएका थिए भने बिहेमा चार घण्टासम्म गाना–बजाना र नृत्य चलेको थियो ।

झुत्रा नोटबाट निस्कियो बिजुली
समृद्ध अर्थव्यवस्थाको निम्ति विश्वकै एक नम्बर बन्न पुगेको चीनमा एउटै विद्युत् आयोजनाबाट हजारौँ मेगावाट बिजुली उत्पादन भएका छन् । त्यस्तो देशले कागज बालेर बिजुली उत्पादन गरेको सुन्नुपर्दा आश्चर्य नलाग्ने कुरै भएन । त्यसमाथि नोट जलाएर बिजुली निकालेको कुराले त घोर आश्चर्य पार्छ नै । अचम्भित तुल्याउने कुरा भए पनि यो सत्य नै हो कि चलनचल्तीबाट विस्थापित गरिएका पुराना नोट जलाएर चीनको हेनान प्रान्तस्थित लुयाङ शहरको एक कम्पनीले बिजुली उत्पादन गरेको छ । चीनको सेन्ट्रल बैंकले नै कोइलाको कम प्रयोग र प्रदुषणमाथि नियन्त्रण गर्ने भन्दै सडेका नोट जलाएर बिजुली निकाल्न उक्त कम्पनीलाई निर्देशन दिएको थियो । प्रयोग भएर रद्दी बन्न पुगेको एक टन नोटबाट ६ सय साठी किलोवाट बिजुली पैदा भएको समाचारमा जनाइएको छ ।

यौनप्रति महिला नै उत्सुक !
सामान्यतया पुरुष सेक्सका निम्ति हतारिन्छन् तर महिला भने सेक्सभन्दा प्रेम वा भावनात्मक सम्बन्धलाई जोड दिन्छन् भन्ने मान्यता छ । तर, यो धारणालाई ठ्याम्मै उल्टाइदिएको छ हालै गरिएको एक नयाँ सोधले । लण्डनस्थित इण्डियाना विश्वविद्यालयका सोधकर्ताहरूले लामो समय लगाएर अनुसन्धान गरेपछि गरेका दाबीअनुसार पुरुष सम्बन्धलाई लामो समयसम्म टिकाउन चाहन्छ र यसका लागि महिला मित्रलाई अँगालोमा बेर्ने, म्वाई खानेजस्ता व्यवहार प्रदर्शन गरेर खुशी राख्न चाहन्छ, तर ठिक विपरीत महिला भने सोझै यौन सम्बन्धमा प्रवेश गर्न चाहन्छिन् । ‘वैवाहिक सम्बन्धको सुरुका पन्ध्र वर्ष बच्चा जन्माउने र तिनकै पालनपोषणमा व्यस्त रहनुपर्ने हुँदा महिला ज्यादा भावनात्मक हुन्छिन्, तर जब त्यो पिरियड गुज्रन्छ अनि महिलालाई यौनमा आनन्द लाग्न थाल्छ र उनीहरू यौनसुखको निम्ति उत्सुक बन्न थाल्छन्’– सोध समूहकी प्रमुख जुलिया हेइमैनको कथन छ । यो अनुसन्धान पाँच मलुकका ४० देखि ७० उमेर समूहका करिव एकहजार दम्पत्तिमाथि गरिएको थियो ।

जवानी ढलेपछि अदालतको सहारा
आफ्नो जवानीलाई नै पेशा बनाएका एक सय बीस महिला दक्षिण कोरियाली सरकारसँग मुआब्जाको माग गर्दै अदालत जाने तयारी गर्दैछन् । त्यहाँका उच्च अधिकारीहरूको आदेशमा आफूहरूले अमेरिकी सेनालाई यौनको हतियार प्रयोग गरी खुशी तुल्याएको उनीहरूको दाबी छ । आफूहरूलाई यसरी ‘उपयोग’ गरे पनि बुढेसकाल लाग्दा कुनै गुजाराको बन्दोवस्त नगरी त्यत्तिकै अलपत्र छाडिएको उनीहरूको आरोप छ । सन् १९७० को दशकमा दक्षिण कोरिया गरिव देशको सूचिमा पर्दथ्यो भने त्यतिबेला जीवन गुजाराकै निम्ति त्यहाँका कैयन महिला बेश्यावृत्तिमा होमिएका थिए, जसलाई सरकारले नै पश्रय दिएको थियो । त्यसरी तत्कालीन अमेरिकी सैन्यशिविरमा यौनकर्मी बनेर खटिएका कोरियाली महिलाहरूले आफ्नो सरकारबाट दश हजार डलर र अमेरिकी सरकारबाट पनि त्यत्ति नै परिमाणमा क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन् ।